८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

थालको भातभित्र लोहोरो

बालकथा

टंकबहादुर आले मगर

 टंकबहादुर आले मगर

शन्तेको भाग रोज्ने बानी नराम्रो थियो । आमाले कति सम्झाइन्, ‘भाग रोज्नु हुँदैन । मामुले जति दिनुहुन्छ जे दिनुहुन्छ रमाईरमाई खानुपर्छ ।’

 शन्ते जहिले पनि बुवालाई खाना भाग लगाएको थाल रोज्थ्यो । उसलाई धेरै भात पस्केको थाल चाहिन्थ्यो ।

माघमा शन्तेलाई पनि लिएर आमा माइत गइन् ।

बाटाभरि सिकाइन् , ‘माउलो पुग्नेबित्तिकै माउली बाजेबजूलाई खुट्टामा ढोक्नु । जेठा मामामाइज्यूलाई हौवा गर्नु है दुई हात जोडेर ।’

शन्तेले रमाउँदै भन्यो, ‘लल मामु ।’

‘अनि माउलोमा भाग रोज्न हुँदैन है । कुरी हुन्छ । मामामाइजूले नराम्रो  भन्छन् । दिदीदाजुहरूले खिसी गर्नुहुन्छ । माइजूले जुन थालमा दिनुहुन्छ चूपचाप लागेर खाने । हाम्रो ज्ञानी छोरा त्यसो गर्दैन ल ?’

हुन्छ मामु भन्दै शन्तेले टाउको हल्लायो ।

माउलोमा पुगेपछि आमाले भनेझैं सबैलाई जिलौजिलौ गरयो । ज्ञानी भई चूपचाप बस्यो । तर राति खाना खाने बेला जेठा मामाको अगाडि भागको थाल रोजेर रुन थाल्यो । आमाले जति सम्झाए पनि मानेन । आखिरमा जेठा मामाले आफ्नो भाग शन्तेलाई दिनुपरयो ।

एकान्तमा जेठा मामाले आमालाई भने, ‘बहिनी, भानिजलाई नैतिकता सिकाएको छैनौ ?’

– सिकाउँछु तर मान्दै मान्दैन दाजु !

– अलिक राम्ररी सम्झाउन ।

‘हुन्छ दाजु !’ आज आमालाई लाजमर्दाे भो ।

सबै परिवारले सम्झाए शन्तेलाई तर उसको बानी सुध्रेन । आखिर एकदिन आमाले एउटा उपाय सोचिन । बुबाको थालभरि भात लगाएर तिहुन हाल्न थालिन् ।

सधैंझै आज पनि शन्तेले बुबाको भाग तानेर खान बस्यो । एकगाँस खाएर अर्काे गास मुछौं भन्दा थालमा कालो लोहोरो देखेर तर्सियो । त्यसपछि जुरुक्क उठ्यो र पेटीमा ठुस्किदै बस्यो । कसैले केही भनेनन् ।

भोलिपल्ट पनि आमाले त्यसै गरिन् ।

पर्सिपल्टबाट सबैभन्दा थोरै भात रोजेर खान बस्यो । आमाले बुबाको ठूलो भाग खान कर गरिन् तर शन्तेले मानेन ।

त्यो दिनदेखि शन्ते आफ्नै भाग रमाउँदै खाएर स्कुल जान थाल्यो  र स्कुलमा भाग रोज्नु हुँदैन भन्दै साथीहरूलाई पनि सम्झाउन थाल्यो ।

प्रकाशित: २१ असार २०७७ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App