१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

मेरो किङकङ

हाम्रो घरमा बाँदर देखेर म एकछिन त डराएँ। यसो हेरेको सानो बाँदर रहेछ। बच्चाजस्तो लाग्यो। बिचरा एक्लो थियो।

'ए दाइ! ए समीर दाइ! बाहिर आउनुस् त,' मैले घरभित्र बस्नुभएको समीर दाइलाई बोलाएँ। घरमा बा–आमा हुनुहुन्नथ्यो।


'किन बोलाएको?' दाइ बाहिरिँदै बोल्नुभयो।

'ऊ त्यहाँ हेर्नोस् त,' मैले बाँदरको छाउरोतिर औंला तेर्स्याउँदै भनेँ।

'ए! यो त बाँदरको बच्चा हो। कताबाट यहाँ आइपुगेछ!' दाइ छक्क पर्नुभयो।

हामीलाई देखेर ऊ पनि नडराई बस्यो। हामी वरपर हेर्न थाल्यौं। अरू बाँदर पनि छन् कि भनी हामी डरायौं। तर त्यहाँ कुनै जीवजन्तु नै थिएनन्। यो कहाँबाट आयो भनी सोच्न थाल्यौं।

दाइ र म आँगनमा ओर्लियौं। बाँदरको बच्चा त्यहीँ बसिरह्यो। हलचल नै गरेन। न त ऊ हामी देखेर डराएर नै भाग्यो।

'लौ बित्यास पारेछ। केरा त भाँचेछ,' दाइ चिच्याउनुभयो। मैले पनि केराका ‰याङमा आँखा पुर्‍याएँ। त्यहाँ बाँदरले रजाइँ गरेको प्रष्टै देखिन्थ्यो। केरा र केराको बोट भाँचिएको थियो। हुनसक्छ, त्यही झुन्डमा आएको कुनै माउको बच्चा त्यहाँ छुटेको थियो। दाजु र मैले यही अनुमान लगायौं।

बाँदरको बच्चानजिकै पुग्यौं। बिचराका खुट्टामा घाउचोट लागेको देखियो। त्यसैले पो यो हलचल नगरी यहाँ बसेको रहेछ। 'जाऊ, भित्रबाट औषधि र पट्टी लिएर आऊ' दाइले अह्राउनुभयो। म खुसी हुँदै घरभित्र पसेँ। खुर्र कुदेर औषधि र पट्टी ल्याएर दाइलाई दिएँ।

समीर दाइले मलमपट्टी गरेपछि बाँदरको बच्चाले दाँत देखाउँदै ङिच्च हाँसेझै गर्‍यो। बिचराले तरक्क आँसु झार्‍यो। हामीलाई नरमाइलो लाग्यो। बिचरालाई दुखेको होला भन्ने लाग्यो। दिउँसोतिर बा–आमा आउनुभयो। घरमा बाँदरको बच्चा देखेर अत्तालिनुभयो।

'किन ल्याएको?' आमा कराउँदै हुनुहुन्थ्यो।

हामीले सबै कुरा बेलिविस्तार लगायौं। अनि आमा खुसी हुनुभयो। बाले स्याबासी दिँदै भन्नुभयो, 'हो, हामीले आपतमा परेकालाई मद्दत गर्नुपर्छ।'

म भित्रैदेखि खुसी थिएँ। किनकि मसँग बाँदर थियो। 'बाँदरजस्तो चकचके' भनेको मैले धेरैैपटक सुनेको थिएँ। आज मछेउ त्यही बाँदर थियो, तर चकचके थिएन।

हामीले त्यस बाँदरलाई केरा खुवायौं। चना, भटमास दियौं। उसले बिस्तारै रमाउँदै खायो। बेलुका ऊ हामीसितै खान बसेको थियो। सायद त्यस बेलासम्म उसलाई धेरै ठिक भइसकेको थियो।

भोलिपल्ट उसले मलाई ओछ्यानमै ब्युँझायो। म उसलाई आफूसामु पाएर एकपल्ट रमाएँ। मैले गृहकार्य सकिसकेको थिएँ। त्यसैले ऊसितै खेल्न थालेँ। ऊसित खेल्न पाउँदा मलाई ज्यादै खुसी लाग्यो।

मैले उसको नाम किङकङ राखिदिएँ।

स्कुल जाने बेला ऊसित छुट्टिनुपर्दा नमज्जा लाग्यो तर स्कुलबाट फर्केपछि खेल्न पाइन्छ भनेर रमाउँथे। म ऊसित छुट्टिएर स्कुल गएँ। स्कुलमा सबै साथीलाई किङकङको बारेमा सुनाएँ। साथीहरू बडो चाख दिएर सुनिरहेका थिए। उनीहरू स्कुल छुट्टी भएपछि मेरो घर जाने भन्न थाले।

छुट्टी भएपछि हामी सबै मेरो घरमा जम्मा भयौं। बाँदरको बच्चा देखेर साथीहरू खुसी देखिन्थे। उनीहरू पनि ऊसितै खेल्न थाले।

'अब तिमीहरू सबै आ–आफ्नो घर जाऊ त। तिमीहरूले गृहकार्य गर्नुपर्दैन?' समीर दाइले कराउनुभयो। त्यसपछि हामी सबै भोलि भेट्ने सल्लाह गरी छुट्टियौं। म गृहकार्य गर्न बसेँ।

यसरी केही दिनमै किङकङ हाम्रो घरमा घुलमिल भइसकेको थियो। मेरा साथी पनि सधैं एकछिन आएर ऊसितै खेल्थे, रमाउँथे तर किङकङ अब अलि चकचक गर्ने भइसकेको थियो। उसले घरमा बिस्तारै उपद्रो गर्न थाल्यो। घरका सबै चिन्तित हुन थालेका थिए।

म स्कुलबाट फर्किंदा उसले मेरो किताब–कापी च्यातेको हुन्थ्यो। भान्छा कोठामा भाँडा छरिएका हुन्थे। घरका सबैजना आजित भइसकेका थिए। हिजोआज साथीहरू पनि आउन छाडेका थिए। किनकि किङकङले रमित र अजितको कपाल भुत्ल्याएको थियो। त्यसपछि उनीहरू डराएर आउनै छाडे।

अब मैले पनि 'बाँदरजस्तो चकचके' भनेको कुरा राम्ररी बुझिसकेको थिएँ तर ऊ यो घरमै बस्थ्यो। अनि हामीले भनेको पनि मान्थ्यो। कुनै बेला भने ऊ उपद्रो गर्थ्याे। घरबाट निकाल्न पनि त भएन। के गर्ने भनी घरका सबै चिन्तित थिए।

एकदिन केराको बोटमा खल्याबल्याङ आवाज आयो। समीर दाइ के हो भन्दै बाहिरिनुभयो।

'लौ बित्यास पर्‍यो। फेरि बाँदरको बथान आएछ। केराको बोट भाँच्ने भो,' समीर दाइ चिच्याउनुभयो। म पनि बाहिरिएँ। किङकङ मसँगै बाहिरियो।

हो त रहेछ, बाँदरको झुन्ड त्यहाँ थियो। किङकङ उफ्रिँदै रमायो। ऊ ती झुन्डतिरै गयो। बाँदरको हुलमा मिसियो। उसले आफ्नी आमा भेटेजस्तै लाग्यो। आफ्नै बच्चा च्यापेजस्तै उसलाई एउटी माउले च्यापिन्। हो रहेछ। उसलाई आमा भेटेको खुसी मिल्यो।

एकैछिनमा ऊ उफ्रिँदै म नजिक आयो। मलाई चलायो र आँखामा आँखा मिलाउँदै मनमनै केके भन्यो होला। मैले बुझिनँ। ऊ रसाएको आँखा लिएर मन्द चालमा आफ्नी आमातिर गयो। बाँदरको झुन्डमा मेरो किङकङ मिसियो। एकैछिनमा सबै त्यहाँबाट हिँडे।

हिजोआज केराको बोटमा बाँदरको झुन्ड आयो भने मेरो किङकङ आयो कि भनी हेर्न म आँगनमा उभिन्छु तर ऊ त्यहाँ देख्दिनँ।

मैले नचिनेको पनि त हुन सक्छ!

प्रकाशित: ५ पुस २०७० २२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App