गौतम बुद्धको पूर्वजन्म भएको पवित्र ठाउँ नमोबुद्ध। अध्यात्म, प्रकृति र संस्कृतिको संगम। शारीरिक र मानसिक थकान मेटाउने गन्तव्य। काभ्रेको श्यामपाटी गाविसमा पर्छ नमोबुद्ध। काठमाडौंबाट धुलिखेल हुँदै ३० किलोमिटर दुरीमा।
डाँडामा गुम्बा छन्। गहिरोमा स्तूपा। छेवैमा कुदुङ टासी छोलिङ गुम्बा। कोटडाँडामा गुरु ठाङ्गु रिन्पोछेले गुम्बा बनाएका हुन्। त्यहाँ बौद्ध दर्शन पढाइन्छ। गुम्बा क्षेत्र सानो गाउँजस्तै छ। त्यहाँ बुद्धले अघिल्लो जुनीमा बघिनीलाई शरीर काटेर दिएको कथा झल्काउने र बुद्ध चेलासँग बसेको मूर्ति छ।
डाँडाबाट सूर्योदय र सूर्यास्त हेर्न पाइन्छ। नमोबुद्धबाट मकालु, चोयू, गौरीशंकर, दोर्जे लाक्पा, लाङटाङ, गणेश, मनास्लु र अमादब्लमलगायत हिमाल देखिन्छ। स्तूपा र गुम्बावरपर गेस्ट हाउस छन्। गुम्बाकै गेस्ट हाउसमा पनि साकाहारी भोजन खाएर बास बस्न सकिन्छ। धुलिखेलबाट हाइकिङ सुरु गरेर नमोबुद्ध हुँदै पनौती पुग्न सकिन्छ।
कसरी पुग्ने
काठमाडौंबाट बनेपासम्म बसमा। बनेपाबाट बिहान नौदेखि साँझ पाँच बजेसम्म घन्टा–घन्टामा दाप्चा जाने बस छुट्छन्। ती बसमा जाँदा नमोबुद्ध चोकमा ओर्लने।
स्वर्गद्वारी
प्यूठानको स्वर्गद्वारीमा ब्रह्मा, महर्षी वेदव्यास, पाँच पाण्डवलगायत ऋषिमुनिले तपस्या गरेको मानिन्छ। उनीहरू त्यतैबाट स्वर्ग गएको किंवदन्ती छ। त्यहाँ बालतपस्वी हंसानन्द गिरीले विसं १९५२ मा आश्रम स्थापना गरे। उनले विश्व कल्याणका लागि अखण्ड महायज्ञ सुरु गरेका थिए। यज्ञशालामा पाञ्चायन देवता देवी, गणेश, सूर्य, विष्णु, शिवका मूर्ति राखिएका छन्। चार दिशाका कोठामा अग्निकुण्ड छ भने बीचमा मूल कुण्ड।
मन्दिरमा वटुकले पूजापाठ गर्छन्। वेदका ऋचा, घन्ट र चराको चिरबिर गुन्जिन्छ। गाई यत्रतत्र डुलिरहेका भेटिन्छन्। नेपालीका साथै भारतीय पनि दर्शन गर्न आउँछन्।
आश्रम हाताको गुरुकुलमा आयुर्वेद, रुद्री, चण्डी, व्याकरण पढाइन्छ। गोवर्द्धन पर्वत, बाँझ वृक्ष, गुफा, शिवालय, सिद्धस्थान आदि दर्शनीय ठाउँ हुन्। त्यहाँ बैसाख पूर्णिमा, गुरु पूर्णिमा, गाईतिहार र पुस–माघमा नेपालीको भीड लाग्छ।
आकाश खुलेका बेला स्वर्गद्वारी (२,०४८ मिटर) बाट धौलागिरी, नीलगिरी, माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायत हिमशृंखला देखिन्छ।
आश्रमका धर्मशालामा सस्तोमा खाना र बास पाइन्छ।
कसरी पुग्ने
काठमाडौंबाट रोल्पा जाने बस चढ्ने। भिंग्रीमा ओर्लेर रात बिताउने। भोलिपल्ट ४ घन्टा उकालो पदयात्रामा स्वर्गद्वारी।
ध्वजेडाँडा
ध्वजेडाँडाबाट सूर्योदय, सूर्यास्त र हिमाली शृंखला देखिन्छ। भेडेटार पर्तिरको ध्वजेडाँडामा उभिएर कञ्चनजंघा, कुम्भकर्ण, मकालु, ल्होत्से, सगरमाथा हिमालसँग आँखा झिम्क्याउन पाइन्छ। त्यहाँबाट तराईका इटहरी, इनरुवा, धरान र झापासमेत हेर्न पाइन्छ।
धनकुटाको डाँडाबजार गाविसमा पर्छ, ध्वजेडाँडा। लाप्चा जातिले पूजापाठ गरी ध्वजापताका ग्ााड्ने ठाउँ भएकाले ध्वजेडाँडा भनिएको। थुम्कोमा भूकम्पमापक यन्त्र र भूसर्भेक्षण टावर छ। त्यहाँ किरातीको विश्व शान्ति यज्ञ कुण्ड छ।
डाँडामुन्तिर डाँडाबजार क्षेत्रका ३० घरमा होमस्टे सुविधा छ। बजार तल लाप्चेटारमा अजंगको बरको रूख छ। त्यसको फेदको गोलाइमात्र २३ मिटर छ।
कैलाश डाँडाबाट सूर्यास्तमात्रै होइन, धरान–धनकुटा नागबेली सडक र दक्षिणपट्टि सप्तकोसीको दृश्य देखिन्छ। हात्तीटारको चौबिसे उद्यानमा प्रजातन्त्र सेनानी डगलसिंह लिम्बूको सालिक छ। उद्यानमा रंगबिरङका फूल फुल्छन्। डाँडाबजारमा पुरातात्विक विष्णु चतुरबाहु मन्दिर छ।
धरान, इटहरी, झापा र विराटनगरलगायत पूर्वी नेपालमा बस्नेहरूको सप्ताहान्त मनाउने गन्तव्य बन्न सक्छ ध्वजेडाँडा।
कसरी पुग्ने
धरान–भेडेटार १७ किलोमिटर। भेडेटारबाट नाम्जे हँुदै १३ किलोमिटरमा डाँडाबजार। त्यहाँबाट आधा घन्टा हिँडाइमा ध्वजेडाँडा।
सौराहा
वाइल्ड लाइफ, थारू संस्कृति, सूर्यास्त, हात्ती र उँट सफारीका लागि सौराहाले ख्याति कमाएको छ। क्षेत्रीय होटल संघ चितवनले बर्सेनि सौराहामा हात्ती दौड गर्छ। उसले पुस ११ देखि १५ गतेसम्म दौड महोत्सव गर्दै छ। महोत्सवमा हात्ती दौड, छावाहरूको फुटबल, हात्तीको सौन्दर्य प्रतियोगिता, टाँगा दौड, डुंगा दौड आदि गरिन्छ।
हात्ती दौड हेर्न जान सके रमाइलो हुन्छ। दौडका अवसरमा सौराहाका रेस्टुरेन्टले मेनुमा १५ प्रतिशत छुट दिँदै छन्। होटलहरूले बजेट कोठाको ८ सय, स्ट्यान्डर्डको १२ सय र डिलक्सको १८ सय रुपैयाँमात्रै लिने घोषणा गरेका छन्। बजारमा थुप्रै छन् रेस्टुरेन्ट। थारू र थकाली परिकारका रेस्टुरेन्ट पनि छन्।
जाडोमा दिउँसो जंगल सफारी गर्न सकिन्छ। खुला ठाउँमा जनावर घाम ताप्न आउँछन्। साँझ राप्ती किनारमा उभिएर सूर्यास्त हेर्न मिल्छ। बजारका दुई सांस्कृतिक केन्द्रमा राति थारू नाच देखाइन्छ। त्यसका लागि सय रुपैयाँको टिकट काट्नुपर्छ। होटल मोनालिसाका केशव खनालले दुइटा उँट पालेका छन्। उँट सफारी रोमाञ्चक हुन्छ।
कसरी पुग्ने
काठमाडौंको कान्तिपथबाट हरेक बिहान ७ बजे सौराहाका लागि पर्यटक बस छुट्छन्। तिनले दिउँसो १ बजे गन्तव्य पुर्याउँछन्।
खप्तड
साहसिक युवाका लागि सुदूरपश्चिमको खप्तड लेक। जाडोमा त्यहाँ हिउँ पर्छ। तयारीसाथ जानु पर्छ। खप्तडमा ठूल–ठूला पाटन, त्रिवेणीधाम, नागढुंगा, खापर दह, खप्तड आश्रम, सहस्र लिंग आदि छन्।
खप्तड बाजुरा, डोटी, बझाङ र अछाम २२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको राष्ट्रिय निकुञ्ज हो। खप्तड बाबाले खप्तडमा बसेर ध्यान, योग र तपस्या गरेका थिए। खप्तडको उचाइ १,२६२ देखि ३,२७६ मिटरसम्म छ। त्यहाँ २२ ठूल्ठुला पाटन छन्।
खप्तड जडिबुटीको भण्डार पनि हो। २३ किसिमका वन्यजन्तु र २८७ प्रजातिका चरा पाइन्छ। खस्रे भ्यागुता र बझाङे पा खप्तडमा मात्र पाइन्छ।
युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएको मानिन्छ। खप्तड उकालिने धेरै बाटा छन्। चल्तीको बाटो सिलगढी–झिग्राना हुँदै हो। बझाङको छान्ना र कोल्टी, साँफेबगर तथा डोटी सीमाको चौखुट्टेबाट पनि जान सकिन्छ।
खप्तडमा खान र बस्नको दुःख छ। झिग्रानासम्म मात्रै होटल छन्। त्यसैले खाना सिल्पिङ ब्याग, टेन्ट र गाइड लिएर जानु पर्छ।
कसरी पुग्ने
काठमाडौं–सिलगढी बसमा। काठमाडौं–धनगढी हवाई यात्रा १ घन्टा। डोटी सदरमुकाम सिलगढीबाट दुई दिन पदयात्रामा खप्तड। पहिलो बास झिग्राना र दोस्रो बास खप्तडमा।
कालिञ्चोक
दोलखाको कालिञ्चोक (३,७०० मिटर )बाट सूर्योदय, सूर्यास्त र हिमाली शंृखला देखिन्छ। गणेश, लाङटाङ, गौरीशंकर, मेलुङ्ग्से, नुम्बुर, दोर्जे लाक्पा, चोयु हुँदै सगरमाथासम्म। डाँडामा कालिञ्चोक भगवती छिन्। खुला आकाशमुनि कुण्ड, घन्ट र त्रिशूल छन्। निराकार छिन् भगवती। हिन्दु र बौद्धमार्गी दुवैले कालिञ्चोकको पूजा गर्छन्। मनोकामना पूरा गरिदिने देवीका रूपमा उनलाई पुजिन्छ।
डाँडाको बेसक्याम्प कुरीभञ्ज्याङमा होटल छन्। त्यहाँ खान र बासको समस्या पर्दैन। भञ्ज्याङबाट एक घन्टा उकालोमा डाँडामा पुगिन्छ।
पुस–माघमा हिउँ पर्छ। चरिकोटबाट उत्तरमा पर्छ कालिञ्चोक। चरिकोटदेखि बाटो कच्ची छ। बस, जीप र मोटरबाइक लान सकिन्छ। काठमाडौंबाट हिँडेको दिन चरिकोटमा बास बसेर बिहान दोलखा भीमेश्वर दर्शनपछि कालिञ्चोक उकालिनु राम्रो।
कसरी जाने
काठमाडौं–चरिकोटसम्म १ सय ३३ किलोमिटर। चरिकोट–कुरी १७ किमि। चरिकोटबाट कालिञ्चोक पदयात्रा गर्न सकिन्छ।
प्रकाशित: ५ पुस २०७० २१:५१ शुक्रबार





