१३ जेष्ठ २०७७ मंगलबार
अन्य

सपनाको सहर पस्दा‍‍‍‍‍‍‍‍...

एसइईपछिको यात्रा

२०७२ साल चैत २७ गते । मेरो एसइई सक्किएको दिन । म निकै खुसी थिए । एकातिर परीक्षा सक्किएको र साथसाथै काठमाडौं जाने सपना पूरा हुने दिन आउन लाग्यो भनेर । सानैदेखि बाबामम्मीको काखमा आफू नहुँदा गाउँ छोड्नुको पीडा केही थिएन मलाई । कहिले परीक्षा सक्किएला र काठमाडौं सहर पसौंला भन्ने मात्र थियो मेरो मनमा । परीक्षा सक्किएकै भोलिपल्ट घर गएँ र हजुरबुबालाई मनाउन थालें । हजुरबुबाले हुन्छ नभन्दासम्म भनिरहें ।  

म सानैदेखिको जिद्धी थिए । मलाई जुन चिज पनि चाइयो भनेपछि त्यो हुनैपथ्र्यो । सम्झाउन त सम्झाउनुभो, अपरिचित सहरमा आफैंले एक्लै बाँच्न गाह्रो हुन्छ तँलाई भनेर । तर म मा आफैं कमाउँछु, आफैं पढ्छु भन्ने जुन अठोट थियो, त्यही अठोटले नै जित्यो मलाई । आफ्नो जन्मभूमि भनेर के गर्नु मलाई घरमा बस्नै मन थिएन ।  

वैशाख ३ गते शनिबारको दिन । मेरो घर भने अलिक विकट ठाउँमा छ । कतै जानुपर्यो भने गाडी पाउनै मुस्किल । हिँड्नलाई तयार भएर बाटोमा बस्यौं । लामो समयसम्म गाडी नपाएपछि हजुरबुबा पनि भन्न थाल्नुभयो ‘ह्या नानु छोड्देऊ आजलाई तिम्रो साइत छैन, भोलि हेरौंला ।’ तर मेरो मन मानेन । गाडीकै प्रतीक्षामा गरिरह्यौं । दिउँसो ३ बजेतिर चिनेकै मान्छेको मालबाहक गाडी आयो । बुटवलसम्म यसमै भए पनि जाऊँ न त भन्ने भएपछि म हजुरबुबासँगै गाडीमा बसें ।  

बाटो कच्ची थियो । सालझण्डी पुग्न नै हामीलाई ३ घण्टा लाग्यो । सालझण्डीबाट काठमाडौंको गाडी बिहानै छुट्छ भन्ने भएपछि हामी त्यही बास बस्यौं । तर मलाई भने पटक्कै निद्रा लागेन । घरी यता कोल्टो फेर्छु त घरी उता । त्यसै गर्दागर्दै रातिको १२ बज्यो । मनमा अनकौं कुराहरू खेल्न थाल्यो ।  

बिहानपख निद्रा परेछ । हजुरबुबाले उठाउनुभयो । तयार भएर काठमाडौंका लागि हिँड्यौं । एकातिर काठमाडौं सहर हेर्नलाई मन आत्तिरहेको थियो अर्काेतिर अन्जान सहरमा मलाई अप्ठ्यारो त पर्ने होइन भन्ने डर पनि थियो । दिउँसोको यात्रा, मन स्थिर नभए पनि रमाइलै लाग्यो । यताउता हेर्दैमा ठिक्कै भयो । रातिको ८ बज्न लागेको थियो । थानकोटको जाममा परियो । कति टाढा रहेछ मैले देखेको सपनाको सहर भन्ने पनि लाग्यो मलाई । ९ बजेपछि कलंकी झराल्यो । दाइ लिन कलंकी चोकमा आउनु भएको थियो । कलंकीबाट १० मिनेट हिँड्नुपर्ने रहेछ दाइको डेरामा पुग्न । त्यो रात दाइकै डेरामा बस्यौं ।  

गाउँकै अन्टीले मलाई काम खोजेर राखिदिनुभएको थियो, ‘घरमा’ । म उहाँसँगै सम्पर्क गरेर काठमाडौं हिँडेकी थिएँ । भोलि बिहानै उठेर त्यहीं गएँ ।  

बिहान झुल्किँदै गरेको मधुर किरणसँगै म अन्टीकोमा पुगें नारनथान । काठमाडौंको रमणीय दृश्य हेर्ने मलाई मौकै जुरेन । त्यहीं बाटोभरिका गाडी, मान्छेको हुल र ठूला ठूला घरमै सीमित भयो मेरो सपनाको सहर । बिहानको खाना आन्टीकोमा खाएपछि मेरो यात्रा काम गर्ने घरतिर मोडियो । दिउँसो १ बजेतिर त्यहाँ पुगेका थियौं हामी । डाक्टरको घर राम्रै त होला भन्ने पनि थियो । आन्टीले राम्रोसँग काम गर्नु, पढ्नु है नानु भन्दै जानुभयो ।  

काठमाडौं गएपछि कम्प्युटर सिक्छु भन्ने सपनाले त्यहाँ ठाउँ पाएन । मलाई भान्साको कामको जिम्मा दिइयो । तीन जनाको सानो परिवार थियो तर खाना भने थरी–थरीको बनाउनुपर्ने । मलाई त्यही घरको कामले कतै घुम्ने, कतै डुल्ने फुर्सद नै दिएन ।  

बिहानदेखि राति १२ बजेसम्म काममै व्यस्त । खाजा बनाउने, खाना बनाउने, उसलाई पढाउने र खुवाउने गर्दागर्दै १२ बजेको पत्तै हुन्थेन । पढेको सबै खर्च व्यहोर्ने भएर मात्र काम गरेको थिए ।  

काठमाडौं छिरेको २ महिना बित्यो । तर मैले काठमाडौं कस्तो छ भनेर अनुभव नै गर्न पाइन । असार लागेलगत्तै मेरो एसइई परीक्षाको नतिजा आयो । म पास भएँ । अब आयो कलेजको कुरा । हुन न त उनी पनि महिला नै थिइन । तर महिला भएर महिलामा हुनुपर्ने मानवता भेटिन मैले ।  

काठमाडौंको कलेज । जताततै महँगी नै महँगी । तर मेरो जिम्मेवारी लिइसकेपछि उनीहरू त्यसबाट उम्किन पाएनन् । मलाई कहाँ, के पढ्ने रुची छ भन्ने समेत सोधिएन त्यहाँ । म सामाखुसीमा बस्थें । त्यही नजिकैकौ कलेजमा मलाई भर्ना गरिदिए । मैले सर्टिफिकेट बोकेर गएकी थिएँ । मानविकीतर्फ पत्रकारिता पढ्न सुझाव दिनुभयो कलेजकी म्यामले । अहिले राम्रो छ यो विषय । तर मैले कुन राम्रो कुन नराम्रो छुट्याउन सकिन, मात्र हस् भने अनि फर्किंए ।  

घरमा दिइएको जिम्मेवारीसँगै मेरो पढाइ पनि त्यसमै थपियो । कसरी पढ्ने, कति बेला पढ्ने भन्ने चिन्ता हुन लाग्यो र हिम्मत भने पटक्कै हारिनँ । कलेज जान थालेपछि बिहानको खाना बनाउँथिनँ । बिहान साढे १० बजे कलेजबाट फर्किन्थें अनि उही धन्दा । घरमा एक जना बुढी आमा (डाक्टरकी सासूमा) पनि थिइन् । उनको पनि हेरचाह गर्नुपर्ने काम सक्किँदा २ बज्थ्यो । पढाइलाई खासै समय दिन सकिनँ । परीक्षाको समयमा राति १२ बजेपछि पढ्ने गर्थें ।

सायद मेरै उमेरका अन्य साथीले त्यत्ति संघर्ष गरेर पढेको थिए । कलेज सुरु भएको २ महिना अर्थात् दसैं अगाडि परीक्षा लियो । परीक्षाको समयमा पनि म घरकै काममा व्यस्त थिए । एकछिन पढेर नै मैले परीक्षा दिएँ । कलेजले मलाई पुरस्कार पनि दियो । त्यसले झन् मलाई संघर्ष गर्ने र पढ्ने आत्मबल बढायो ।  

दसैं आयो, तिहार आयो । तर म मलाई घर जान पाइनँ । नूनबिनाको तरकारीजस्तो भयो दसैं । सँगै पढेका साथीहरूले फोन गरेर गुनासो गर्न थाले, दसैंमा पनि घर नआउने भनेर । तर उनीहरूलाई के थाहा मेरो बाध्यता । हरसमय कचकच गरिरहन्थिन् । कहिले घरको कामको कुरामा त कहिले मेरो कलेजको खर्चको विषयमा मलाई मन पोल्नेगरी भनिरहन्थे तर पनि म सहन बाध्य थिएँ । श्रीमान् इन्जिनियर रहेछन् । कामको सिलसिलामा विदेश पुगेका । उनी पनि आए दसैं मनाउन भन्दै घर । पैसाले सम्पन्न भएकासँग मायामा भने निकै विपन्न लाग्यो मलाई ।  

दसैंमा पनि घर जान नदिँदा निकै मन दुखेको थियो । त्यहीमाथि उनको कचकच झन्पछि झन् बढ्दै थियो । तनावमा कसले पो जिन्दगी जिउन सक्छ र म सधैंका लागि त्यो घरबाट बिदा लिन बाध्य भएँ त्यो पनि उनीहरूको अनुमति बिना नै ।  

उनीहरूले म माथि गरेको अत्याचार सहेर पनि नियाँल्दै थिएँ म । अन्यत्र काम नपाउँदै त हिँड्न पनि मिलेन फेरि । दशैंको समय कपडा पसल राखेकी दिदीसँग कामको विषयमा कुरा गरेकी थिएँ । उनले पनि मलाई पसलमा राख्न खोजकी थिइन् । उनीसँगै सम्पर्क गरेर मेरो यात्रालाई त्यतै मोडे मैले ।

मेरा त्यसपछिका दिनहरू कपडा पसलमा काम गरेर बित्न थाल्यो त्यहीं सामाखुसीमै । बिहान कलेज अनि दिउँसो पसल र बेलुका पसलकै दिदी घरमा बस्न थाले । म पसलमा खाली भएको समयमा पढ्ने गर्थें । त्यसपछि भने मेरो पढाइले निरन्तरता पायो । कामको बोझ पनि अलिकति कम भयो । त्यहाँ भने सबैले माया गर्थें मलाई । त्यहीं बसेर नै ११ को परीक्षा दिएँ । केही समयपछि आफैं कोठा लिएर बस्न थाले । तर मैले जस्तोसुकै परिस्थितिमा पनि पढाइ छोडिन । कलेजका गुरुहरूले म प्रति देखाएको माया मेरा लागि एकातिरबाट हौसला नै बनेको थियो ।  

बिस्तारै आफूलाई एक्लै बाँच्न र बस्न सक्ने बनाउँदै लगे । म मा आफैं बाँच्न सक्छु भन्ने आत्मविश्वास कहिल्यै गिरेन । सबै कुरा मिल्दै गएपछि आफै घुमे आफ्नै तरिकाले मेरो सपनाको काठमाडौं सहर । मेरो जिद्धीपनालाई नरोकी मलाई यहाँसम्म ल्याउने हजुरबुबाप्रति म आभारी छु । उहाँले मलाई काठमाडौं आउन रोकेको भए म कहाँ आफै बाँच्न सक्ने हुन्थे होला, कहाँ जिन्दगीमा नयाँ पाठहरू सिक्ने र भोग्ने अवसर पाउँथें होला र...।  

अझै पनि होलान् मैले पढेको कलेजमा मैले जस्तै दिनरात काम गरेर पढ्नेहरू । घरबाट पैसा पठाएर दिनभरि बसेर पढ्ने साथीहरूको जिन्दगी देखेर मलाई लाग्थ्यो, कास...मैले पनि यस्तो जीवनको अनुभव गर्न पाएँ । म सम्झिरहन्छु तर अहिले त ती दिनहरू सम्झिँदा अनौठो लाग्छ, आफूले नभोगेको, कसैबाट सुनेको कथाजस्तै लाग्छ । 

प्रकाशित: ५ जेष्ठ २०७७ १४:२६ सोमबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App