९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

सामाजिक दूरी र बालबालिका

दिनमान गुर्मछान

‘तिमी र म सँगसँगै खेल्ने है .’ कलिला बालबालिका स्कुलमा यसरी नै भन्छन् । अथवा यसरी पनि भन्छन्, ‘तिमी र म सँगै बस्ने ल .’ यी संवादमा कति आत्मीय छ हामीले बुझ्न सक्छौं । बालबालिकामा सधैं आत्मीय हुन्छ । उनीहरूबाट हामीले बरु सामाजिकता सिक्न सक्छौं । सामाजिक गुण बरु बालबालिकामा पाउन सक्छौं ।

यतिबेला संसार कोरोनाको कहरमा डुबेको छ । हाम्रो देश पनि कोरोनाको कहरबाट मुक्त छैन । कोरोना महामारीले मानिसलाई नयाँ नियमको परिधिभित्र बाँच्न सिकाएको छ । केही राम्रा बानी बसाउन सघाएको पनि छ । बेलाबेलामा मिचीमिची हात धुन सिकायो । स्कुले बालबालिकाहरूले सायद स्कुलमा पनि मिचीमिची हात धुन सिके होलान् । जब कोरोनाको महामारी फैलिएको खबर आयो स्कुलस्कुलमा सन्देशहरू आए । बालबालिकालाई हात धुन सिकाइयो । एकहप्ता पछि हतारहतार परीक्षा सकाएर स्कुल बिदा गरियो ।

अहिले बालबालिकाहरू घरमा छन् । घरमा आआफ्ना तरीकाले रमाइरहेका होलान् । रमाउनु र खुसी हुनु उनीहरूको बानी हो । जसले संसार सुन्दर बनाउँछ । सुन्दरता बालबालिकाको मुस्कानमा हुन्छ । उनीहरूको खुसीमा हुन्छ । तर, कोरोनाको कारणले कतै उनीहरूको खुसी खोसिएको त छैन ? यो सोच्नुपर्ने विषय हो । अहिले कोरोनाबाट बच्न बेलाबेला मिचीमिची हात धोऔं र मास्कको प्रयोग गरौं भनिरहेका छौं । जुन सबैलाई स्विकार्य छ । साथसाथै सोसल डिस्टान्सको कुरा पनि छ । सोसल डिस्टान्सले हामीभित्रको आत्मीय त कतै मार्ने होइन भन्ने सबैको मनमा डर पसेको छ ।

तपाईं कल्पना गर्न सक्नुहुन्छ । जब स्कुल खुल्नेछन् । बालबालिका स्कुल पुग्नासाथ पहिला आफ्नो साथीलाई देखेर खुसीले उफ्रिने छन् । यतिका लामो समयसम्मको बिछोडपछिको भेटले उनीहरूमा आत्मीयको रंगले ठाउँ लिनेछ । त्यतिबेला के उनीहरू सामाजिक दुरीलाई सम्झिएर बस्लान् ? के उनीहरू आफ्ना साथीसँग एउटै कोठामा अलग्ग बस्लान् ? अथवा एउटै बेन्चमा दूरी बनाउलान् ? यो एक किसिमले असम्भव कुरा पनि हो ।

सामाजिक गुणभित्र मिलेर बस्नु पनि एक हो । यतिबेला सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यता आइलागेको छ । कोरोनाबाट जोगिनु अहिलेको प्रमुख भूमिका हो । त्यसैले यसका नियम पालना गर्नुपनि आवश्यक छ । यही आवश्यक्ताभित्र बालबालिकाको भविष्यको कुरा पनि जोडिनुपर्छ । जीवन रक्षासँग जीवनका सिकाइ सामाजिक हुनु जरुरी छ ।

‘तिमीहरू सँगसँगै बस है ।’ अथवा ‘मिलेर बस्नुपर्छ । मिलेर खेल्नुपर्छ ।’भनेर हिजोका दिनमा सिकाएका बालबालिकालाई आज हामीले सँगै बस्नु हुँदैन भन्नुपर्ने बाध्यता आएको छ । यो सामाजिक दूरीले उनीहरूको मनमा दूरी ल्याउने होकि भन्ने डर पनि छ । त्यसैले यतिबेला यो विषयमा गम्भीर भएर सोच्नुपर्ने आवश्यक्ता पनि छ ।

बालबालिकाको कलिलो मस्तिष्कमा प्रेम, सदभाव नै स्वभाविक ढंगले बढिरहेको हुन्छ । उनीहरू मिलेर वा बाँडेर गर्नुपर्छ भन्ने विश्वासका साथ हुर्किरहेका हुन्छन् । त्यो बालमनोविज्ञानमा अब सामाजिक दूरीको विषयलाई कसरी लाद्न सकिन्छ ? यो गम्भीर प्रश्न हो । सिकाइका विभिन्न पाटाहरूमा उनीहरू समूहमा बढी सिक्छन् । यो सामुहिकलाई अहिले कोरोनाले बार लगाएको छ । दूरी बढाइदिएको छ । यो दूरीलाई मनको दूरीसम्म नपुरयाइदियोस् । सामाजिक दूरी भन्दाभन्दै मनको दूरी नभइदियोस् ।

बालबालिकाहरू हातेमालो गरेर स्कुल गएको दिन हेर्न पाइयोस् । कोरोनाले आफ्नो बाटो तताओस् । बरु सधैं हात मिचीमिची धोऔंला । आत्मीय भत्काउलाझैं आएको सामाजिक दूरीले डाँडा काटोस् भन्ने सबैको चाहना र इच्छा छ । बालबालिका रमाइरहेको हेर्न पाइयोस् । बालबालिकाले भनेको सुन्न पाइयोस्, ‘तिमी र म सँगै खेलौं ल ।’

प्रकाशित: १३ असार २०७७ ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App