अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि लागू हुने सरकारी कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। नयाँ व्यवस्था साउन १ गतेदेखि लागू हुने गरी मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।
मन्त्रालयले बुधबार सम्बन्धित सरकारी निकायलाई पत्राचार गर्दै नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा १० प्रतिशत मासिक प्रोत्साहन भत्तासम्बन्धी जानकारी गराएको हो। यसअघि साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको थियो।
सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमार्फत सरकारी कर्मचारीको आधारभूत तलबमा १० प्रतिशत वृद्धि र बढेको तलबमानको आधारमा १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो।
नयाँ व्यवस्था निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी (निवृत्तभरण प्रयोजनसमेत) मा लागू हुनेछ। उनीहरूले संशोधित तलबमान, एक दिनको तलब बराबरको ग्रेड रकम तथा १० प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन्।
नयाँ तलबमानअनुसार मुख्य सचिवको आधारभूत तलब ८४ हजार ९३२ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी राजपत्राङ्कित विशिष्ट श्रेणीको ७९ हजार २९० रुपैयाँ, अतिरिक्त सचिव (पेन्सन प्रयोजन) को ६६ हजार ५३९ रुपैयाँ तथा राजपत्राङ्कित प्रथम श्रेणीको ६२ हजार ४६६ रुपैयाँ तोकिएको छ।
यस्तै, राजपत्राङ्कित द्वितीयको ५३ हजार ६११ रुपैयाँ, राजपत्राङ्कित तृतीयको ४८ हजार ५८ रुपैयाँ, राजपत्र अनङ्कित प्रथम (अतिरिक्त मान–पेन्सन) को ४१ हजार ५१७ रुपैयाँ, राजपत्र अनङ्कित प्रथमको ३८ हजार २०३ रुपैयाँ, राजपत्र अनङ्कित द्वितीय (अतिरिक्त मान–पेन्सन) को ३७ हजार ४०७ रुपैयाँ, राजपत्र अनङ्कित द्वितीयको ३६ हजार १९२ रुपैयाँ, राजपत्र अनङ्कित तृतीयको ३० हजार ३७३ रुपैयाँ र राजपत्र अनङ्कित चतुर्थको २८ हजार ६९० रुपैयाँ कायम गरिएको मन्त्रालयले जनाएको छ।
सामुदायिक विद्यालयका शिक्षकहरूको तलबमान पनि संशोधन गरिएको छ। नयाँ व्यवस्थाअनुसार माध्यमिक प्रथम श्रेणीका शिक्षकको आधारभूत तलब ७४ हजार ९५८ रुपैयाँ पुगेको छ भने प्राथमिक तहको सबैभन्दा तल्लो श्रेणीका शिक्षकको तलब ३४ हजार ४२६ रुपैयाँ निर्धारण गरिएको छ।
अर्थ मन्त्रालयका अनुसार संशोधित तलबमान, ग्रेड तथा प्रोत्साहन भत्ता सम्बन्धित निकायहरूले साउन १ गतेदेखि नै कार्यान्वयन गर्नेछन्।

प्रकाशित: २१ श्रावण २०८३ १२:५२ बिहीबार





