२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १४:४९ अपराह्न
स्वास्थ्य

वायु प्रदूषणले खतराको तह पार गर्‍यो, ‘मर्निङ वाक’ ले बढाउँछ रोग: डा. श्रेष्ठ

'वायु प्रदूषणले मुटु रोगीहरूलाई उच्च जोखिम'

केही दिनयता वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकाका बासिन्दाहरू रुघाखोकी, घाँटी खसखसाउने, आँखा पोल्ने र श्वासप्रश्वासको समस्यासहित अस्पताल पुगिरहेका छन्। 

संयुक्त राष्ट्रसङ्घको वातावरणसम्बन्धी निकाय ‘युएनईपी’ का अनुसार वायु प्रदूषणले विश्वभर हरेक वर्ष ७० लाख मानिसको ज्यान लिने गरेको छ। काठमाडौंमा वायु प्रदूषणबाट मृत्यु भएको घटना सार्वजनिक नभए पनि अहिले यस्ता समस्यासँग अस्पताल पुग्ने बिरामीको संख्या बढेको छ।  

अल्का अस्पतालका छाती रोग विशेषज्ञ डा. अहिस श्रेष्ठले पछिल्ला दिनमा आँखा, नाक, कान, घाँटी र श्वासप्रश्वासको समस्या लिएर अस्पताल आउनेको भीड बढेको बताए। छातीको समस्याले कतिपय बिरामीलाई आइसियुमा राख्नुपरेको उनको भनाइ छ। उनले वायु प्रदूषणले मुटुमा असर गर्ने र हृदयघातको जोखिम बढाउने बताए।  

उनले भने, ‘प्रदूषणले बिरामीको चाप अस्पतालमा बढिरहेको छ। खासगरी श्वासप्रश्वासको समस्या लिएर धेरै आउँछन्। आँखा, नाक, कान, घाँटी र छालाको समस्या पनि देखिएको छ। घाँटी खसखसाउने, आँखा पोल्ने र आँशु आउने गुनासो लिएर बिरामी आएका छन्। छातीको संक्रमण भएका बिरामी धेरै छन्। केहीलाई आइसियुमा राख्नुपरेको छ। आइसियुमा पनि बिरामीको चाप बढेको छ। वायु प्रदूषणले हृदयघातको सम्भावना बढाउँछ भन्ने अध्ययनले देखाएको छ। अरू अस्पतालका डाक्टरहरूको कुरा सुन्दा मुटु रोगीको संख्या पनि उत्तिकै बढेको छ।’
  
डा. श्रेष्ठले वायु प्रदूषणले वृद्धवृद्धा, बालबालिका, गर्भवती, सुत्केरी र दीर्घरोगीहरूलाई ठूलो जोखिममा पारेको बताए। मुटु, मिर्गौला र श्वासप्रश्वासका रोगी पनि खतरामा छन्। उनले अहिलेको जटिल अवस्थामा बिहान हिँड्ने बानी रोक्नुपर्ने सुझाए। ‘मर्निङ वाक’ ले झन् रोग निम्त्याउने भन्दै घरमै बसेर व्यायाम गर्न उनको सल्लाह छ। हिँड्नु नै व्यायाम हो भन्ने सोचबाट अहिले टाढा रहनुपर्ने उनले बताए।  

उनले भने, ‘उमेरको कुरा गर्दा वृद्धवृद्धा र बालबालिका सधैँ जोखिममा हुन्छन्। गर्भवती, सुत्केरी र मुटु, मिर्गौला, श्वासप्रश्वासजस्ता दीर्घरोगी पनि उच्च जोखिममा छन्। यस्ता मानिसले बच्नुपर्छ। हामी स्वस्थ हुन मर्निङ वाक गर्छौं, तर अहिले बाहिर हिँड्दा झन् बिरामी भइन्छ भने त्यसको के अर्थ? त्यसैले अहिलेको अवस्थालाई गम्भीर रूपमा लिनुपर्छ। बाहिर हिँड्नु खतरनाक छ। हिँड्नैपर्ने भए घरको कोठामा हिँड्न वा व्यायाम गर्न सकिन्छ। हिँड्नु मात्रै व्यायाम हो भन्ने सोच्नुहुँदैन।’  

डा. श्रेष्ठले वायु प्रदूषणले खतराको सीमा नाघेकाले सरकारले जनस्वास्थ्यलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने बताए। स्वास्थ्य विशेषज्ञहरूसँग छलफल गरेर ठोस कदम चाल्नुपर्ने उनको भनाइ छ।  

उनले भने, ‘सरकारले जनस्वास्थ्यको चासो राख्छ भने यसबारे सोच्नुपर्ने बेला भइसक्यो। सरकारी निर्णय के हुन्छ, त्यो हेर्न बाँकी छ। तर वायु प्रदूषणले खतराको तह पार गरिसकेकाले केही न केही कदम चालिन्छ भन्ने लाग्छ। यो विशेषज्ञहरूसँग बसेर सरकारले गर्ने निर्णयको कुरा हो, तर व्यक्तिगत रूपमा मलाई यो अवस्था गम्भीर लाग्छ।’  

डा. श्रेष्ठले वायु प्रदूषण बढ्दै गएकाले नियमित औषधि खाइरहेका दीर्घरोगीले समय-समयमा स्वास्थ्य जाँच गर्नुपर्ने बताए। सन्तुलित र पोषिलो खानामा जोड दिनुपर्ने उनको सुझाव छ। बाहिर हिँड्नैपर्ने अवस्थामा मास्क लगाएर जोखिम कम गर्न सकिने उनले बताए।  
डा. अहिस श्रेष्ठ, छाती रोग विशेषज्ञ, अल्का अस्पताल
न्युज एजेन्सी नेपाल
 

प्रकाशित: २३ चैत्र २०८१ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App