११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

कसरी चिन्ने केटा र केटी?

केटाको पक्षबाट केटी हेर्न गए। अचेल बिहे छिन्न जाँदाको लस्कर जन्तीको जत्रै हुन्छ। छोरीमान्छे र छोरामान्छे सराबरी देखिन्छन्। अझै कुरा गर्ने हो भने बिहेबारीका अन्तिम निर्णायक–शक्ति भनेकै वरपक्षका महिलाहरू हुन्। दिदी, बहिनी, फुपू, भाउजू, काकी, माइजू आदि। वधूपक्षले वरपक्षलाई केटी देखाए। टपक्क टाँसिएको पाइँट, सट, कोट र टाईसमेत लाएकी र थाई कट गरेकी हुनाले ती नानीलाई दाइ अथवा भाइ पनि भन्न मिल्ने नै थियो। अधिकृत तहको स्थायी जागिर खाएकी। जागिर पनि सरकारी। मन पराएर हेर्दा रूपरङ्ग चन्द्रमुखी नै भनिदिए हुने!बिहा छिन्न र जन्त जान भनेपछि अचेलका महिला मरिहत्ते गर्छन्।

अत्याधुनिक केटी, सबैले मन पराए, सह्राउनुसम्म सह्राए। टीकाटालो सकियो। केटापक्षका सबै जना घर फर्किए। बिच बाटामा आइपुगेपछि एउटी महिलासदस्यले लाजै नमानी केटाको कानमा खुसुक्क सुनाइन्–“लवाइसवाइ हेर्दा र नाउँ सुन्दा त हामीले कुरो छिनेको मान्छे केटोजस्तो लाग्यो। तिनको नाम रहेछ सुमन शर्मा'!”

केटी थिइन्, बाबुको अनुहार परेकी। वेशभूषा पूरै केटाको, नाउँ पनि केटाको, रूप पनि केटाको! दाह्रीजुँगा जडिदिँदा दाइ भन्न मिल्ने! केटो तर्सियो। केटी हेर्न गइसकेपछि केटो हो कि केटी हो जान्नका लागि तिनको लैङ्गिक परिचय दिने अङ्ग पो हेर्नुपर्ने! बिचरो टोहोलाउन थाल्यो।

पहिलेपहिलेको नेपाली भाषामा स्त्रीलिङ्गी व्यक्तिका लागि थर पनि स्त्रीलिङ्गकै हुन्थ्योदमिनी, कमिनी, दाहाल्नी, सर्किनी, मगर्नी, बाहुनी, छेत्रिनी, गुर्सिनी/गुरुङसेनी, पण्डित्नी, डाक्टर्नी, माष्टर्नी आदि। अचेल यी शब्दहरू उभयलिङ्गी छन्।

केही दिनअगाडि एउटा लेख पढेको थिएँ। महिला साहित्यकारलाई पुरुष र पुरुष साहित्यकारलाई महिला बनाएर तदनुरूप क्रियापदको प्रयोग गरिएछ! सुद्धी हराएका बूढा समालोचकहरूले नाम मात्रै हेरेर समालोचना गरेछन्। क्रियापद चाहिँ स्त्रीलिङ्गी नै राख्नुपर्ने भएपछि नाम पनि त राखिदिएको भए कसको के जान्थ्यो? हरिकुमारी, राममाया, शिवमैयाँ, कृष्णकला, इन्द्रनानी आदि सबै स्त्रीलिङ्गी नाम हुन्। हरि, राम, शिव, कृष्ण, इन्द्र आदि मात्रै पुलिङ्गी हुन्। यस्तै गरी लक्ष्मीप्रसाद, रमानाथ, पार्वतीकुमार, देवीदत्त, कालीप्रसाद, गौरीनाथ, सिद्धिलाल, गिरिजाप्रसाद, उमादास, चण्डीबहादुर आदि स्त्रीलिङ्गी नाम हुन्। लक्ष्मी, रमा, पार्वती, देवी, काली, गौरी, सिद्ध, गिरिजा, उमा, चण्डी मात्रै पुलिङ्गी नाम हुन्। यसै उदाहरणलाई मनन गरी नामको पछाडि पुलिङ्गवाचक वा स्त्रीलिङ्गवाचक शब्द जोड्नका लागि सुझाउनु आवश्यक देखियो। नत्र, केटा अथवा केटी हेर्न जाँदा उनीहरूको यौनाङ्ग नहेरी नहुने अवस्था आउन सक्छ। बिहा छिनेर घर फर्किसकेको केटो केटीको लैङ्गिक पहिचान दिने अङ्गको परीक्षण गर्न पुनः फर्किएछ।

प्रकाशित: १७ आश्विन २०७० ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App