coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

नमिलेको ‘घ’

खेमराज पोखरेल

खेमराज पोखरेल

मेरा प्यारा नानीबाबुहरू,

आज म तिमीहरूलाई मेरो ‘घ’ र मेरी नातिनीको ‘घ’को कथा सुनाउँछु । पहिले म सानो छँदाको मेरो ‘घ’को कथा सुन है 

तिमीहरूलाई थाहा छैन होला ! मेरो घर नेपालको सप्तरी जिल्लाको रूपनगर भन्ने गाउँमा भएको हो । मलाई सम्झना छ – म तिमीहरू जस्तै सानो थिएँ । ६ वर्षको थिएँ । ‘क’ ‘ख’ ‘ग’ ‘घ’ लेख्न सिक्दै थिएँ । त्यो बेला मलाई ‘घ’ लेख्न निकै गाह्रो भएको थियो । ‘घ’लाई माथिको धर्कामा छुवाउनु परथ्यो  । म धर्कामा छुवाउन जान्दिन थिएँ । अनि धर्कामा नछुवाएपछि ‘ध’बन्थ्यो । किनभने नेपालमा एकैपल्टमा सबै कुरा मिलेको लेख्नुपर्छ भन्ने मान्यता छ । अँ त, मैले ‘घ’ लेख्न नजानेकाले कुटाइ खाएको थिएँ नि । मलाई अहिले पनि ‘घ’ लेख्नुपर्यो भने त्यही कुटाइकै सम्झना आउँछ । त्यति मात्र होइन नि, मैले केटाकेटीमा पढ्दा सरबाट कति कुटाइ खाएँ नि । अनि क्लासमा पनि सरसँग केही सोध्नुपर्यो भने डरले केही सोध्न मन लाग्दैनथ्यो । बरु नजानिए पनि होस् भनेझैं लाग्थ्यो । मलाई त्यो सम्झँदा अहिले पनि डर लाग्छ । कसैसँग केही कुरा बोल्नुपर्यो भने धक लाग्छ । धक लाग्नु भनेको बोल्न मन नलाग्नु हो । नबोल्नु हो ।

अब मेरी नातिनी एनिजाको ‘घ’को कथा सुन है । यतिबेला म अमेरिकामा छु । मसँग मेरी ४ वर्षकी नातिनी एनिजा छिन्  । अहिले उनी ‘ए’, बी’, सी’ ‘डी’ लेख्न थालेकी छिन् । ‘क’ ‘ख’ ‘ग’ ‘घ’ लेख्न थालेकी छिन् । उनी कार्डबोर्डमा पेन्टिङ गरेर ‘ए’ लेख्छिन् । कपीको पानाभरि एउटै ‘घ’ लेख्छिन् । उनले लेखेको ‘घ’ पनि मेरोजस्तै राम्रोसँग मिलेको हुँदैन तर अहिले जमाना फेरिएको छ । उनले लेखेको ‘घ’ भएन भनिदिन हुँदैन । उनी आफैं लेख्छिन् । आफैं हेर्छिन् । आफैं सिक्छिन् । उनी आफैं प्रयास गर्छिन् । यसरी प्रयास गर्दागर्दै उनले अचेल राम्रोसँग ‘घ’ लेख्न जानेकी छिन् । यसो गर्दा मेरी नातिनीमा क्रिएसनको विकास हुन्छ । क्रिएसन भनेको सिर्जना शक्ति हो । एनिजाले आफैं दिमाग लगाएर धेरै कुराको सिर्जना गर्छिन् । उनको सिर्जनामा हामीले उनलाई सहयोग गर्दैनौं । उनी आफैं सिर्जना गर्छिन् । यसले उनीभित्र रहेको बुद्धि र सम्झने शक्तिको विकास हुन्छ । उनी त  अलिअलि गर्दै निकै ट्यालेन्ट हुँदै गएकी छिन् नि।

अचेल त एनिजा कार्डबोर्डमा चरा, डायनासोर, घर, गाई, आकाश, पहाड, फूल आदिका चित्र बनाउँछिन् । हामीले सिकाएको होइन नि । आफैं चित्रकलाको पुस्तक हेरेर आफैं बनाउँछिन् । चित्र बनाएर उनको कोठाको भित्तामा टाँसेकी छिन् । तर मैले भनें नि उनका ती चित्र पनि एकदम मिलेका छैनन् । तर उनले आफैंले बनाएकाले उनमा सिर्जना–शक्ति धेरै विकास भएको छ । आखिर भोलिपर्सि ठूलो भएपछि जिन्दगीभरि काम लाग्ने कुरा भनेको सिर्जना–शक्ति नै हो । यो आफैं आफ्नो गल्तीबाट सिक्ने तरीकालाई ‘ट्रायल एन्ड इरर’ सिद्धान्त भनिन्छ । यो भनेको आफूले गरेको गल्ती वा कमजोरी आफैंले पत्ता लगाएर सुध्रिने कुरा हो ।

तिमीहरू पनि आफ्नो सिर्जनालाई नहिचकिचाई बनाऊ है । नडराइ ‘क’, ‘ख’, ‘ग’ ‘घ’ लेख है । आफूले जानेका गाई, कुखुरा, चरा, पहाड, खोला, रुख, फूल, मान्छे, टोपीका चित्र बनाऊ है । एकैपल्टमा राम्रो भएन भने पनि फेरिफेरि बनाइराख, राम्रो भइहाल्छ । आफैं राम्रो हुँदै जान्छ । बाबुआमा तथा सरम्याडम वा मिसले कुटे वा गाली गरे भने तिमीहरूले नडराई बाबुआमा, सर, मिस वा म्याडमलाई भनिदेऊ – जमाना फेरिएको छ । बच्चालाई कुट्न पाइँदैन । गाली गर्न पनि पाइँदैन । सानानानीबाबुलाई कुट्नु अपराध हो । असर पर्नेगरी गाली गर्नु पनि अपराध हो ।

अनि तिमीहरूलाई थाहा छ ? मेरी नातिनी बसेको ठाउँ अमेरिकामा त छोराछोरीलाई कुट्न पाइन्न नि । छोराछोरीलाई मात्र होइन कुनै पनि केटाकटीलाई कुट्न मात्र होइन असर पर्नेगरी गाली गर्न पनि पाइँदैन नि । कुट्यो भने अथवा गाली गर्यो मात्र भने पनि बाउआमालाई पुलिसले समातेर थुन्छ नि । बाबुआमाले मात्र होइन जसले नानीबाबुहरूलाई कुट्छ उसलाई पुलिसले लगेर जेल हाल्छ । साना केटाकेटी तथा विद्यार्थीहरूलाई कुट्न हुँदैन, तिनीहरूको दिमागमा नकारात्मक असर पर्छ भन्ने कुरा तिमीहरू आफ्ना आमाबाबु, सर तथा मिस सबैलाई भनिदेऊ है । यो कुरा तिमीहरूका आमाबाबु वा सर, म्याडम वा मिसहरूले थाहा नपाएका पनि हुन सक्छन् । किनभने उनीहरूले आफू सानो छँदा कुटाइ खाएका हुन सक्छन् । पहिलेको जमाना नै त्यस्तै थियो । ‘उहिलेका कुरा खुइले’ भनिदेऊ बरु ।

अब त कुरा बुझ्यौ होला नि। कसैसँग नडराउनु है । राम्रो काम गर्नु है । आफैं राम्रोसँग पढ्नु नि फेरि । नपढी ठूलो मान्छे हुन पाइँदैन नि । ल है त राम्रोसँग ‘क’ ‘ख’ ‘ग’ ‘घ’ लेख्नु । ‘ए’ ‘बी’ ‘सी’ ‘डी’ लेख्नु । पढ्नु नि  तर मैले जस्तो नमिलेको ‘घ’ लेखेर अब अरू साना नानीबाबुहरूले कुटाइ खान हुँदैन नि !

तिमीहरूलाई माया गर्ने

अमेरिकाको हजुर्बा

सान एन्टोनियो, अमेरिका ।

प्रकाशित: २५ असार २०७७ ०६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App