८ आश्विन २०७७ बिहीबार
अन्य

बालबालिकासँग जेष्ठ नागरिक

बाललेख

डा. पुष्करराज भट्ट

डा. पुष्करराज भट्ट

हरेका मानिस जीवनको प्रारम्भमा बालक हुन्छ । ऊ जीवनका विभिन्न अवस्था पार गर्दै जेष्ठ नागरिक बन्न पुग्छ । एउटा मानिसले बाल्यकालदेखि जेष्ठ नागरिक बन्दासम्म विभिन्न खाले अनुभव बटुलेको हुन्छ । यी अनुभवले गर्दा उसको ज्ञानको भण्डार भरिएको हुन्छ । आफ्नो जीवनको लामो अनुभवका कारण जीवन र जगत्प्रतिको दृष्टिकोण सकारात्मक बन्न पुग्छ । एउटा जीवनको प्रारम्भावस्थामा रहेका बालबालिका र जीवनको उत्तरारद्ध लम्केका जेष्ठ नागरिकको बीचको सम्बन्ध अनि उनीहरू बीचको समन्वय कसरी विकसित होला त ? 

कुनै पनि मानिसले आफ्नो युवावस्थामा आफ्ना सन्तान उत्पादन गर्दछन् । आफ्ना सन्तानप्रतिको उत्तरदायित्वबोध हुनु, उनीहरूको जीवनप्रति सम्वेदनशील हुनु उनीहरूको कर्तव्य हो । हरेक आमाबाबुले आफूले भोगेको जीवनभन्दा आफ्ना छोराछोरीको जीवन अझ राम्रो बन्न सकोस् भन्ने चाहेका हुन्छन् । के आमाबाबुले चाहेको जस्तो छोराछोरीको जीवन समृद्ध बन्न सक्ला त ? प्रश्न विचारणीय छ ।

आजका दिनमा मानिस भागदौडको जीवन बिताइरहेको छ । कुनै रोजगार, पेशा, व्यवसायबिना बाँच्न गाह्रो छ । एकातिर कामको दौड छ भने अर्कातिर साना बालबालिकादेखि किशोरावस्थासम्म भएका बालबालिको हेरचाह, स्याहारसुसार । यसमा त अझ परिवारमा आमाबाबु र छोराछोरी दुई पुस्ता भएका परिवारमा त झन गाह्रो छ । केटाकेटीको हेरचाह गर्ने कि आफ्नो काममा जाने ? बाबुआमा दुवै काममा जानेका लागि त झन गाह्रो छ । काम हेर्ने कि बालबालिका हेर्ने ? अति विपन्न नागरिक जसले श्रमपूर्ण जीवन बिताउनुपरेको छ, उनीहरूले त बालबालिका आफूसँगै लगेर काममा जाने गर्दछन् । कार्यालयमा कार्यरत महिलाले पनि आजभोलि ससाना बालबालिका कार्यालयमा लग्ने र बेबी केयर सेन्टरमा लग्ने, ठूला भएपछि डे बोर्डसमा राख्ने गरेको पाइन्छ । विदेशमा त बालबालिका हेर्ने मानिसले महँगो रकम लिने गर्दछन् ।

परिवारमा तीन पुस्ता हुनेहरूलाई केही सहज अवस्था छ । बाबुआमा पुस्ता काममा जाने भएपछि दिउँसोका समयमा हजुरबाहजुरआमासँग बालबालिका रहने गर्दछन् । बालबालिका निश्छल रहन्छन्, उनीहरूलाई जीवन जगतका यावत् झमेलाको वास्ता हुँदैैन । जेष्ठ नागरिक पुस्ता पनि आफ्ना जीवनका यावत् कर्मबाट निवृत भएर शान्तिपूर्ण जीवन बिताउँछन् । यस अवस्थामा भागदौडको दुनियाँबाट बेखबर भएका दुई भिन्नभिन्न युगका पुस्ताको समन्वय कस्तो होला त ? एकदम सुमधुर र आत्मीय ।

बालबालिकालाई सम्हाल्ने सवालमा बाबुआमा पुस्ताभन्दा पनि हजुरबाहजुरआमा पुस्ता परिपक्व हुन्छ । बाबुआमाका लागि बालबालिका हेर्नु नयाँ प्रयोग हुन्छ भने हजुरबुवाहजुरआमा पुस्ताका लागि यो अनुभव भइसकेको हुन्छ । जीवनमा प्रयोगको अवस्थाभन्दा अनुभवको अवस्था धेरै माथिको हुन्छ । जेष्ठ नागरिक पुस्ताले जीवनका अनेकन कष्ट – वेदना झेलिसकेको हुन्छ भने बाबुआमा पुस्ता झेल्ने क्रममा हुन्छ । बाबुआमा पुस्ता जीवन संघर्षका अनेकन तनावमा बाँचेको हुन्छ । एउटा तनावरहित  शान्त जीवन बिताइरहेको पुस्ताले जीवन जगत्लाई राम्ररी पढन, बुझ्न र विश्लेषण गर्नसक्छ र त्यसलाई व्यावहारिक रूपले समाधान गर्न सक्छ ।

जेष्ठ नागरिक पुस्ता बालमनोविज्ञान सहजै बुझ्न सक्छन् । उनीहरूसँग आफ्ना छोराछोरीलाई हुर्काएको अनुभव हुन्छ । त्यही अनुभवका कारण उनीहरूले बालबालिकाको स्याहारसुसार राम्ररी गर्न सक्छन् । ससाना बालबालिकाका संकेत बुझ्नेदेखि ठूला भइसकेका बालबालिकाका इच्छा, चाहना बुझ्ने कार्यमा पनि निपुण हुन्छन् । उनीहरूले बालबालिकाले नचाहिँदो इच्छा गरेमा उनीहरूलाई कसरी सम्झाउने बारेमा सचेत हुन्छन् । आमाबुबा पुस्तामा बालबालिकाले कुनै गलत कार्य गरेमा दण्ड दिने प्रवृत्ति हुन्छ भने हजुरबुबाहजुरआमा पुस्तामा उनीहरूको मनोविज्ञान बुझेर कसरी उनीहरूको समस्याको समाधान गर्ने र उनीहरूलाई कसरी प्रसन्न बनाउने कला हुन्छ । यसैले पनि होला, बालबालिका आमाबुबाभन्दा हजुरआमाहजुरबासँग बढी झ्याम्मिने गरेको ।

ससाना बालबालिकालाई चेतना हुँदैन । उनीहरूलाई हिँड्ने, बोल्ने कार्य सिकाउन समय लाग्छ । यस कार्यमा अभिभावक वर्गको भूमिका महत्वपूर्ण रहन्छ । बालबालिकाले एक अवस्था पार गरेपछि यो विशाल संसारमा आफ्ना नजिकका परिवारका सदस्य चिन्ने कार्यमा लाग्दछन् । यसरी चिन्ने क्रमसँगै उनीहरूमा जीवनजगत्प्रतिको जिज्ञासा उत्पन्न हुन्छ । उनीहरूको बुझाइको संसार सानो हुन्छ । यो सानो संसार ठूलो बनाउन अघिल्लो पुस्ताको भूमिका बलियो रहन्छ । सामाजिक अनुभव, जीवन र जगत्सँग कसरी समन्वय गर्ने कुरामा जेष्ठ नागरिक पुस्ताको अनुभव बढी हुन्छ भने वर्तमानको नवीन ज्ञान, सूचना र जीवनलाई बुझ्ने कुरामा आमाबुबा पुस्ता अघि हुन्छ । त्यसो भएको हुनाले विभिन्न पुस्ताले एकसाथ जीवन बाँचेका त हुन्छन् तर जीवन र जगत्लाई बुझ्ने उनीहरूको दृष्टि भने फरक हुन्छ । हजुरबुबाहजुरआमा पुस्ताले दिएका ज्ञानमा उनीहरूको जीवनको इतिहास लुकेको हुन्छ । आफूले जीवनमा बाल्यकालदेखि हालसम्म जीवनलाई के कस्ता कार्य गर्न सकियो, के कति सफलता असफलता प्राप्त भयो र जीवन यो अवस्थामा पुग्यो भन्ने अनुभव बताउने कार्य गर्दछन् । कुलतमा लागेका, कुसंगतमा लागेका र जीवनमा नराम्रो बाटामा लागेका बाहेकका अग्रज पुस्ताले नयाँ पुस्ताले सही बाटो, सही ज्ञान र सही चेतना प्रदान गर्दछन् ।

हाम्रो समाजमा सबै मानिसको अवस्था एकनास छैन । कामको अवस्था, आर्थिक, शैक्षिक सबै अभिभावकले आआफ्ना पछिल्ला पुस्तालाई दिने ज्ञान र सीपको मात्रामा फरक हुने गर्दछ । निरन्तर श्रममा बाँच्नुपर्ने जेष्ठ नागरिक एवं बाबुआमा पुस्तालाई चाहेजस्तो समय दिन सक्दैनन् । दिनरात काममा घोटिएर साँझपख मात्र बाबुआमा वा हजुरबुवाहजुरआमाको मुख देख्न पाउने बालबालिकाले आफ्ना अग्रज पुस्ताबाट कतिको आश गर्लान् त ? आफ्नो जीवन जेजति दुःखकष्टमय भए पनि आफ्ना पछिल्ला पुस्ताका लागि भने केही न केही त सोचेकै हुन्छन् । उनीहरूको जीवन आफ्नोभन्दा राम्रो होस् भन्ने चाहनाले प्रेरित भएर कार्य गरेकै हुन्छन् ।

आज राष्ट्रका लागि महत्वपूर्ण योगदान दिने नागरिकको निर्माणको कार्यको प्रारम्भ घरपरिवारबाटै हुन्छ । मानिसहरूमा एक असल, राम्रो नागरिकको निर्माण आर्थिक रूपमा सम्पन्न, उच्च ओहोदावाला परिवारबाट हुन्छ भन्ने भ्रम पनि रहेको हुन्छ । यो पूर्णतः सत्य होइन । एक सामान्य परिवारमा जन्मेका, हुर्केका बालबालिका पनि भविष्यमा राष्ट्रका महत्वपूर्ण प्रतिभाका रूपमा विकसित भएका छन् । जोसँग धेरै थोक छ, उसले आफूलाई पाएको सुविधालाई आफ्नो व्यक्तित्व विकासका लागि लगायो, त्यसले प्रगति गरयो । जसले प्राप्त सुविधाका कारण चूपचाप बस्यो, मोजमस्तीपूर्ण जीवन बितायो, ज्ञान र सीपलाई ग्रहण गरेर अघि बढ्न सकेन, त्यसले अवसर पाएर पनि अघि बढन् सक्दैन् ।

यसरी नै अभावग्रस्त घरका बालबालिकामा पनि यदि कसैले आफ्नो अवस्थाका कारण संघर्ष गर्ने, मेहनत गर्ने काम छोडेर असल कर्म गरेन भने उसको अवस्था जीवनभर दयनीय नै रहन्छ ।जसले आफ्ना अभावलाई जितेर निरन्तर सङ्घर्ष गरेर अघि बढ्यो, त्यसले जीवनमा सफलता पायो । जीवनमा उचित मार्गनिर्देशन मात्र भएर पुग्दैन, त्यस मार्गनिर्देशनलाई लागू गने र जीवनमा लागू गर्ने आँट र हिम्मत पनि चाहिन्छ । आजका अभिभावकले आफ्ना बालबालिकामा उत्साह, आँट र हिम्मत दिनुपर्छ । समाजमा अन्याय, अत्याचार, विभेद, अवसरमा असमानता त जताततै छ । समाजमा रहेका हरेक प्राणीले कुनै न कुनै किसिमको विभेदको त सामना गरेको हुन्छ । आजका बालबालिकाले आफ्ना अग्रज पुस्ता अघि आउन नसक्नाका कारणको पहिचान गरेर आफ्नो सबल भविष्य निर्माणका लागि उचित पहल गर्न सके भने उनीहरूको भविष्य बलियो छ । अरूले गरेको प्रगतिमा  ईरष्याभन्दा पनि आफ्नो क्षमताको सबलीकरण आजको आवश्यकता हो । यसैमा नै नयाँ नेपाल निर्माणको अभिभारा निहित छ । देश कुनै नेताको भाषणले मात्र बन्दैन, मेहनती र जागरूक नवपुस्ताको मेहनतले बन्दछ ।

प्रकाशित: २३ असार २०७७ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App