प्राञ्जल राज चापागाईं
मेरो नाम प्राञ्जल राज चापागाईं र म दश वर्षको भए। म अहिले ललितपुर, टिकाथलीमा बस्छु। मेरो स्कुलको नाम गोदावरी आवासीय मावि हो र म कक्षा चारमा पढ्दै छु ।
हाल विश्वमा कोरोना भाइरसको संक्रमण भैरहेको छ र हाम्रो देशमा पनि कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन ‘बन्दाबन्दी’ चलिरहेको छ । अहिले सानो विद्यार्थी छु र म जस्ता धेरै बालबालिकाहरू हिजोआज घरभित्र रहेको अवस्था छ। म पढाइ,लेखाइमा साथै अन्य क्रियाकलापमा राम्रो विद्यार्थी हुँ तर अहिले स्कुल जान पाइएको छैन, मलाई विद्यालय ,शिक्षकहरू र मेरा साथीहरूको धेरै सम्झना आइरहेको छ तर बाहिर निस्कन खतरा हुने हुनाले घरभित्र बसेर विभिन्न क्रियाकलाप गरेर रमाइलो गरी समय बिताइरहेको छु । किनकि यो कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहिरहने हो अझ थाहा छैन । त्यसैले यो अवस्थामा घरपरिवारसँग रमाइलो गरेर बस्नुपर्दछ, खुशी हुनुपर्दछ ।
मेरो घरमा चार जनाको परिवार छ, मेरो बाबा र मामु दुवै अफिस जानुहुन्छ र दिदी र म पनि सधैं स्कुल जाने भएकाले सबै परिवारसँग बस्ने, गफ गर्ने, आरामले खाना खाने फुर्सद नै हुँदैन थियो तर हिजोआज सबैलाइ फुर्सद छ । म नयाँनयाँ कुराहरूको खोजी गर्न मनपराउने भएकोले इन्टरनेटबाट पढिरहेको छु। हामीले लकडाउनको यो अवस्था फरक हो हामीले बुझ्नुपर्दछ । घरमै भएकोले झगडा गर्ने, टिभी, मोवाइलमा मात्र अल्मलिनु हुँदैन । मैले त बन्दाबन्दीको अवस्थालाई अवसरको रूपमा लिएको छु किनभने यसबेला हामीसँग प्रशस्त समय भएकोले नराम्रो बानीव्यवहार सुधार गरिरहेको छु । मलाई तरकारी, साग खान मन लाग्दैन थियो किनकि स्कुल जाने होमवर्क गर्ने हतारले राम्रो खान मन लाग्दैन थियो तर अहिले हतार पनि छैन त्यसैले म बिस्तारै सबैखाले तरकारीहरू खान थालेको छु । म त अहिले स्वास्थ्य भई केही मोटाएको पनि छु । हिजोआज त म बिहान उठेर आफू सुतेको ओछ्यान मिलाएर राख्छु, खाएको भाँडा पनि आफै माझ्छु। मलाई र मेरो दिदीलाई मामुले कर गणेश वन्दना, सूर्य वन्दना, सरस्वती वन्दना र गायत्री मन्त्र सिकाएकोले हाम्रो बिहानीको शुरूवात मन्त्र जपबाट हुने गर्दछ । मैले लकडाउनको अवस्थामा एउटा कविता पनि रचना गरेको छु । त्यो कविताको शीर्षक छ
बन्दले अतालिएको मन
छु म घरमाघरमा बाबाआमा दिदीसाथ
मलाई त थोरै मात्र दुनियाँ थाहा छ ।
सबै हुन्थ्यौ हिजो हतारहतारमा
हिजोआज त सबै छौ घरघरमा ।
होमवर्क छैन पढाइपढाइ छैन चिन्ता छैन केही
मीठोमीठो पाक्छ घरमा फेरीफेरी।
टिभी मोवाइल हेर्न भ्याइन थियो
आजभोलि यही छ समय काट्ने मेलो।
घरीघरी सम्झना आउँछ साथीसँग खेलेको
एकैछिन सोच्छु साँच्चै बाहिर के भएको
बाहिर नगएको साथीसँग नखेलेको धेरै दिन भयो
चौर, गल्ली, हरियाली पार्क डुल्ने मन थियो।
स्कुल नगएको, नपढेको धेरै दिन भयो
पढी,लेखी ठूलो मान्छे बन्ने मन थियो ।
कोरोना कोरोना भन्छन् थाहा छैन मलाई
बाबामामुको साथमा छु डर छैन मलाई ।
धेरै दिन भयो हामी घरभित्र भाको
कोरोना भो तिमी नउठाउने हाम्रो सातो।
मैले विभिन्न चित्रहरू पनि बनाएको छु कोरोना सम्बन्धि, विश्व वातावरण आदि धेरै बनाएको छु। म बाबा, मामु र दिदीसँग मिलेर मीठोमीठो खानेकुरा पकाउने, हाजिरीजवाफ जस्ता खेल खेल्छु । मलाई र दिदीलाई मामुले पुराना एलबमबाट आफन्तहरूको फोटोहरू देखाएर चिनाउँदै साइनो सम्बन्ध लगाउन सिकाउनुहुन्छ। मलाई धेरै रमाइलो भइरहेको छ । साथीहरू तपाईंहरू पनि म जस्तै गरेर समय बिताउनु होला है। अहिले त मेरो स्कुलले अनलाइन कक्षा पनि शुरू गरेको छ, मलाई निकै रमाइलो भइरहेको छ, प्रविधिबाट भए पनि शिक्षक र साथीहरूसँग भेट भैरहेको छ ।
प्रकाशित: १ असार २०७७ १०:५८ सोमबार