भन्नेहरू के पनि भनिरहेका छन् भने झिल्के कमरेड प्रचण्डले सबैभन्दा पहिले पार्टीलाई कपडा उत्पादनमा लगाउनेछन्। सुन्दर पहिरनका सोखिन जो छन्। एक थरी राजनीतिक विश्लेषक (नोटः नेपालका राजनीतिक विश्लेषक यस्ता जीव हुन्, जो असारमा डम्म बादल लागेको दिनमा पनि पानी पर्न सक्ने सम्भावना छ भनेर विश्लेषण गर्न सक्दैनन्। उनीहरू राजनीतिमा ज्योतिषशास्त्रीय खालको पूर्वानुमान गर्छन्।) भन्छन्, 'अब माओवादीले दुई खालको जनशक्ति उत्पादन गर्छ। नयाँ लठैतहरू र नयाँ भाट विचारकहरू।'
एकताका नेकपा माओवादीले एउटा पोस्टर ठाउँकुठाउँ टाँस्ने गर्थ्याे, स्तरहीन फिल्मको भद्दा पोस्टर जस्तो। पोस्टरमा मार्क्स, लेनिन, माओको लहरमा कमरेड प्रचण्डको फोटो हुन्थ्यो र लेखिएको हुन्थ्यो- मार्क्सवाद, लेनिनवाद, माओवाद, प्रचण्डपथ जिन्दावाद! कमिलालाई के जातिको पहिरो भन्याजस्तो। एक थरी विद्वानहरू अहिले पनि भन्छन्, 'खासमा प्रचण्डपथ कमरेड मोहन वैद्य किरणको बौद्धिकताको 'तोरीलाहुरे' आविष्कार थियो।' प्रचण्डपथ राजनीतिक विचारभन्दा लाजिम्पाटदेखि सिंहदरबारसम्मको या यस्तै कुनै सडकखण्डको नामजस्तो सुनिन्थ्यो।
त, प्रचण्डले उत्पादनको कुरा गरे। उनको पार्टीले अहिले सबैभन्दा बढी उत्पादन गरेको भनेको 'नगद' हो। त्यसैले जनताले अहिले यस पार्टीको न्वारन गरिदिएको छ- 'क्यास' माओवादी। हिजो ज्यानको बाजी थापेर बन्दुक बोकेका कार्यकर्ता आजको नवीन सन्दर्भ र परिस्थितिमा 'झ्यास' भए। अहिले पार्टीभित्र उनीहरूको हैसियत झ्यास र पातपतिंगरकै छ। क्यास माओवादीका रूपमा पार्टीको रूपान्तरण भएपछि झ्यासहरूलाई कसले गन्छ? माओवादीको अहिलेको आवश्यकता भनेको 'क्यास कार्यकर्ता' हो। चन्दा, असुलीमा पारंगत क्यास कार्यकर्ता। पार्टीको विचार र सिद्धान्तलाई माया गर्ने अनुत्पादक झ्यास कार्यकर्ता अतिरिक्त बोझमात्रै हुन्।
माओवादीले भन्ने गरेको (या फलाक्ने गरेको) राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण भइसकेको छ, उनीहरूका नेताका सन्दर्भमा। सबै खाले रूपान्तरणको गन्तव्य अन्ततः 'क्यास' हो। क्यास हुनेले राजनीतिमा दह्रो खुट्टा टेक्छ, आर्थिक क्षेत्रमा उसकै बोलवाला हुन्छ, सामाजिक प्रतिष्ठा उसैलाई प्राप्त हुन्छ। माओवादीको हरेक प्रभावशाली नेतासँग टन्न क्यास छ। गाउँ लेबलको माओवादी नेता पनि अहिले लाख घटी कुरै गर्दैनन्। उनीहरू महिनैपिच्छे बाइक फेरिरहेका हुन्छन्, हप्तैपिच्छे दारु पार्टीमा जमिरहेका हुन्छन्।
यो महाधिवेशनपछि माओवादी झन् क्यास उत्पादनमा लाग्नेछ। अध्यक्षले उत्पादनको उर्दी जारी गरिसकेपछि कार्यकर्ता चुपचाप बस्ने कुरै भएन। यसै पनि कम्युनिस्ट पार्टीका बफादार कार्यकर्तामा आदेश शिरोपर गर्ने संस्कार हुन्छ।
राजनीतिक पार्टीले त्यत्तिकै क्यास उत्पादन गर्न सक्दैन। किनभने यो बैंक होइन, फाइनान्स कम्पनी पनि होइन। राजनीतिक पार्टीले क्यास उत्पादन गर्न लठैतहरू प्रयोग गर्नुपर्छ। लठैतका बलजफतका कामकारबाहीलाई उचित ठहर्याइदिन भाट विचारक चाहिन्छन्। कमरेड प्रचण्डले दुई 'प्रोफेसनल म्यानपावर' उत्पादन गर्ने भनेका हुन्। यी दुईलाई फ्युजन गरेर प्रचण्डले 'लठैत विचारक' उत्पादन पनि गर्न सक्छन्। उनलाई यसै चामत्कारिक पुरुष भनिएको होइन। चामत्कारिक पुरुषले जे पनि गर्न सक्छ।
प्रकाशित: २८ माघ २०६९ ०३:४८ आइतबार





