९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

दृष्टि

लघुकथा

डा. कपिल लामिछाने

चार वर्षअघि उसको छोरो सिकिस्त भयो र अस्पताल दौडायो । लगातार तीन दिनको उपचारपछि ठिक भयो । उसले अस्पताल र डाक्टरलाई धन्यवाद भन्यो ।

परार साल हजुरआमा दमले झन्डै खुस्केकी । त्यही अस्पताल दौडायो । उपचारपछि सन्चो भएकोमा उसले अस्पताल र डाक्टरलाई धन्यवाद दियो ।

पोहोर उसका बा इन्तु न चिन्नु भए । त्यही अस्पताल कुदायो । पेटमा विकार रहेछ । हप्ता दिन औषधि खाएपछि चट भयो । उसले अस्पताललाई धन्यवाद भन्यो र डाक्टरलाई भगवान् मान्यो ।

छ महिनाअघि उसको आफ्नै टाउको एक्कासि रनक्क दुख्यो र ऊ बल्र्याङ्ङ ढल्यो । उसलाई त्यही अस्पताल पुरयाए । थोरै माइग्रेनको समस्या देखियो । ऊ सन्चो भएर घर फर्किंदा अस्पताल र डाक्टरप्रति आभार प्रकट गरयो ।

एक हप्ताअघि एक्कासि उसकी श्रीमतीको तल्लो पेट दुख्यो । उसले त्यही अस्पताल दौडायो । अपरेसन नगरे नबाँच्ने र अपरेसन पनि खतरामुक्त नभएको राय डाक्टरले दिए । 

‘केही हुँदैन । अपरेसन गरिदिनुस्, डाक्टर साहेब ।’ उसले भन्यो र सहीछाप ठोक्यो ।

अपरेसन कक्षबाट निक्लँदै डाक्टरले भने, ‘हामीले हरेक कोसिस गरयौँ । सरी ।

उसले एक्कासि डाक्टरको कठालो समात्यो । नर्सलाई लात्तो हिर्कायो । टोलका केटाहरूलाई बोलायो । केटाहरूले अस्पतालमा सानोतिनो अग्निपूजा गरे ।

ऊ भन्दै थियो, ‘सब डाक्टर चोर हुन् । यो (अस्पताल) मुर्दाघर हो । क्षतिपूर्ति भर् । नत्र यहाँ कसैको खैरियत छैन ।’

प्रकाशित: २ असार २०७७ ००:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App