२० जेष्ठ २०७७ मंगलबार
अन्य

यो बुढेसकाललाई सलाम

बुढेसकाल अनुभव

पद्मावती सिंह

पद्मावती सिंह

अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९)सँग जुधिरहेको छ । विश्वका केही देशमा यसले महामारीको रूप लिँदै गर्दा हामीले घरबाट बाहिर ननिस्कने अनुशासनको पालना गरिरहेका छौँ, अर्थात् यो भाइरस फैलन नदिन ‘लकडाउन’को अवस्थामा छौँ । महामारीमा वृद्धवृद्धा र बालबालिकालाई बढी जोखिम हुन्छ । मानिस वृद्ध हुँदै गएपछि अनेक रोगले थिच्दा रहेछन् । म पनि मधुमेहबाट पीडित छु ।  

काठमाडौं छाउनीस्थित आफ्नै घरमा बसिरहेका बेला मेरा मनमा बुढेसकालबारे अनेक कुरा खेल्दै छन् । वास्तवमा म अहिले बुढेसकालबारे चिन्तन गर्दै छु, आफ्ना उर्वर दिनहरूको सम्झना गर्दैछु । बुढेसकालका आफ्नै पीडा छन् तर उमेर ढल्कँदै गर्दा बितिसकेको यौवनावस्था सम्झेर ठट्टा गर्न मनलाग्दो रहेछ ।

०००

लामो यात्रा र अनुभवहरू भोग्दै बूढेसकालमा पाइला टेकिन्छ । बुढेसकालमा खुट्टा टेकेपछि ज्येष्ठ नागरिक हुन पाइन्छ । ज्येष्ठ नागरिक अर्थात् एक आदरणीय पद्वी । ज्येष्ठ नागरिक हुन ६० वर्षमा टेक्नैपर्छ । कहिले ज्येष्ठ नागरिक भइएला र सबैबाट सम्मान र माया पाइएला भनी कुर्दा आफू पनि ज्येष्ठ नागरिक भइयो, १० वर्षअगाडि नै ।

यस वर्ष म ठ्याक्कै ७१ की भएँ । यत्तिका वर्ष बाँच्ने मेरो धोको थिएन । ६० वर्ष बाँचे काफी थियो । तर के गर्ने जन्मने र मर्ने आफ्नो हातमा छैन । आफ्नो हातमा भएको भए यत्तिका वर्ष बाँच्ने मेरो मनै थिएन ।  

 

आँखा फुटेर हो वा बैंस चढेर हो, कोही–कोही बूढाले ‘क्या च्वाँक तपाईं त’ भन्न पछि पर्दैनन् । त्यसो भन्दा ‘ला त बूढो’ भनेर एक थप्पड हान्न मन लाग्छ । तर जवानीमा कसैलाई एक थप्पड हान्न सकिएन भने झन् यो उमेरमा के तमासा गर्ने भनी चुपचाप बाटो लाग्नुबाहेक के गर्न सक्छु र म ।

 

७१ वर्ष हुनु भनेको साँच्चिकै बूढी हुनु हो । अचम्म, तन बूढी भए पनि मन बूढो हुन्न रैछ ! अहिले पनि मलाई राम्रो लगाउन, शृंगार र घुमफिर गर्न मन हुन्छ । हाम्री सासू त ७० वर्षमा बिहान पूजाआजा गर्नुहुन्थ्यो र रामायण पढेर दिन बिताउनुहुन्थ्यो । आफूलाई भने फुर्सद भयो कि घुमफिर गर्न, हातमा मोबाइल लिएर मस्त हुन मन लाग्छ । मैले पनि कहिलेकाहीँ फेसबुकमा फोटो अपलोड गर्छु, त्यसमा केही ‘लाइक’ र ‘कमेन्ट’ आउँछन् । ती कमेन्ट पढ्दा मेरो मन फुरुंग हुन्छ र मलाई भ्रम हुन्छ– कतै म पनि यौवनावस्थामा फर्कंदै त छैन ?    

लुगा पनि फेरि–फेरि नयाँ फेसनको लगाउन मन लाग्छ । आजकल ७१ वर्षमा बूढेसकाल आउँदैन कि क्या हो ? कसै–कसैले बूढी भएर पनि कति नक्कल गर्न प¥या भन्छन् भने, उनीहरुलाई मेरो जवाफ हुन्छ– नक्कल गर्न हुन्न भन्ने कुन शास्त्रमा लेख्या छ ?  

कसै–कसैले तारिफ गर्छन्, ‘बूढी भएर पनि कति राम्री भएर हिँडेको !’ यिनीहरुलाई खुसी भई आशीर्वाद दिन मन लाग्छ । अरु सबै त ठीक छ, तर उमेर भएपछि समस्याचाहिँ लस्करै लाएर आउँदा रहेछन् । अहिलेसम्म टेम्पु–ट्याक्सी एक्लैै चढेर यताउति गर्छु, तर ओर्लन उक्लन भने हम्मे–हम्मे पर्छ । तैपनि घुमफिर गर्न, यताउति काममा जान कसैलाई गुहार्नपरेको छैन । मज्जाले जान मन लाग्या ठाउँमा गइरहेकी छु । घँुडा दुख्छ, तैपनि वास्ता गर्दिनँ ।

बूढी भएपछि हाम्रा आमा र सासूहरू एक्लै हिँडेको थाहा छैन । कतै जानुप¥यो भने कोही न कोही साथ लागेकै हुन्छ । बूढी मान्छे एक्लै कहाँ जाने भनेर सब कराउँछन् । अहिले त कसैले त्यसो भन्दैनन् । हुन पनि हो, सधैँ साथ लाग्न आजको छोरी–बुहारीलाई कहाँ फुर्सद छ र ? तिनीहरू यति व्यस्त रहन्छन् कि बोल्ने त फुर्सद छैन, बिहानदेखि बेलुकीसम्म जागिरमै व्यस्त रहन्छन् ।

मैले पनि ६० वर्ष नहुन्जेल जागिर खाएकै हँु क्यार । आइमाईहरूले मोटरसाइकल नचढेका बेला मोटर साइकल चढेर अफिस गएकै हुँ । उमेरमा त म कम व्यस्त थिएँ र ? अफिस–घर र साहित्यिक कार्यक्रमहरूमा सहभागी हुन साँजोपाँजो सबै मिलाएकै थिएँ । सबैले वाह–वाह गर्थे ।

अहिले कहिलेकाहीँ यो घुँडा दुख्ने समस्याले यताउता जान गाह्रो हुन्छ, बढो दिक्क लागेर आउँछ । घुँडासुँडा दुखिरहोस्, बाहिर जानचाहिँ छाड्दिनँ भनी हिँड्याहिँड्यै छु । छोराछोरीले भन्छन्, ‘घुँडा दुख्या मान्छेलाई कति हिँड्नुप¥या ?’  

मेरो जवाफ हुन्छ, ‘दुखे मेरो घुँडा दुख्छ, तिमीहरूको दुख्दैन क्या रे ।’ त्यसो भनेपछि उनीहरू नाजवाफ हुन्छन् ।

उमेर पुगेपछि केही निजी समस्याले चाहिँ पिरोल्न आइपुग्दा रहेछन् । जस्तो कि बाहिर कतै भोजसोज जानुप¥यो भने कपाल रंगाउनुपर्ने । कम झन्झट लाग्छ, कपालमा मेहन्दी लगाएर कालो बनाउन ! त्योे पनि अकस्मात कतै सभा–समारोहमा जानुप¥यो र कपाल रंगाउने बेला भइसकेको रहेछ भने क्या दिक्क लाग्छ । कपाल रंगाउँ भने अबेर हुने, नरंगाउँ भने समारोहमा बूढी देखिने गरी के जानूँ ? होस् भनेर कहिले त्यसै जान्छु । मनले मान्दैन, बरु ढिला भए होस्, कपाल कालो नलगाई त जाँदै जान्न भनी ढिला गरी समारोहमा पुग्छु । कुनै बेला समारोहमा म ढिलो पुगे भने यही कारण सम्झे हुन्छ है मेरा दौँतरीहरू ।

कहिले भने ट्राफिक जामले गर्दा ढिलो होइन्छ । ट्राफिक जामको त कुरै गरेर साध्य छैन । कतै समयमा पुग्नु छ भने आधा घन्टामा पुगिने स्थानमा दुई घन्टा लाग्छ । स्वयंवर गर्न हिँडेका साइतमा नपुगेर दिक्क नभएका पनि होइनन् । ‘कहीँ नभएको जात्रा हाडी गाउँमा’ भनेको सायद काठमाडौंको ट्राफिक जामलाई भन्दा अनुपयुक्त नहोला । यो ट्राफिक जामले कतिको जागिर समेत खाइदिएको छ । कति विदेश उड्न नपाई फर्केका छन् । हो कि होइन ? भन्नुस् त । बुढेसकालका पीर र व्यथा कम छैनन्, सम्झिँदै ल्याउने हो भने । एउटा प्रसंग झट्ट सम्झे ।  

मेरा पिताजी बूढा भए पनि चिटिक्क भई हिँड्नुपर्ने । उहाँको लबाई देखेर सबै हे¥याहे¥यै हुन्थे । एक दिन एकजना दौँतरीले उहाँलाई व्यंग्य गर्दै भनेछन्, ‘के बूढो भएर पनि यस्तरी ठाँट्टिनुप¥या होला ? कसलाई देखाउन हो कुन्नि ।’  

उहाँले झर्कंदै व्यंग गर्दै भन्नुभयो, ‘म बूढो होइन तिमी बूढो । बूढो मात्र होइन च्याउरे बूढो ।’  

उहाँका दौँतरीले भन्न छाड्दैनन् ‘हेर हेर गति छाडिहिँडेको ? बूढो भयो भन्दैमा जथाभावी लुगा लाएर हिँड्न हो र ?’  

बुवाको जवाफ, ‘जबसम्म मन बूढो हुन्न, मान्छे कहिल्यै बूढो हुन्न । मेरो मन तन्नेरीको जस्तै छ, त्यसैले म तन्नेरी भएर हिँड्छु । तिम्रो कपाल किन दुखेको हँ ? सक्छौ भने मजस्तै हिँड्नु नि ।’

बुवाको जवाफले दौँतरी खुसुक्क परेर त्यहाँबाट हिँडेछन् । त्यही बाबुको छोरी न हुँ ! मलाई पनि राम्रो लुगा लाएर हिँड्न खुब सोख छ । मलाई पनि कसैले बूढी भन्यो भने साह्रै रिस उठ्छ । हो त नि, बूढी भयो भन्दै गति छाडेर हिँड्न भएन नि, कसो ?

जत्तिकै बूढी हुन्न भने पनि उमेरले आफ्नो करामत त देखाइहाल्दो रहेछ । पहिले म जति छिटो खाने र छिटो हिँड्ने को थियो र ? अहिले खान एक घन्टा लाग्छ । हिँड्नुप¥यो भने नौनाडी गलेर आउँछ । जत्तिकै फूर्ति गरेर मै हुँ भने पनि उमेरले कहाँ छोड्छ र । कतिपटक बिर्सेर एउटा मितिमा जानुपर्ने कार्यक्रममा अर्को मितिमा गएर हैरान भएकी छु । केही सीप नलागेर डायरी लेख्न थालेँ । डायरी नै कता राखेँ कता, अब भएन फसाद ! एउटा सहायक चाहिए जस्तो भो । कहाँ पाउने सहायक, घरमा काम गर्ने घरेलु कामदार त पाउन गाह्रो छ ।

उहिले हाम्रा आमाहरूको पालामा कामदार भान्छे सजिलै पाइन्थ्यो । अहिले त सबै काम आफैँ गर्नुपर्ने । अहिले जमाना बदलिएको छ ।  

सासूलाई देखेर म कहिलेकाहीँ कल्पन्थे । क्या आराम छ सासुलाई । तीनजना बुहारी, दुईजना काम गर्ने मान्छे । सबैले उनलाई आदर गर्थे । बुहारीहरू उहाँदेखि थरथर हुन्थे भने काम गर्नेहरू त उहाँको अघिपछि । आफ्नो पनि बुढेसकाल आउँदा यस्तै आराम पाइन्छ भनी कुर्दाकुर्दा बल्ल बुढेसकालमा प्रवेश पाएँ, तर उहिलेको कुरा खुइल्यो भनेझैँ बुहारीहरू जागिरे, घरमा काम गर्ने छ भनुँ भने दिनभर छैन, बिहान दुईघन्टे मात्र पाइएको छ । अनि आराम न सारम, आफ्नो काम सबै आफैँले नगरी सुखै छैन । खानासाना भने बुहारी पकाउँछे । धन्न चुलोचौको गर्नुपरेन । त्यो पनि गर्नुपरेको भए यो बुढेसकालमा बाबुको बिहे देख्नुपथ्र्यो ।

बल्लतल्ल एकजना कामदार भेट्टाइयो, दिनभरि काम गर्ने । खुसीको सिमाना रहेन, अब चियासिया आफूले बनाएर खानुपरेन, पाहुना आए पनि आफू भान्छामा जानुपरेन भनी मख्ख परेँ । कामदार पनि बढीजसो मोबाइलमै व्यस्त हुने ।

यता ८५ वर्षका मेरा बूढा म अगाडि परेँ भने काम अह्राइहाल्छन् ।  

म भन्छु, ‘मलाई पनि त गाह्रो हुन्छ नि तल–माथि गर्नुपर्दा ।’  

उनी भन्छन्, ‘तँ मभन्दा तरुनी नि छस् !’  

उनको अगाडि म ७१ वर्षीया तरुनी नै पो रहेछु । के भन्नु र मनमनै दिक्क हुनु सिवाय । बरु म पनि ८० वर्षकी भए हुन्थ्योझैँ लाग्छ ।  

आजभोलि चाहिँ हाइसञ्चो भएको छ, घरमा कामदार राखेपछि । केही चाहियो भने उसैलाई गुहार्छन् बूढा । छिनछिनमा काम अह्राएर हैरान पार्छन् । एकदिन त मैले प्वाक्क भने, ‘अब आफ्ना लागि सिंगै मान्छे राख्नु क्या ! घरमा अरु काम गर्नुपर्दैन ?’

‘खोजी देऊ न त,’ मैले चाहेको पनि त्यही हो भन्छन् बा । अब कसको के लाग्छ । कहाँ खोज्न जाऊँ, बूढालाई स्याहार्ने छुट्टै सुसारे ! नाजवाफ हुनुपरेन ?

होस्, भनेर आजकाल त चुप लाग्छु । बूढालाई केही भन्दिनँ । बोल्यो कि पोल्यो । आऽऽऽ को बोलिरहोस् । बुढेसकालमा मलाई मात्र यस्तो हुन्छ कि अरुलाई पनि यस्तै हुन्छ कुन्नि बा !  

फेरि बूढाबूढी भएपछि सधैं ठाकठुक, कुरै मिल्दैन । कुरा ग¥यो कि पोल्ने । केही यसो बसिबियाँलो गरुँ भनी बूढोको छेउ गयो, गुनासोबाहेक केही सुन्न पाइने होइन । मीठो कुरा सबै पोलेर खाए कि बूढाले कुन्नि ! आफूलाई पनि मीठो–मसिनो कुरा बोल्नै आउँदैन आजकाल । यो पनि बूढेसकालकै करामत त हो नि । त्यसैले कसैलाई बूढेसकाल नआओस् भन्न मन लाग्छ । तर यो नआई कहाँ छोड्छ र ! लुसुक्क देखापर्छ । बालककाल मज्जा, यौवनकाल झनै मज्जा अनि बुढेसकाल धेरै नै नमज्जा ! दुःख नपाई त्यसै कहाँ मर्न पाइन्छ र ? दुःखको अनुभूति गर्नलाई बूढेसकाल आउने रहेछ नि हगि ? दुःखको पहाड उक्लँदैमा हैरान ! ७१ वर्षमा टेकेर अहिले ठमठम हिँड्न नसके पनि हिँडिरहेकै छु । कति काम गर्न गाह्रो भए पनि गरिरहेकै छु । कति कुरा सहन नसके पनि सहिरहेकै छु । मनमनै रोए पनि हाँसिरहेकै छु ।  

मन पनि किन रुवाउनु व्यर्थै । म मात्र बूढी भएकी हुँ र ? मेरा साथीहरू सब बूढी भएका छन् । तिमीहरू भन्दा त बरु म नै बूढी भए पनि कम उमेरकी देखिन्छु ।

आँखा फुटेर हो वा बैंस चढेर हो, कोही–कोही बूढाले ‘क्या च्वाँक तपाईं त’ भन्न पछि पर्दैनन् । त्यसो भन्दा ‘ला त बूढो’ भनेर एक थप्पड हान्न मन लाग्छ । तर जवानीमा कसैलाई एक थप्पड हान्न सकिएन भने झन् यो उमेरमा के तमासा गर्ने भनी चुपचाप बाटो लाग्नुबाहेक के गर्न सक्छु र म ।

आजभोलि सुन्न पनि के के प¥या हो । अस्ति अखबारमा ७० वर्षकी बूढीलाई बलात्कार भन्ने खबर पढ्दा आफ्नो त हंस नै उडेझैँ भयो । सत्तरी वर्षमै आइमाई सुरक्षित छैन भने तरुनीहरूको त के कुरा गर्ने हगि ? कस्तो कलियुग आएछ ।

बुढेसकालको कथा–व्यथा सुनाउने हो भने एउटा पुस्तकै तयार हुन्छ । एउटा मन बुझाउने कुरा के छ भने बुढेसकालमा कान, आँखा, दाँत र हात–खुट्टाले धर्म छाडे पनि मनले चाहिँ धर्म नछाड्ने रहेछ, अर्थात् मन जस्ताको त्यस्तै हुँदो रहेछ ।

त्यसैले यो ७१ वर्षे बूढेसकालप्रति केही गुनासो छैन । दुई हात जोरेर म आफ्नो बुढेसकाललाई नमस्कार गर्छु र एक हात निधारमा पु¥याएर सलाम गर्छु । जय होस् बुढेसकाल ।

अँ, यो कोरोना भाइरसको संकलकालीन घडीमा राज्यले सबै जनतासँगै वृद्धवृद्धा, बालबालिका र असहायलाई विशेष ध्यान देओस् । सबै सुरक्षित रहनुहोला, हामी सबै पृथ्वीवासीले कोरोना लगायत भाइरसहरुलाई जित्न सकौँ ।  

प्रकाशित: १० जेष्ठ २०७७ १०:११ शनिबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 100%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App