सुमन थापा ‘संगम’
तिमीले कोरोना हतियार बोकेर
युद्ध छेडेको वर्ष
चीनको हुवान सहर हुँदै
विश्व ढाकेको बखत ।
विश्वभर लाखौं मानव सैनिक
पराजित बनेको समय
आँखाका नदीबाट पखालिएका छन् तस्बिरहरू ।
छाया जसरी तिम्रो आकृतिले
मानिसलाई लखेट्दै छन्
सडकलाई चुम्ने पैतालाहरू क्रमशः
हराउँदै गएका छन् ।
अचेल,
हावाले मानव स्पर्श पाउन छाडेको छ
बाटोले पदचापको संगीत सुन्न छाडेको छ,
आकाशले नीलो पछ्यौरीमा
बेरेर कसैलाई अँगाल्न पाएको छैन
रूखहरूले बतासको बाँसुरीमा
धुन भरेर सुनाउन पाएको छैन ।
यो समय तिमी यति निष्ठुर बनिदियौ
आफ्नाहरूसँगको आफ्नोपन खोसिदियौ ।
वैरी थिएनौँ हामी
कोठाको झ्यालखानामा बन्दी बनायौ
विवश छन् खुसीहरू
सहर–सहरभरि
गाउँ–गाउँभरि
द्रौपदीको चीरहरणजस्तो
तिम्रो शासन देख्छु ।
निस्तब्ध छ विश्व आज
जीवनको अन्तिम घडी
क्षितिजको बिहानी कुर्दै
आफूलाई जिउँदो राखेका छन्
तिम्रो प्रहारको आँसु पिएर ।
पहिरो बनी थुनियो बाटो तिम्रो युद्धले
अन्तिम चितामा आँसुका फूल चढाउन
बन्देज गरिदियौ
उसलाई अंकमाल गर्ने हातहरू
रुग्ण बनेर ढलेका छन् पलपल ।
तिम्रो कोरोना युद्ध चलिरहेको यो बखत
बन्द कोठाभित्र संघर्षरत छौ, तिमीलाई पराजित गरी
सुन्दर बिहानीको लाली अँगाल्न ।
प्रकाशित: १७ जेष्ठ २०७७ ०४:१८ शनिबार