सरकारले पछिल्लो समय घोषणा गरेका एक सय उत्कृष्ट पर्यटकीय गन्तव्यमा सिन्धुपाल्चोकका दुई ठाउँ छानिएका छन्–हेलम्बू र पाँचपोखरी । करीब ७५० मिटरदेखि महाभारत पर्वत हुँदै सात हजार मिटर अग्लो हिमाली श्रृंखलाले सिन्धुपाल्चोकको सौन्दर्य बढाएको छ । भौगोलिक, जैविक, धार्मिक, सांस्कृतिक जस्ता विविधता तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिन्धुपाल्चोकका उत्कृष्ट पर्यटकीय गन्तव्य अरू पनि छन् ।
आफ्नो घुमन्ते बानी । तलतल मेटाउन बिदाको सदुपयोग गर्न तीन दिने यात्राका लागि साइकल लिएर हेलम्बू जाने तयारीमा लाग्यौं । राजिव थापा, उमेश ढुंगाना र मनिक राईका साथमा । राजिव गोकर्णेश्वर नगरपलिका–९ का वडाध्यक्ष, उमेश लेखाव्यवसायी र मनिक रेस्टुराँ संचालक । तीनै जना साइकलयात्राको सौखिन ।
पहिलो दिन
हेलम्बूका जान साँखु, जहरसिंह पौवा, मेलम्ची हुँदै जाने रुट रोजियो । खाजा विश्रामका लागि साँखु बजारको पुरानो मिठाई पसलमा रोकियौं । शरीरलाई चाहिने इन्धन हलुवापुरी र तरकारी भरेर लप्सेफेदी हुँदै जहरसिंह पौवातर्फ उकालियौं । तिब्बत जाने पुरानो व्यापारिक नाका हो जहरसिंह पौवा । पहिले यहाँ एउटा माने थियो । व्यापारिक घरानाका परिवारका सदस्य भोट जाने आफन्त बिदाई र स्वागत गर्न आउँथे । बिदाई गर्दा आफन्तलाई अनिष्ट नहोस् भनेर बत्ती बाल्थे । त्यो ऐतिहासिक माने मासिएको रहेछ ।
जहरसिंह पौवाबाट मेलम्ची जाने दुइटा मुख्य बाटा छन् । नाङलेभारे हुँदै भोटेचौर, काउले दोभान हुँदै बाहुनीपाटी निस्कने । नाङलेभारेको बाटो छोटो छ । दिन धुम्मिएकोले हिमाल हेर्न पाइएन । तर वातावरण स्वच्छ र सुन्दर । साना रसिला थुम्कामा पहेंलपुर तोरी र हरियो गहुँ खेतीको दृष्यले भने रोमाञ्चित बनाइरहयो । मध्यान्हमा मेलम्ची पुग्यौं । जोरपाटीबाट साँखु, जहरसिंह पौवा, नाङलेभारे, बाहुनेपाटी हुँदै मेलम्ची (८,०० मिटर) पुग्दा करीब ४५ किमि बाटो काटियोे ।
पाल्चोकमा जयवागेश्वरी मन्दिर छ । हरेक बिहान आठ बजे नित्य पूजा सकेपछि दर्शनार्थीका लागि खुल्ला हुन्छ । यिनको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ ।
मेलम्चीमा धेरै पानी बग्यो । अहिले त मेलम्ची बजारको रूपै फेरिएको छ । मौलिक संस्कृति बोकेका संरचना विस्थापित भैसके । त्यसो त २०७२ सालको भूकम्पले सिन्धुपाल्चोकका अधिकांश संरचना तहसनहस पारेको थियो ।
भनेको समयमै मेलम्ची पुगियो । आफ्नो धुनमा सुसाउँदै मेलम्ची सुनकोशीतिर हामफाल्दै थियो । मेलम्ची पुगेपछि माछा खाने कुराले जो कोहीको मुख रसाउँछ नै । मेलम्ची बजारको भोजनालयमा आइटमआइटमका माछाको परिकार पाइन्छ । हामी पनि माछाका परिकारसँगै दिवाभोजमा रमायौं ।
मेलम्ची नगरपालिका बाग्मती प्रदेशको सिन्धुपाल्चोकमा पर्दछ । मेलम्ची धेरैतिरको सडक यातायातले जोडिएको छ । अरनिको राजमार्ग हुँदै पाँचखाल जिरोकिलोबाट पनि मेलम्ची पुग्न सकिन्छ । करीब एक सय ६० वर्ग किमि क्षेत्रफल ओगटेको नगरपालिकाको पश्चिममा काठमाडौंको शंखरापुर नगरपालिका, नुवाकोटको शिवपुरी गाउँपालिका, पूर्वमा इन्द्रावती गाउँपालिका, उत्तरमा हेलम्बू र दक्षिणमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकाले घेरिएको छ ।
दिवाभोजपछि हामीले यात्रालाई निरन्तरता दियौं । दुई पहाडबीचबाट छङछङ बगिरहेको कञ्चन पानी । नदी किनारैकिनार हिँडेको बाटो । रसिला हरिया फाँटका बीचबीचमा पहेँलपुर तोरी । तोरीको मगमगाउँदो वासना । मनमा मन मिलाउँदै आफन्तसित जति बसे धीत नमर्ने स्वर्गीय ठाउँ । खेतैभरि तरेली परेका गहुँको बाला, तोरी र तरकारी । संसार भुलाउँछ सुन्दरताले । प्राकृतिक सौन्दर्यमा किसानका पौरखले अझ निखार ल्याएको छ ।
मेलम्चीबाट हेलम्बूको कुन ठाउँ जाने यकिन गरेर उकालो लाग्दा बेस । हेलम्बू ठूलो क्षेत्र हो । हेलम्बू गाउँपालिकामा राष्ट्रिय गौरवको भनिने मेलम्ची खानेपानी आयोजनाको मुहान पर्छ । हेलम्बू, किउल, पाल्चोक, महांकाल र इचोक गाउँ विकास समितिहरू मिलाएर हेलम्बू गाउँपालिका निर्माण भएको हो । यसको उत्तरतर्फ रसुवा जिल्ला, दक्षिणतर्फ मेलम्ची नगरपालिका, उत्तरपूर्वमा पाँचपोखरी थाङपालधाप गाउँपालिका र पश्चिमतर्फ नुवाकोट पर्दछन् ।
हेलम्बू पर्यटकीय आकर्षण केन्द्र । पर्यटन व्यावसायका दृष्टिले प्रसिद्ध रमणीय स्थान, मनमोहक हिमाली दृश्य, ह्योल्मो, शेर्पा, तामाङ आदि बौद्धर्मीको जीवनशैलीले आकर्षित गर्छ । हेलम्बूमा ठूल्ठूला गुरुले ध्यान गरेर सिद्धि प्राप्त गरेका थिए ।
बाटोको संजालले यात्रीलाई अलमलाउँछ । हाम्रो पहिलो दिनको गन्तव्य सेर्माथाङ । मेलम्चीबाट विभिन्न रुट भएर सेर्माथाङ पुग्न सकिन्छ । मेलम्चीबाट तिम्बु हुँदै सेर्माथाङ । मेलम्चीबाट दुवाचौर, ककनी, रैथाने घ्याङ, गुरु रिम्पोचे पार्क हुँदै सेर्माथाङ ।
मैले पाल्चोक हुँदै सेर्माथाङ जाने निधो गरें । सुन्दरतामा रम्दै करीब ६ किमि तेर्सो लागेपछि तालामाराङ बजार पुगिन्छ । तालामाराङबाट तीन किमि जति हिँडेपछि ग्याल्थुम बजार पुगिन्छ । सेरा हँुदै रातोपुल तरेर दायाँतर्फ लागे पाल्चोक बाँयातर्फ पाँच किमि अगाडि तिम्बु पुगिन्छ । तिम्बु जाने बाटो तेर्सो छ । रातो पुलबाट दायाँ हुँदै उकालोको चुनौती सामना गर्दै पाल्चोक पुग्न डेढ घण्टा जति लाग्यो । पाल्चोकमा जयवागेश्वरीको मन्दिर छ । हरेक बिहान आठ बजे नित्य पूजा हुन्छ । नित्य पूजापछि दर्शनार्थीका लागि मन्दिर खुल्ला गरिन्छ । विभिन्न उत्सवपर्वमा भक्तजनको भीड लाग्छ । जयवागेश्वरी मन्दिर करीब १५४० मिटर उचाइमा छ ।
मेलम्चीबाट १७ किमि जतिमा जयवागीश्वरी छ । वागीश्वरीको दर्शनपछि हाम्रो साइकलयात्रा ककनीतर्फ लाग्यो । मन्दिरबाट करीब एक घण्टा उकालो चढे ककनी पुगिन्छ । ककनी यस भेगको बजार क्षेत्र हो । ककनीबाट दायाँतर्फ ओरालो लागे दुवाचौर हुँदै मेलम्ची पुगिन्छ । रैथाने घ्याङ पुग्न ककनीबाट उकालो लाग्नुपर्छ ।
थाक्दो शरीर । छिप्पिँदो साँझ । टम्मै हुस्सुले ढाकेका डाँडा । चुनौती धेरै चुलिए । रैथाने पुगेपछि देखियो ठूलो घ्याङ । रैथाने कि सेर्माथाङ बस्ने द्विविधा छायो मनमा तर सेर्माथाङ गन्तव्य, जसरी पनि पुग्नै प¥यो । अँध्यारो छिप्पिँदै गयो । यात्रा निरन्तर जारी रह््यो । बाटोको सन्जालले धेरै अन्योैल खडा ग-र्याे । बाटो बिराउँदै, फर्कदै रैथानेबाट सेर्माथाङ पुग्दा रातको आठ बज्यो । रैथाने कटेपछि सेर्माथाङसम्मको बाटो तेर्सैतेर्सो रहेछ । आठ सयदेखि दुई हजार पाँच सय साठी मिटर चढ्न हामीले निकै हैरानी बेहोर्नु प-यो ।
स्थानीय मित्र गोपाल लामाले स्नोफल माउण्टेन रिसोर्टमा खानेबस्ने प्रबन्ध गरिदिएका थिए । पहिलो दिनको हाम्रो यात्राले उक्त रिसोर्ट पुगेर विश्राम लियो ।
दोस्रो दिन
दोस्रो दिनको यात्रा बिहानको खाजा खाएपछि शुरू गरियो । भूकम्पले क्षति पु¥याएको सेर्माथाङ गुम्बाको पुनः निर्माण अझै बाँकी छ । गाउँ र गुम्बाको छोटो घुमफिरपछि हामी गन्तव्यतर्फ लाग्यौं । अबको गन्तव्य तार्कीघ्याङ ।
हामी सेर्माथाङबाट छिमी गाउँतर्फ लाग्यौं । यात्रामा जताततै घ्याङ, गुम्बा, माने भेटिन्छन् । छिमी गाउँ बाक्लै छ । सेर्माथाङबाट छिमी हुँदै घाङग्युल करीब ६ किमि दूरीमा छ । सेर्माथाङबाट घाङग्युल जोड्ने सडक बनिरहेको छ । थोरै मात्र जोड्न बाँकी छ । साइकल काँधमा राखेर सय मिटर जति पहिरो पार गर्नुपर्छ । पहिरो पार गरेपछि सबैले थोरै भए पनि साहसिकताको मज्जा लियौं ।
पर्यटकका लागि खाने र बस्ने पर्याप्त सुविधा भएकाले घाङग्युलको बस्ती बाक्लो छ । गाँउमा होटल, लज र होमस्टे छन् । हामीले डोल्मा होटलमा चिया खाँदै विश्राम लियौं । चिया, खाजा खाँदै गर्दा संचालक काजी लामाले अनुभव सुनाए । पहिले जस्तो पर्यटकको चहलपहल छैन । सुनसान जस्तै भएको छ । गाडीको बाटो खुल्यो । पदयात्राको आकर्षण घट्यो । पहिले सिजनका बेला विदेशी पदयात्रीको धुइरो लाग्थ्यो । यतिबेला हप्ता दश दिनमा ससाना समूह आउँछन् । अहिलेका पाहुनाहरू चाहिने चीजबीज किन्न पनि हिचकिचाउँछन् । आन्तरिक पर्यटकमा प्रायः विद्यार्थी आउँछन् ।
घाङग्युलबाट करीब चार किमिमा घोचेलिङ अर्थात् सेतो घ्याङ छ । घोचेलिङ पनि भूकम्पले क्षतिग्रस्त छ । घोचेलिङबाट करीब डेढ किमि तेर्सो बाटो गएपछि तार्केघ्याङ (करीब २५६० मिटर) उचाइमा छ । तार्कीघ्याङ लगायत वरपरको वस्ती भूकम्पपछि उठ्न सकेको छैन । हामी पुग्दा जस्ताले बारबेर गरेको गुम्बामा पूजा चलिरहेको थियो ।
तार्कीघ्याङबाट साइकलमा मेलम्चीघ्याङ पुगिन्छ । मेलम्चीघ्याङ जान करीब एक किमि बाटो फर्केर आउनुपर्छ । दायाँ ओह्रालो बाटो भएर नाकोते पुगिन्छ । नाकोतेबाट दुई घण्टा जति उकालो लागे छि मेलम्चिघ्याङ पुगिन्छ । तार्कीघ्याङबाट यात्रा छोटो बनाउन दुई बाटा छन् । ककनी हुँदै तिम्बु झर्ने वा नाकोते हुँदै तिम्बु बगर झरेर मेलम्ची फर्कने ।
हेलम्बू गाउँपालिकाको माथिल्लो भेगमा ह्योल्मो र शेर्पा जातिको बाहुल्य छ । तल्लो भेगमा तामाङ, क्षेत्री, बाहुन लगायतका मिश्रित समुदाय छन् । हेलम्बू पर्यटकीय आकर्षण केन्द्र हो । मनमोहक हिमाली दृश्य, ह्योल्मो, शेर्पा, तामाङ आदि बौद्धमार्गीका रहनसहन, रीतिरिवाजले पर्यटक आकर्षित गर्छ । हेलम्बूको माथिल्लो भेगका बासिन्दाको मुख्य पेशा कृषि र पर्यटन हो । हेलम्बूको माथिल्लो भेगमा परम्परागत जातका आलुमुला उत्पादन हुन्छ । धार्मिक पर्यटनका लागि पनि प्रसिद्ध छ हेलम्बू । हेलम्बूमा ठूला गुरुले ध्यान गरेर सिद्धि प्राप्त गरेको स्थानीय बताउँछन् ।
तार्कीघ्याङबाट नाकोते ओह्रालो लाग्दा पातलो बस्ती भेटिन्छ । सुन्दरताको दृष्यपान गर्दै ओह्रालोमा हुइँकिनुको मज्जा बेग्लै । नाकोते पुग्दानपुग्दै पानी पर्न थाल्यो । मेलम्चीघ्याङको योजना थाती राख्नुको विकल्प भएन । नाकोतेबाट खार्चुङ, पाङगाङ, दोरिङ, बगर, तिम्बू हुँदै किउलको भण्डारी ट्राउट रिसोर्ट पुगेर यात्राले विश्राम लियो ।
तेस्रो दिन
तेस्रो दिन, बिहानीको खाजा अलि ढिलै खायौं । मेलम्ची तिम्बूदेखि करीब १५ किमि टाढा छ । रातो पुलबाट पहिलेकै बाटो दोहोरीयो । अधिकांश हल्का ओह्रालो । तिम्बूबाट बाहुनीपाटी करीब २० किमि । बाहुनीपाटीबाट १४ किमि उकालो लागेपछि पिप्ले पुगिन्छ । यहाँबाट पाटीभञ्ज्याङ वा चिसापानी जान सकिन्छ । मेलम्चीको पानी ल्याउने सुरुङ पिप्ले हुँदै सुन्दरीजल लगिएको छ ।
काठमाडौं पुग्न काउले दोभान, जैसी गाउँ, भोटेचौर, गाउँ, भोटेचौर, चौकी भञ्ज्याङ हुँदै जहरसिंह पौवातर्फ लाग्नुपर्छ । यो बाटामा थकान महसुस हुँदैन । प्रकृतिमा रमाउन चाहनेहरूका लागि हातगोडा चलुञ्जेल हिँडिरहूँ लाग्छ । भिरालो जमिनमा पौरखी हातले सजाएका खेतका सुर्का लोभलाग्दा देखिन्छन् । काउले दोभानबाट १० किमि जति उकालो लागेर करीब ५ किमि तेर्सो लागेपछि जहरसिंह पौवा पुगिन्छ । तेस्रो दिनको चुनौतीपूर्ण खण्ड टारियो । हुन पनि करीब ८०० मिटरबाट झण्डै १९०० मिटरको उचाइसम्म लगातार उकालो छ । जहरसिंह पौवाबाट जोरपाटी करी २० किमि । अर्को गन्तव्य खोज्ने गरी हामी जोरपाटीबाट छुट्टियौं ।
प्रकाशित: १९ वैशाख २०७७ १२:५४ शुक्रबार