८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

अनलाइन स्कुल, अनलाइन परीक्षा

दीपिका नेपाल

मान्छेले सिक्ने कुरा कहिल्यै सकिँदैन । मान्छेले जन्मदेखि मृत्युपर्यन्त केही न केही सिकिरहेकै हुन्छ । त्यसैले त मान्छेको जीवनलाई अनुभवहरूको सङ्ग्रहालय भनिन्छ । किनकि मान्छेले सिकेका कुरा आफ्नो अनुभवहरूको सङ्ग्रहालयमा सुरक्षित गर्दै जान्छ । कतिपय सामान्य कुराहरू बिर्सिँदै पनि जान्छ भने कतिपय कुराहरू अमिट भएर बसिरहेका हुन्छन् ।

सिक्ने र सिकाउने सन्दर्भमा गत वर्षको चैतदेखि नै विश्वभरका मान्छेले नयाँ कुराको अनुभव गर्न पाएका छन् । नोबल कोरोना भाइरसले विश्वभर आफ्नो प्रभाव जमाउन थालेपछि विश्वकै मानिसले आफ्नो जीवनलाई नयाँ ढंगले सञ्चालन गर्ने अभ्यास गर्दै छन् । एक लाखभन्दा बढी नागरिकको कोरोनाका कारण मृत्यु हुने देशहरू अमेरिका, भारत र ब्राजिलमा नागरिकहरूले बाँच्नका लागि भाइरसविरुद्ध लडिरहेको सत्य सबैले देखेकै छन् । कोरोनाबाट नेपालमा समेत एक हजारको हाराहारीमा मृत्यु भइसकेको छ । यस्तो अवस्थामा पनि मानिसहरू विभिन्न विकल्प अपनाएर जीवनलाई सहज बनाउने प्रयास गरिरहेका छन् ।

कोरोनाले विश्वकै शिक्षा क्षेत्रमा नराम्रो प्रभाव पारेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मका कक्षाहरू सञ्चालन हुन सकेका छैनन् । यस्तो अवस्थामा पछिल्लो समय अनलाइन प्रणालीबाट पठनपाठन भइरहेको छ । यस्तै प्रणाली नेपालका अधिकांश विद्यालय र विश्वविद्यालयले अपनाएका छन् । मुख्य शहर, सदरमुकाम र कतिपय नगर क्षेत्रका विद्यार्थीहरूले अनलाइनबाट पढिरहेका छन् तर अझै नेपालका कतिपय क्षेत्रका विद्यार्थीहरू यस्तो सुविधाबाट वञ्चित छन् ।

मेरो बसोबासको क्षेत्र चितवन हो । यहाँका इच्छाकामना गाउँपालिकाका केही पहाडी क्षेत्रबाहेक अन्य क्षेत्रमा इन्टरनेट सुविधा भएको हुँदा अनलाइन कक्षा चलिरहेको छ । म आफैँले पनि यही सालको जेठ महिनादेखि विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सहभागिता जनाएको छु । विद्यालयमा गएर शिक्षक–शिक्षिकाहरूसँग पढेको जस्तो अनलाइनबाट त पक्कै भएको छैन तर केही पनि नहुनुभन्दा त धेरै भएको जस्तो लागेको छ । सुरुमा अनलाइनबाट कसरी पढ्ने होला जस्तो पनि नलागेको होइन । बिस्तारै अहिले त यसैमा बानी परिसकेको जस्तो भएको छ । घरै बसेर हामी पढिरहेका हुन्छौं । शिक्षक–शिक्षिका पनि कोही आफ्नै घरबाट, कोही विद्यालयमा आएर पढाइरहनुभएको छ । यसरी पनि पढ्न मिल्ने रहेछ । आखिर खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै भएको छ । कोरोनाले विद्यालयमा उपस्थित हुन नदिए पनि हामीले पढाइलाई रोकेका छैनौं । अनलाइनबाट कसरी पढ्ने, कसरी पढाउने भन्ने कुरा हामी र शिक्षकहरू सबैले एकैपटक सिक्यौं । त्यसैले यो सिक्ने कुरा कहिल्यै नसकिँदो रहेछ ।

विद्यालयले पढाउने मात्र होइन, आफ्नो तालिकाअनुसार परीक्षा पनि लिइरहेको छ । बेलाबेला कक्षगत परीक्षामा सीमित भएको परीक्षा प्रणाली अहिले आएर त्रैमासिक रूपमा पनि सञ्चालन भएको छ । असोज महिनाको १५ गतेदेखि हामीले अनलाइनबाटै परीक्षा दियौं । विद्यालयले आफ्ना विद्यार्थीको प्रगति हेर्नका लागि र अभिलेखका लागि आफैँले लिएको यो परीक्षामा म पनि सहभागी भएँ । विद्यालयमा उपस्थित भएर दिएको परीक्षाभन्दा त फरक पक्का पनि भयो तर कसरी परीक्षा दिने होला भन्ने जिज्ञासा पनि समाधान भयो । मान्छेले परेपछि सबै काम जान्दो रहेछ भन्ने लागेको छ । गत असोज २७ गतेदेखि फेरि भरतपुरमा रहेका निजी विद्यालयहरूको संगठन भरतपुर स्कुल सोसाइटी (बेस)ले सञ्चालन गरेको परीक्षामा पनि सहभागी भएर राम्रो गरेको छु ।

अघिल्लो सालसम्म परीक्षाको दिन विद्यालयमा उपस्थित हुनुपर्ने, मूलढोकामा प्रवेशपत्र देखाउनुपर्ने, झोलामा अनावश्यक कुरा बोकेको छैन भनेर झोला खोलेर देखाउनुपर्ने अनेक किसिमका नियमभित्र बाँधिएर परीक्षा दिएका हामीलाई अहिले आफ्नै घरमा बसेर, आफै इमानदार भएर, आफ्नो मूल्याङ्कन आफैँले गर्ने गरी परीक्षा दिन पाउने वातावरण यही कोरोनाले बनाइदिएको छ । आखिर जस्तो परिस्थिति आउँछ, मान्छेले उस्तै गरी जीवन चलाउँदो रहेछ । अहिले अग्रजहरूको अनुभव, शिक्षकहरूको सुझाव र निर्देशन आदिले हामीलाई शिक्षा प्राप्त भएको छ ।

पछिल्लो अवस्था हेर्दा, रेडियोमा समाचार सुन्दा यो वर्ष हामी विद्यालयमा गएर पढ्न पाउने वातावरण नआउने हो कि भन्ने शंका छ । त्यसैले अहिले पढिरहेको अनलाइन माध्यमलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने कुरामा सबैले सोच्ने हो भने कोरोनाले पठनपाठनमा खासै समस्या बनाउन सक्दैन कि भन्ने लाग्छ । 

कक्षा – ९, वाल्मीकि शिक्षा सदन, भरतपुर ४, चितवन ।

प्रकाशित: ३ कार्तिक २०७७ १०:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App