९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

फार्म हाउसको चरा

लकडाउन सम्वाद–२

जितेन्द्र रसिक

 बिहानै शिखाले फोन गरिन् । उनी मेरी छोरी हुन् । उनी भक्तपुरकै एक विद्यालयमा कक्षा ८ मा  पढ्छिन् । किनकि हाम्रो घर भक्तपुर हो । फाइनल परीक्षा सकेर २०७६ चैत्र महिनामा केही दिनका लागि सिन्धुपाल्चोकस्थित फुफू र मामा घर घुम्न गएकी थिइन् । उनी कोभिड १९ को कारण लकडाउन भएपछि त्यहीँ रोकिइन् । शिखा घरपरिवारबाट टाढा रहिन् । उनले लकडाउनमा बाबाआमालाई निकै मिस गरिन् । परिवारसँग भेट नहुने भयो भनी फोनमा रुन खोज्थिन् । उनी लकडाउनपछिका दिनहरूमा साह्रै आतिएकी थिइन् । केही समयपछि उनी सुरक्षित तरीकाले नजिकै रहेको काभ्रे मण्डनस्थित मामाघरमा पुगिन् । यसअघि लकडाउन सम्वादमा भाइबहिनीहरूका लागि शिखाले भोगेका लकडाउनका विषयमा लेखसिकेको छु । 

आज लकडाउन खुकुलो हुँदै गर्दा साढे २ महिना आमाबाबुसँग घरबाट टाढा रहनु पर्दा उनले भोगेका भोगाइ प्रस्तुत गर्दैछु । लकडाउनमा बालबालिका बाबाआमा र घरपरिवारबाट टाढा रहँदा के कस्ता अनुभूति गर्दा रहेछन्, के कस्ता चुनौतीको सामना गर्नुपर्दा रहेछन् । ती समस्यालाई कसरी सहज बनाउन सकिदो रहेछ भन्ने जानकारी भाइबहिनीहरूलाई पनि उपयोगी हुनसक्ने ठानेको छु ।  

शिखा – बाबा लकडाउन खुकुलो हुँदैछ रे हो ?

म  – हो छोरी । सरकारले जनताको समस्या बुझी खुकुलो बनाउने तयारी गरिरहेको छ ।

साढे २ महिना वितिसक्यो । तपाइँ मलाई लिन आउने होइन ।  तपाईंले भनेझैं मैले आठ ओटा कथा पनि  लेखिसकें । फुफू घरबाट मामाघर आइसकेपछि म थप  सिर्जनशील  भएको छु  । विद्यालयबाट साताको २ दिन अनलाइन कक्षा चलाएको छ । म माघरमा बसेरै अनलाइन कक्षा पनि लिइरहेको छु । यहाँ इन्टरनेटको राम्रै सुविधा छ । म मामाको ल्यापटपबाट कक्षा लिइरहेको छु । अब खुकुलो हुँदा घर फर्कन मनलागेको छ । बाबाआमा हजुरबाहजुरआमा दाजुभाइ दिदीबहिनीलाई नभेटेको वषौं बितेको जस्तै आभाष भएको छ ।

म –  अवश्य । लकडाउन खुकुलो गर्दैछ सरकारले । खुकुलो हुनासाथ लिन आउँछु । हस् ?

शिखा – आहा कति रमाइलो हुने भयो । अब म घर फर्कन पाउने भयो । हस् बाबा ।  

म  – लकडाउन खुकुलो हुने भयो भनेर जथाभावी नहिँड्नु । लकडाउन खुले पनि कोरोना जोखिम हटेको छैन । संक्रमितहरु बढिरहेका छन् ।

शिखा – त्यसो भए झन् जोखिम बढेको बेला किन लकडाउन खोल्न लागेका सरकारले ? 

म – लकडाउनपछि घरघरमा रहेका नागरिकलाई सरकारले व्यवस्थित तरीकाले राखेर समस्या समाधान गर्नेछ भन्ने सबैलाई लागेको थियो । तर सरकारले त्यो सबै गर्ने क्षमता राखेन । नागरिकहरू भोकै जीवन गुमाउनुपर्ने बाध्यता आउन थाल्यो । आर्थिक समस्या देखिन थाल्यो । लकडाउनको सबैतिर विरोध भएपछि सरकारले नागरिकको हितको लागि लकडाउन खुकुलो बनाएको हो ।

शिखा – लकडाउन खुकुलो हुनासाथ तपाइँ मलाई लिन आउनुस् ।  

म –  हुन्छ । तिमी मामाघरमै सुरक्षित भएर बस्नु । नडराउनु । नचिनेका मानिसहरू नजिक नजानु । भौतिक दूरी कायम राख्नु । मास्क, सेनिटाइजर र पन्जा प्रयोग गर्नु ।  

शिखा  –  हस् बाबा । लकडाउन खुकुलो हुनासाथ लिन आउनुस् । यहाँ मामाघरमा हजुरबाले कृषि फार्म खोल्नुभएको रहेछ । मान्छेभन्दा ठूला अस्ट्रिज  हेर्न पाइयो ।  

म  – हुन्छ । अवश्य आउँछु म ।  

लकडाउन खुकुलो भएपछि शिखालाई लिन म उनको मामाघर पुगें ।  

शिखा –  बाबा तपाइँ आइपुग्नु भयो ?  

म  – आइपुगें ।

शिखा – सडकमा कुनै अप्ठेरो प¥यो कि परेन ?  

म – अप्ठेरो त परेन । सुरक्षा चेकजाँच भने छ ।  

......

शिखा–  बाबा हजुरबुबाले कृषि फार्ममा अस्ट्रिज पालेको छ । जाउँ हेर्न ।  

म  – कति टाढा छ यहाँबाट ?  

शिखा –  झन्डै ३ किलोमिटर ।

( फार्मका गेट पालेले फिभर गनले जरो नापे । हातमा सेनिटाइजर बुँद राखिदिए । हामी हातमा सेनिटाइजर  लगाए कृषि फार्मभित्र पुग्यौं फार्ममा राँगा, हाँस, टर्की, अस्ट्रिज   लगायत थुप्रै पोखरीहरूमा माछा पालिएका थिए ।)

शिखाः बाबा यो अस्ट्रिज कस्तो चरा हो ? मान्छेभन्दा ठूलो छ यो ?

म–  अस्ट्रिज विश्वकै सबैभन्दा ठूलो चरा हो । यो चरा ठूलो भएकै कारण यसले सबैभन्दा ठूलो अण्डा पार्दछ । नेपालमा पनि कृषकहरुले अस्ट्रिजलाई मासु र अण्डाका लागि पूयोग गर्छन् ।

नजिकै हजुरबुबा आउनु भयो । हजुरबुबाले शिखालाई फार्ममा भएको अस्ट्रिज  देखाउँदै भन्नुभयो । यो २ सय ५० केजी सम्मको छ । यसको मूल्य बजार भाउअनुसार वजन हेरेर १ लाखदेखि डेढ लाखसम्म पर्दछ ।  

शिखा – त्यसो भए विश्वका सबैभन्दा लामो पखेटा हुने चरा कुन हो ? मलाई चराको प्रजातिबारे जान्ने मन छ ।

हजुरबुबा ?  त्यसो भए सुन । मैले जानेको चराबारे भन्छु । विश्वकै सबैभन्दा ठूलो चरा अस्ट्रिज  हो । विश्वको सबैभन्दा लामो पखेटा भएको चरा अल्वाटस हो । सूर्यलाई सीधा आँखाले हेर्न सक्ने चरा चील हो । कुकुरले झैँ भुक्ने चरा सेरीम्ब्रा हो । सबैभन्दा धेरै फुल पार्ने चरा तित्रा हो ।  बाघजस्तै गर्जने चरा विर्टन हो । बालुवामा उतानो परेर सुत्ने चरा हुटिट्याउँ हो । शरीरभन्दा हाड गह्रौँ हुने चरा परेवा हो ।  विश्वकै सबैभन्दा सानो चरा बी हमिङ्ग बर्ड हो । सबैभन्दा अल्छी चरा ढुकुर हो । मर्ने बेलामा गीत गाउने चरा राजहाँस हो । विश्वकै सबैभन्दा छिटो बच्चा कोरल्ने चरा सेतो लाहाँचे हो । यसले १० दिनमा बच्चा कोरल्छ ।  विश्वकै सबैभन्दा ढिलो बच्चा कोरल्ने चरा म्याली फावर हो यसले ९० दिनमा बच्चा कोरल्छ ।  मुखवाट पिसाब गर्ने चरा हेरिगंल हो । जीवनभर एकपल्ट मात्र फुल पार्ने चरा काग हो । संसारको  सबैभन्दा ठूलो शिकारी चरा कण्डोर  नामक गिद्ध हो । चराबारे हामीले पुस्तकहरूमा पढ्न सक्छौं । तर यसरी पालिएको पंछी भने सरकारले ऐन कानुनमा व्यवस्था गरिएअनुसारका पंछी मात्र कृषकले पाल्न पाउँछ ।  

शिखा –  अहो कति धेरै कुरा जानियो । हजुरबुबा त चराविज्ञ हो कि क्या हो ?  

हजुरबुबा –  म चराविज्ञ होइन । तर कृषि फार्मभित्र सञ्चालन गर्नेले सबै कुरा जानिराख्नु पर्छ ।  

शिखा – यहाँ माछा पनि पाल्नुभएको रहेछ । नेपालमा कति प्रजातिका माछा छन् हजुरबुबा ?

हजुरबुबा – नेपालमा नेपालमा १८५ प्रजातिका पाइन्छन् । माछाले आफ्नो सन्तानको हेरचाह गर्दैन । यसले पानीमै फूल पार्ने पानीमै बच्चा कोरल्ने गर्दछ । हामीले यहाँ पालेको माछा  कत्ले माछा हो । रहु र मिर्का पनि छ । पोखरीमा उपलब्ध भोजनको भरपुर उपयोगका लागि कतला माछो सतह ठाउँमा, रहु माछो माझमा तथा म्रिगल (मिर्का) माछो पोखरीको तल उपलब्ध  खानेकुरा खान्छन् । माछालाई पनि खानेकुरा आवश्यक हुन्छ ।

शिखा – पोखरीमा राख्न माछा कहाँबाट ल्याउनुहुन्छ हजुरबुबा ? 

हजुरबुबा – ऊ त्यहाँ हेर त । (हजुरबुबाले गाडीबाट माछाका भुरा निकालेर ल्याउँदै गरेका कामदारलाई देखाउँदै भन्नुभयो) अहिले ल्याउँदै गरेको माछा सर्लाहिबाट ल्याइएको हो । लकडाउनमा पनि सरकारले कृषिजन्य सामाग्री ओसारपसार गर्न दिइएको छ ।  हामीले सावधानी अपनाएर काम गरिरहेका छौं । यहाँको माछा काठमाडौका बजारहरूमा विक्री हुन्छन् । तर लकडाउनपछि विक्री घटेको छ ।

शिखाः अहो हजुरबुबा कति धेरै कुरा सिक्ने अवसर मिल्यो । मैले जानेका कुराहरू यहाँबाट फर्केपछि साथीभाइलाई पनि सुनाउँछु ।

हामी फार्ममा आउने थाहा पाएर शिखाको हजुरबुबाले फार्ममै रहेको रेष्टुराँमा माछा फ्राइ गर्न दिनुभएको रहेछ । अचारसँग माछा मिठो मानी खायौं । लकडाउनमा स्कुल बिदा भए पनि शिखाले धेरै व्यावहारिक,  ज्ञान लिन सफल भइन् । भाइबहिनीहरु हामीले कोभिड १९ भाइरसको कारण यसबाट बच्न पाएको बन्दाबन्दीको समयमा कोभिडबाट बच्दै पनि सिर्जनात्मक काम गर्न सक्छौं । अझै विद्यालय खुल्न समय लाग्नेछ । यो अवधिमा पनि धेरै कुरा सिक्न सक्छौं ।  

प्रकाशित: ३ असार २०७७ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App