१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

घरमै बसेर गर्नुस् यी काम

फाइल तस्बिर

विश्वभर फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै सरकारले ११ देखि १८ चैतसम्मका लागि देशलाई बन्दाबन्दी (लकडाउन) गरेको छ । कल–कारखाना, कार्यालयहरू बन्द गरिएको छ । धेरै मानिस फुर्सिदिला बनेका छन् । कामकाजी मानिसलाई घरमा बस्दा–बस्दा दिक्क लाग्न सक्छ । यतिबेला घरमा थुनिएको महसुस नगर्नुस् । घर सजाउनेदेखि आयमूलक थुप्रै काम घरमै बसेर गर्न सक्नुहुन्छ ।

यस्तो बेला सीपमूलक, उपलब्धिमूलक काम गरेर समय सदुपयोग गर्न सकिने नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यमी समिति वरिष्ठ उपाध्यक्ष रोशनी उपाध्याय सुझाउँछिन् । उनले भनिन्, ‘हातमा सीप हुनेले सामग्री तयार गरेर यो संकटपछि बजारमा बिक्री गरेर आम्दानी गर्न सक्नेछन् । यसकारण यो समयमा केही न केही काम गरौँ ।’  

आफूसँग केही सीप नभएमा अहिले इन्टरनेटबाट सिक्न सकिने उनी बताउँछिन् । उनका अनुसार, सिलाइकटाइ, ऊनको काम (टोपी, पन्जा, स्विटर, मोजालगायत बनाउने), पूजाका सामग्री (धूप–बत्ती, मैनबत्ती, ढकी), उपहारका सामग्री (खेलौनामा डल, सजावटमा फूल, गमला, सोकेसहरू) आदि घरमै बसेर तयार गर्न सकिन्छ ।

फोहोरबाटै मोहोर

कागज, पत्रपत्रिका, कार्टुन बक्स, सिसी, बोतल, बोरा लगायत सदुपयोग गर्दै सजावटका सामग्री (फूल, गमला, ढकी, खेलौना) बनाउन सकिने नेपाल घरेलु तथा साना उद्योग महासंघ, केन्द्रीय महिला उद्यमी समितिकी वरिष्ठ उपाध्यक्ष रोशनी उपाध्याय बताउँछिन् । उनका अनुसार खेर गएका कपडालाई खेलौना र आकर्षक उपहार सामग्री बनाउन सकिन्छ । त्यस्तै, काम नलाग्ने भनेर फालिएका पोते र धागोबाट गरगहना बनाउन सकिन्छ । ‘काम नलाग्ने सामान भन्नेबित्तिकै हामी त्यसलाई फोहोरका रूपमा लिन्छौँ,’ उनले भनिन्, ‘हामीले घरबाटै निस्कने फोहोरको व्यवस्थापन गर्दै आम्दानीका स्रोत जुटाउन सक्छौँ, तर हामीले सामान चिन्न भने सक्नुपर्छ । यसैले हामीलाई रोजगारी पनि दिन्छ ।’ यी सामानलाई सदुपयोग गर्दा स्वास्थ्यको ख्याल गर्नुपर्ने उनको सुझाव छ ।  

 

बगैँचाका मौसमी तथा सदावहार बोटबिरुवाले घरको सौन्दर्य वृद्धि गर्छ । बगैँचालाई ठूला रूख, फलफूल तथा तरकारी आदिले आकर्षक बनाउन सकिन्छ ।  

बगैँचाको तयारी

फ्रेस हुन टाढा जानुपर्दैन । घरको बगैँचामा गएर एक–दुई घन्टा समय बिताउँदा रि–फ्रेस भइन्छ । बगैँचाका लागि ठूलो र फराकिलो ठाउँ नै चाहिँदैन, सानो कम्पाउन्डमै चिटिक्क परेको गार्डेन बनाउन सकिने आर्किटेकको भनाइ छ  ।

इन्टेरियर डिजाइन एन्ड डेकोरेसन कम्पनी नेपालका प्रबन्ध निर्देशक चन्द्रप्रसाद हुमागाईंका अनुसार, बगैँचाका मौसमी तथा सदावहार बोटबिरुवाले घरको सौन्दर्य वृद्धि गर्छ । बगैँचालाई ठूला रूख, फलफूल तथा तरकारी आदिले आकर्षक बनाउन सकिन्छ ।  

नर्सरी सञ्चालक एवं नर्सरी व्यवसायी ठाकुरप्रसाद दाहालका अनुसार, सूर्यकिरण कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिई आवश्यक जानकारी लिएर बिरुवा रोप्नु उचित हुन्छ । उनी भन्छन्, ‘बगैँचा कस्तो बनाउने भन्ने त्यहाँ रोपिने बोटबिरुवाले निर्धारण गर्छ । त्यसैले बगैँचा निर्माणका लागि योजना चाहिन्छ ।’  

कति क्षेत्रफलमा के लगाउने भन्ने कुराको टुंगो लगाएपछि बगैँचाको तयारी गर्न सकिन्छ । जमिन र बिरुवाको टुंगो लागेपछि बिरुवाको प्रजातिअनुसार खाल्डो खन्नुपर्छ । फूल तथा बिरुवाहरूका लागि प्रांगारिक मल नै राम्रो हुने दाहाल बताउँछन् । उनका अनुसार जमिनको क्षेत्रफलअनुसार नै मल तयार गर्नुपर्छ । दुई आना क्षेत्रफलको बगंैंंचामा एक बोरा प्रांगरिक मल आवश्यक हुन्छ ।  

फूलेका रंगीबिरंगी फूलले बगैँचालाई जीवन्त तुल्याउँछ । जसका लागि बगैँचामा मौसमी फूल रोप्नु उपयुक्त हुन्छ । फूल फुल्ने बिरुवा तथा लहरे फूलका लागि सानो खाल्डो खन्नुपर्ने दाहाल बताउँछन् । उनी भन्छन्, ‘यसका लागि दुई फिट गहिरो तथा एक फिट चौडा खाल्डो खनी त्यसमा बिरुवा रोप्नुपर्छ । लहरे बिरुवाजस्तै बेगनबेलिया भित्ता र पर्खालमा लगाउनुपर्छ । बिरुवाको दूरी चार देखि ६ फिट हुनुपर्छ ।’  

बिरुवा बढेर माथि जाओस् भनेर धागो वा डोरीको टेको दिन सकिन्छ । चमेली तथा मधुमालती भित्तामा लगाउन सकिन्छ । लाहुरे, सयपत्री, गुलाब, पिटोनिया, बनन्जा आदि भने छायामा रोप्नुपर्छ । यी जातका फूलहरूकै माग बजारमा बढी भएको नर्सरी व्यवसाय दाहालले बताए ।

बगैँचामा फूल रोपेपछि हरेक दिन बिहान र बेलुका गरी दिनमा दुईपटक जमिन चिसो हुने गरी पानी हाल्नुपर्छ । पानी हाल्दा बिरुवामा पानी जम्नु हुँदैन । फूलमा रोपेपछि केही दिनमै झारपात पलाउन थाल्छ । झारपात हटाएर फूलको गोडमेल गरिरहनुपर्छ ।  

हेज

बगैँचालाई आकर्षक देखाउन बार अर्थात् हेज लगाउन सकिन्छ । हेजलाई ठाउँ छुट्याउन, विभिन्न आकृति, सिमाना, किनारा तथा पर्खाल बनाउन प्रयोग गरिन्छ ।

बगैँचा निर्माणका लागि प्रशस्त ठाउँ छ भने हेज लगाउनु उपयुक्त मानिन्छ । यसले बगैँचालाई आकर्षक बनाउँछ । बगैँचामा हेज लगाउने भए त्यो दुईदेखि तीन फिट अग्लो तथा सवा फिट चौडाइ हुनुपर्छ । यसलाई पानी पर्नुभन्दा पहिले रोप्नुपर्छ । नर्सरीबाट १० इन्च लामो हेज खरिद गर्न सकिन्छ । यसलाई दोहोरो लाइन बनाएर रोप्नुपर्छ । हेजमार्फत बगैँचालाई पार्टेसन गरी नयाँ स्वरूप प्रदान गर्न सकिन्छ । जेठ–असार हेज बनाउने उपयुक्त महिना मानिन्छ ।

बगैँचामा रूख  

फूलसँगै बगैँचामा ठाउँ भएमा विभिन्न जातका रूख रोप्न सकिन्छ । गर्मीमा शीतलता दिनुका साथै फल प्राप्त गर्न सकिने भएकाले बगैँचामा  रूख लाभदायी हुन्छ । बगैँचाको क्षेत्रफलअनुसार विभिन्न प्रजातिका रूख रोप्न सकिने नर्सरी व्यवसायी दाहालले बताए । उनका अनुसार धुपीको रूखले बगैँचालाई आकर्षक बनाउँछ । ‘तीन प्रजातिका धुपीका रूखहरू बगैँचाको ‘सो’ प्लान्टका रूपमा प्रयोग गरिएको पाइन्छ,’ उनले भने, ‘गोल्ड फिस, मयुर पंखी र लन्डन धुपी सो प्लान्टअन्र्तगत पर्छन् ।’  

त्यस्तै, बगैँचामा मौसम र माटो सुहाउँदो फलफूल पनि लगाउन सकिन्छ । चिसो ठाउँमा सुन्तला, अम्बा, कागती लगायत र गर्मी ठाउँमा नरिवल, आँप, लिची जस्ता फलफूल लगाउन सकिने दाहाल बताउँछन् ।  

रूख रोप्ने विधि

बगैँचामा रूख रोप्न एक मिटरको खाल्डो एक हप्ताअघि नै खन्नुपर्छ । फल रोप्ने क्षेत्रफलअनुसार खाल्डोलाई प्रांगारिक मल र माटोले भर्नुपर्छ । त्यसको एक हप्तापछि मात्र पानी नजम्ने गरी करिब १२ फिटको अन्तरमा बिरुवा रोप्नुपर्छ । बिरुवा रोप्दा माटोमा भएका ढुंगा लगायत अनावश्यक वस्तु फाल्नुपर्छ । बिरुवा रोपेपछि हरेक दिन बिहान–बेलुका गरी दिनमा दुईपटक बिरुवामा पानी हाल्नुपर्छ ।  

बगैँचाको सजावट

फूलले बगैँचालाई सुन्दर बनाउँछ । फूलसँगै बगैँचालाई कार्पेट दुबो र आकर्षक ढुंगाहरूले सजाउन सकिन्छ । विभिन्न खालका फर्निचर, बर्ड–बाथ तथा बर्ड–हाउस, डेकोरेटिभ लाइट्स, विन्ड चाइम्स, वाटर फाउन्टेन, स्ट्याच्यु, गार्डेन स्टेक्स, गार्डेन विन्डमिल्स सामग्रीले बगैँचालाई थप आकर्षक बनाउँछ ।  

घरलाई सुन्दर बनाउन बगैँचाको भूमिका महŒवपूर्ण हुन्छ । वनस्पति तथा रंगीबिरंगी फूलले ढकमक्क फुलेको बगैँचाले घरको सुन्दरता र मानसिक स्थितिमा सकारात्मक प्रभाव पार्छ  । यसकारण फुर्सदको समय सदुपयोग गरेर बगैँचा निर्माण तथा बगैँचाको स्याहार गर्न सकिन्छ ।  

कौसीमा बगैँचा

घरको छत र कौसीमा फूल रोप्ने क्रम बढ्दै गएको छ । फूलप्रेमीले फूलबारीको अभावका कारण घरको छत–कौसीमा फूल रोप्ने गरेका छन्  । फूल रोप्नलाई गमलासँगै अन्य सामान प्रयोग गरिन्छ । घरमा खेर जाने सिमेन्टका बोरा, पानीका जारदेखि पानीका बोतललाई गमलाका रूपमा प्रयोग गर्न सकिन्छ । छत र कौसीमा रोपिने फूल धेरै झाँगिने खालका हुँदैनन्  । त्यसकारण गमलामा रोप्ने फूलहरूको छनोट गर्न उपयुक्त हुन्छ ।  

सयपत्री : भनिन्छ, सयपत्रीलाई १७औं शताब्दीदेखि बगैँचा लगाउन थालिएको हो । सयपत्रीलाई बगैँचादेखि कौसी र छतमा रोप्न सकिन्छ । यसका विभिन्न प्रजाति हुन्छन् । यसलाई घामपानीको मात्रा मिलाएर रोप्नुपर्ने हुन्छ । यो ग्रीष्म ऋतुमा फुल्छ, तर यसलाई सदाबहार फुलाउन सकिन्छ ।  

जिनिया : जिनिया फूललाई धेरै ठाउँ नचाहिने हुँदा गमलामै सजाउन सकिन्छ । चार–पाँच किसिमका रंगमा जिनिया पूmल पाइन्छन्  । यसलाई घर–आँगन र कट–फ्लावर्सका रूपमा थुँगा बनाएर सजाउन सकिन्छ ।  

पिटुनिया : पिटुनिया फूल ४–२० इन्चको हुने भएकाले गमलामा राखेर घरको छत र कौसीमा फुलाउन सकिन्छ । पिटुनिया विभिन्न किसिम र रंगका हुन्छन् । पिटुनिया लहरे, सादा र गुजमुज्ज परेका बहुपत्रे पनि हुन्छन् ।

साल्बिया : साल्बियालाई गमलादेखि बगैँचासम्म रोप्न सकिन्छ । यो फूल घरको कौसीमा निकै आकर्षक देखिन्छ । यसका विभिन्न प्रजाति हुन्छन् ।  

फ्युसिया : फ्युसिया फूललाई बगैँचादेखि गमलामा सहजै फुलाउन सकिन्छ । यो रातो, गुलाबी, नीलो र बैजनी रंगको हुन्छ । यो फूल घन्टी आकारमा झुप्प भएर फुल्छ ।

जिरेनियम : जिरेनियमलाई घरको छत–कौसीमा सदाबहार फुलाउन सकिन्छ । जिरेनियम विभिन्न प्रजातिका हुन्छन् । यो रातो, पहेँलो, नीलो, बैजनी लगायत रङको हुन्छ । 

प्रकाशित: ३० वैशाख २०७७ ०७:५६ मंगलबार

लकडाउन