१५ चैत्र २०८० बिहीबार
अन्य

बन्दाबन्दीभित्रको मेरो अनुभव

प्रगुण पण्डित  

कक्षा –७, 

पशुपति मित्र मावि चावहिल, काठमाडौं, नेपाल ।  

२०७६ –१२–०६ देखि २०७७–०३ –०४ 

२०७६ चैत्र ५ गतेका दिन हाम्रो वार्षिक परीक्षा सकियो । परीक्षा सकिएकोमा दंग पनि भए । त्यसपछि हामी परीक्षाको नतीजाको प्रतिक्षामा थियौ । हाम्रो पशुपति मित्र मावि चावहिलले  हरेक वर्ष चैत्र २८ गते परीक्षाफल प्रकाशित गरथ्यौ । तर चैत्र ११ गतेका दिनदेखि चीनबाट उत्पत्ति भएको कोरोना भाइरसको कारणले नेपालमा पनि लकडाउन सुरु भयो । हाम्रो परीक्षाको नतीजा पनि अन्योलमा । हामी पनि अन्योलमा पर्यौं । केही समय त रमाइलो नै भयो । सोच्यौ लकडाउन खुलिहाल्छ तर मैले सोचे जस्तो भएन ।

लकडाउनको कारणले हाम्रो नतीजा प्रकाशित हुन सकेन । हामीलाई रमाइलै भएको थियो किनकि हामी यसरी घरका सबै सदस्य एकै ठाउँमा दिनमा बसी आफूलाई मन लाग्ने खानेकुरा बनाएर खाने फुर्सदै हुँदैनथ्यो । कोरोनाको कारण हामी सबैले मिलेर खाना बनाउने अवसर पनि पायौ । मैले लकडाउनको सदुपयोग गर्न कथा, कविता, निबन्धको किताब र  रामायण पढें अनि केही किताबबाट अभ्यास पनि गर्न थाले । 

कोरोनाको कारणले पूरै संसार नै त्रसित भयो । संक्रमितहरूको संख्या पनि बढ्दै गयो र लकडाउन पनि थपिदै गयो । मलाई चाहिँ कति पनि डर लागेन किनभने म घरमा बसेर किताबहरू पढ्ने, समयमा खेल्ने  र केही न केही गर्ने गर्थे ।  आफूलाई आवश्यक पर्ने सामग्रीहरू  किन्न मात्र म बाहिर जाने गर्थे । मैले लकडाउनमा खाना पकाउन पनि सिके । म र बहिनी मिलेर चिजबल, पोटेटो फिंगर र भेज कटलेट पनि बनाएर बुबा, ममी र दिदीलाई खुवायौं ।

अझै लकडाउन थप्पिदै गयो । अनि मैले नेपाली र अंग्रेजी टाइप गर्न पनि सिके र अहिले  म नेपाली र अंग्रेजी दुवै फन्टमा टाइप गर्न पनि सक्छु । मैले लकडाउनमा कथा पनि लेखे । मेरी बहिनीले कोरोना शीर्षकमा कविता लेखिन् तर मैले चाहिँ कथा । दुवैका कथा र कविता पनि ‘टोखा लाइभ डट कम’ले प्रकाशनमा ल्याएर हामी दुवैलाई हौसला दिलाएको छ । मैले बुबासँग अंग्रेजी र ममीसँग नेपाली र गणित सिके । म मेरो परिवारसँग फिलीम पनि हेर्ने गरे । म बुबाममीसँग खेल्ने पनि गरे र गर्छु र ममीबुबा पनि मसँग खेल्नुहुन्छ । म रामायण र कार्टुन पनि हेर्ने गर्छु । साँझसाँझ म, बुबा र बहिनी ब्याडमिन्टन, स्किपिङ, रिङ खेल्ने गर्छौ । मलाई  परिवारसँग बसेर खेल्न, गफ गर्न असाध्यै मनपर्छ । लकडाउनमा हामीले विभिन्न काम गर्न सिक्यौ । मेरो बाबा शिक्षक भएकोले हामीलाई पढ्न लेख्न भनेर याद दिलाउनुहुन्छ । आफूचाहिँ विद्यालयको प्रधानाध्यपक भएकोले कहिले विद्यालयका विद्यार्थीको लागि राहत, कहिले पुस्तक वितरण कहिले अन्य केही गरी समय बिताउदै ठीक्क छ । उहाँलाई पढ्न र लेख्न मन पर्छ । हामीलाई पनि पढ र लेख भनिरहनुहुन्छ ।

समाचारमा पनि दिनानुदिन कोरोनाले यति मरे, यति संक्रमित भए भनी सारा संसारलाई त्राहित्राहि बनाएको छ । यस्तो अवस्थामा पनि जेठ २९ गतेका दिनमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले असफल भएको भन्दै बालुवाटारमा प्रदर्शन भएको थियो । सरकारविरुद्ध बुधबार पनि प्रदर्शन भएको थियो । तर त्यो प्रदर्शनचाहिँ स्वास्थ्य सामग्री किन्नका लागि थियो र आरडिटी रोकेर पिसिआर टेस्ट गर्नुपर्छ र कर तिर्न तोकिएको समय खारेज गर्नुपर्छ भन्दै माग गरेका थिए । अनि जेठ २९ गतेका दिनमा कोरोना भाइरस नियन्त्रणमा १० अर्ब खर्चको विवरण जागरूक नेपाली युवाहरूले माग्दै शान्तिपूर्ण तरीकाले सडक तताइरहेका छन् । तापनि सरकारले यसको चित्तबुझ्दो विवरण दिन सकेका छैनन् ।

अझै पनि ठाउँठाउँमा सरकारको विरोधमा प्रदर्शन भइरहेको छ । नेपाल सरकारले नेपाललाई लकडाउनमा राखेता पनि उद्यमी, व्यवसायीहरूलाई कर तिर्न लगाउनु सरकारले गलत गरेको छ । सवौच्च अदालतले लकडाउन खोलेपछि कर तिनुपर्ने भनेपछि उनीहरूलाई केही राहत मिलेजस्तो  भएको छ । के हुनु लागेको हो कुन्नि ?  एमसिसि खारेज गर, १० अर्वको हिसाब देखाऊ,  भ्रष्टाचार मुर्दावाद भन्दै सडकमा मास्क लगाएका युवाहरू देखिन्छन् । यसै बन्दाबन्दीको समयमा नेपालको संसदले नेपालको नक्सा लिपुलेकसहित समेटेर तयार पारेको छ । यसले भने सारा नेपालीलाई खुशी बनाएको छ । नेपाल भारतको बीचमा सीमा विवाद देखिएको छ । भारतले किन दुख दिएको होला ? 

तर के गर्ने दिनानुदिन नेपालमा अपराधिक घटनाहरू घटेका छन् । चाहे त्यो रुकुमको नवराज विकको केसमा ६ जनाको सामुहिक हत्या होस् वा कैलालीको क्वारेन्टिनमा एक महिलामाथि सामुहिक बलात्कारका  घटेका घटना होस्, चाहे त्यो पोखरा मनपा वडा नं ३३ मा अमितलाई मारी सेती नदीमा बगाएको घटना होस्, जहाँतही सरकार चुकेका छ । हुन ती सबै अपराधिक घटनाहरू अमानवीय अक्षम्य हुन र मानव सभ्यताका कलंकका रूपमा स्थापित भएका छन् । लकडाउनको समयमा यस्ता अपराधिक घटना बढ्नुले नेपाल सरकार शान्ति सुरक्षा कायम गर्न नसकी आफ्नो अक्षमता प्रकट भएको सामान्य नागरिक बताउँछन् ।

अर्कोतर्फ दिनानुदिन ज्यालादारीमा जीविकोपार्जन गरेका मानिसहरू जीवन धान्न गाँसको व्यवस्था गर्न सकेका छैनन् । जसको कारणले समाजमा कोरोना महामारीको कारणले १६ जनाको मृत्यु भएको खबर भए तापनि आत्महत्याको कारणले झन्डै १३०० मानिसहरूले यस नेपालबाट बिदा लिएको अवस्था सञ्चारका माध्यमबाट थाह पाई दुखित भएको छु । यति मात्र हो र , प्रकृति पनि कति निष्ठुरी रहेछ । यही समयमा पर्वतमा ८ जना मानिस पहिरोमा पुरिएर मरेका छन् भने केही चौपाया समेत पुरिएका छन् ।

यस्ता अप्रिय घटनाहरू बढ्दै छन् । यद्यपि नेपालमा तीन प्रकारका सरकार छन्ः स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार । सरकारको उपस्थिति छैन भन्दा कसरी भन्ने  तर अपराध हेर्दा सरकार जताततै निकम्मा देखिएको छ ।

खोई हाम्रो पाठ्यपुस्तकमा लेखिएको समानता कहाँ रहेछ । कानुनको नजरमा सबै समान छन्  । हाम्रा शिक्षकले भनेको समानता, पुस्तकमा लेखिएको समानता र देशको सरकारले भनेको समानता बीचमा फरक पो रहेछ कि । एक दिन प्रधानमन्त्रीलाई भेटेर समानता के हो भनेर समानताबारे सोध्न मन लागेको छ । के मैले प्रधानमन्त्रीलाई भेट्न पाउँछु होला त ? 

त्यति ठूलो रकमको भ्रष्टाचार किन गरेको होला ? यो साँच्चै हो कि झूटो हो सोध्न मन लागेको छ । अब विद्यालय कहिले जान पाइने हो ? विद्यालय जान नपाए पनि म त घरभित्रै बसेर  पढेकी छु, कथा लेख्ने, समाचार सुन्ने र खेल्ने गरेकी छु तर मेरा साथीहरू के गर्दै छन् होला ? कहिलेसम्म दुख पाउने हाला ? साथीहरूसँग भेटेर कहिले खेल्न पाउने हो ? अब त अति भयो । कोरोना दुख नदिए हुन्थ्यो जस्तो लाग्न थालेको छ ।

प्रकाशित: ७ असार २०७७ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App