१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

अनलाइनको सदुपयोग

फुर्सद हुँदा तिमी कत्तिको अनलाइनमा बस्ने गरेका छौ? छौ भने अनलाइनमा के गर्छौ? कतिपय साथी भने धेरै समय फेसबुकमै बिताउने गरेका छन्। अनलाइन भनेको फेसबुकमात्र होइन, यहाँ त धेरै सामग्री छन्, जुन तिम्रो लागि उपयोगी हुन सक्छ। आज हामी इन्टरनेटको उपयागिताबारे केही छलफल गरौं।


समय प्रविधिमय बनेको छ। हामीले सानोसानो कुरामा पनि प्रविधिलाई अँगाल्दै आएका छौ। कम्प्युटर त अहिलेको संसारमा अति आवश्यक प्रविधि बनिसकेको छ। तिमीले यसमार्फत अनलाइन च्याटिङ, भिडियो हेर्ने, खेल खेल्नेलगायतका क्रियाकलाप गरेकै होला। खेल्न त मज्जा पनि आउँछ। यस्ता क्रियाकलाप गर्नु अघि एकपटक विचार भने गर्नुपर्छ।

अनलाइन तथा प्रविधिको धेरै प्रयोग गर्नु राम्रो होइन। यसमा समयको व्यवस्थापन महŒवपूर्ण रहन्छ। अनलाइन सर्फिङ गर्दा अभिभावकको सल्लाह लिन नभुल है।

स्रोत सामग्री खोज

अनलाइनमा पाठ्यक्रमलाई सहयोग पुग्ने लेख–रचना खोज्न सकिन्छ। आफूले पढेको विषयमा थप जानकारी लिन अनलाइन सर्च गर्न सकिन्छ। आवश्यकताअनुसार सम्बन्धित फोटो र भिडियो पनि हेर्न सकिन्छ। गृहकार्यका लागि स्रोत सामग्री अनलाइनमा प्रशस्तै भेटिन्छन्। यसले तिम्रो गृहकार्य तथा कक्षागत क्रियाकलापमा फाइदा पुग्छ।

स्कुलमा सर मिस तथा घरमा अभिभावकले बताउन नसकेका जानकारी अनलाइन साइटहरूले बताइदिन सक्छन्। तिमीले आफूलाई चाहिने जुनसुकै कुरा खोज्न पनि सक्छौ। अनलाइनमा स्रोत सामग्रीका रूपमा थुप्रै समाचार, ब्लग, फोटो, किताब, भिडियो र अन्तर्क्रियाका सामग्री भेट्न सकिन्छ।

रचना पढ

फुर्सदको समय केही रमाइलो बनाउन चाहन्छौ भने केही साइटहरू छन्। ती साइटबाट तिमीले कथा, प्रेरक व्यक्तिका जीवनी र रमाइला तथ्यहरू पढ्न सक्छौ। यी कुराले तिम्रो पढ्ने बानीमा रस जगाउने काम गर्नेछन्। बालबालिकाका लागि भनेर खुलेर थुप्रै ब्लग तथा वेब पोर्टल खुलेको पाइन्छ। हाम्रै नेपालमा पनि केही ब्लग साइट छन्। ती साइटमा तिमीले कथा, उपन्यास, कविता तथा जीवनीलगायतका कुरा पढ्न पाउँछौ। अतिरिक्त पठनपाठनका लागि कथा र सिर्जनात्मक लेख–रचना समेटिएका साइट पढ्नु फाइदा हुन्छ। सिर्जनात्मक लेख रचनाले तिम्रो कक्षाकार्यमा सहयोग पुर्‍याउँछन्। स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा राम्रो गर्ने मन छ भने तिमी आजैदेखि त्यस्ता साइट खोज्न थालिहाल र दैनिक प्रयोगमा लागू गर्ने प्रयास पनि गर।

खेल खेल

पढ्दापढ्दै दिक्क पनि लाग्न सक्छ। फुर्सदमा समय मिलाएर खेल पनि खेल्नुपर्छ। यस्तो खेल अनलाइनमार्फत पनि खेल्न सकिन्छ। अनलाइनमा थुप्रै खेल खेल्न सकिने साइट हुन्छन्। ती साइटमा थुप्रै पजल तथा गृहकार्यमा सहयोग पुग्ने खेल पनि राखिएका हुन्छन्। तिमीले ती खेलको भरपूर प्रयोग गर्न सक्छौ । पजल खेल्नाले तिम्रो मस्तिष्क चुस्त एवं दुरुस्त हुन्छ। तर आफूलाई फाइदा पुग्नेखालका खेलमात्र खेल्नुपर्छ। बरु सहयोग चाहिन्छ भने अभिभावक वा सर मिससँग सल्लाह माग। रमाइलोभन्दा पनि मानसिक विकासमा सहयोग पुग्ने खेललाई प्राथमिकता देऊ। तर समयको ख्याल गर्नैपर्छ।

केही उपयोगी साइटहरू

टाइम फर किड्स

टाइम फर किड्स विश्वमा भइरेहका ठूला घटनाबारे जानकारी दिने जानकारीमूलक साइट हो। यो विश्व चर्चित पत्रिका टाइमको बालसंस्करण हो। यसमा नयाँ फिल्म, किताब र सेलेब्रिटीका अन्तर्वार्तालगायतका सामग्री समावेश छन्। यस साइटलाई तिमीले स्रोत सामग्री तथा नयाँनयाँ जानकारीका लागि प्रयोग गर्न सक्छौ।

नेसनल जियोग्राफिक किड्स

नेसनल जियोग्राफी टिभीमा तिमीले विभिन्न जनावरका बारे हेरेको हुनुपर्छ। विश्वका कुना–कुनामा रहेका त्यस्ता जनावरबारे पढ्न पाउँदा झन् कस्तो मज्जा होला? सोच त। जनावरका साथै वातावरणसम्बन्धी पढ्न तिमीले यो साइट उपयोग गर्न सक्छौ।

क्लासिक्स फर किड्स

तिमीलाई गीत संगीत सुन्न कत्तिको मनपर्छ? संगीत सुन्न मनपराउँने साथीहरुका लागि उपयोगी साइट हो क्लासिक्स फर किड्स। यस साइटमा गीत संगीतका बारेमा थुप्रै जानकारीमूलक साम्रगी छन्। तिमीले गीत सुन्न पनि सक्छौं। साइटमा म्युजिक डिक्सनरी, म्युजिक एजुकेशन, टिप्स एन्ड एडभाइस लगायतका लेभल राखिएका छन्। नामजस्तै यस साइटमा क्लासिक गीतहरु म्ात्र राखिएका छन्। क्लासिक गीत सुन्न मन भए तिमी यो साइट सर्फ गर्न नभूल है।

स्टोरीलाइन अनलाइन

तिमीलाई कथा पढ्न मज्जा लाग्दो हो। कथा पढ्न पाउँदा खुब मज्जा हुन्छ पनि। अनि पढ्ने कथा अरु कसैले बोलेर र चित्रमार्फत देखायो भने कस्तो होला? पक्कै पनि हेरुँ हेरुँ लाग्छ नि। कथा पढ्न रुचाउने साथीहरुकालागि उपयोगी साइट हुन सक्छ, स्टोरी लाइन अनलाइन। यो अनलाइनमा विश्वभरका बालबालिकालाई साहित्यसँग जोड्ने उद्देश्यकासाथ सञ्चालनमा ल्याइएको छ। स्टोरीलाइनले बालबालिकालाई कथा पढ्न प्रोत्साहन गर्छ। चलायमान भिडियो दृश्यकासाथ प्रस्तुत हुने कथाहरु पढ्न मन भए स्टोरीलाइन अनलाइन लग इन गर। मज्जासँग कथा सुन र हेर पनि।

चर्चित दश अनलाइन

सिबिबिज

हाउ स्टफ वर्क

निड टु नो

गिनिज वर्ल्ड रेकर्डस्

निकलोडियन

हारिङ किड्स

फ्रिक्सन टिभी

कुल रिड्स

फनोलोजी

आस्क किड्स

स्रोत : द टेलिग्राफ

प्रकाशित: ५ पुस २०७० २१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App