१७ श्रावण २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीको नयाँ कीर्तिमान : नेहरूलाई पछि पार्दै बने सबैभन्दा लामो समयसम्म ‘लगातार निर्वाचित’ प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको इतिहासमा सबैभन्दा लामो समयसम्म लगातार निर्वाचित प्रधानमन्त्रीका रूपमा सेवा गर्ने नयाँ कीर्तिमान कायम गरेका छन्।

मे २६, २०१४ मा पहिलोपटक प्रधानमन्त्रीको रूपमा शपथ लिएका मोदीले आज (बुधबार) चार हजार ३९९ औं दिनको निरन्तर कार्यकाल पूरा गर्दै यो कीर्तिमान बनाएका हुन्। यसअघि यो कीर्तिमान भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा थियो। नेहरूले सन् १९५२ को पहिलो आम निर्वाचनपछि निर्वाचित प्रधानमन्त्रीका रूपमा लगातार चार हजार ३९८ दिन सेवा गरेका थिए।

नेहरूको कुल कार्यकाल ६ हजार १३० दिनको थियो, जसमा सन् १९४७ मा भारत स्वतन्त्र भएपछि पहिलो आम निर्वाचन हुनुअघिको अन्तरिम सरकार प्रमुखका रूपमा बिताएको एक हजार ७३२ दिन पनि समावेश छ। तर, निर्वाचनपछिको लगातार कार्यकालको हिसाबले भने मोदीले नेहरूलाई पछि पारेका हुन्।

मोदीको पनि यो लगातार तेस्रो कार्यकाल हो। यसैबीच, मोदी सरकारको १२औँ वर्षगाँठ र यो ऐतिहासिक कीर्तिमानको अवसरमा राष्ट्रिय लोकतान्त्रिक गठनबन्धन (एनडीए) ले बुधबार भारत मण्डपममा एक महत्वपूर्ण बैठक गर्दैछ। गठबन्धन शासित २२ राज्य र केन्द्र शासित प्रदेशका मुख्यमन्त्री, उपमुख्यमन्त्री तथा सहयोगी दलका प्रमुख नेताहरू सहभागी हुने उक्त बैठकले मोदीलाई बधाई दिने प्रस्ताव पारित गर्ने जनाइएको छ।

बैठकमा 'विकसित भारत २०४७' को गुरुयोजना, केन्द्र र राज्यहरूबीचको समन्वय, विकास परियोजना, तथा 'जीवनयापनको सहजता' र 'व्यापार व्यवसायको सुगमता' लाई अगाडि बढाउनेबारेमा छलफल हुनेछ।

प्रकाशित: २७ जेष्ठ २०८३ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App