यसअघि काभ्रेका विभिन्न ठाउँमा मञ्चन भइसकेको नाटकलाई काठमाडौंका दर्शकप्रति लक्षित गर्दै सर्वनाममा ल्याइएको निर्देशक घिमिरेले बताए । तामाङ समुदायमा रहेको महिलाको स्वतन्त्रता र त्यससँग गाँसिएको मिथमा आधारित नाटक तयार पार्न १२ कलाकारले १५ दिनसम्म कार्यशालामा भाग लिएका थिए ।
नाटक हेरेपछि समालोचक अभि सुवेदीले भाषाले नाटकलाई असर नगर्ने बताए । 'तामाङ भाषाको नाटकमा काव्य, मिथक र जीवनको समिक्षा गरिएको रहेछ । तामाङ समुदायलाई बुझ्न यो नाटक हेरे पुग्छ,' उनले भने । तामाङ मिथहरु सुन्दा रमाइलो हुने उनको धारणा थियो ।
'तामाङ समुदायको पृष्ठभूमिमाथि तयार भए पनि महिलाको मुद्दालाई नाटकमा प्राथमिकता दिएको छु । मैले बाल्यकालमा सुनेका कथालाई नाटकमा ढालेको हुँ । सुनेको कुराको भरमा मात्र लेख्दा अलि समस्या भएको थियो । परम्परागत रीतिरिवाजमा महिलाको स्थानका बारेमा नाटक केन्द्रित छ,' लेखक बलले भने । उनले नाटकमार्फत् सामाजिक समस्याको पहिचान गर्ने प्रयास भएको समेत दाबी गरे ।
आगामी असोज १२ सम्म मञ्चन हुने नाटकका बारे अशेष मल्ल, अमृत योञ्जन र अजितमान तामाङ लगायतले बोलेका थिए । 'सामाजिक समस्याको मुद्दा उठाएपछि त्यसको निराकरण पनि खोज्नुपर्ने हुन्छ । तामाङ भाषाको नाटक तयार गर्दा यसको संंस्कृतिसँग पनि परचित हुने अवसर पाएँ । मेरो लागि यो उपलब्धि रहयो,' निर्देशक घिमिरेले भने ।
नाटकमा दिलमाया तामाङ, शान्ति लामा, सन्तोष तामाङ, सन्तोष गुरुङ, अविशन लामा, निमा लामा, सुनिता लामा, वीरबहादुर लामा, उदय लामा टुबा, शर्मिला योञ्जन, अञ्जना गुरुङ र रेणुका कार्की लगायतले अभिनय गरेका छन् । नाटकको कोरियोग्राफी बादल भट्टले गरेका हुन् ।
प्रकाशित: ८ आश्विन २०७० ००:१२ मंगलबार





