११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

एसइई परीक्षा र विद्यार्थी

सीमा भट्ट 

विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, स्वयम्भू, काठमाडौँ ।

२०७६ सालको चैत्र ६ गतेबाट सुरु भई १६ गते समाप्त हुने एसइई परीक्षा चीनबाट सुरु भई विश्वभर फैलिएको कोरोना भाइरसको कारण स्थगित भएको थियो। परीक्षाको ठीक बाह्र घण्टाअघि सरकारले परीक्षा स्थगित गर्ने सूचना सार्वजनिक गरेको थियो। सो सूचनाको कारण कोही विद्यार्थी चिन्तामा डुबेका थिए त कोही  हर्षित पनि थिए। तर, उक्त सूचनाको कारण टाढाटाढाबाट परीक्षा दिन परीक्षा केन्द्रमा आएका विद्यार्थीको हालत भने सङ्कटपूर्ण थिएन भन्न सकिन्न।

परीक्षा स्थगित भएको दिन टाढाबाट परीक्षा दिन आएकाहरु निराश हुँदै फर्किएका थिए। तैपनि, पढ्ने समय एक महिना थप भयो भन्ने सोचका कारण निराशापनबाट आशाको ज्योतितर्फ लम्कँदै थिए विद्यार्थीहरु। कोरोनाको त्रास दिन प्रतिदिन बढ्दै गएकाले चैत्र ११ देखि देशभर लकडाउन सुरु भएको थियो। सारा देशका नागरिकहरूलाई घरमै बसेर समय बिताउनुपर्ने बाध्यता आइपुगेको थियो। 

नयाँ वर्ष टेकिसक्दा पनि  एसइई परीक्षाबारे केही सूचना बाहिरिएको भने थिएन। सूचना नआएकाले विद्यार्थीहरु बिस्तारैबिस्तारै तनाव लिने अवस्थातर्फ उन्मुख हुँदै थिए। जाँच दिने दिन आउँछ भन्दै औला भाँची दिन गनेका विद्यार्थीहरुको पर्खाइ जेठ २८ का दिन आएको सूचनाले पर्खाइमा मात्रै सीमित रहन बाध्य गरायो। एसइई दिएर राम्रो अंक ल्याएर फुर्ति  देखाइन्छ भन्दै पढेका विद्यार्थीहरुका लागि २८ जेठ का  एसइई नहुने सूचना निस्कँदा मुटु चिथोरिएको अनुभव भयो भनेर सजिलै अनुमान गर्न सकिन्छ।

एसइई रद्द गरिएको भन्ने थाहा पाएपछि जाँच रोकिएका ११ र १२ कक्षाका विद्यार्थीहरुले आफ्नो जाँच पनि रद्ध गरिदिए हुन्थ्यो भन्दै बसेका हुन सक्छन् भने एसइईका लागि भनेर एक वर्ष सबै कुरा छोडेर पढाइमा मात्रै लागेका विद्यार्थी भने पीडाको कारण छटपटाउँदै थिए तर उनीहरुको चिच्च्याहट कसैको कानमा पर्न सकेकै थिएन।

अचानक सरकारले परीक्षा रद्द गरेर सबै कुरा सहज भयो भन्ने सोच्न थाल्नु एउटा भूल हुनेछ। एसइईको नतीजा प्रकाशित नभई कक्षा ११ मा कस्तो विद्यालय जाने कुराको टुङ्गो लाग्नै सकेको छैन। हुन त असारभित्रमा प्रमाणपत्र वितरण गर्ने समाचार सुनिएको छ । तर, विद्यालयहरु पनि केको आधारमा विद्यार्थीको मूल्याङ्कन गर्ने भन्ने विषयमा दोधारमा परेका हुन सक्छन्। यस विषयमा सरकार कि कोरोना भाइरसलाई दोष दिने ?

कोरोनाको त्रास चलिरहँदाको अवस्थामा परीक्षा लिइहाल्न सहज त थिएन। कोरोना भाइरस नसकिँदानसकिँदै परीक्षा लिएमा कोरोनाले भविष्यको देशको मेरुदण्ड विद्यार्थीलाई निलिदिने हो कि भन्ने त्रासमा रहेर शिक्षामन्त्रीले एसइई रद्द गर्ने विचार निकाल्नुभएको हो भन्ने त सबैलाई थाहै छ। तर, यो निर्णयले विद्यार्थीको मूल्याङ्कनमा हानि पुगेको कुरा पनि सबैलाई थाहा नभएको भने होइन। फेरि एसइईभन्दा अगाडि लिइएका जाँचलाई आधार मानेर अंक दिन थाल्नु पनि निष्पक्ष निर्णय ठहरिँदैन कि ? आन्तरिक परीक्षामा धेरै अंक आए मात्तिएर  एसइई बिगार्छन् भन्दै विद्यार्थीकै लागि अंक काटिदिने शिक्षकलाई आन्तरिक परीक्षाको नतीजाको आधारमा मूल्याङ्कन गर्ने कुराले च्वास्स बिजाइहाल्छ। काँचो माटो मानिएका विद्यार्थीलाई विद्यालयले भविष्यमा देशविकासका लागि पिलर बनाउँदाबनाउँदै त्यो दलदलमा फसेको हो कि भन्ने आभास हुन थालेको छ। 

सरकारको यस्तो निर्णयले विद्यार्थीहरुलाई परिश्रमको फल मीठो हुन्छ भन्ने उखानलाई सोच्न विवश पारिदिएको छ। आन्तरिक परीक्षाको नतीजाको आधारमा मूल्याङ्कन गरिने भएको भए त एसइईको तयारीका लागि तोकिएका दिनहरूमा निद्रा त्याग्दै पढाइलाई मात्रै प्राथमिकता दिएका विद्यार्थीहरुको दुःख खेर गइहाल्यो नि। त्यसैगरी, विद्यार्थीले परीक्षामा राम्रो गरून् भन्दै दिनरात नभनी विद्यार्थीकै लागि खट्ने शिक्षकको मिहिनेत पनि ओझेलमा परेको छ।

ठूल्ठूला सपना समेट्दै पसिना बगाएका विद्यार्थीहरु एसइई रद्ध भएर टुटेका सपना कसरी जोड्ने भन्ने विषयमा अन्योलमा छन्। एसइईमा ए प्लस ल्याऊ अनि तिमीले जे माग्छौ त्यही दिन्छु भन्दै आसमा बसेकी रीताकी आमा आज मौन बस्नुपरेको छ। फलामेद्वार राम्रोसँग पार गर्नुपर्छ है भन्दै ज्ञानगुनका कुरा सिकाउने रामका बुबाले सरकारको निर्णयसँग सहमति जनाउन सकेका छैनन्।

हुन त सरकारको निर्णयमाथि औँला उठाइहाल्नु त सही नहुन पनि सक्ला। सरकारले धेरै सोचीसम्झी नै निर्णय सार्वजनिक गरेको हुनुपर्छ। तैपनि चारैतिर हेर्दा यस निर्णयसँग सबै सहमत छन् भनिहालियो भने गलत भइन्छ कि । अब अहिलेको हालतमा भने महामारी नियन्त्रण होस् भन्ने प्रार्थना गर्दै घरमै बसी दिन कटाउनु नै ठीक होला।  आगामी दिनहरूमा भने विद्यार्थीहरुले यस वर्षको एसइई प्रतिस्पर्धीले झैँ आफ्नो मिहिनेतलाई बलि चढाउनु नपरोस् ।सबै विद्यालयले सबै विद्यार्थीको एप्लस नतीजा पठाए त्यसैलाई प्रमाणित गरिन्छ या त्यसको केही विकल्प रहन्छ ? यो त हेर्न बाँकी नै छ । जे भए पनि हामीले चाँडै प्रमाणपत्र प्राप्त गर्न सकौँ । यही नै छ मेरो कामना।

प्रकाशित: ४ असार २०७७ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App