२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

साहित्यकार गोविन्दराज विनोदीको काव्य ‘अलंकार इन्द्रेणी’ लाई ‘लेखक कृति पुरस्कार’

नेपाली लेखक संघ कास्कीले यस वर्षको गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार-२०८१’ साहित्यकार गोविन्दराज विनोदीको काव्य ‘अलंकार इन्द्रेणी’ लाई प्रदान गर्ने निर्णय गरेको छ।

कास्कीमा जन्मेर हाल नवलपुरको गैंडाकोटमा बसोबास गर्ने विनोदीलाई २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित पुरस्कृत गरिने भएको हो।

संघले सोही अवसरमा पाँच दशकदेखि भाषा, साहित्य र प्रजातान्त्रिक आन्दोलनमा सक्रिय साहित्यकार एवं समाजसेवी तारा पाखेलाई सम्मान गर्ने निर्णय समेत गरेको छ।

साहित्यकार एवं समाजसेवी तारा पाखे

संघको कार्यसमिति बैठकले पुरस्कार छनोट समितिको सिफारिस अनुमोदन गर्दै उक्त निर्णय गरेको सचिव प्राञ्जलले बताए।

पुरस्कार छनोटका लागि साहित्यकार एवं समालोचक डा. लक्ष्मीशरण अधिकारीको संयोजकत्वमा डा. विष्णुप्रसाद शर्मा र डा. गणेश शर्मा सदस्य रहेको समिति गठन गरिएको थियो। संघकी अध्यक्ष रीता अधिकारी ऋतु र सचिव प्राञ्जल समितिको पदेन सदस्य थिए।

जन्म वा कर्मले गण्डकी प्रदेशसँग जोडिएका लेखकले २०८१ सालमा प्रकाशन गरेका कृतिमध्येबाट ‘अलंकार इन्द्रेणी’ लाई छनोट गरिएको संयोजक अधिकारीले बताए।

‘विनोदीका कवितामा वैचारिक गहिराइ, उत्कृष्ट भाषाशैली र अभिव्यक्तिको सन्तुलन पाइन्छ। त्यसैले यो कृति पुरस्कृत भएको हो,’ अधिकारीले भने।

विनोदीका ’कैकेयी’ महाकाव्य र ’तप्तचाँदनी’ खण्डकाव्यसहित दर्जनौं कृति प्रकाशित छन्।

साहित्यकार गोविन्दराज विनोदी र साहित्यकार एवं समाजसेवी तारा पाखेलाई आउँदाे माघ २४ गते दि भिलेज रेष्टुरेन्ट, चिप्लेढुंगा पोखरामा आयोजना हुने कार्यक्रममा सम्मान तथा पुरस्कार अर्पिने संस्थाका अध्यक्ष रिता अधिकारी ऋतुले बताइन्।

प्रकाशित: ९ माघ २०८२ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App