डा.पुष्करराज भट्ट
अहिले कोरोनाका कारण बालबालिका घरमै बस्न बाध्य छन् । उनीहरूको विद्यालय शिक्षा अवरुद्ध छ । उनीहरूले पहिले जस्तो विद्यालय जान पाएका छैनन् । विद्यालयले लिने वार्षिक परीक्षा हुन सकेको छैन । एकोहोरो महिनौंसम्म घरमा बसिरहनु पर्दा उनीहरूको मानसिकतामा गहिरो प्रभाव पर्न थालेको छ । यस अवस्थामा अब के गर्ने त ? प्रश्न गम्भीर छ ।
कोरोनाका कारण एकातिर अभिभावकवर्ग कामविहीन भएर घरमा बस्नु परेको छ । सामाजिक जीवनका हरेक क्षेत्रमा यसको गहिरो असर परेको छ । मानौं, जीवनको गति अवरुद्ध छ र मानिसमा एकोहोरो त्रास मात्र छ । कोरोनाका कारण मानिसले कसरी बाँच्ने भनेर सोच्नु परेको छ । यस अवस्थामा घरपरिवारका मूल मानिस अभिभावक भएकाले उनीहरूले यस संकटको क्षण कसरी पार गर्ने र बालबालिकालाई पनि त्यसका विरुद्ध लड्न कसरी तयार गर्ने भन्ने प्रश्न महत्वपूर्ण बनेको छ ।
भनिन्छ, हरेक संकटले नयाँ सम्भावना निम्त्याउँछ । यस संकटमा पनि कुनै न कुनै किसिमको सम्भावनाले हामीलाई पर्खिराखेको छ । हिजोका दिनमा अभिभावक दिनभर काममा हुन्थें र बालबालिका विद्यालयमा हुन्थे । अहिले घरपरिवारका सम्पूर्ण सदस्य घरमा बस्नुपरेको छ । घरबाहिर निस्कन पाइने अवस्था छैन। सबै अभिभावकको आर्थिक, सामाजिक, सांस्कृतिक स्तर समान छैन । हाम्रो समाजमा दैनिक आवश्यकता पूरा गर्न असहज हुनेदेखि लिएर अकूत सम्पत्ति भएका अभिभावक समेत रहेका छन् । जे जस्तो भए पनि हरेक अभिभावकले आफ्ना बालबालिकाको भविष्य राम्रो होस् भन्ने सोचेको हुन्छ ।
आजको जीवन पहिले जस्तो छैन । हिजोका दिनमा बालबालिकाले जुन असहज अवस्थाको सामना गरेर अघि बढ्नु परथ्यो, आजका दिनमा त्यस्तो छैन । हरेक अभिभावकले असहज अवस्था हुँदाहुँदै पनि छोराछोरीको भविष्य राम्रो होस् भन्ने चाहना राखेको हुन्छ । आफूले दुःख गरेर भए पनि आफ्ना सन्तानलाई राम्रो शिक्षादीक्षा दिन उनीहरू सधैं लागिपरेका पाइन्छन् ।
यस्तो बेला एकोहोरो घरमा बसिरहनु पर्दा बालबालिकामा शारीरिक एवं मानसिक समस्या देखा पर्दछन् । उनीहरू कतिपय कुरामा अनभिज्ञ हुन्छन्, अनजान बन्छन् र भ्रमको शिकार बन्न पुग्दछन् । बालबालिकालाई राम्रो शिक्षालयमा पठाउनाले मात्र अभिभावकको कर्तव्य पूरा हुँदैन । एक असल नागरिक निर्माणको दिशामा उनीहरू कतिको लागिरहेका छन् र उनीहरूको जीवन कुन दिशामा गरिहेको छ भनेर परीक्षण कसले गर्ने र कहिले गर्ने ? भागम भागको जीवनमा पैसा मात्र फ्याँकेर व्यक्तित्व विकास होला त ? आजका अभिभावकले सोच्नुपर्ने कुरा हो ?
आफ्नो व्यक्तित्व विकास गर्ने र उनीहरूले पाएको ज्ञान र सीपलाई सकारात्मक दिशामा कसरी लग्ने भन्ने सवालमा अभिभावक चनाखो बन्नुपर्दछ । लकडाउनको कारण भएको संकटबाट कसरी बच्ने भन्ने विषयमा बालबालिका अनभिज्ञ हुन्छन् । यस्तो बेलामा सर्वप्रथम अभिभावकले बालबालिकाको मनोबल बढाउने किसिमका ज्ञान दिनुपर्छ । अभिभावकले बालबालिकालाई कोरोना के हो ? यो कस्तो किसिमका मानिसलाई लाग्छ ? यसबाट बच्न केकस्ता उपाय अपनाउनुपर्छ ? आफ्नो स्वास्थ्यप्रति सचेत बन्न के कस्ता उपाय अपनाउनुपर्छ भन्ने कुरामा स्पष्ट बनाउनुपर्छ ।
आफ्नो सरसफाइका साथै स्वास्थ्य सम्बन्धित जानकारी र सोहीअनुसार व्यवहार गर्न लगाउनुपर्छ । स्वास्थ्य सम्बन्धित सचेतताका कारण उनीहरूको आत्मबल बढ्ने र उनीहरूले अरूलाई पनि सचेत बन्न सिकाउने गर्न सक्छन् । यस्तो बेला मानिस छिट्टै आत्तिने हुन्छ । समाजमा देखिएको संक्रमणका कुरा सुनेर उनीहरू आत्तिन पनि सक्छन् । त्यसैले विपत्तिको सामना गर्दै मानसिक रूपमा सबल बनाउन उत्प्ररित गर्न सक्नुपर्छ । यसका साथै योग एवं विभिन्न अभ्यास गराउनाले शरीर र मन दुवै स्वस्थ बन्दछ ।
पढाइको अत्यधिक बोध हुँदैन । यति हुँदाहुँदै पनि अध्ययनबाट विमुख भए भने कुनै पनि बालबालिकालाई एक उमेर अवस्थासम्म अभिभावकले मार्गनिर्देशन गर्दछन् । एक निश्चित उमेर अवस्थामा पुगेपछि उनीहरूले आफूले आफैलाई व्यवस्थित गर्नुपर्ने हुन्छन् । विगतका दिनमा आमाबाबुले घरको काम आफैं गर्ने र छोराछोरीलाई यस्ता कामबाट सकेसम्म टाढा राख्ने गर्दथे । अभिभावकले पढेलेखेर छोराछोरीले राम्रो अवस्थामा पुग्न सकुन्, वर्तमानमा आफूले भोगेको जीवनभन्दा उनीहरूको जीवन अझ राम्रो बनोस् भन्ने चाहना राख्दछन् ।
यसका लागि उनीहरू आफू जतिसुकै कष्ट उठाउन पनि तयार हुन्छन् । छोराछोरीलाई दैनिक घरव्यवहारका कामबाट अलग गर्नु उनीहरूलाई कमजोर बनाउनु हो । यस्तो खालि अवस्थामा विशेषतः उनीहरूको उमेर अवस्था हेरेर घरका ससाना काममा खटाउनुपर्छ । घरका काममा संलग्न हुँदै जाने क्रमसँगै उनीहरूमा श्रमप्रतिको आस्था उत्पन्न हुन्छ ।
भोलिका दिनका कतिपय असहज अवस्थामा उनीहरूले घरको काम सम्हाल्न पुग्दछन् । घरको सरसफाइ, भान्साको काम, आँगनबारीको कामसँग परिचित हुनाले उनीहरू जीवनको नियमित प्रक्रियाबाट अलग हुँदैनन् । बालबालिकालाई पछि बानी बसाल्न गाह्रो हुन्छ । तसर्थ अध्ययनको कामलाई पनि बोझ नहुने गरेर अघि बढाउन प्रेरित गर्नुपर्दछ ।
अहिलेको प्रविधिको युग हो । विशेषत शहर बजार एवं सदरमुकामसम्म रहेका बालबालिका प्रविधिमा अभ्यस्त छन् । प्रविधिले एकातिर मानिसको ज्ञानको सीमा बढाएको छ भने अर्कोतिर यसले विभिन्न खाले विकृति पनि उत्पन्न गरेको छ । सानै उमेरदेखि मोबाइल, कम्प्युटर, टयाब्लेटमा झुन्डिनाले बालबालिकाको शारीरिक एवं मानसिक स्वास्थ्य प्रभावित हुन्छ । अभिभावक वर्गले उनीहरूलाई प्रविधिका माध्यमबाट पाइने ज्ञानगुनका कुरा, हल्का मनोरञ्जनका कुरातर्फ लाग्न प्रेरित गरे पनि प्रविधिको माध्यमबाट आएका विकृतिबाट बच्न प्रेरित गर्नुपर्दछ । प्रविधि सबैको पहुँचमा नपुग्न सक्छ तर जहाँ जसको पहुँचमा छ, तिनले त्यसको फाइदा लिन र विकृतिबाट बच्न आफ्ना कार्य थाल्नैपर्छ ।
अहिले सूचनाका विभिन्न माध्यम छन् । पुरानो पुस्ताले जे जति सूचना पाउँथ्योे, यो पुस्ताले त्यसभन्दा पहिल्यै सूचना पाउँछ । सूचना र ज्ञान फरक कुरा हो । सूचना ज्ञान हुनसक्छ तर सबै सूचना ज्ञान नहुन सक्छ । सूचना र ज्ञानलाई कसरी ग्रहण गर्ने सवालमा छलफल हुनुपर्छ । यस्तो छलफल जुनसुकै पुस्ताका बीच पनि हुनसक्छ ।
आज पुरानो र नयाँ पुस्ता बीचमा अन्तरक्रिया नहुनाले पुस्तान्तरणको समस्या बढिरहेको छ । यसले गर्दा एकले अर्कालाई यसले के जानेको छ र भन्ने भ्रम परिरहन्छ । अहिलेको युगमा पुरानो पुस्ताले नयाँ पुस्तालाई आफूले बुझेको समाज, जीवन र संस्कृति नयाँ पुस्तालाई बताउने, असल र योग्य नागरिक बन्न चाहिने ज्ञान र सीपबारे बताउने, देशप्रति माया गर्न, आफ्ना अग्रजप्रति सम्मान गर्न र भविष्यका लागि सकारात्मक चेतना प्रदान गर्न सक्छन् । यसै गरेर नयाँ पुस्ताले बुझेको संसार, जीवन र संस्कार, ज्ञानविज्ञानका क्षेत्रमा भएका नयाँ प्रगतिका कुराका साथै जीवन र जगतलाई हेर्ने दृष्टिकोण आदिबाट पनि पुरानो पुस्ताले केही ज्ञान लिन सकेमा ज्ञानको हस्तान्तरण र सामूहिक उपयोगको कार्य सार्थक बन्दछ र यसले जीवनको नवीन मार्ग प्रशस्त गर्दछ ।
अहिलेको युगमा बालबालिकाले एकोहोरो व्याख्यान मन पराउँदैन । उनीहरूले कुनै पनि कुरालाई चित्र, विभिन्न व्यावहारिक प्रयोग र प्रविधिका माध्यमबाट बुझाउने हो भने त्यसलाई छिट्टै ग्रहण गर्न पुग्दछन् । भोलिको पुस्तालाई स्वाभिमानी, आत्मनिर्भर, श्रमप्रतिको आस्थावान् बनाउने पुरानो पुस्ता असल र संस्कारप्रेमी हुनैपर्छ । असल अभिभावकले असल संस्कारयुक्त नयाँ पुस्ता निर्माण गर्दछ । यसले गर्दा आजको दिनमा समाजमा देखिएका विकृतिबाट मुक्त भएर एक सबल राष्ट्र निर्माण कार्यमा मद्दत पुग्दछ । हामी सबै मिलेर विभिन्न खाले महामारी, प्राकृतिक विपदबाट बचेर एक स्वाधिन एवं सबल राष्ट्र निर्माणको दिशामा लाग्नुको विकल्प छैन ।
प्रकाशित: २६ जेष्ठ २०७७ ०८:५४ सोमबार