२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
अन्य

भाउजूको हत्या गर्नेलाई जन्मकैद

नुवाकोट, मंसिर २४ - जिल्ला अदालत नुवाकोटले भाउजू हत्यामा संलग्नलाई जन्मकैदको फैसला गरेको छ। रातमाटे-२ की ४२ वर्षीया जानुकादेवी लामिछानेको हत्या गरेको अभियोग प्रमाणित गर्दै अदालतले सोही वडाका विष्णुप्रसाद लामिछानेलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको अदालतका स्रेस्तेदार केशवराज पराजुलीले बताए।  जिल्ला न्यायाधीश पदमराज भट्टको एकल इजलासले उक्त फैसला शुक्रबार गरेको हो। नातामा विष्णुप्रसाद मृतक जानुकादेवीका देवर हुन्।

जानुकादेवीको २०६८ असार २ गते आफ्नै घरमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। सरकारी वकिलको कार्यालयले सो हत्या अभियोगमा अन्य पाँच जनालाई पनि फरक फरक सजायको माग दाबीसहित मुद्दा दायर गरेकाले अदालतले अर्जुन लामिछाने, बच्चु भनिने ताराजङ्ग लामिछाने र रमेश लामिछानेलाई १२/१२ वर्ष कैद सजायको फैसला गरेको छ। जीवनाथ लामिछाने र रामेश्वर लामिछानेलाई भने तीन/तीन वर्ष कैद सजाय सुनाइएको छ। सजाय सुनाइएका छ जना जिल्ला अदालतको आदेशअनुसार पुपर्क्षका लागि थुनामा थिए।

सरकारी वकिल कार्यालयले सो साल असार २९ मा विष्णुप्रसादसहित छ जनालाई छुट्टाछुट्टै अभियोग दाबीसहित फरक सजाय माग गरी मुद्दा दायर गरेको थियो। रासस

प्रकाशित: २४ मंसिर २०६९ ००:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App