२८ असार २०७७ आइतबार
अन्य

राहत वितरण

लघुकथा

 डा. पुष्करराज भट्ट

डेरामा एक्लै बस्दाबस्दा थाकिसकेको थिएँ । एक पुस्तक पढेर आधा मात्र पु¥याएको थिएँ । बाहिर मानिस कराएको आवाज सुनें । सडक किनारको घर भएपछि यस्तै हो भन्ने ठानें ।

“राहत वितरण हुँदैछ ।” कसैले कराएको सुनें । कोठाबाहिर आएर हेर्दा पल्लो घरमा बस्ने म जस्तै डेरावाल हस्याङफस्याङ दौडिरहेको देखें ।

मैले सोधें, “कस्तो दौड हो भाइ ।”  

“पर विद्यालयमा राहत वितरण भइरहेको छ रे । मैले केहीबेर अघि थाहा पाएको ।” उसले यथार्थ बतायो ।

“त्यसो भए म पनि आउँछु ।” म पनि ऊसँग गएँ । हामी दुई त्यहाँ पुग्दा ठूलो भीड जम्मा भइरहेको थियो । मैले त्यहाँ आफ्नो डेरा वरपरका घरमालिक, व्यापारी, जग्गा दलालको भीड देखें । फाटफुट डेरावाल एवं विद्यार्थी थिए ।  

हामीलाई देख्नेबित्तिकै म बस्ने टोलको एक मानिसले सोध्यो, “आज कता हो भाइ ?” उसलाई सबै कुरा थाहा थियो तर पनि सोधिरहेको थियो ।

“राहत वितरण हुँदै छ भनेर आएको ?” मैले यसो भनिरहँदा स्थानीय रैथाने घरमालिकहरू मलाई हेरेर घुरिहेका थिए ।  

“तपाई यहाँको नागरिक नै होइन । अनि के खान यता आएको ?” एउटा भुसतिघ्रेले रिसाउँदै भन्यो ।

“म यस टोलमा बसेको दश वर्ष भयो । अझै यहाँको हुन नसकको रहेछु ।” मनमा यस्तै विचार आयो ।

“तपाईहरूको नागरिकता देखाउनुस त ?” हामी लाइन लागेर राहत वितरण हुने स्थानमा पुग्दा वितरक मध्येको एकले भन्यो ।  

“मेरो नागरिकता यता छैन, घरमै छ ।” मसँगको साथीले भन्यो ।

“त्यसो भए उतै गएर राहत लिने !” उसले थर्काउँदै भन्यो ।

मैले डराईडराई नागरिकता देखाएँ ।

“तपाईको त सुनसरीको नागरिकता रहेछ । हामीले त यताको नागरिकता हुनेलाई मात्र बाँडने हो ।” उसले नागरिकता फिर्ता दिंदै भन्यो ।

हामी चुपचाप त्यहाँबाट हिँड््यौ । राजधानीमा ठूल्ठूला महल भएका, स्थानीय व्यापारी, जग्गा दलाल राहत पाउन तँछाडमछाड गरेर नागरिक हुनुको परिचय दिइरहेका थिए ।

प्रकाशित: १० जेष्ठ २०७७ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App