श्रीबाबु कार्की उदास
गुरुब्रह्मा, गुरुविष्णु
गुरुदेवो महेश्वर : ।
गुरु:साक्षात् परं ब्रम्ह
तस्मै श्रीगुरुवे नम: ।।
अर्थात 'गुरु ब्रम्हा,विष्णु र महेश्वर हुनुहुन्छ ।
यस्ता साक्षात् परब्रम्ह गुरुलाई नमस्कार छ ।' हाम्रो धर्मशास्त्रले गुरु ( शिक्षक )लाई भगवानको रूपमा पुजन गरेको छ । आचारविचार , सदाचार र सत्मार्गमा प्रवृत्त गराई शिष्यलाई प्राज्ञ तुल्याउनु नै गुरुको मुख्य भूमिका हुन्छ ।
शिक्षण यस्तो पेशा हो जहाँ शिक्षकको बोलाइ, हिंडाइ, चलाइदेखि शिक्षकको आनीबानी आचरण र दैनिक व्यवहारको समेत विद्यार्थीमा राम्रैसंग प्रभाव पर्ने गर्छ ।
अझ प्राथमिक तहमा त झन शिक्षकको गुण कस्तो छ ? के कस्तो हाउभाउ गर्छ ? उसको शैली कस्तो छ ? उसको सबै नियमित कामकुरामा विद्यार्थीले हुबहु नक्कल गर्ने क्षमता राख्छन । विशेष गरी प्राथमिक तहका विद्यार्थीहरु काँचो माटाेसरह नै हुन्छन् । जसलाई शिक्षकले जस्तो आकारप्रकार र परिवेशमा ढाल्नुपर्ने हो ढाल्न सक्छ । शिक्षकको चरित्र नै विद्यार्थीको चरित्रमा प्रतिबिम्बित हुन्छ । तसर्थ शिक्षण पेशा एक महत्त्वपूर्ण र मर्यादीत पेशा बनाउन शिक्षणसंग सम्बन्धित निकाय र सरोकारवालाले सोच्नुपर्छ ।
यदी कुनै व्यक्ति विद्यार्थीप्रति खास चासो र चिन्ता गर्दैन, विद्यार्थीको रुचि अनि आनिबानीमा ध्यान दिँदैन भने त्यस्तो व्यक्तिले शिक्षण पेशा त अंगाल्ला तर विद्यार्थीको चौतर्फी विकासमा उसले उल्लेख्य भूमिका निर्वाह गर्न सक्दैन ।
- विद्यार्थीले गल्ती गर्न सक्छ ।
- कुनै कुरा नजान्न सक्छ ।
- नबुझ्न सक्छ ।
- नगर्न सक्छ ।
- नआउन सक्छ ।
यसलाई शिक्षकले विद्यार्थीको सामाजिक परिवेश, पारिवारिक वातावरण र व्यक्तिगत र मनोवैज्ञानिक धरातलको आधार बनाएर उनीहरुको कमजोरी पर्गेल्न सक्ने खुवी राख्नुपर्छ । अन्यथा विद्यार्थीलाई दण्ड वा मानसिक तनाव दिनेतिर लाग्नु हुन्न ।
विद्यार्थीलाई शिक्षकले माया गरे उसले पनि शिक्षकलाई माया र सम्मान गर्ने गर्दछ । यदी शिक्षकले माया नगर्ने हो भने विद्यार्थीको स्वभाव पनि क्रमश उक्त शिक्षकप्रति नकारात्मक हुँदै जान्छ । जो पछि शिक्षक, विद्यालय र समाजलाई नै उक्त विद्यार्थी समस्या बन्दै जान्छ ।
हरेक विद्यार्थीसंग फरकफरक क्षमता हुन्छ । एकै उमेर समूह वा एकै सामाजिक धरातल भए पनि हरेक विद्यार्थीमा स्वपन नितान्त भिन्न हुन्छ । शिक्षकले जानेर वा नजानेर विद्यार्थीप्रति गर्ने ससाना व्यवहारले विद्यार्थीको मनोविज्ञानमा ठूलो असर पर्ने गर्छ ।
अझ शिक्षकको दैनिक लुवाइखुवाइ , रहनसहन, चाल-चलनजस्ता कुराहरु शैक्षणिक जीवनमा एक महत्त्वपूर्ण पक्ष बन्ने गर्छ । शिक्षक ग्रामीण क्षेत्रमा अहोरात्र खट्ने राज्यको विशेष दूत मात्रै नभएर सामाजिक रूपमा उज्यालो छर्ने विशिष्ट 'मार्गदर्शक' पनि हो । जीविकोपार्जनका लागि शिक्षक एक पेशा भए पनि नितान्त सेवामुखी हुन्छ यो क्षेत्र । सामाजिक रूपले पवित्र यो पेशामा सबै असल नियत भएकै हुन्छन् त ? यो प्रश्न सधैं पेचिलो बन्ने गरेको छ ।
हाम्रा कैयन विद्यार्थीहरु आफ्ना शिक्षकको आनीबानी र गैरजिम्मेवारीबाट आहत भइरहेका हुन्छन् । शिक्षकले जानेर वा नजानेर हुने यस्ता क्रियाकलापबाट आफ्ना विद्यार्थीहरुप्रति पर्ने नकारात्मक असरमा समयमै सचेत हुन जरुरी छ । विद्यालयमा विद्यार्थीहरुले आफ्ना शिक्षकबाट अनुभव गरेका केही प्रतिनिधि घटनाहरु
- हाम्रो सामाजिक पढाउने शिक्षक त खैनी मुखमा हालेर कक्षाकोठामा आउनुहुन्छ । सरले पढाउँदा खैनी जति अघिल्लो बेन्चमा बस्ने विद्यार्थीहरुको मुखमा छिटा मात्रै पर्दैन मुख समेत ह्वास्स गनाएर वाक्कै लाग्छ ।
- हाम्रो एक जना शिक्षक कक्षाकोठा सधैं जाँडरक्सी खाएर आउनुहुन्छ जसका कारण विद्यार्थीहरु हैरान छन । कैलेकैले त बिनाकारण हामीलाई धेरै पिट्नु पनि हुन्छ ।
- हाम्रो फलानो शिक्षक छात्राहरुलाई धेरै माया गरेको जस्तो गर्नुहुन्छ । उहाँले मायाको बहानामा स्पर्श गर्नुहुन्छ जसले सबै साथीहरु वाक्क छन ।
- हाम्रो ढिस्कानाे विषयको शिक्षक यति फोहोरी हुनुहुन्छ कि उहाँको मैलो शरीर, जिङरिङ्ग कपाल र दुर्गन्धे शरीरका कारण उहाँको कक्षा लिनै दिक्क लाग्छ ।
- हाम्रो एक शिक्षक यति धेरै रूढिवादी हुनुहुन्छ । उहाँले गर्ने अन्धविश्वासले हामी एक्काइसौं शताब्दीका विद्यार्थीहरु सोर्हौं शताब्दीका हौं कि भन्ने लाग्छ ।
माथिका उदाहरण प्रतिनिधि घटना मात्रै हुन । यस्ता गम्भीर कार्य जो कसैले गरे पनि निन्दनीय हुन्छन् । हिजोआज हरेक विद्यालयका विद्यार्थीहरुले आफ्नो अभिभावक, साथीसंगातीबीच यस्तो गुनासो गरिरहेका हुन्छन् । सुन्दा सामान्य लागे पनि विद्यालयमा हुने यी कुरासँग सबै चनाखो हुनुपर्छ । यिनै विषय पछि गएर अप्रिय बन्ने गर्छन् ।
म एक माध्यमिक विद्यालयमा पढ्थें । प्रायः गुरुहरु सफा र चिटिक्क परेर विद्यालय आउनुहुन्थ्यो । विद्यालय साच्चै पवित्र सरस्वतीको मन्दिरझैं थियोे । सिक्ने र सिकाउनेवीच सुमधुर समन्ध हुन्थ्यो । गुरुशिष्यको विशेष आत्मीयताले शैक्षिक मर्यादाकाे महत्त्वपूर्ण आयाम हुन्थ्यो । शिक्षक विद्यार्थीलाई माया गर्थे । विद्यार्थी शिक्षकलाई श्रद्धाभाव राख्थे । सिकाइको यो अपूर्व परम्परामा छुट्टै मज्जा र मिठास थियो त्यतिबेला ।
विद्यालय हाता सफा र स्निग्ध हुन्थ्यो । हरेक विद्यार्थीलाई विद्यालय शिक्षाको मन्दिर हो भन्ने भान थियो । बर्सेनि गुरु पूर्णिमामा विद्यार्थीहरु आफ्ना गुरुहरुलाई आदर्श पात्रका रूपमा पूजा गर्दथे । अहिले गुरु-शिष्यको पवित्र मजा सम्बन्ध बिस्तारै खुइलिदै गइरहेको त होइन भन्ने लागिरहेको छ । यसर्थ हरेक शिक्षकले आफू कसरी नैतिक गुणले सुसम्पन्न र श्रद्धाभाव जागृत आदर्श पात्र बन्ने ख्याल गर्न जरुरी देखिन्छ भने विद्यार्थीहरु पनि अनुशासित र मर्यादित भएर नियमित प्राज्ञिक कर्ममा लाग्नुपर्ने देखिन्छ । जसरी ज्ञानको सिमाना अनन्त र अकल्पनीय छ त्यस्तै गुरु र शिष्यको सम्बन्ध पनि अनुपम र अनुकरणीय हुन जरुरी छ ।
शिक्षकले कहिल्यै गल्ती नै गर्दैन भन्ने समयमा हामीले विद्यालय शिक्षा पूरा गरेका थियौं । साच्चै त्यतिबेला विद्यार्थीलाई शिक्षकले हेर्ने दृष्टिकोण अपवाद छोडेर निर्दाेष नै थियोे । यद्यपि अहिले पनि सबै शिक्षक खराब नै छन भन्न खोजिएको होइन । हामी कहाँ धेरै आदर्श शिक्षक पनि धेरै छन । तर थोरै शिक्षकले नराम्रो गरिदिदा पूरै शिक्षण संस्थामा धमिलो अनुभूति गर्ने गरिन्छ ।
जतिबेला शिक्षकले विद्यार्थीलाई अहिले जस्तो कुनै पनि मानसिक, र यौनजन्य हिंसाको जोखिम असाध्यै न्यून थियोे । तर यतिबेला गुरुले विद्यार्थीहरुप्रति गर्दै आएको अनैतिक क्रियाकलापबाट हजारौं विद्यार्थी आहतमा परेका छन । एउटा गुरु आफ्नो छात्राहरुप्रति नकारात्मक सोच किन बनाउँछ ? आफ्ना छोराछोरी सरहका छात्राहरुमा शिक्षकले यौनजन्य गिद्धे नजर लगाउनु कहाँसम्मको निकृष्ट र अक्षम्य कार्य हो ? फ़ेरि शिक्षकको कुलतका कारण हजारौं विद्यार्थीहरु मानसिक हिंसामा परिरहेका छन । खैनी, चुरोट, पानपराग र अलकोहल जस्ता पदार्थको सेवन गरेर जाने शिक्षकप्रति विद्यार्थी नकारात्मक हुनु स्वाभाविक हुन्छ । यस्ता कुरा सेवन गर्ने शिक्षकले विद्यार्थीलाई कुनै आकर्षण गर्न सक्दैन । जसका कारण नशालु पदार्थ सेवन गर्ने शिक्षकबाट विद्यार्थीले धेरै कुरा सिक्न समेत सक्दैनन् ।
अहिले कतिपय स्कुलमा संगीत र नृत्यका छुट्टै शिक्षक राख्ने गरिएको पाइन्छ । संगीत र नृत्यका शिक्षकले आफ्ना विद्यार्थी ( विशेष छात्र ) लाई मनोवैज्ञानिक असर पर्ने गरी स्पर्श गर्ने गरेको गुनासो आउँछ । शिक्षणको आवरणमा कुनै पनि शिक्षकबाट हुने यस्तो घृणित काम निन्दनीय हुन्छ । कतिपय शिक्षक कक्षाकोठामा विद्यार्थीसंग सामाजिक रूढिवादी कुराहरू गरिदिने गर्द्छन । आज कालोबिरालोले बाटो काट्याे । आठबार परेकोले गार्हो भो भन्ने जस्ता कुरा पनि विद्यार्थीको अगाडि भन्न आवश्यक हुँदैन ।
अचेल हरेक महिना गुरु र शिष्यवीच अकल्पनीय घटनाहरु संचार माध्ययममा आइरहेको हुन्छ । यसले गुरु र शिष्यको प्रगाढ सम्बन्धमा नकारात्मक सोचको विकास गरिरहेको छ । हाम्रो संस्कारमा मातापितापछि गुरुलाई देवता समान मानिने गरिन्छ । किनभने मनुष्य जीवनका लागि ज्ञान नै सर्वोत्तम शक्तिको रूपमा लिने गरिन्छ ।
ज्ञानार्जन स्थलमा हुने यी र यस्ता सामाजिक बेथिति र अक्षम्य घटनाले हाम्रा पवित्र शिक्षालयको गरिमा राख्न सक्दैनन् । माता देवो भव: पिता देवो भव: र गुरु देवो भव: भनेर माता र पितापछि गुरुप्रतिको यो अभूतपूर्व सम्मानलाई गुरुहरुले पनि आफ्नो साखः जोगाउनेतिर लाग्नुपर्छ कि ?
प्रकाशित: ३ असार २०७७ १०:३८ बुधबार