३० श्रावण २०७७ शुक्रबार
अन्य

अब त स्कुल खुल्छ कि !

बालमत

दीपिका नेपाल,  

कक्षा – ९,

वाल्मीकि शिक्षा सदन, भरतपुर–४,चितवन ।

अहिले जताततै अनलाइन कक्षाको चर्चा छ । टेलिभिजन हेर्दा पनि अनलाइन कक्षाकै कुरा आउँछ । विज्ञापनमा समेत अनलाइन कक्षाका बारेमा कुरा गरेको देखिन्छ । सरकारले पनि असार १ गतेदेखि अनलाइन कक्षा चलाउन स्कुलहरूलाई निर्देशन दिएको थियो । पछि निजी विद्यालयको साझा संस्था प्याब्सन र एनप्याब्सनले अनलाइन कक्षा नचलाउने भनेर आन्दोलन पनि गरयो । खोई के कुरा भयो ? साउन ८ गतेदेखि फेरि कक्षा सुरु गरेको छ । तर म पढ्ने विद्यालयले भने शनिबारबाहेक कुनै दिन पनि कक्षा रोकेन । शिक्षकहरूले हरेक दिन पढाइरहनुभएको छ ।

कोरोना भाइरस (कोभिड १९) पछि जताततै प्रभाव पारेको छ । रेडियो सुन्दा, टिभी हेर्दा कोरोनाकै कुरा गरेको पाइन्छ । विश्वमा अहिले कोरोनाबाट ६ लाखभन्दा मान्छे मरिसकेछन् । नेपालमा पनि ४५ जना मान्छेको मृत्यु भइसकेछ । तर सरकारले साउन ७ गतेदेखि लकडाउन खुला गरेको छ । कोरोनाको डर सकिएकै छैन । गत चैत ११ गते सरकारले लकडाउन घोषणा गरेपछि म तीन महिनासम्म कतै गएकी छैन । तीन महिनापछि बल्ल ठूलीममीको घर (मेरो घरबाट एक किलोमिटर टाढा) पुगेकी थिएँ । त्यसपछि भने कहिलेकाहीँ सपिङका लागि बाबासँग नारायणगढ बजार पुगेको छु । दुई हप्ता अगाडि नारायणी नदीको बाढी हेर्न भनेर पनि गएकी थिएँ । बाढी हेर्ने मान्छेहरूको भीडभाड देख्दा मलाई चाहिँ कोरोना सर्ला कि भन्ने डर लाग्यो ।

म साउन ६ गते मंगलबार बुढामावली(बाबाको मामाघर) पुगेको थिएँ । त्यहाँ बाबाको मावली हजुरबाको श्राद्ध थियो । हामी सबैलाई निम्ता थियो तर मौसम ठीक नभएकोले बाबा र म मात्र गएका थियौं । तर त्यो दिन पनि अनलाइन कक्षा पढ्नु थियो । म त्यहीँ हुँदा बाबाको मोबाइलबाट कक्षामा सामेल भएँ । खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै आखिर पढ्ने कुरा कतै गए पनि रोकिँदो रहेनछ ।

म हरेक दिन आइतबारदेखि शुक्रबारसम्म अनलाइनबाट पढ्छु । विद्यालयले हाम्रो पढाइका लागि विशेष समयतालिका बनाएको छ । बिहान १० बजेदेखि लगातार दुई घण्टा पढ्छु । यसपछि फेरि दिउँसो ३ बजेदेखि ५ बजेसम्म पनि पढ्छु । मेरो कक्षामा  २ सय जति विद्यार्थी छन् । त्यसैले स्कुलले दुईवटा समूह बनाएर अलगअलग समय निर्धारण गरेको छ । हामी आआफ्नो समूहमा बाँडिए पढ्छौँ । यसरी पढ्दा सबै साथीहरूलाई एकैपटक देख्न पाइँदैन । स्कुलमा भएको भए सबैलाई देख्न र सबैसँग बोल्न पाइन्थ्यो । कक्षा ६ मा पढ्ने मेरो भाइ दिप्सनले पनि अनलाइनबाटै पढ्ने गरेको छ ।

अनलाइनमा पढ्दा केही सजिलोजस्तो भएको छ । तर स्कुलमा गएर पढेजस्तो नहुँदो रहेछ । स्कुलमा भए शिक्षक र साथीहरूसँग भेट्न पाइन्थ्यो । नजानेको कुरा तत्काल सोध्न पाइन्थ्यो । अहिले त अनलाइन कक्षा चलुन्जेल पढ्यो, त्यो कक्षा सकिएपछि फेरि अर्को कक्षा पढ्न अर्को दिन पर्खनुपर्छ ।

 स्कुलमा चाहिँ दिनभर त्यहीँ रहने भएकोले आफूलाई मिल्ने समयमा शिक्षकलाई सोध्न सकिन्थ्यो । अनलाइन कक्षा पढ्दा सजिलो पनि भएको छ । घरदेखि स्कुल जाने समय बचेको छ । आफ्नै घरमा बसेर पढ्न पाइन्छ । कक्षा सकिनासाथ खाजा बनाएर खान पाइन्छ । कतिपयले त खाजा खाँदै पढ्दै गरेको पनि देखिन्छ । तर कहिलेकाहीँ भने बिजुली नहुँदा पढ्न पाइन्न । हाम्रो घरमा नेट चल्न बिजुलीबाहेक अर्को साधन छैन । त्यसले बिजुली नभएको बेलामा नेट चल्दैन । यस्तो बेलामा अनलाइन कक्षा पढ्न पाइन्न । यस्तो बेलामा बरु स्कुल खुलेदेखि उहीँ गएर पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ । तर अवस्था हामीले सोचेजस्तो छैन ।

सरकारले लकडाउन खोलेपछि भने अब स्कुल खुल्छ कि भन्ने लागेको छ । लकडाउन खोलेपछि मान्छेको आवतजावत धेरै हुन थालेको छ । यस्तो बेलामा झन् कोरोना भाइरसले भेट्छ कि भन्ने डर लाग्छ । त्सलैले स्कुल खुले पनि कसरी जाने भन्ने लागेको छ । मान्छेको भीडभाड भएको ठाउँमा कोरोना सर्ने जोखिम बढी हुन्छ भनेर मैले सुनेको छु । त्यसैले वातावरण सुरक्षित नभएसम्म सबै जना सतर्क हुनुपर्छ । जे होस्, अब अनलाइनमा भन्दा स्कुल नै गएर पढ्ने रहर पूरा हुन्छ कि भन्ने आशा छ ।

प्रकाशित: ११ श्रावण २०७७ १४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App