२३ असार २०७७ मंगलबार
अन्य

गाउँको रमाइलो

प्रनिश घतानी  

कक्षा–८, गोल्डेन पिक हाइस्कुल, कपन, स्वरस्वतीनगर, काठमाडौं ।

नेपाल सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लकडाउनको घोषणा गरयो । लकडाउनसँगै डर पनि उत्तिकै बढ्न थालेको थियो । अरू धेरैलाई जस्तै मलाई पनि डर लागेको थियो । टेलिभिजनले धमाधम कोरोनाबाट बच्ने सन्देशहरू भन्ने थालेको थियो । एकदुई दिन घरमै बस्दा रमाइलो भयो । तर एक हप्ता घरबाट निस्कन नपाउँदा दिक्क लाग्न थालेको थियो । बाबाममीसँग गाउँ जाऊँ भनें तर उहाँहरूले गाउँभन्दा काठमाडौं नै सुरक्षित छ भनिरहनुभयो ।

मैले लकडाउन सुरुवाती दिनमा केही चित्रहरू कोरें । राम्राराम्रा फिल्महरू पनि हेरें । खाली समयमा भाइबैनीसँग खेलेर समय बित्यो । बहिनी सानै छिन् । लकडाउनले वाक्कदिक्क भएपछि भाइले पनि गाउँ जाने भन्न थालेको थियो । मैले पनि फेरि बाबाममीसँग गाउँ जाऊँ भन्न थालेको थिएँ  ।

एक दिन काठमाडौंमा बसेकाहरूलाई गाउँ लैजाने निर्णय सुनें । बाबाले गाडी बन्दोबस्त गर्नुभयो र गाउँ जाने निधो गरयो । वैशाख ९ गते हामी गाउँतिर लाग्यौं । गाडी निकै प्याक थियो । बाटैभरि गाउँ जानेको लर्काे थियो । भारी बोकेर खाली खुट्टा हिँड्नेहरू पनि प्रशस्तै देखिए ।

काठमाडौंबाट बेलुकीको यात्रा थियो । गाउँ जान पाउँदा धेरै खुसी भएको थिएँ । बाटाभरि निकै रमाइलो यात्राको अनुभूत गरें । लामो यात्रापछि बिहानको ४ बजे सिंगटी बजार पुग्यौं । त्यहीँ हाम्रो चेकजाँच गरियो । त्यसपछि भोर्ले भन्ने ठाउँमा गाडी फेरियो  । खाजा खाएर फेरि यात्रा सुरु भयो । हामी दिउँसो १२ बजे दोलखाको गौरीशंकर गाउँपालिकाको सुरी गाउँको घरमा पुग्यौं ।

लामो समयपछि गाउँ पुग्दा मनमा आनन्द आएको थियो । हजुरबुबाहरूसित खुसी साटासाट गरयौ। घरमा एक दिनसम्म आराम गरें । गाउँ पुगेको दुई दिनपछि गाउँको दिनचर्या सुरु भयो । फेसबुकमा धेरैले ऐंसेलु र काफल खाएको फोटो राखेको देखेको थिएँ । मलाई कति बेला गाउँ पुगेर जंगल जाने भन्ने भएको थियो  । बाबाले सँगै जंगल लैजानुभयो । मैले रमाईरमाई जंगलमा ऐंसेलु र काफलहरू खाएँ । उहाँले गाउँका ठाउँहरू चिनाउनुभयो ।उहाँले सानो छँदाका सम्झनाहरू पनि सुनाउनुभयो । ती अनुभवहरू कथा जस्तो लागे पनि मलाई  धेरै रमाइलो लाग्यो ।

बाबा पनि गाउँमा धेरैपछि गएकोले हजुरबुबालाई सघाउन थाल्नुभयो । मलाई पनि गाउँमा काम गर्न रहर लाग्यो । बाबासँगै काम गर्न थालें । जंगलमा रूख चढ्न र दाउरा काट्न सिकें । भारी बोक्न, घाँस काट्न, गाईवस्तु हेर्न जस्ता धेरै काम सिकें  । गाउँको अर्गानिक स्वाद भैसीको दूधदही पनि चाख्न पाएँ । हजुरबुबासँग लेक पनि घुम्न गएँ । 

मैले साँच्चै प्रकृतिसँग नजिक हुन पाएँ । हामीले पुस्तक पढेकोभन्दा देख्दा अर्काे अनुभव हुँदो रहेछ । मैले चौरीगाई, गाई, भैसी, बाख्रा, ढुकुर, चील, स्याल, जुरेली, सारस, भंगेरा, भ्याकुर लगायतका पशुपन्छीहरू देख्ने अवसर पाएँ । अझ असार महिना गाउँमा धेरै रमाइलो हुँदो रहेछ । खेतबारीमा धान र कोदो रोपाइँ पनि देख्न पाएँ । मैले पनि रोपें । गाउँमै रमाइलोसँग बित्यो । लामो समय गाउँको बसाइ मेरा लागि निकै महत्वपूर्ण रह्यो । 

प्रकाशित: १३ असार २०७७ १७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App