९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

इच्छामरण

निबन्ध

रामबाबु घिमिरे

इच्छामरण मृत्युको अलि बेग्लै आकारको विधि हो । चलनचल्तीमा नभएकाले नयाँ नौलो पनि लाग्नसक्छ तर इच्छामरणको बारेमा हाम्रा पुर्खाहरूले पनि चर्चा गरेका छन् । पौराणिक ग्रन्थमा इच्छामरणका प्रसंगहरू छन् । हालसालकै कुरा गर्ने हो भने भनिन्छ – गलेश्वर बाबाले इच्छामरण वरण गरे । वर्तमानमा पनि सांसारिक कोलाहलबाट टाढा रहेका तपस्वीहरूले इच्छामरण विधि अवलम्बन गरिरहेका हुनसक्छन्, जहाँ सञ्चारको पहुँच नपुगेको हुनसक्छ । सञ्चार जगत् प्रायः कोलाहल र सतही कुरामा रमाउन थालेको छ । चलनचल्तीको मृत्यु विधिमा इच्छाअनिच्छाको सवालै हुँदैन । मानिसहरू मर्न नचाहँदानचाहुँदै मरिरहेका हुन्छन् । 

कवि शिरोमणि लेखनाथको कालमहिमा कविता पढ्नु भएकै होला । यतिचाहिं हो कि आधुनिक चिकित्सा विज्ञानले मृत्युको म्याद गुजार्न केही सहयोग पुरयाएको छ । प्रकृति विज्ञानको दृष्टिले विचार गर्दा शरीर प्राकृत संयोजन हो भने मृत्यु विघटन हो । जेहोस् मृत्यु साक्षात्कार जीवनको परम् सत्य हो । 

झट्ट विचार गर्दा आत्महत्या पनि इच्छामरण जस्तो लाग्न सक्छ तर आत्महत्या इच्छामरण होइन किनकि आत्महत्याको निर्णय अति नै विषाद्जन्य मनोदशाका कारण चरम आवेगमा गरिरहेको हुन्छ । स्वनिर्णय जस्तो लागे पनि त्यस्तो अवस्थामा गरिएको निर्णयलाई सहज निर्णय मान्न सकिन्न । आत्महत्यामा मृतक आफैंले मृत्यु हुनेसम्मको शारीरिक आघात पुरयाउँछ जब कि इच्छामरण भनेको शारीरिक आघातविना सहज मृत्युवरण गर्नु हो । इच्छामरणको निर्णय शान्त मनले सुविचारित किसिमले गरिएको हुन्छ । बाह्य वा आन्तरिक कुनै शरीरजन्य आघात हुँदैन । हो मैले भनिसकें, आत्महत्या पनि स्वनिर्णय जस्तो लाग्नसक्छ तर मूल कारण अनियन्त्रित आवेग बन्छ । आत्महत्या प्रयासमा असफल भएका कमैले दोस्रो प्रयास गर्छन् । चलचल्तीको मृत्यु वा आत्महत्यामा बाह्य वा आन्तरिक शरीरजन्य आघात मृत्युको कारण बन्छ तर इच्छामरणमा मात्र इच्छा वा निर्णयबाट मृत्युवरण गरिएको हुन्छ ।

इच्छामरण सहज पहुँचको विषय होइन । तप साधनाबाट मात्र त्यस्तो सिद्धि प्राप्त गर्न सकिन्छ । त्यस्तो सिद्धि प्राप्तिको उपायको सम्बन्धमा मलाई पनि केही थाहा छैन । मलाई लाग्छ योग साधनाको मार्गबाट त्यसो सिद्धि सम्भव छ, होला । योगको प्रसंग आउनासाथ योगगुरु रामदेवको सम्झना भयो । तर, इच्छामरणको सन्दर्भमा उनी असान्दर्भिक छन् किनकि रामदेव हठमार्गी हुन् । शरीरमा आधारित सबै योग कर्म हठ मार्ग हो । हठ मार्गबाट शरीर तन्दुरुस्त हुन सक्ला तर इच्छामरणको अवस्थामा पुग्न सकिन्न । त्यसका लागि मनोयोग मार्ग अवलम्बन गर्नुपर्छ । 

हाम्रा ऋषिमहर्षिहरू शारीरिक निचेष्टापूर्वक तप साधनामा लीन हुन्थे । शरीरमा धमिरा लागेको पनि बेवास्ता गर्थे । इच्छामरण विधिमा सहज पहुँच हुँदा हो त खतरनाक पनि हुने थियो । मान्छेहरू अनियन्त्रित आवेगका कारण भटाभट मर्न थाल्थे । त्यसो हुँदो हो त इच्छामरण पनि कानुन प्रतिबन्धित हुन्थ्यो होला । हुन त आत्महत्या पनि कानुन त प्रतिबन्धित छ तर मर्नेहरू मरिरहेछन् । निषेधित कानुनहरू मान्छेको कुनै प्रवृत्ति नियन्त्रणका लागि बनेका हुन्छन् ।

इच्छामरणलाई अलि सजिलै बुझ्न यसो भन्नु उपयुक्त होला कि मानौं आफू एउटा चालु अवस्थामा रहेको यन्त्र हो जसलाई विचारपूर्वक शान्त मनले आफैंले सधैका लागि बन्द गर्नु इच्छामरण हो । विस्तारमा नगई भन्दा शरीरजन्य आघातविना स्वनिर्णयबाट मृत्युवरण गर्नु नै इच्छामरण हो । इच्छामरण मृत्युको एक विधि हो । 

इच्छामरण चलनचल्तीको भन्दा बेग्लै प्रकारको मृत्यु विधि हो । चलनचल्तीको विधिमा बाह्य वा आन्तरिक शरीरजन्य आघात मृत्युको कारण बन्छ । चलनचल्तीको मृत्युलाई प्राकृत मृत्यु पनि भनिन्छ । प्राकृत मृत्यु यसकारण कि प्राकृतिक संयोजनबाट शरीर निर्माण हुन्छ र विघटनबाट मृत्यु । यतिबेला म मृत्यु चिन्तन होइन, मृत्युको विधिको बारेमा मात्र सोच्दै छु । मर्नु त प्राणी जगत्को अकाट्य नियति नै हो । प्राणीको अस्तित्व रहेसम्म मृत्यु परम्परा कायम रहने छ । त्यसैले दार्शनिकहरू जन्मलाई नै मृत्युको कारण मान्छन् ।  हुन पनि हो, नजन्मेको भए मृत्युको झन्झट बेहोर्नुपर्ने थिएन । अनि तपाईंलाई थाहा छँदैछ, दुनियाँमा सबैभन्दा असुरक्षित जीवित अस्तित्व भनेको बोटविरुवा हुन् । बोटविरुवासँग कुनै आत्मरक्षात्मक उपाय हुँदैन ।

हुन त इच्छामरण विधिका बारेमा मलाई खासै थाहा छैन । मैले त एक अति नै खाँचोको विषयमा तपाईंसँग विचार विनियम गर्न मात्र खोजेको हुँ । यदि इच्छामरण विधि अवलम्बन सम्भव छ भने तपाई र म अर्थात् हामी दुवैलाई काम लाग्न सक्छ । जीवनमा हरक्षण कुनै न कुनै साना वा ठूला निर्णय गर्नुपर्छ । मैले पनि जीवनमा कैयौं सानाठूला निर्णय गरें र त्यसका परिणाम बेहोरें । मेरो वर्तमान अवस्थाको कारक विगतका मेरा निर्णय हुन् । वर्तमान जतिसुकै दुखद भए पनि खुसी यसकारण छु कि ती सबै मेरा निर्णय हुन् । म चाहन्छु, मृत्यु जहाँबाट जीवन समाप्त हुन्छ, त्यो निर्णय पनि आफैं गरूँ । कुनै पनि कारणबाट आफूमाथि थोपरिएको मृत्यु मलाई रुचिकर छैन । त्यसैले इच्छामरण मेरो लागि सरोकारको विषय बनेको छ । इच्छामरणको बारेमा सोच्दै गर्दा जन्मपूर्व र मृत्युपछिका रहस्य बारेमा मनमा उत्सुकता जागेको छ । मलाई थाहा छैन मेरो हालको जन्म पुनर्जन्म हो वा म यसपटक नै प्रथमपटक पृथ्वीमा प्रकट भएको हुँ । पुनर्जन्म भएको हो भने पूर्वजन्मको मलाई केही थाहा छैन । पूर्वजन्मको जानकारी दिन ज्योतिषशास्त्र पनि समर्थ छैन । जन्मपूर्वका बारेमा त केही थाहा हुँदैन भने मृत्यु पछिको त झन् थाहा हुने कुरै भएन । मलाई यतिचाहिं थाहा छ, एकदिन मृत्यु साक्षात्कार गर्नु छ । त्यसो हुनाले नै सहज विधिबाट मृत्युवरण गर्नका लागि इच्छामरणको कुरा गर्दैछु ।

हो, मलाई थाहा छैन मेरो पुनर्जन्म भएको हो वा यसपटक नै पहिलोपल्ट पृथ्वीमा प्रकट भएको हुँ । पुराणमा पुनर्जन्मका धेरै कथाहरू छन् । आजकल पनि पुनर्जन्मका रोचक घटनाहरू सुनिन्छ । तिब्बती लामा गुरुहरूको छनौट पुनर्जन्मकै आधारमा गरिन्छ । अद्भूत र अपत्यारिला कुराहरू नै धर्मशास्त्रका विषय हुन् ।  मान्छेहरू फिदाइन बन्नुमा धर्मको अपव्याख्या छ । जेहोस् धर्म नै त्यस्तो विषय हो जसले जन्मपूर्व र मृत्यु पछिका कुरा गर्छ । मृत्युपछि पनि मान्छे आफ्नो भलो चाहन्छ । त्यही एउटा कारण फगत् त्यही कारणले मान्छे धर्म उन्मुख हुन्छ । आजको विश्वमा मान्छेको बढी जमात मानवीय विवेकभन्दा धार्मिक विश्वासबाट परिचालित छ ।

म भन्दै थिएँ, मेरो पुनर्जन्म भएको हो वा प्रथम पटक नै प्रकट भएको हुँ, मलाई थाहा छैन । मेरो अस्तित्वको आविष्कारक मातापिता मात्र हुन् वा कुनै अज्ञात कारण पनि छ, त्यस विषयमा म अनभिज्ञ छु । मातापिता मात्र मेरो अस्तित्वको कारण हुन् भने म मात्र एक भौतिक संयोजन हुँ । मेरो अस्तित्व भनेको नै भौतिक उपस्थिति हो । कहिलेकाहीँ यस्तो लाग्छ यति मात्र होइन मेरो जन्मको कुनै अज्ञात कारण हुनुपर्छ । अज्ञातको प्रसंग आउनासाथ धर्म टुप्लुक्क आइपुगछ । जन्मको कारण जैविक संयोजन मात्र मान्दा ममा धेरथोर नैराश्य उब्जन्छ । अँ, बोटविरुवाको जस्तै रहेछ मेरो अस्तित्व पनि । त्यसो हो भने जीवनको सम्बन्धमा खासै चिन्तन र चिन्ता गर्न जरुरी छैन । जीवन भनेको जन्म र मृत्य बीचको एक कालखण्ड रहेछ ।

मनोविद्हरू भ्रूण मनोविज्ञान उत्खननमा लागेका छन् । मलाई आमाको गर्भमा रहँदाको कुनै कुरा थाहा छैन । सबै बिर्सें मैले । महाभारतका अभिमन्यू आमाको गर्भमै चक्रव्यूह भेदनमा प्रशिक्षित थिए । म पनि जीवनको चक्रव्यूहमा परेको छु । कहीं कतै बाटोझैं लाग्छ, तर दुईचार कदम हिंड्न नपाउँदै पर्खाल ठडिएको पाउँछु । मलाई थाहा छ, जबसम्म म सांसारिकताप्रति निस्पृह हुँदिन तबसम्म यो जंजालबाट चक्रव्यूहबाट मेरो उन्मुक्ति हुँदैन ।

 निष्पृहता इच्छामरण विधिको आधारभूमि हो । आजकल म निष्पृहताको अभ्यास गर्दै छु । माया प्रेमको कुरा गर्न छाडेको छु, युवती र योगीमा फरक देख्न छाडेको छु । युवती र योगी दुवै प्रेमका प्रतीक हुन् । युवती सांसारिक प्रेमको अनि योगी असांसारिक प्रेमको । मृत्युपछि जीवनको अस्तित्व नकार्दा मृत्युलाई अलि पर धकेल्न मन लाग्दो रहेछ । चिकित्सा विज्ञान मृत्युलाई पर धकेल्न केही सक्षम देखिएको छ । थाहा भएन महामृत्युञ्जय मन्त्र के कति कारगार छ । जे होस् महामृत्युञ्जय मन्त्रको सार्थकता मृत्युको म्याद गुजार्नुमा छ ।

चलचित्रमा इच्छाधारी नागनागिनी देखाइन्छ । त्यस्ता चलचित्र बढी उत्पादन हुनुको कारण के हो भने मान्छेको अन्तस्मा इच्छाधारी हुन पाए भन्ने लालसा हुन्छ र त्यसैले त्यस्ता चलचित्रले दर्शकको ठूलो भीड फेला पार्छ । मणियुक्त सर्प इच्छाधारी हुन्छ रे । नागमणि दुर्लभ र अमूल्य मानिन्छ । आर्थिक अवस्था सारै बिग्रिएको बेला एकताका म पनि नागमणिको खोजीमा थिएँ । नागहरू भने जहीँतहीँ फेला परे तर मणिचाहिं कहीं कतै फेला परेन । नागमणि प्राप्त गर्ने विधिचाहिं कहीं कतै पढेको थिएँ – नागले रातमा मणि मुखबाट ओकलेपछि मणिको तीक्ष्ण प्रकाश एउटा सानो गोलाकारमा फैलन्छ जहाँ किराफट्यांग्रा आउँछन् र नागले आफ्नो आहारा बनाउँछ । त्यति बेला सुस्तरी नजिकै पुगेर गाईको गोबरले मणि छोप्नुपर्छ । अन्धकार भएपछि नाग मणि खोज्न यताउता भौतारिन थाल्छ । त्यही मौकामा सेता कपडाले मणिसहित गोबर उठाएर कुलेलम ठोक्नुपर्छ । भनेको सुनेको हुँ मान्छेसँग पनि मणि हुन्छ रे जसलाई नरमणि भनिन्छ । मैले मणि नाम गरेका मान्छेचाहिं धेरै फेला पारेको छु तर नरमणिका बारेमा चाहिं सुनेजानेको छैन ।

अब म सरोकारको विषयमा केन्द्रित हुँदै छु । सरोकारको विषय भनेको इच्छामरण हो । अब मलाई यतिचाहिं विश्वास छ कि इच्छामरण विधि अति नै उत्तम मृत्यु विधि हो भन्नेमा चाहिं तपाईं र ममा मतान्तर रहेन होला । इच्छामरण विधिका बारेमा चिन्तन गर्नुपूर्व मृत्युसत्यचाहिं स्वीकार्नुपर्छ किनकि यो त एउटा विधि मात्र हो, मूल कुराचाहिं मृत्यु हो ।

मेरो अभिप्राय मृत्युलाई सस्तो बनाउन खोज्नु होइन । यो विधि त्यतिबेलाको लागि हो जति बेला सहज किसिमले जीवनबाट उन्मुक्तिको इच्छा हुन्छ । शारीरिक वा अन्य कुनै कष्टले जीवन परित्याग गर्न खोजिएको अवस्था होइन । मैले पूर्व उल्लेख गरिसकेको छु – इच्छामरणको अवस्थामा पुग्न पूर्ण रूपले निस्पृह भइसक्नुपर्छ । मनमा कुनै कामना वासना हुनु हुँदैन । दीर्घ जीवन बिताएपछि, शरीरका अवयवहरू शिथिल भैसकेपछि, सांसारिक कुनै पनि आकर्षण सकिएपछि शान्त मनले सोच्दा मृत्युवरण गर्ने इच्छा भएमा इच्छामरण विधि अवलम्बन गर्न सकिन्छ । यति धेरै कुरा गरिसकेपछि तपाईंबाट म आफ्नो मनोभाव छिपाउन चाहन्न । म इच्छामरण विधिबाट मृत्युवरण गर्न चाहन्छु । म त्यसैका लागि प्रयासरत छु । केही वर्षपछि थाहा पाउनु हुने छ, मेरो प्रयास सफल भयो वा भएन ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App