१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

घाम र पानी

बालकथा

रञ्जुश्री पराजुली

रञ्जुश्री पराजुली

घाम र पानी मिल्ने साथी थिए । मिल्ने साथी भए पनि उनीहरूको भेट भने कहिलेकाहीँ मात्र हुन्थ्यो । त्यसैले उनीहरू टाढैबाट एक आपसमा कुराकानी गर्दथे । आफ्नो घरपरिवारमा घटेका घटनाहरूबारे पनि उनीहरू कुराकानी गर्दथे । कुराकानीबाटै उनीहरू एकआपसमा सरसल्लाहको आदानप्रदान पनि गर्दथे ।

घाम र पानीको घर यहीँ ठाउँमा हो भनेर निश्चित थिएन । उनीहरू संसारभरि जहाँ मन लाग्यो त्यही बस्दथे । तर उनीहरूको बस्ने समय भने निश्चित हुन्थ्यो । घाम र पानी सबैलाई नभई नहुने मित्र हुन् । उनीहरूको सहयोगबिना यो संसारको अस्तित्व रहँदैन । उनीहरूले यस्तो कुरा बुझेका थिए ।

‘हामी नभई पो विश्वले केही पनि गर्न सक्दैन । हामी नभई बोटबिरुवा, कृषि उद्योग आदि कसैको पनि अस्तित्व रहँदैन भनेर उनीहरूले कहिले पनि घमण्ड गरेका थिएनन् । उनीहरू जहिले पनि अनुशासनमा बस्दथे । जुनबेला जहाँ जानुपर्ने हो त्यतिबेला त्यो ठाउँमा पुगेका हुन्थे । जतिबेर आफूहरू त्यो ठाउँमा बस्नुपर्ने हो त्यतिबेर थपघट नगरीकन उनीहरू त्यहाँ बस्थे ।

घाम र पानी यी दुइ मित्रहरू अनुशासित भएकाले संसारको प्रकृतिको नियम सुचारु रूपले चलिरहेको थियो । मौसमअनुसार खेतबारीमा अन्नबाली, फलफूल फल्दथे । जंगलमा रूखपातहरू पल्हाउँदै र मोटाउँदै जान्थे । जंगलभित्र धेरै थरीका जनावर हुर्किएका हुन्थे । यसरी प्रकृतिमाता नियमित रूपले अगाडि बढेकीले यहाँका मान्छेहरू असल र गुणकारी खानपान समयमा खान पाएर हृष्टपुष्ट र स्वस्थ भएका थिए । त्यसैले उनीहरूको शारीरिक र मानसिक विकास पनि राम्रोसँग भएको थियो । उनीहरूले आफ्नो असल बुद्धिको सदुपयोग गरेर देशमा ठूलो विकास गरेका थिए ।

भदौ महिनाको एकदिन  सधैंझैं घाम चर्कोसँग लागेको थियो । अकस्मात एकैछिनमा ठूल्ठूलो थोपासहित पानी पर्न थाल्यो । भदौको महिनामा घामपानी परेको बेला मान्छेहरू ‘स्यालको बिहे’ गर्ने भन्दछन् । त्यसैले त्यहाँका केटाकेटीहरू भदौरे घाम पानी परेको बेला ‘घामपानी घामपानी स्यालको बिहे,  कुकुर जन्ती बिरालो बाहुन’ भनेर गीत पनि गाउँछन् । 

भदौरे घामपानी क्षणिक हुन्छ । चर्को घाम लाग्दालाग्दै ठूलो दर्के पानी पर्छ । जुन धेरै बेर रहँदैन । एकैक्षणमा पानी पर्न छाडेर फेरि चर्को घाम लागिहाल्छ । तर त्यो दिन धेरैबेरसम्म दर्के पानी परिरह्रयो । यसरी ठूलो दर्के पानी धेरैबेरसम्म परेपछि घामलाई चिन्ता लाग्यो । यस्तो हुनु प्रकृतिको नियमभन्दा विपरीत थियो । त्यसैले घामले आफ्नो मित्र पानीलाई ‘किन बेमौसममा यसरी दर्केको साथी ? यस्तो याममा त तिमी क्षणिक बर्सिथ्यौं । यसपालि के भयो भनेर सोध्यो ।

मित्र घाम, तपाईले मलाई राम्रो प्रश्न गर्नुभयो । ठूलो रूपमा धेरैबेर म दर्किने बेला त यो हैन तर के गर्नु मैले जानीजानी पनि उल्टो काम गर्न परेको छ अहिले । असारसाउनको बेलामा मैले नियमित दर्किनुपर्ने बेला हो तर आजकल म त्यो बेलामा चाहिने जति दर्किन सक्दिन । त्यो बेला दर्किने मेरो क्षमता यै संसारका मान्छेले नै कमजोर बनाइदिएका छन्’भनेर पानीले आफ्नो गुनासो घामलाई पोख्यो ।

‘मैले तपाईको कुरा बुझिन मित्र प्रस्टसँग भन्नुस् न’ कुरा बुझ्ने उत्सुकता व्यक्त गर्दै घामले सोध्यो ।

‘कुरा के भने नि मित्र घामज्यू, यो पृथ्वीका मान्छेले वनजंगल विनाश गरेर डाँडापाखा नाङ्गै बनाएका छन् । वृक्षरोपण पनि गर्दैनन् । त्यसको असरले मेरो प्राकृतिक स्वभावमा परिवर्तन आउन थालेको छ । यस्तो हुनु पृथ्वीका मान्छेका लागि खतरायुक्त हुन्छ’ पानीले कुरा बुझाउँदै भन्यो ।

‘तपाईले ठीक कुरा भन्नुभयो मित्र पानीज्यू, मेरो पनि त हालत त्यस्तै छ । विश्वका ठूला विकसित देशहरूले शक्तिशाली गोलाबारुद, बम प्रहार गरेर मेरो शक्ति पनि त प्रदूषित बनाएको छ । मेरो किरण तहतह पार गरेर पृथ्वीमा फैलिनुपर्छ तर त्यो तह पनि घाइते भएको छ । त्यसमा प्वाल परेको छ । त्यसैले म पनि त ठीक समयमा ठीक तरीकाले आफ्नो तेज फैलाउन सकिरहेको छैन ।’

‘मान्छे जातीले यस्तो काम गरेर किन आफ्नो खुट्टामा आफैले बञ्चरो हानेको होला हकि घामज्यू ।’

‘प्रकृतिसँग होडबाजी गर्ने प्रवृत्ति मान्छेले नत्यागे हामी कसैले पनि प्राकृतिक रूपमा राम्रो तरीकाले आफ्ना क्रियाकलाप चलाउन सक्दैनौं । त्यसको प्रभाव यो विश्व र यहाँ बस्ने मान्छेलाई धेरै खतरनाक हुन्छ । यो कुरा मान्छे जातीले जति सक्यो चाँडो बुझ्नुपर्छ’ भन्दै घामले आफूले थाहा पाएको कुरा पानीज्यूलाई भन्यो ।

पानीले पनि ‘ल त घामज्यू, यो पटक म धेरैबेर बेमौसममा दर्किए । अब म जान्छु । आज मौकाले हामी दुई साथीले धेरै बेर कुरा गर्न पायौं । मलाई बडो खुशी लाग्यो । मान्छे जातीलाई प्रकृतिमाथि अतिक्रमण गर्नु ज्यादै हानीकारक हुन्छ भन्ने चेतना आओस् भन्ने कामना गर्दै बिदा हुन्छु है त । फेरि भेटौंला है साथी’ भन्दै चर्को घामलाई छोडेर दर्के पानी आफ्नो बाटो लाग्यो । 

प्रकाशित: २८ असार २०७७ ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App