९ असार २०७८ बुधबार
अन्य

बौद्धदर्शनः जीवन प्रवाहमा कर्मसिद्धान्त

जीवन चर्याका क्रममा यस्तो भन्ने गरेको पनि सुनिन्छ, ‘मरेर के लानु छ र ?’ अनेक खालका जीवन दर्शनमा यो भनाइले आफ्नो बेग्लै स्थान राख्छ। यसरी नै ‘खाली हात आउने र खाली हात नै जाने’ भनेको पनि सुन्न पाइन्छ। यी दुवै भनाइमा भौतिकवादी दृष्टिकोणको छाप प्रस्ट रूपमा पाइन्छ।  

वैचारिक जगत्मा सम्भवतः सबैभन्दा पुरानो विचार भौतिकवाद हो र मान्छेका अनेक प्रश्नको जवाफ यस वादले दिन नसक्दा वा चित्त बुझाउन असमर्थ भएपछि धर्म वा अध्यात्मवादको चिन्तन परम्परा सुरु भयो। तर ताज्जुबको कुरा के हो भने, अध्यात्मवादी भनाउँदाहरू पनि ‘मरेर के लानु छ र ?’ भन्ने प्रश्न गर्दै ‘खाली हात आउने र खाली हात जाने’ दृष्टिकोण राखेर बाँच्छन्। यसबाट मान्छेहरू भौतिकवादतर्फ नै ढल्कन पुगेको वा नजानिँदो पाराले प्रभावित भएको बुझ्न सकिन्छ।  

दर्शनशास्त्रको दुनियाँमा भौतिकवाद ‘लोकायत’ नामबाट पनि चिनिन्छ। वेद वा वैदिक दर्शन पनि पुरानै हो। तर, यसलाई लोकायत (चार्वाकलगायत अन्य भौतिक मतवादीहरू)ले ठूलै चुनौती दिइरहेको थियो। कतिपय सन्दर्भमा वैदिक दर्शनभित्र पनि भौतिकवादी दृष्टिकोण पाइनुको गुह्यार्थ सम्भवतः यही हो। वैदिक चिन्तनमा आएको सुधार, विद्रोह वा क्रान्ति ‘भागवत्’ सम्प्रदायको प्रादुर्भाव भनेर पनि बुझ्न सकिन्छ। धर्मदर्शनको क्षेत्रमा इसापूर्व छैटौँ शताब्दीमा गौतम बुद्ध (इपू. ५६३–४८३) को उपस्थिति एउटा घुम्ती हो नै, उनको उपस्थितिले सम्पूर्ण रूपमा परम्परागत दार्शनिक मूल्य–मान्यतालाई हाँक दिँदै बेग्लै मान्यताको स्तम्भ गाडेको छ। यही भएर एकातर्फ परम्परागत वैदिकहरू मात्रै नभएर निर्ग्रन्थ (जैन) लगायत अन्य समकालीन मतवादी र अर्कोतर्फ भौतिकवादीहरू गौतम बुद्धका विरुद्ध उभिन पुगे। बुद्धलाई सहनशील, मिलनसार, धार्मिक सद्भाव राख्ने आदि शाब्दिक फूलबुट्टाले आजभोलि जति सिँगारपटार गरे पनि वास्तवमा ती कल्पनिक हुन्। बुद्धले शाश्वतवादीलाई जस्तै भौतिकवादी दृष्टिकोणलाई पनि स्पष्ट रूपमा शब्दमा मिथ्यादृष्टि भनेका छन्। यही प्रसंगमा ‘मरेर के लानु छ र ?’ भन्ने प्रश्न अनि ‘खाली हात आउने र खाली हात नै जाने’ दृष्टिकोणलाई गौतम बुद्धद्वारा देशित धर्मदर्शनको कसीमा राखेर विवेचन गरिन्छ।  

कर्म गर्नु तर कर्मफलको आशा नराख्नु भन्ने चर्चित भनाइ पाइन्छ। यसअनुसार मान्छे यस लोकमा आउनु र जानुमा उक्त मान्छेको कुनै हात हुँदैन। कुनै बेग्लै शक्तिबाट ऊ सञ्चालित भइरहेको हुन्छ। यसलाई अझ सरल शब्दमा भन्नुपर्दा यो पूरै लोक वा जगत् एउटा रंगमञ्च मात्रै हो र मानिसको जीवन एउटा बनिबनाउ नाटकबाहेक अरू केही होइन। मानिसको हैसियत भन्नु त्यो नाटकमा अभिनय गर्ने पात्र मात्रै हुन्। नाटकको निर्देशक अरू नै कोही छ, जसलाई विभिन्न मतावलम्बीले विभिन्न नाम दिएका छन्। तर गौतम बुद्धलाई निर्दिष्ट नाटकरूपी यो दृष्टिकोण मान्य थिएन र कर्मसिद्धान्तको देशना गरे। कार्यकारणको सिद्धान्तमा आधारित बुद्धको कर्मवाद वा कर्मसिद्धान्त अन्यभन्दा मौलिक रूपमा फरक छ।  

अनित्य वा क्षणभंगुरको मान्यतामा बौद्ध धर्म–दर्शन उभिएको छ। यसअनुसार वर्तमान जगत् पूर्वजन्मको कर्ममा आधारित छ। भविष्यको निर्धारण पनि वर्तमानको कर्ममै आधारित छ। यही जन्ममा राम्रो काम गरेर त्यसको कर्मफल भोग्ने वा नराम्रो काम गरेर दुःख भोग्ने एउटा पक्ष आफ्नो ठाउँमा छ भने भोग्ने काम अर्को जन्ममा पनि हुन सक्छ। यो अर्को जन्मको तात्पर्य एउटा मात्रै नभएर अनेकौँमध्ये एउटा जन्म हो। कर्मफल भोग्नका लागि मनुष्य जन्म एउटै मात्र होइन। कर्मअनुसार अनेकौँ योनिमा प्राणी बारम्बार जन्मेर आफ्नो कर्मको फल भोग्ने हो। कुन कर्मको फल के हुन्छ भन्ने कुराको निर्धारण कुनै बेग्लै शक्ति वा तत्वले नभएर कर्मअनुसार स्वतः निर्धारित हुन्छ। यसलाई कर्मविपाक पनि भनिन्छ। बौद्ध मान्यतामा विभिन्न लोकहरू छन्, तीमध्ये देवलोक एउटा हो। राम्रो कर्म गरेर पुण्य सञ्चय गरेकाहरू देवलोकमा जन्म लिई देवता बन्ने हुन्। तर देवताहरू दीर्घायु बने पनि मरणशील हुन्छन्। पुण्यको मात्रा क्षय हुँदै गएपछि त्यहाँबाट च्युत (मरण) हुन्छन् र अर्को कर्मफल भोग्न अन्य लोक वा योनिमा स्वतः जन्म लिन जानुपर्ने हुन्छ। जीवन प्रवाहको यही निरन्तरतालाई बुद्धले दुःखको रूपमा परिभाषा गरेका हुन्। दुःखको यो निरन्तरता कहिलेबाट कसरी सुरु भयो भन्ने प्रश्नको जवाफ बुद्धले दिएको पाइँदैन, तर बुद्धत्व प्राप्त गरेदेखि महापरिनिर्वाण नभएसम्म ४५ वर्ष देशना गरेको शिक्षा वा उपदेशको सारसंक्षेप दुःखबाट कसरी मुक्त हुने भन्ने नै हो।  

‘मरेर के लानु छ र ?’ भन्ने प्रश्नको सीधा जवाफ हो, कर्मको फल। राम्रो र असल काम गरेको भए सोहीअनुसार पुण्य सञ्चय गरिन्छ र अन्य लोकका साथसाथै यही मनुष्य लोकमा आउँदा पनि पुण्यको बलमा राम्रो अवस्था प्राप्त गर्न सकिन्छ। बौद्धहरू कुनै राम्रो गुरुको सानिध्यमा बसेर धर्म श्रवण गर्न पाए पूर्वजन्ममा आफूले कुनै राम्रो काम गरेको र त्यही पुण्यको प्रभावले यो अवसर जुटेको भनी आनन्दित हुन्छन्। ७००० अन्य सन्दर्भमा पनि राम्रो भयो भने यही प्रीति वाक्य उद्घात हुने गरेको पाइन्छ। यसरी नै कहिले काहीँ यो जन्ममा आफूले गर्दै नगरेको कर्मको भोग पनि भोग्नु पर्ने हुन्छ। अथवा, आफूले राम्रो काम नगरेको भएपनि राम्रो फल भोग्न पाइरहेको हुन्छ। यो भनेको कुनै अर्कै जन्ममा आफूले केही गरेको राम्रो वा नराम्रो कर्मको भोग बाँकी रहेको अवस्था हो। पूर्वजन्महरूमा जेजस्तो भएपनि यो जन्ममा राम्रो काम गरुँ, पुण्य कमाउँ र प्रगति गरुँ भन्ने सोच पनि विकास गर्न सकिन्छ र सोहीअनुसार जीवन प्रवाहले मोड लिने पनि हुन्छ। गौतम बुद्धका एक अग्रश्रावक भिक्षु मौद्गल्यायनण जन्म र मृत्युको चक्रबाट मुक्त भई अर्हत् भइसकेको अवस्थामा पनि कोही डाँकुहरू उनको हत्या गर्न तत्पर थिए। आफ्नो हत्याका लागि कोही आउँदैछन् भनेर उनी पहिल्यै आफ्नो ध्यानबलबाट थाहा पाउँथे र तत्काल उनी आफ्नो ऋद्धिबलको प्रभावले विलुप्त भइहाल्थे र डाँकुहरूको सिकार हुनबाट बच्थे। यस्तो घटना वारम्वार भएपछि उनी सोच्न वाध्य, हत्याको प्रयास किन भइरहेको छ ? यसको कारण खोज्दै जाँदा कुनै एउटा पूर्वजन्ममा आफूबाट आफ्नै आमाको हत्या हुन पुगेको रहेछ र त्यसका अनेक कर्मफलमध्ये कसैबाट कुटिएरै मारिनु पर्ने एउटा फल बाँकी रहेछ। कर्मफलबाट कोही पनि उम्किन पाउँदैन वा सक्दैन। त्यसपछि उनले ऋद्धिबलबाट भाग्ने काम गरेनन् र डाँकाहरूबाट मारिए। बुद्धत्व प्राप्त गरी स्वयं बुद्ध बनिसकेका गौतम बुद्धले कर्मविपाक भोग्नु परेको घटना पाइन्छ।  

आजभोलि भौतिकवादीहरू गौतम बुद्धलाई आफूजस्तै एक भौतिकवादी मानवका रूपमा बुझ्छन् र उनले प्राप्त गरेको ज्ञानको आधारमा बुद्ध भनेका हुन् भनेर बुझ्दछन्। के वा कस्तो ज्ञान प्राप्त गरेका हुन् भनेर सामान्य ज्ञान मात्रै हासिल गरेका भए यी भौतिकवादीहरू बुद्धलाई यसरी हल्काफुल्का रूपमा बुझेर दिग्भ्रमित हुँदैनथे होला। एकै जन्ममा बुद्धत्व प्राप्त गरी गौतम बुद्ध बनेका होइनन्। जन्म र मृत्युको चक्रबाट मुक्त भई अर्हत् हुने हैसियत राखेर पनि त्यसलाई स्थगन गरी ‘सम्यकसम्बुद्ध’ नै हुने लक्ष्य लिई अनेकौं जन्म लिई बोधिसत्व भई बोधिचर्या गरी अनेकौं पारमिता र उपपारमिता पूरा गरी बल्ल सम्यकसम्बुद्ध बनेका हुन्। एक जन्ममा गरेको राम्रो कामको पुण्यले अर्को जन्ममा त्यस्तै राम्रो काम गर्न सहायकसिद्ध हुन्छन्। नराम्रो कर्मविपाकहरू घटाउँदै र राम्रो काम गरेर अनेकौं पुण्यको संचय गर्नु बौद्ध अभ्यास हो। तसर्थ ‘मरेर के लानु छ र ?’ मात्रै होइन, ‘खाली हात आउने र खाली हात नै जाने’ दृष्टिकोण नितान्त घातक दृष्टिकोण हो। यस्तो घातक दृष्टिकोणले मान्छेलाई भौतिकवादी त बनाउँछ नै साथसाथै पुण्य संचय गर्ने धर्मचित्तलाई पनि दुरुत्साहित गर्ने हुन्छ। जन्मँदा हामी खाली हात आउँदैनौं, धेरै कुरा लिएर आउँछौं र मर्दा पनि धेरै कुरा लिएर जान्छौं। यो क्रम तबसम्म जारी रहन्छ, जबसम्म जन्म र मृत्युको यो प्रवाह तोडिन्न।  

प्रकाशित: २५ वैशाख २०७८ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App