१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मेरो प्यारो हलेसी

खोटाङको हलेसीधाम । तस्बिर: अमृत भादगाउँले

भावना पौडेल

कक्षा : ६

अरुणिमा मावि बौद्ध, काठमाडौं

विश्वमा हजारौ धार्मिक तथा पर्यटकीयस्थल छन् । ती ठाउँमा मानिस घुम्छन् । कुनै पनि ठाउँमा जानु भनेको त्यहाँको सौन्दर्यमा आनन्दित हुनु हो । यसरी नै घुम्ने क्रममा वर्ष दिन पहिला म हलेसीधाम पुगेकी थिएँ । हलेसी खोटाङ जिल्लामा पर्दछ । यहाँको प्राकृतिक गुफा र शिलाहरूले लोभ्याएका छन् । यहाँका शिला कुनै प्रबुद्ध कालीगढले कुँदे झैं भान हुन्छ ।  

नेपालका मात्र नभइ संसारभरका मानिस हलेसी आउँछन् । पहाडको सुन्दर र मनोरम वातावरणमा छ त्यहाँ । यस ठाउँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा पनि देखिँदो रहेछ । आफ्नै आँखा अगाडि हिमाल देखेर म दंग परें । मन्दिर दायाँबायाँ दुई ठूला नदी बग्दा रहेछन्, उत्तरतर्फ दूधकोसी र दक्षिणतर्फ सुनकोसी ।  

भावना पौडेल

हलेसी त्रिधार्मिक सगम हो । हिन्दूहरूले आराध्यदेव शिवका रुपमा पूज्छन् भने किरातीले सुम्निमा पारुहाङ र बौद्धमार्गिले मारातिकाको रुपमा । यस्तो अनुपम स्थान संसारमा कमै छन् ।  

त्रिधार्मिक संगम हलेसीधामको महिमा ठूलो छ । हलेसी हिन्दू, बौद्धमार्गी र किरातीको साझा तीर्थ हो । 

उच्चस्थानमा रहेकाले टाढाटाढाका मनोरम दृष्य देख्न सकिन्छ । जाडोमा पनि बिहानै घाम लाग्ने हुनाले मलाई झन् आनन्दित पारेको थियो । रातको समयमा स–साना घरमा बलेका बत्तिका लहरले जुनकिरीको झल्को दिन्छ ।

बसाहा थान अगाडि बनाइएको बगैंचा एकदमै मनोहर छ । तलतिर अनवरत झरेका पानीका जोर धारा । बसाहा थानभित्र आकाश देखिने स्थान देखेर म झन् चकित भएँ । यस्तो ठूलो प्वाल कसरी भयो होला ? मनमा प्रश्न जागिरह्यो । मैले पूजारीबाट यो स्थान शिवले बनाएको जानकारी पाएँ ।  

मन्दिरको छेवैमा गणेश मन्दिर छ । पूर्वमा मारातिका गुम्बा छ । मन्दिरको द्वार पनि राम्रो लाग्यो । यस्तो डिजाइनमा बनाएको द्वार मैले पहिलो पटक देखेकी थिएँ । मन्दिर नजिकै फलेको रुदाक्ष पनि मेरा लागि नयाँ थियो । मैले रुद्राक्षको बोट पहिलो पटक देखेकी थिएँ ।  

मारातिका गुम्बामा घुमाइएका माने र लामाहरूको मन्त्रोच्चारण साह्रै लोभलाग्दो थियो । गुम्बामा उच्चारण भएका मन्त्रको भाषा त मैले बुझिनँ तर सुन्नमा आनन्द आएको थियो । गुम्बा बाहिर पानसमा बत्ति बालेकोे दृष्य निकै रोचक थियो । मन्दिर वरपर अगरबत्तिको मगमग वासना चलिरहेको थियो । बिहानको शिरशिरे बतासले बत्तिको लप्कालाई उडाउन खोज्दाको दृष्य शब्दमा बयान गर्न सकिँदैन ।  

चारैतिर ध्वजा पताकाहरूले सिँगारिएको हलेसी दुलही जस्तै लाग्यो । स–साना होटलमा बिहान बज्ने मधुर भजनका ध्वनीले गुञ्जायमान थियो । यस्तो लाग्थ्यो मन्दिर क्षेत्रमा मन्दिरैमन्दिर छन् ।  

मन्दिर हाताका घुम्ती पसलमा फूल र प्रसाद बेच्नेको लाइन थियो । उनीहरू सौर्हादतापूर्वक फूल र प्रसाद लिन दर्शनार्थीहरूलाई अनुरोध गर्छन् । गणेश मन्दिर अगाडि परेवासँगै बोकाले चामलका दाना खाइरहेको दृश्य पनि देखें ।  

हामीले हलेसी गुफाभित्र दर्शन गर्ने बेलामा एक हुल चमेरा आए । मैले पहिलो पटक चमेरा देखें । कति सजिलो गरेर उल्टो परेर खुट्टाले समाएर बस्दा रहेछन् चमेरा । आश्चर्य लाग्यो । परेवा वा अन्य चरालाई जस्तो गुँड चमेरालाई नचाहिने रहेछ । तर मेरो मनमा एउटा प्रश्न आइरह्यो स्तनधारी प्रजातिको चमेराले आफ्नो बच्चा जन्माउने बेला र स्तनपान गराउँदा यसरी झुण्डिएर कसरी गर्दो होला ?  

दुई दिनको हलेसी बसाई आज पनि मनमा ताजा भएर आइरहन्छ ।

प्रकाशित: ८ जेष्ठ २०७७ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App