२८ श्रावण २०७७ बुधबार
अन्य

जस्तालाई तस्तै

बालकथा

शारदा पराजुली

शारदा पराजुली

कुरा आजभन्दा पाँच छ वर्ष अगाडिको हो । म बिहान कक्षा एघारको क्लास लिँदै थिएँ । फोनको घन्टी बज्यो । झापाबाट बहिनीले गरेकी रहिछे । विद्यार्थीतिर हेरेर सरी है भन्दै बाहिर गएँ र फोन उठाएँ । ‘दिदी हेर्नु न मलाई त चिट्ठा पो परेछ । आजै आउनु भनेको छ । म कसरी आउनु ? तपाईँ गएर ल्याइदिनु न ल । मैले हजुरको फोन नं. दिएकी छु । अहिले पछि फोन आउँछ होला है ।’ बहिनीको बोली केही आत्तिएको झैं थियो । 

‘केको  चिट्ठा परेको नि ?’ प्रश्न गरेँ मैले ।

‘खोई थाहा छैन । कम्प्युटरसँग सम्बन्धित कुरा रे ।’ उसले खुसीको भावमा भनी ।

‘के तैँले कतै केहीको चिट्ठा किनेको थिइस् र ?’ मैले गरेको प्रश्न सुनेर उसले भनी, ‘अहँ मैले त केहीको चिट्ठा पनि किनेको थिइनँ के गरी चिट्ठा परयो होला ? म आफैँ छक्क परेको छु दिदी ।’ उसको आशय मैले बुझिहालें । ‘लल म बुझेर खबर गरौँला’ भन्दै फोन राखेँ ।

क्लास सकेर घर नपुग्दै फोन बजिहाल्यो । फोन लेन्डलाइनबाट आएको थियो । फोन उठाउँदा उताबाट एक युवती बोली, ‘हेलो, सिम्रिकाजी हो ?’

‘हो त, केही थियो कि ?’

‘हजुरको बहिनीलाई कम्प्युटर सिक्ने अफर मिलेको थियो । उहाँ त झापामा हुनु हुँदोरहेछ । उहाँ आउन सम्भव हुने रहेनछ । त्यसैले हजुरको नम्बर दिनुभएको थियो । हजुर हाम्रो अफिसमा आउनुहोस् न है ?’

‘ए कुरो त्यसो पो । कहाँ छ नि अफिस ?’ प्रश्न गरें मैले ।

‘पुतली सडकको बाटुले घरको छेवैमा एड्भान्स एभ्रोड स्टडिज लेखेको होडिङबोर्ड हेर्दै आउनुभयो भने त्यसैको तेस्रो तलामा छ हाम्रो अफिस ।’

‘ए हो ? अनि तपाईँहरूको अफिसको नाम छैन ?’ मेरो जिज्ञासा थियो । मेरो जिज्ञासा सुनेर ऊ खुसी हुँदै भन्न थाली, ‘छ नि दिदी हजुर, हाम्रो अफिसको नाम हो ‘प्राक्टिकल कम्प्युटर टेनिङ सेन्टर हो ।’

‘ए लल  तर म बिजी छु । आउन भ्याउँदिन होला । कुनै दिन फुर्सद मिलाएर आउँला नि है ।’

‘हैन दिदी हजुर, आज र भोलि मात्र हो अफर । त्यसैले हजुर जति सक्दो चाँडो आएर नाम इन्ट्री गराउनु होला है । सिट सीमित छ । चाँडै आउनु भएन भने अफर पाउनु हुन्न नि फेरि । त्यसैले दिदी हजुर चाँडै आउनु होस् न है ।’ बोलीमा खूब चिप्लोपना थियो ।

‘कस्तो अफर हो र त्यस्तो ?’

‘हजुरले आज र भोलि हाम्रो अफिसमा आएर नाम इन्ट्री गराउनु भएमा फिप्टी पर्सेन्ट डिस्काउन्ट पाउनुहुन्छ है ।’

‘ए लल । फिप्टी पर्सेन्ट भनेको कति तिर्नुपर्छ नि ?’ मेरो प्रश्न थियो ।

‘त्यो त फोनबाट भन्न मिल्दैन । हजुर आफैँ हाम्रो अफिसमा आएर बुझ्नुहोस् न है ।’

‘फोनबाट भन्नै मिल्दैन भने मलाई पनि आउने फुर्सद छैन बहिनी ।’

‘हैन नि दिदी हजुर, अफिसको आफ्नै पोलेसी हुन्छ । कति कुरा फोनबाट गर्न मिल्दैन । त्यसैले भनेको नि । हजुर आउनुभयो भने सकेसम्म मिलाएर गरिदिन्छौं नि हामी ।’

‘ए उसो भए फिप्टी पर्सेन्ट मिलाउने हैन त ? आएपछि फारम भर्नु परयो । अलिकति एडभान्स पैसा पनि छोड्नु परयो होला हैन ? त्यही भएर सोधेको नि बहिनी ।’ घुमाउरो पारामा बोलें म पनि ।

‘हो नि दिदी हजुर, फारम भर्न पाँच सय लाग्छ एडभान्स भनेर अहिले १ हजार रुपैयाँ दिए हुन्छ । अरू पछि तिर्दै जानुहोला नि त ।’

‘हुन त हुन्छ  तर फिप्टी पर्सेन्ट भनेको कति हो नै थाहा नपाई कसरी आउनु ?’

‘हजुरलाई त्यही ३ हजारदेखि  ३५ सयसम्म पर्छ दिदी हजुर ।’

‘ए सस्तो पो रहेछ त । मेरी छोरी यहीँ बौद्धमा बेसिक कोर्स गर्न  १५ सय रुपैयाँ तिरेर सिक्दै छ । तपाईँकहाँ त्यही बेसिक कोर्सका लागि फिप्टी पर्सेन्ट डिस्काउन्ट गर्दा पनि रू ३ हजारदेखि रू ३५ सय । सरी बहिनी म कम्प्युटर सिक्ने मान्छे नै होइन । मलाई फुर्सद पनि छैन । फेरि मैले कम्प्युटरको बेसिक कोर्स उहिल्यै सिकेकी हुँ । मलाई कम्प्युटरसम्बन्धी माइक्रोसफ्ट वर्ड, एक्सल, पेन्ब्रस नेपालीअंग्रेजी टाइपिङ जस्ता सम्पूर्ण कुराको ज्ञान छ बहिनी ।’

‘उसो भए डिप्लोमा गर्नु न त । हजुरलाई डिप्लोमा कोर्स गर्दा पनि डिस्काउन्ट दिन्छौं हामी । नभए फोटोसप सिके पनि हुृन्छ ।’

‘भो यो बुढेसकालमा दुःख गर्दिनँ म । अब मलाई केही सिक्नु नै छैन ।’

‘हजुर नसिक्ने भए हजुरका छोराछोरी होलान् । उनीहरूलाई पठाइदिनुस् न । उहाँहरूलाई पनि फिप्टी पर्सेन्ट नै डिस्काउन्ट दिन्छौं हामी ।’

‘मेरो छोरा विदेशमा छ बहिनी । छोरी यहीं बौद्धमा कम्प्युटर र व्रिज कोर्स दुवै सिक्दै छे ।’

‘हजुरको छोराछोरी नभए पनि आफन्त, छरछिमेकी होला नि । पठाइदिनु न है दिदी हजुर ।’

‘उसो भए एउटा फोन टिप्नु त बहिनी । उहाँले सिक्नुहुन्छ होला । अस्ति मसँग कम्प्युटर सिक्ने कुरा गर्दै हुनुहुन्थ्यो । ल टिप्नु त फोन नं. ...।’

‘मलाई पंगु पार्ने ? ल मैले पनि पारिदिन्छु पंगु । लु अब फोन आउने भयो हाम्रा बूढालाई अब ।’ मनमा यस्तै सोच्दै घर पुगें । ढोकाभित्र पस्दै गर्दा कम्प्युटर सेन्टरबाट फोन आएको कुरा श्रीमान्लाई सुनाएँ र तपाईँको फोन आउन सक्छ । मैले फोन नं. दिएको छु भनेर जानकारी गराएँ । नभन्दै १५ मिनेटपछि उही लेन्डलाइनबाट फोन आयो ।

‘हेलो, हरिशंकरज्यू हो ?’

‘हो त । किन र केका लागि कल गर्नुभयो ?’

‘मलाई चाहिँ हजुरको नं. सिम्रिकाजीले दिनुभएको । उहाँको बहिनीले कम्प्युटरको बेसिक कोर्स गर्न फिप्टी पर्सेन्ट अफर पाउनुभएको थियो । उहाँ झापामा हुनु हुँदो रहेछ । त्यसैले उहाँले सिम्रिकाजीको फोन नं. दिनुभएको थियो । सिम्रिकाजी पनि बिजी हुनुहुँदो रहेछ । उहाँको अफर हजुरलाई दिने भनेर सम्पर्क गरेका हौं हामीले । हजुरचाहिँ आज र भोलिमा हाम्रो कार्यालयमा आएर नाम इन्ट्री गराउनुभयो भने फिप्टी पर्सेन्ट डिस्काउन्ट पाउनुहुन्छ है । चाँडै आउनुस् न है ।’

‘ए हो ? कम्प्युटर सेन्टर रहेछ । म पनि जोरपाटीमा कम्प्युटर सेन्टर नै खोलेर बसेको छु । मेरो मै सिक्ने मान्छे टन्नै आउँछन् । ठीकै छ मेरोमा धेरै विद्यार्थी भए भने म पठाइदिन्छु नि है मेडम ।’ श्रीमान्ले दम्म भावमा भन्नुभयो ।

‘ए हजुर नै सिकाउनुहुन्छ ?’

‘हो हजुर म आफैँ कम्प्युटर सिकाउँछु, बेसिक कोर्स, डिप्लोमा कोर्स, एडभान्स कोर्स, फोटोसप सबै सिकाउँछु ।’

‘हस्’ भन्दै उसले फोन राखी । उसले जसरी हामीलाई पंगु बनाउन खोजेकी थिई त्यसरी नै उसलाई पंगु बनाइदियौं हामीले पनि ।

प्रकाशित: २४ असार २०७७ १४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App