'के लग्यो हल्काले' शीर्षकमा तयारे नाटक शिल्पीले आफ्नै अधकल्चो हलमा आइतबार पहिलोपटक प्रस्तुत गर्यो। सुदूरपश्चिमका विभिन्न समस्यालाई कथ्यमा उनेको नाटकले त्यस क्षेत्रका दैनिकीलाई उठाएको छ। नाटकमा बालविवाह, भारतमा श्रम गर्न जानुपर्ने बाध्यता, श्रम गर्न गएका युवाहरु भारतका कोठीमा गएर एचआइभी पोजेटिभ बोकेर आउने प्रसंग, छाउपडी जस्ता पक्षहरु बुनिएको छ।
धेरै समस्यालाई एउटै कथामा प्रस्तुत गर्नु नाटकको शैली रहेको परिकल्पनाकार तथा निर्देशक घिमिरे युवराजले बताए। 'नाटकमा पनि कथा भन्ने शैलीमा निरन्तर प्रयोग भइरहेका छन्। हामीले त्यस्तै केही प्रयोग गरेका छौं। साधारणतया एउटा प्रसंग सकिएपछि मात्र अर्को प्रसंगको प्रवेश हुन्छ, यसमा हामीले प्रसंगलाई ओभरल्याप गराउँदै प्रवेश गराएका छौं,' घिमिरेले भने।
सुदूरपश्चिमका ११ जिल्लामा मञ्चन हुने नाटकमा शिल्पीका नयाँ कलाकारहरुले अभिनय गरेका छन्। दशैंको पूर्णिमाबाट सुरु हुने शिल्पी नाटक यात्रामा लुनिभा तुलाधर,जीवन बराल, टंक टाइगर, रेणुका कार्की, बादल भट्ट, सरिता साह, चन्दा चौधरी, रोशनकुमार मेहता, किरण चाम्लिङ, हेमन्ता एडी, सपना खड्का र प्रभाष घिमिरेले सहभागिता जनाउने छन्। नाटक डडेलधुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्युठान, बाग्लुङमा मञ्चन हुनेछ। हरेक जिल्लामा चार शो नाटक हुने घिमिरेले जनाए। 'दुई शो स्कुलमा मञ्चन हुनेछ भने सरकारी कार्यालय र सार्वजनिक स्थानमा एक–एक शो मञ्चन हुनेछन्,' घिमिरेले भने।
प्रकाशित: २१ आश्विन २०७० २१:३५ सोमबार





