९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

कोरोनापछिको परिवेश

सागर गैरे

नानीहरू, म कोरोनापछिको परिवेशबारे आफ्नो कुरा राख्दै  छु । यतिबेला दैनिक रूपमा विश्वभरका बजारहरू चलायमान थिए । सडकमा गाडी, रेलहरू चलिरहेकै थिए । सामुद्रिक जलाशयहरूमा पानीजहाज र आकाशमा हवाईजहाजहरू उडेकै थिए । मल, सुपरमार्केट, सिनेमा हल, रेस्टुरेन्ट, होटेल, पार्क, संग्रहालयहरूमा मानिसको भीड यथावत् रूपमा कायमै थियो । स्थानीय हाटबजारहरू स्कुलकलेज सबै आफ्नै लयमा चलेकै थिए । विश्वको कुनै कुनामा पनि मान्छेहरू बेफुर्सदिला थिएनन् । हठात चीनको बुहान शहरमा देखिएको कोरोना भाइरसको प्रभाव विश्वव्यापी भएपछि एकाएक पूरै विश्व एकपटक टक्क अडिएजस्तै भएको छ ।  

यतिबेला मान्छेका हरेक गतिविधिहरू रोकिएका छन् । पहिले जस्तो सडकमा गाडी चलिरहेका छैनन् । न त समुद्रमा पानीजहाजहरू तैरिएका छन् । न त आकाशमा हवाईजहाजहरू नै उडेका छन् । विश्वभरका बजार बन्द छन् र हरेक खाले मानवीय गतिविधिहरू ठप्प छन् । मान्छेहरू अनुहारमा मास्क लगाएर हिँड्न थालेका छन् । विश्वभरका मानिस कोरोनाबाट वच्न घरभित्र बन्द छन् । आजआज,  भोलिभोलि भन्दाभन्दै बन्द रोकिंदै रोकिएन । तत्काल रोकिने छाटकाँट पनि देखिंदैन । तीन महिनादेखि हामी घरभित्र छौ । विगतमा एकदुई दिनको बन्दमा हामी छटपटिन्थ्यौं । हामीले सबैभन्दा लामो बन्द झेलेको भनेकै १९ दिने जनआन्दोलन हो । त्यतिबेला निकै लामो अवधि मानिएको त्यो बन्दभन्दा अहिलेको बन्द त कति लामो हो कति ।

बन्दको म्याद थपिएको थपियै छ ।  करोडौं लगानीका कारोबार डुबेका छन् । रियल स्टेट, हाउजिङ , कलकारखाना, मजदूर, व्यापारी, सिनेमा हल, होटेल, रेस्टुरेन्ट जस्ता सबै ठूलासाना लगानीकर्ताहरू डुबेका छन । निजी स्कुलकलेज बन्द छन् । उपचारका लागि अस्पतालमा ढुक्क भएर जान सक्ने अवस्था छैन । अब आउने समय कस्तो होला ? मान्छेको दैनिकी कस्तो होला ? सबै कुरा सहज हुन अझै कति समय लाग्ला भन्ने विषयमा सबैको चासो र चिन्ता देखिन्छ ।

सबै खाले आर्थिक गतिविधि बन्द भएपछि अहिले मान्छेहरू भोकमरीमा पर्ने सम्भावना बढेको छ । कोरोनाको संक्रमणबाट मान्छे मरिहाल्नेभन्दा पनि कोरोनाकै कारण मान्छेमान्छे बीच फैलिएको डर र त्रासको प्रभाव व्यापक छ । दैनिक रूपमा चाहिने तरकारी या पैसाबाट पनि रोग सर्न सक्छ भनेपछि नआत्तिने कुरा पनि भएन । आखिर मर्ने चाहना कसलाई हुन्छ र ?  

झन्डै वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्सबाट चलायमान नेपालको अर्थतन्त्रको हालत आगामी दिनमा के होला ? अध्ययन र कामका लागि जहिल्यै विदेश जाने सपना बोकेका नेपाली युवाहरूको अवस्था के होला ? कोरोनाले  सिंगो विश्वजगतमा जस्तै अनेक चिन्ता र छटपटी हाम्रो समाजमा पनि बढाइदिएको छ । कोरोनापछिको संसार कस्तो होला भन्ने विषयमा मेरा पनि केही अनुमान छन् –

१) अब पर्यटकहरूको घुम्ने शैली गन्तव्य र समय लामो समयसम्म प्रभावित हुने छ ।

२)  होटल व्यवसायी र होटेल व्यवस्थापन पढेको ठूलो संख्या बेरोजगार हुने छ ।

३) बिहे र चाडपर्वहरूमा हुने भीडभाड भोजभतेर स्वतः घट्ने छ ।

४) खेलकुद, फिल्म क्षेत्र राजनीतिकक दलका सभा–सम्मेलनले दर्शकहरूको ठूलो मास लामो समयसम्म पाउने छैनन् ।

५)  अन्तर्राष्ट्रिय उडानमा ख्याति कमाएका विमान कम्पनीहरूले आफ्नो साख जोगाउन लामो संघर्ष गर्नु पर्नेछ ।

६) एउटा मान्छेले अर्को मान्छेलाई भेट्दा शंका,  आशंका र भयलाई बीचमा राखेर भेट्ने छ ।

७) विद्यायालय, क्याम्पसको पठनपाठन लामो समय अवरूद्ध हुन सक्छ ।

८) वैदेशिक रोजगारी प्रभावित भएपछि समाजले आर्थिक मन्दीको सामना गर्नुपर्नेछ । मान्छेका प्राथमिकताका विषयहरू परिवर्तन हुने छन् ।

९) विश्वका हरेक देशहरू समुदाय र राष्ट्रियताको विषयमा झन्झन् संकीर्ण र साँघुरिंदै जानेछन् ।

१०)  राष्ट्रिय र अन्तर्राष्ट्रिय सीमानाहरू अझै मजबुत हुँदै जानेछन् ।

११) विलासी पर्यटनमा टिकेका अर्थतन्त्रहरू धराशायी हुनेछन् ।

१२) मानव स्वास्थको विषयमा अहिलेसम्म भएका सोध अनुसन्धानदेखि त्यसमा राज्यको भूमिकाबारे विश्वव्यापी रूपमा बहस र प्रश्नचिह्न उठ्ने छन् ।

१३) माछामासुको उत्पादनमा अकल्पनीय गिरावट आउने छ ।

१४) श्रम र उत्पादनको सम्बन्ध तथा यसको वितरणले नयाँ प्रणालीको माग गर्ने छ ।

१५) कृषि क्षेत्रमा पूनर्जागरण देखापर्ने छ । हरेक देशले कृषिमा आफ्नो निम्ति आत्मनिर्भरताको खोजी गर्ने छन् ।

१६) विलासिताका साधनहरूको खपतमा कमी आउने छ ।

१७) तेस्रो विश्व भनिएका देशबाट युरोप, अस्ट्रेलिया या अमेरिका जाने लहरमा अंकुश लाग्ने छ ।

१८) विभिन्न देशहरूले विदेशबाट फर्किएको जनशक्तिको सही व्यवस्थापन गर्न सके भने ती देशहरू छिट्टै आत्मनिर्भरताको बाटामा लम्किन सक्छन् । व्यवस्थापनमा चुके समाज विसंगतितिर लम्किएलान् ।

१९) प्रकृतिको संरक्षण र सम्बरद्धनमा   मानिसहरूको चासो बढ्ला ।

२०) कोरोनापछिको संसार अझ बढी डिजिटलाइज्ड र प्रविधिमैत्री होला ।

यस्ता अनेक बुँदा हुन सक्छन् । कोरोनाको कारण सृजित लकडाउनले विश्वकै बेरोजगारी दर नराम्ररी बढेको छ । कैयौं कारोबारहरू फेरि कहिल्यै उठ्न नसक्ने गरी धराशायी बनेका छन् । मान्छेको क्रय क्षमता घट्ने र त्यसको प्रभाव बजारमा पर्दा लामो समयसम्म समग्र विश्वको अर्थतन्त्र लडखडाउने छ । विश्वलाई पुरानै लयमा फर्काउन लामै समय लाग्न सक्छ ।

हामी कोरोनाको मध्यविन्दुमा छौ । यसको क्लाइमेक्स आउन बाँकी छ अझै । मान्छेको उकुसमुकुस र दबाबले कतिपय देशमा लकडाउन खोलिएको छ । यो सब कोरोना प्रभाव कम भएर खोलिएको पक्कै हैन । अर्थतन्त्र डाँवाडोल हुन्छ भनेर खोलिएको हो । विश्वमा कोरोना प्रभाव र कहर अझै कति समय रहन्छ र अझै कति समय मान्छे खुम्चिएर बस्नुपर्छ भनेर अहिलेसम्म कसैले केही बताउन सकेको छैन ।

एउटा कुरा के निश्चित छ भने आउँदा दिनमा कोरोना पूर्ण रूपमा निमिटयान्न नै भए पनि यो संसार भने पहिले जस्तो रहन निकै गाह्रो हुनेछ ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App