८ वैशाख २०८१ शनिबार
अन्य

रंगीन चीजले मन जित्छ

बोधराज पौडेल  

भाइबैनी हो, आज म फूल र जीवनका रंगबारे केही कुरा बताउने छु । हाम्रो समय भनेको खेल्ने, पढ्ने र रमाउने समय हो । यसो भन्दैमा हामीले अरू काम गर्नु हुँदैन भन्ने होइन ।

तिमीहरूले एउटा फूलको थुँगालाई हेरयौ भने त्यसभित्र सयौं रंग भरिएको पाउने छौ र तिमी ती फरकफरक रंगलाई देखेर जसरी रमाउने छौ । हो, जीवनका पनि त्यस्तै रंगहरू हुन्छन् । जुन रंगले हामीलाई धेरै खुशी दिन्छ ।

हामीले जीवनलाई पनि फूलका रंग जस्तै सुन्दर बनाउनुपर्छ । जीवन सुन्दर बनाउन हामीले कडा मेहनत गर्नुपर्छ । यसरी मेहनत गर्दा कहिलेकाहीँ असफल पनि हुन्छौ तर निराश हुनु हुँदैन । हामीले धैर्य गर्दै पुनः प्रयास गर्नुपर्छ ।

तिमीहरूले घरमा कहिलेकाहीँ साना कमिलाहरू देखेका नै हौला । तिनीहरू हिँडिरहेको बाटो हामीले छेक्न खोज्दा त्यो अर्को बाटातिर लाग्छ । त्यता पनि हामीले रोक्यौ भने त्यसले अर्को बाटो समातेर हिँड्छ । हो, हाम्रो प्रयास पनि त्यस्तै हुनुपर्छ । असफलता पाए पनि कर्म गर्न नछोड्ने, त्यो सानो कमिलोजस्तै ।

हामी कतिलाई पढ्न पटक्कै मन लाग्दैन । खेल्न, कुद्न र चल्न मन लाग्छ । शरीरका लागि त्यो पनि राम्रो हो । त्यसको साथै हामीले म के गर्दा पढ्न सक्छु भन्ने कुरा सोच्नुपर्छ । किनभने हामीलाई थाहा छ जुनसुकै ज्ञान लिन शिक्षा नै आवश्यक पर्दछ । ज्ञान किताबमा लुकेर बसेको हुन्छ । किताबै नपढे हामीमा ज्ञान कसरी सर्छ ?

तिमीहरूले विल गेट्सको नाम त सुनेकै होला । उनी विश्वका धनाढ्य व्यक्ति हुन । उनलाई पढ्न त्यति मन लाग्दैनथ्यो । तर उनी यति चतुर थिए कि उनको दिमागमा फूल र जीवनका रंगहरूको ज्ञान छाएको थियो । जसको कारण आज उनी विश्वमा लोकप्रिय भए । यहाँ मैले बताउन चाहेको कुरा के सिक्ने र कसरी सिक्ने भन्ने नै हो । उनले विद्यालयको शिक्षा त पूरा गरेनन् । तर जीवनको व्यावहारिक शिक्षामा पूरा विश्वविद्यालय नै पढे ।

अर्का पढ्नमा मन बसाउन नसक्ने व्यक्ति हुन मार्क जुगवर्ग । उनीलाई विद्यालय भनेपछि ज्वरो नै आउँथ्यो रे । उनले विद्यालयको प्राथमिक शिक्षासमेत पूरा गरेनन् । तर उनले फेसबुक जस्तो सामाजिक संजाल बनाएर संसारलाई त्यसैमा भुलाइदिए । यसको अर्थ नपढ्नु , पढ्नु हुँदैन भन्ने होइन । पढाइका साथसाथै आफूलाई मन परेको विषयमा काम गरयो भने छिटो सफलता पाउन सकिन्छ भन्ने हो ।

फूलका रंग देखेर जसरी हामी लोभिन्छौ नि, हो त्यसरी नै हाम्रो राम्रो कामबाट मानिसहरू प्रभावित हुने गर्दछन् । तिमीलाई शिक्षकशिक्षिकाले कक्षाकोठामा प्रश्नोत्तर गर्दा कति पटक स्यावास पाएका नै हौला । त्यस दिन तिमीहरूको मन कस्तो फुरुङ्ङ हुन्छ । हो, ऊर्जा भनेको त्यही हो र रंग पनि ।

घरमा मागेको कुरा पाउँदा र परीक्षाका राम्रो अंक आउँदा मनमा कस्तो लाग्छ ? पक्कै रमाइलो लाग्छ होला । हो, तिमीले यतिबेला जुन खुशी पाउँछौ त्यो तिम्रो सफलताको बाटो हो । किनभने तिमीले चाहेको चीज पाएका छौ । एक पटक सम्झ त त्यो तिमीले सजिलै पाएको हो त पक्कै होइन होला ।

घरमा कुनै चीज पाउन हामीले बाबाममीले भनेको कति कुरा मान्नुपर्छ । शिक्षकबाट स्यावासी पाउन कति प्रश्नको सही उत्तर दिनुपर्छ । हो, यही रंग हो । रंग भर्ने कला हुनुपर्छ । रंग नमिलाई बनाएको चित्र पनि त राम्रो हुँदैन , देखिदैन । त्यसैले भाइबहिनी हो, जीवनलाई कलात्मक र रंगीन बनाउनुपर्छ । रंगीन चीजले मात्र मन जित्न सक्छ, जीवनलाई तान्न सक्छ । तिमीहरू पनि सधैं रंगीन फूलजस्तै बन्नु है ।

प्रकाशित: २७ असार २०७७ १३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App