२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
बजार

सांघाई अटो एक्स्पोमा सहभागी हुन गण्डकीका २२ सहित ३० मेकानिक चीन जाँदै

चीनको सांघाईमा हुने अटो एक्स्पोमा सहभागी हुन नेपालबाट ३० जनाको टोली जाने भएको छ। चार दिनसम्म सञ्चालन हुने एक्स्पोमा अटो क्षेत्रमा आएको आमूल परिवर्तनलाई नजिकबाट नियाल्न तथा मर्मतसम्भारसम्बन्धी तालिम लिन पोखराका २२ जनासहित देशभरका ३० जना अटो मेकानिक सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

एपेस सोर्सिङ एन्ड म्याचिङ कन्फरेन्स–२०२६ को निमन्त्रणामा आयोजना हुने एक्स्पोको म्याचिङ सेसनमा सहभागी हुन नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको नेतृत्वमा टोली चीन जान लागेको हो। ८० देशका प्रतिनिधि सहभागी हुने उक्त एक्स्पोमा १ हजार ७ सय ८५ वटा अटो कम्पनी सहभागी हुने दाबी गरिएको छ।

यसैबीच, सोमबार बिहान ११ बजेको उडानबाट चीन प्रस्थान गर्ने टोलीलाई आइतबार पोखराबाट बिदाइ गरिएको छ। पोखराबाट जाने टोलीलाई गण्डकी अटो मेकानिकल्स एसोसिएसनका पूर्वअध्यक्षहरू सनतकुमार भट्टराई, सानुमान जलारी, सल्लाहकार कृष्णबहादुर थापालगायतले माला र खादा लगाएर बिदाइ गरे।

एघारदिने भ्रमणमा जाने टोलीले सांघाई एक्स्पोमा एक सातासम्म अटो क्षेत्रमा आएको आमूल परिवर्तनलाई नजिकबाट अवलोकन गर्नेछ। हाल अटोमोबाइल क्षेत्रमा विकसित नवीनतम प्रविधि, उपकरण र उत्पादनको अवलोकन गर्नुका साथै पार्टपुर्जा र मर्मतसम्भारसम्बन्धी तालिम पनि लिने नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले जानकारी दिए।

उनका अनुसार पाँच फरक विधामा ६/६ जनाले तालिम लिनेछन्। जसअनुसार ईभी वायरिङ, इन्जिन, पार्ट्स, पम्प इन्जिन, टर्बो तथा बडी मेकानिकसम्बन्धी तालिमका लागि सम्बन्धित मेकानिकहरूलाई समूह विभाजन गरिएको छ। उनले भने, “जसले जुन विषयमा काम गरिरहेको छ, उसैलाई त्यही विषयको तालिम दिने गरी समूह बनाएका छौँ।”

तालिम नेपाल र नेपाली अटो मेकानिकका लागि महत्वपूर्ण हुने गण्डकी अटो मेकानिक्स एसोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए। “ईभी गाडीमा अहिले आमूल परिवर्तन आएको छ,” उनले भने, “हामीले अहिलेसम्म जानेको ज्ञानका आधारमा मर्मतसम्भार गर्दै आएका छौँ। अब नयाँ प्रविधि सिकेर आएपछि त्यसलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्न सक्नेछौँ।”

टोलीले छेन्दुस्थित एसआरएम गाडी उत्पादन कारखाना तथा चीनका व्यवस्थित अटो सेवा केन्द्र (अटोल्यान्ड) को समेत अवलोकन गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए। साथै, उद्योगी–व्यवसायीबीच हुने बीटुबी (बिजनेस–टु–बिजनेस) छलफलमा समेत सहभागी हुने उनले बताए।

एक्स्पोमा सहभागी हुने ८३ देशमध्ये ४० देशका प्रतिनिधिको सम्पूर्ण खर्च आयोजकले बेहोर्नेछ। बाँकी नेपालसहित ४३ देशका प्रतिनिधिको खाने, बस्ने तथा तालिमसम्बन्धी खर्च मात्रै आयोजकले व्यहोर्नेछ। नेपालबाट जाने टोलीले हवाई यात्राको खर्च भने आफैं व्यहोर्नुपर्ने नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले जानकारी दिए। गण्डकी अटो मेकानिकल्स वर्क्स एसोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीका अनुसार प्रति व्यक्तिको हवाई यात्रा खर्च दुई लाख रुपैयाँभन्दा बढी पर्नेछ।

ईभी गाडीको प्रयोग बढिरहेका बेला अटो मेकानिकहरूले ईभी उत्पादन हुने देशमै पुगेर तालिम लिने अवसर पाए पनि राज्यबाट कुनै सहयोग नपाउँदा उनीहरू निराश बनेका छन्। तालिममा सहभागिताका लागि सहयोग माग्दै पोखरा महानगरपालिकादेखि गण्डकी प्रदेश सरकारसम्म आग्रह गर्दा पनि सहयोग नपाएको अध्यक्ष अधिकारीले बताए।

“तालिममा सिकेका सीप व्यवहारमा उतार्न सके देशलाई नै फाइदा हुन्छ,” उनले भने, “तर पोखराका मेयर धनराज आचार्यदेखि गण्डकी प्रदेशका मन्त्री र मुख्यमन्त्रीसम्मसँग सहयोगको आग्रह गर्दा पनि कुनै सहयोग पाइएन।”

उनले राज्यबाट सहयोग नहुनुलाई दुर्भाग्यपूर्ण र विडम्बनापूर्ण भएको टिप्पणी गरे। पोखराको भगिनी सम्बन्ध रहेको छेन्दु सहरमा जाँदा पनि महानगरपालिकाले आवश्यक सहयोग नगरेको तथा त्यहाँको स्थानीय सरकारसँग समन्वयका लागि पहल नगरिदिएको भन्दै आफूहरू दुःखी भएको उनले बताए।

बिदाइ कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले चीन भ्रमण नेपाली अटोमेकानिकल क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको बताए। उनले भने, “हामी आधुनिक प्रविधि र कार्यशैली सिकेर त्यसलाई नेपालमा प्रयोग गर्नेछौँ। यसबाट अटोमेकानिकल क्षेत्र थप व्यावसायिक र प्रतिस्पर्धी बन्न सहयोग पुग्नेछ।”

संस्थाका सल्लाहकार कृष्ण थापाले भ्रमणलाई केवल अवलोकनमा सीमित नराखी ज्ञान, सीप र प्रविधि आर्जन गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरे। उनले भने, “यहाँ सिकेका अनुभवले सहभागीको व्यक्तिगत क्षमता मात्र होइन, पोखरा र समग्र नेपालको अटोमेकानिकल क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

प्रकाशित: १७ श्रावण २०८३ १९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App