शारदा पराजुली
हिजो र आजमा निकै अन्तर पाइन्छ । हिजो भूत हो, आज वर्तमान र भोलि भविष्य हो । यही हिजो, आज र भोलिको अन्तरले विश्वमा नै अन्तर ल्याएको छ । हामी हिजो बालापनमा रम्दै थियौं भने आज हाम्रा छोराछोरी उही बालापनको अनुभव गर्दै छन् । भोलि उनीहरूका छोराछोरीको पालो हो बालापनमा रमाउने ।
समयको अन्तरले बालापनमा रमाउने तरीकामा पनि आमूल परिवर्तन गरिदिएको छ । हाम्रा आमा हजुरआमाहरू हामीले झैं बालापनमा रमाउन पाएनन् होला । हजुरआमा भन्नुहुन्थ्यो, ‘हामीले थाहा पाउँदा हामी साना घल्चा बोकेर पानी लिन आमाहजुरआमासँग कुवामा जान्थ्यौं । दाइभाइ पढ्न जान्थे तर हामीलाई घाँस दाउरा गराउँथे । के गर्नु बाबै त्यतिबेलाको काल जमाना नै त्यस्तै थियो । सातदेखि नौ वर्षका उमेरमै विवाह गरेर पठाइदिन्थे अनि त कामको ध्याउन्ने पथ्र्यो । त्यसै बूढी भइयो ।’
हजुरआमाले मात्र होइन आमाले पनि पढ्न पाउनुभएको थिएन रे । त्यसैले बुढेसकालमा प्रौढ शिक्षा पढेर भए पनि अक्षर चिन्नुभयो । उहाँको चाहना अक्षर चिनेर देवीभागवत्, सत्य हरिश्चन्द्र, रामायण र महाभारतको पुस्तक पढ्ने थियो । त्यसैले होला आफूले अक्षर नचिनुञ्जेलसम्म त बुबाले स्वर मिलाईमिलाई वाचन गरेका उक्त पुस्तक ध्यान दिएर सुन्नुहुन्थ्यो ।
आमा हजुरआमाको बालापनभन्दा धेरै अन्तर छ हाम्रो पुस्ताको बालापनमा । हाम्रो पुस्तासम्म आइपुग्दा हामीले उहाँहरूका भन्दा धेरै कुरामा स्वतन्त्रता पायौं । सर्वप्रथम त बोली फुटेपछि स्कुल जान पायौं । स्कुलमा कालो पार्टीमा खरी ढुंगाले लेखेर कखरा पढ्यौं । कखरा पढ्दै जाने क्रममा स्कुलमा चिँ मुसी चिँ, इन्चुमिन्चु ड्राइबर सिङ, हट घोडा हट, यति यति पानी घेघेरानी, चक लुकाई जस्ता खेलहरू खेल्थ्यौं । अलि ठूलो भएपछि टोपी लुकाइ, कपर्दी, पाहुना जाने, बेहुलाबेहुली खेल खेल्थ्यौं । घरमा बस्यो भने सानामसिना काम गरिरहनुपर्ने अनि भाइबहिनीको हेरचाह गरिरहनुपर्ने हुँदा स्कुल जान खूब रमाइलो लाग्थ्यो । स्कुल जाँदा घरायसी झन्झट नहुने र आनन्दले खेल्न पाइन्थ्यो । त्यसबेला कहिल्यै स्कुल छुट्टी नहोस् जस्तो लाग्थ्यो । बिहान चाँडै स्कुल पुगेर छोइडुम, एकखुट्टे, गट्टा खेल्न खूब रमाइलो लाग्थ्यो ।
स्कुल छुट्टी भएका बेला कहिले घाँस काट्न जाने निहुँ गरी त कहिले गाईवस्तु चराउन जाने निहुँ गरेर हामी साथीसाथी मिलेर खेततिर जान्थ्यौं । हाम्रो घर तराईमा भएकाले गाईवस्तु चराउन त्यति अप्ठेरो भने थिएन । त्यसैले गाईवस्तु खेतमा छोडिदिएर हामी भने कहिले च्यातिएका मोजाभित्र टालाटुली हालेर बनाएको बल खेल्थ्यौं त कहिले डन्डीबियो खेल्थ्यौं । केटाहरूचाहिँ खोपी खेल्थे । त्यसरी खेल्दा धान काटेको ठाउँमा लाहारको टुसाले घोचेर घावैघाउ हुन्थे तर पनि हामी खेल्न छाड्दैनथ्यौं ।
हाम्रो जमानाभन्दा बिलकुलै भिन्न छ आजको जमाना । मेरा छोराछोरीले मात्र होइन मेरा विद्यार्थीले पनि मैले जसरी खेल्न पाएका छैनन् । हामीलाई कहिल्यै स्कुल छुट्टी नभइदिए हुन्थ्यो जस्तो लाग्थ्यो भने मेरा विद्यार्थीहरूलाई स्कुल छुट्टी भइरहे हुन्थ्योझैं लाग्छ । भोलि स्कुल छुट्टी हुन्छ भन्दा आजैदेखि रमाउन सुरु गर्छन् अधिकांश विद्यार्थीहरू । त्यसरी रमाउनुको पनि कारण छ । उनीहरूलाई झोलाभरिका किताब, कपी र गृहकार्यले थिचेको छ । बिहान ९ः३० मा प्रार्थना सभाबाट सुरु हुन्छ पढाइको रफ्तार टिफिनको समय २० मिनेटमा खाजा खाँदै जान्छ । त्यसपछि ४ बजेसम्म त उही किताब रट्दै बित्छ । घरमा आएर गर्ने काम भनेको गृहकार्य सक्नु र टिभी हेर्नु । कसैकसैले खूब मनोरञ्जन गर्नु भनेको आमाबाबाको मोबाइलमा गेम खेल्नु हो । हाम्रो पालामा बोडिङ स्कुल भनेको नै कसैलाई थाहा थिएन । स्कुल भनेको स्कुल हो जहाँ बालबालिका पढ्छन् वास सबैले यही बुझेका थिए । हामी स्कुल पढ्दा एक घण्टाको टिफिन हुन्थ्यो । जाडो होस् या गर्मी खेल्न पाए पुग्थ्यो हामीलाई ।
आजभोलि हामीले खेलेझैँ चिँ मुसी चिँ, हट घोडा हट, इन्चुमिन्चु जस्ता खेल केटाकेटीलाई खेल्न कसले सिकाउँछ र जान्नु उनीहरूले ? आमाबाबालाई घरअफिसको टन्टा छ । फुर्सदीमा मोबाइलको लत बसिसकेको छ । सिकाउने मान्छे नै नभएपछि कसरी जान्दछन् बालबालिकाले यस्ता कुराहरू । खेलमा मात्र होइन हरेक कुरामा नै उहिले र अहिलेमा अन्तर पाइन्छ । हाम्रो पालामा टिफिन लिएर स्कुल जाने चलन थिएन । टिफिनको समय भनेको खेल्नका लागि होझैं थियो । स्कुल छुट्टी भएपछि दौडिंदै घर पुगेर गिलीभात, बासीभात, भुटेका मकै, उसिनेका आलु खान पाउँदा पनि कति मजा हुन्थ्यो ।
अहिलेका बालबालिकालाई त्यस्ता कुरा मन पर्दैन । उनीहरू मम, चाउमिन, पिजा, वर्गर, चाउचाउ, कोक, जस्ता खानेकुरा मात्र मन पराउँछन् । उनीहरूलाई हरेक बर्थडेमा दुईचार जना साथी बोलाएर केक काट्नुपर्छ, नयाँ लुगा फेर्नुपर्छ । हाम्रो पालामा दशैँमा मात्र त्यही पनि सेतो सर्ट र निलो फर्क लगाउन पाउँदा पनि कति खुसी हुन्थ्यौं हामी । हाम्रा छोराछोरी बजारमा नयाँ डिजाइनका लुगा आउनेबित्तिकै किनिहाल्छन् । आफूले मनपराएर किनेको लुगालाई साथीहरूले सुहाएन भनिदिए भने फेरि त्यो लुगा कहिल्यै लगाउँदैनन् । हरेक पार्टी नै पिच्छे नयाँ लुगा जुत्ता चाहिन्छ आजको पुस्तालाई । यो अन्तर अझै तीव्र गतिमा बढ्दै छ । हाम्रा छोराछोरीहरू बाबुआमा हुँदा उनीहरूका सन्तानका चाहनामा पनि यो अन्तर अझै पृथक् ढंगले देखिनेछ । यसरी समयको गति सँगसँगै पुस्तान्तरमा देखिने अन्तरले समय फड्को मार्दै गएको हो भन्ने प्रमाणित गर्दछ ।
प्रकाशित: ३२ जेष्ठ २०७७ ११:१९ आइतबार