३ कार्तिक २०७८ बुधबार
अन्य

फिटनेसको सनक पनि एउटा खतरा हो

मोया लोथियन म्याकलिन
होम सिन्सियर
बिबिसी वर्कलाइफ

इन्स्टाग्राम या फेसबुकमा दैनिक स्वास्थ्य सम्बन्धी अनेकन टिप्स दिने, कसरत सिकाउनेको एउटा ठूलै जमात छ । त्यो जमातबाट संसारभर लाखौँ मानिस प्रभावित पनि छन् । उनीहरुजस्तै बन्ने र देखिने रहरले कयौँ मानिसहरु पसिना बगाउँछन् र सोसल मिडियामा आफ्ना तस्बिर सेयर गर्छन् ।

हिजोआज त्यस्ता सामाजिक सञ्जालमा ह्यासट्याग फिट्सपिरेसन अर्थात् फिटनेस र इन्स्पिरेसनको संयुक्त अक्षर निकै चल्तीमा छ । इन्स्टाग्राममा प्रभाव भएका केही हस्ती र तिनका लाखौं फलोअरहरुले फिट्सपिरेसन ह्यासट्यागलाई हालै एक करोड ८० लाख पटक प्रयोग गरेका थिए ।

फिट रहनका लागि शारीरिक कसरत र सन्तुलित भोजन दुवै आवश्यक छ तर फिटनेसको सनकमा लागेका कतिपय भोकै बस्ने पनि उत्तिकै छन् । यसले भविष्यमा निकै नराम्रो मूल्य चुकाउनुपर्ने चिकित्सकहरुको धारणा छ ।

सेडौल मांसपेसीहरु र एब्सका लागि कम क्यालोरीयुक्त खाना खाने र बढीभन्दा बढी वर्जिस गर्ने सनक एक किसिमको रोग नै हो । यस किसिमको रोगलाई नर्वोसा भनिन्छ । इन्स्टाग्राममा फिट्सपिरेसनको पागलपन चलाउनेहरुमा यो रोगको लक्षण बढीभन्दा बढी देखिएको छ ।

जुनूनको रोग
अर्थोरेक्सिया नर्वोसाको उपचार गरिएन भने यसले कुपोषण र मानसिक स्वास्थ्यकै सबैभन्दा जटिलता जन्माउने विज्ञहरु बताउँछन् । यस किसिमको रोगबाट पीडित व्यक्तिको सनकपूर्ण व्यवहारको शिकार आफू मात्र बन्ने नभई अरुलाई पनि बनाउने गर्छ । यस्ता मानिसको जीवनको गुणवत्ता कम हुन थाल्छ ।

एक पटक यो रोगको शिकार भइसकेको मानिसलाई यसबाट निस्कन निकै लामो समय लाग्छ र पूर्ण रुपमा ठीक हुञ्जेलसम्म पटक पटक स्वास्थ्य बिग्रने खतरा रहिरहन्छ । सन् २०१७ मा विश्वविद्यालय कलेज लन्डनका वैज्ञानिकहरुले शोधमा जो इन्स्टाग्राममा बढी सक्रिय रहन्छ, तिनमा अर्थोरेक्सिया हुने खतरा बढी हुने पत्ता लगाएका छन् । इन्स्टाग्रामबाहेक अन्य सामाजिक सञ्जालमा जोडिएकाहरुमा भने अर्थोरेक्सियाको प्रमाण देखिएको थिएन ।

इन्स्टाग्रामको रोग
कम क्यालोरी खानेलाई प्रायः स्वस्थकर भोजन भनिन्छ तर यस्ता भोजन प्रति पागलपन बढाउने प्रभावशाली व्यक्तिहरुका फलोअरहरुमा भने यस किसिमको रोग देखिएको छ । क्यानडाकी फिटनेस इन्फ्लुएन्सर जेन ब्रेट अर्थोरेक्सियाको शिकार भइसकेकी छन् । यतिबेला उनी बल्ल यो रोगबाट निस्कने क्रममा छिन् ।

जेन ब्रेटलाई चार लाख ५० हजारभन्दा बढी मानिसले फलो गर्छन् । उनी ट्वीटरमा लेख्छिन्, ‘फिटनेसको अर्थ हरेक दिन वर्जिस गर्ने र सलाद मात्र खाइराख्ने होइन है !’

अर्थोरेक्सिया नर्वोसाका अतिरिक्त एनोरेक्सिया नर्वोसा पनि एउटा रोग हो । यस रोगमा मानिस भोक लाग्दा पनि खाना खाँदैनन् किनभने उनीहरुलाई वजन बढ्ने चिन्ताले सताइरहेको हुन्छ । इन्स्टाग्राम कयौँ कारणले अर्थोरेक्सिया र एनोरेक्सिया दुवै बढाउनका लागि जिम्मेवार छ ।

फिट देखिने सनक
इन्स्टाग्राम एउटा भिजुअल प्लेटफर्म हो । यहाँ सबै कुरा तस्बिरहरुमा देखिन्छ । तस्बिर देखिने भएकाले सबै कुरा तुलना गर्न सहज हुन्छ । तस्बिरहरुका आधारमा गएको साता या एक महिनामा कति प्रगति भयो, एक निमेषमै थाहा हुन्छ ।

जेन ब्रेट भन्छिन्, ‘पर्दापछाडि कसैले पनि के भइरहेको छ भन्ने थाहा पाउँदैन । अगाडि स्क्रिनमा जे देखिएको छ, त्यहाँ देखिएका केही सीमित सुडौल तस्बिर मात्र देखिन्छ र मानिस त्यसैलाई मात्र विश्वास गर्छन् ।’ इन्फ्लुएन्सर जस्तो भन्छन्, तिनका फलोअरहरु त्यस्तैमा विश्वास गर्छन् र तिनीहरुजस्तै बन्ने प्रयास गर्छन् । तर वास्तवमा उनीहरु भने कुनै स्वस्थ बानी भने अपनाउँदैनन् । यसको उल्टो असर हुन्छ ।

सार्वजनिक चर्चामा माटोपनलाई गम्भीर समस्या मानिन्छ तर अर्थोरेक्सिया र फिटनेसको लतलाई त्यति महत्व दिइँदैन । यसका बारेमा पनि उति धेरै चर्चा भएको पाइँदैन । यसका पछाडिको कारण के हुन्छ भने पीडित व्यक्ति बाहिरबाट स्वस्थ र सुडौल त देखिन्छ तर उसभित्रको समस्या भने देखिदैन । न त उसले यो समस्याबारे नै कहिल्यै केही बोल्छ वा लेखिरहेको हुन्छ । उसमाथि इन्स्टाग्राममा त्यस्तै उम्दा देखिनुपर्ने बाध्यता थपिइरहेको हुन्छ । जसका कारण ऊ सत्य बोल्न पनि डराइरहेको हुन्छ ।

हेर्दा फिटनेसको सनक तपाईंलाई हानिकारक नलाग्न सक्छ । तपाईंलाई फिटनेसको सनक स्वस्थकर बानी लाग्न सक्छ तर सनक भनेको कुनै पनि अवस्थामा राम्रो कुरा चाहिँ होइन है !

प्रकाशित: २८ चैत्र २०७६ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App