७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

प्रहरीले लखेट्दा प्रधानपञ्चको घर पुगेपछि...

तस्बिर : कृष्पा श्रेष्ठ

झोलाभरि पर्चा, मनभरि बहुदलीय प्रजातन्त्र आउनुपर्छ भन्ने दृढ अठोट । राजनीतिक दलहरुलाई प्रतिबन्धित गरेको कठोर पञ्चायती शासन व्यवस्था भए पनि रोकिएनन् उनका पाइला अनि रोकिएनन् मनभित्रका सपना । सपना पनि यस्तो कि जातकै आधारमा, धर्मकै आधारमा, लिंगकै आधारमा कोही पनि कसैबाट अपहेलित र शोषित हुन नपरोस् । त्यसैले त प्रहरीको गिरफ्तारीको कुनै प्रवाह नगरी साथीहरुसहित लम्किए उनका पाइला काठमाडौंको थलितिर । ४५ सालको नाकाबन्दी र व्यवस्थाको विरोधमा लेखिएका पर्चा झोलाभरि बोकेर ।

थलिमा एउटा स्कुल थियो । त्यो स्कुल छुटेपछि उनी र उनका साथीहरु पर्चा बाँड्ने सुरुमा थिए । तर खै कसले प्रहरीलाई भन्दिएछ । प्रहरी स्कुलनेर आइपुग्यो । पर्चा बाँड्न गएका विद्यार्थीनेताको भागाभाग भयो । उनी पनि दौडिइन् बाँड्न ठिक्क पारेर राखेका पर्चा बोकेर । गहुँ बारीबारी बेतोडले कुँदिन् । प्रहरीले पछ्याउँदै थियो । उनको चप्पल चुट्यो त्यही बेला । गहुँबारीको छेउमा गाउँ थियो । उनी र उनको साथी एउटा घरमा लुक्न पसे तर त्यो घर त प्रधानपञ्चको रहेछ । लुकाउलान् भनी त्यो घर पसेका उनीहरु प्रहरीको पासोमा परे । उनी लगायतका साथीहरुलाई प्रहरीले गिरफ्तार गर्‍यो ।

बुबाकी एघारौं सन्तान
बिन्दा पाण्डे नेकपाकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सदस्य हुन् । नौ कक्षा  पढेदेखि नै राजनीतिमा होमिएकी उनी समसामयिक मुद्दामा केन्द्रित भएर सिमान्तकृत पछाडि पारिएको समुदायको आवाज सदनमा सशक्त ढंगले उठाइरहेकी छन् ।

२०२३ साल पुस १५ गते आमा विष्णुमाया पाण्डे र बुबा फत्तबहादुर पाण्डेको कोखबाट नुवाकोटमा उनको जन्म भयो । उनको बुबाको उनी ११ औं सन्तान हुन् । दुई बिहे गरेका उनका बुबाका १२ सन्तान भए । बिन्दाका ५ दिदी ५ दाइ र एक बहिनी छन् । ‘हामी धेरै दाजुभाइ दिदीबहिनी भए पनि सँगै भने भइएन,’ बिन्दाले भनिन्, ‘तीन दिदीको सँगै बिहे भयो दाइहरु पनि काठमाडौं आइसक्नुभएको थियो घरमा त म, बहिनी, भदा, भाउजू, बुबा र आमा मात्रै थियौँ ।’

घर नजिकै भैरवी माध्यमिक विद्यालय थियो । उमेरले ५/७ वर्ष पुगेपछि भने उनको यात्रा स्कुलमा भयो । ‘स्कुल जानुभन्दा पहिले बाख्रा गोठालो भइयो, बिन्दाले भनिन्, ‘पछि मात्रै हो स्कुल गएको ।’

उनकी दिदी पहिले नै स्कुल जाने भएकोले स्कुल जान भने समस्या परेन । स्कुल गए पनि बिहानसाँझ घाँस दाउरा मेलापात गर्नैपथ्र्याे । त्यतिबेला त स्कुल बनाउने ढुंगा पनि बिन्दाकै दामलीहरुले बोके । माटोले कक्षा कोठा लिपे । त्यतिबेला माटोको गाग्रीमा पानी ल्याएर राख्ने चलन थियो । पालैपालो स्कुलका लागि पानी पनि बोक्नुपथ्र्याे । ‘स्कुल बनाउनेबेलामा ढुंगा बोक्दा प्रतिस्पर्धा हुन्थ्यो,’ बिन्दा भन्छिन्, ‘समूहमा काम गथ्र्याँै कस्ले धेरै बोक्ने भनेर ढुंगा बोकेर छिटो छिटो कुथ्यौँ ।’

अखिलले बुझाएको विभेद
स्कुलमा हुने सिर्जनात्मक कार्यक्रममा बिन्दाको उपस्थिति राम्रो थियो । वक्तृत्वकलामा उनी भाग लिइरहन्थिन् । ३६ सालको जनमत सङ्ग्रहपछि विद्यार्थी राजनीति अझ चम्कँदै गाउँगाउँसम्म पुग्यो । बिन्दाको स्कुलमा पनि नपुग्ने कुरै भएन । उनको क्षेत्रमा अखिल पाँचौँ र छैटौँको प्रभाव ज्यादा थियो । उनी अखिल पाँचौँतिर लागिन् । ‘अखिल पाँचौँमा अलि बौद्धिक व्यक्तिहरु छन् भन्थे साथीहरु पनि त्यतै थिए हाम्रो स्कुलमा अखिल पाँचौँको प्रभाव धेरै थियो,’ बिन्दा भन्छिन्, ‘म पनि स्वाभाविक रुपमा त्यतै लागें ।’

अखिलका जिल्ला स्तरका नेताले महिला र पुरुषबीच विभेद कस्तो छ कसरी विभेद भइरहेको छ भन्ने कुराको विद्यार्थीलाई प्रशिक्षण दिन्थे । त्यतिबेलासम्म हुने साँस्कृतिक विभेद त बुझेकी थिइनँ तर समानताको कुरा थाहा थिएन । त्यो समयमा पनि उनी पिटी खेल्ने भएको कारण सर्ट र हाफपेन्ट लगाउँथिन् । कसैले कस्तो छोरामान्छे जस्तो बलियो, आँटिलो भन्दा मख्ख पर्थिन् । जसै उनले खास विभेद कहाँ छ भन्ने पत्तो पाइन् त्यसपछि भने छोरा मान्छे जस्तो भन्यो कि उनलाई मन पर्न छाड्यो ।

‘छोरी मान्छेलाई छोरी मान्छेकै अस्तित्वमा स्वीकार्न पर्छ भन्ने मान्यता गहिरो रुपमा मेरो मस्तिष्कमा प¥यो ।,’ बिन्दा भन्छिन्, ‘यो विभेद  हटाउन राजनीति गर्न पर्छ भन्ने लाग्यो अनि राजनीतिमा लागेँ ।’

छोरीमान्छे जुलुसमा
उनको कक्षामा छात्रा संख्या छात्रको तुलानामा थोरै नै हुन्थे । अतिरिक्त क्रियाकलापमा कमैले भाग लिन्थे झन् राजनीतिमा त कम हुने भइहाले । सभा सम्मेलन जुलुसमा महिला जाने चलन थिएन । ३६ सालमा काठमाडौंमा विद्यार्थी आन्दोलन भयो त्यसको असर गाउँगाउँमा पनि पर्‍यो । उनको गाउँमा ३६ सालमा हरिताल भयो भन्थे रे । हड्ताललाई उतिबेला हरिताल भनिन्थ्यो  ।

अखिलको एकताको पाँचौँ सम्मेलन काठमाडौंमा हुने भएको थियो । प्रतिनिधि भएर बिन्दालाई पनि काठमाडौँ जाऊँ भनेर अखिलका साथीहरुले नभनेका होइनन् । तर उनलाई घरमा सोध्ने त्यति आँट आएन । ७/८ मा पढ्दा बाबुआमाले जान दिनु हुन्छ कि हुन्न भन्ने डर उनलाई थियो । तर जसै काठमाडौंबाट सम्मेलन सकाएर उनका साथी फर्किए त्यो सम्मेलनमा उनका दाइ दिदी पनि पुगेको थाहा पाइन् । ‘त्यसपछि भने राजनीति गर्छु भन्ने आत्मविश्वास ह्वात्तै बढ्यो,’ बिन्दाले भनिन्

३७ सालमा उनको स्कुलबाट जुलुस निस्केको थियो । उनी पनि त्यो जुलुसमा सहभागी भइन् । कारण उनका दाजु राजुराज पाण्डे गिरफ्तारमा परेका थिए । घरमा उनी पुग्नुभन्दा अघि नै उनी जुलुसमा गएको समाचार घरमा पुगिसकेछ । उनी घरमा पुग्ने बित्तिकै उनका बाबुले भने, ‘छोरी मान्छे भएर पनि जुलुसमा जाने ? किन गएकी ?’ बिन्दाले जवाफमा भनिन्, ‘काठमाडौंमा दाजु पक्राउ पर्नुभएको छ त्यही छुटाउन गएको ।’

३८ सालमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भयो । बिन्दाको स्कुलमा पनि भव्य किसिमले चुनाव लाग्यो । अखिल पाँचौँ र छैटाैबीच प्रतिस्पर्धा हुने भयो । कक्षा अनुसार को–को उठ्ने भन्ने कुरा मिलाउँदा विद्यार्थी राजनीतिमा सक्रिय बिन्दाकी बहिनी निर्मला पाण्डे उम्मेदार भइन् अखिल पाँचौँबाट । त्यो चुनावमा बिन्दा निर्वाचन प्रतिनिधि भएर काम गरिन् । आखिरीमा अखिल पाँचौँको प्यानल नै विजयी भयो । लगत्तै भएको अखिल पाँचौँको जिल्ला सम्मेलनबाट नुवाकोट जिल्लाको पहिलो निर्वाचित कोषाध्यक्ष बिन्दा भइन् ।

उनकी आमा समझदार भएको कारण जिल्लाको राजनीतिक कार्यक्रममा भाग लिन भने उति गाह्रो नपरेको बिन्दाले बताइन् ।

त्रिचन्द्रको पढाइ
३९ सालमा बिन्दाको काठामाडौँको यात्रा भयो । उनले एसएलसी कान्तिश्वरीबाट दिइन् । जसै उनी एसएलसी उत्तीर्ण भइन् विज्ञान लिएर त्रिचन्द्र कलेजमा भर्ना भइन् । उनले बायोलोजी लिएर पढिन् । त्रिचन्द्रमा अखिलको अवस्था कमजोर थियो । तर कार्यक्रमहरु भने भइरहन्थे । दुई वर्षको पढाइपछि उनी गाउँ फर्किन् । आफैँले पढाएको स्कुलमा विज्ञान विषय पढाइन् ।

गाउँ फर्केको कारणबारे बिन्दा भन्छिन्, ‘एउटा विषय लागेछ अर्काे वर्ष मात्र परीक्षा हुने जिल्ला कमिटीमा पनि थिएँ । त्यतै सजिलो हुन्छ भनेर जिल्लामा गएर पढाउन थालेँ ।’

उतिबेला शिक्षा संकायको विज्ञानपट्टि प्रिस्कलरसिप शीर्षकमा जिल्लामा कोटा जान्थ्यो । यो शीर्षकमा उनले पनि पढ्न मन गरिन् तर अरु कसैले यो फर्म नभरेको खण्डमा । आखिरीमा मागेभन्दा निकै कम आवेदन पर्‍यो । उनले पनि फारम भरिन् । सो स्कलरसिपमा पढेपछि गाउँकै स्कुलमा पढाउनुपर्ने सर्त थियो ।

स्नातक उनले महेन्द्ररत्न ताहाचलबाट लिने सोचका साथ उनी काठमाडौँ आइन् । जसै एक दुई कक्षा लिइन् उनलाई पढेको जस्तै लागेन । त्रिचन्द्रमा उनी बिहानी सत्रमा भर्ना भइन् । ‘विज्ञानको विद्यार्थी म महेन्द्ररत्नको पढाइमा त रमाउनै सकिनँ,’ बिन्दा भन्छिन्, ‘बिहान त्रिचन्द्र दिउँसोको महेन्द्ररत्नमा पढ्न थालेँ सँगै राजनीतिमा त छँदै थिएँ ।’

त्यतिबेला अखिलको प्रारम्भिक कमिटीमा उनी काम गरिन् । त्यतिबेला त्रिचन्द्रमा नेपाल विद्यार्थी संघको दबादबा थियो भने महेन्द्ररत्नमा अखिलको । उनी आफ्नो संगठन मजबुत  बनाउन लागि परिरहिन् । उतिबेला विद्यार्थी राजीनीतिमा सैद्धान्तिक र वैचारिक बहस हुने बिन्दाको अनुभव छ । व्यवस्था विरोधी कुरा त भइहाले सँगै विभिन्न विभेदहरु कसरी भएको छ के भयो भने त्यसको अन्तय हुन्छ भन्नेमा विद्यार्थीहरु बहस गर्थे त्यसमा बिन्दाको सक्रिय उपस्थिति हुन्थ्यो । त्यही बेलादेखि नै बिन्दालाई पुस्तक पढ्ने बानी पर्‍यो । राजनीतिक, सामाजिकलगायतका उतिबेलाको पढाइले अध्ययनको दायरा फराकिलो बनाएको उनको अनुभव छ ।

हिरासतका १४ दिन
भारतले ४५ सालमा नाकाबन्दी लगायो । विद्यार्थीले त्यसको चर्काे विरोध गरे । त्यसैको विरोधमा अखिलमार्फत सडकमा ओर्लेकी थिइन् बिन्दा पाण्डे । झुक्किएर प्रधानपञ्चको घरमा लुक्न पुगेकी उनी प्रहरीको गिरफ्तारमा परेपछि प्रहरीले उनीहरुलाई बौद्ध थानामा ल्यायो । दौड्दा तिर्खाले भुतुक्क भएकी बिन्दाले प्रहरीलाई पानी पाइन्छ भनेर सोधिन् । पानी दिनु त परको कुरा प्रहरीले बिन्दालाई नराम्रो शब्दले झपारे ।

त्यसपछि उनले पानी मागिनन् । उनीहरुलाई केहीबेरमा हनुमानढोका ल्याउने तरखर प्रहरीले गर्‍यो । दुईजनालाई एउटै हत्कडी लगाइयो । सामान्यतया केटीकेटी र केटाकेटालाई एउटै हत्कडी लगाइन्छ तर बिन्दा र एकजना उनी भन्दा जुनियर कक्षामा पढ्ने अखिलकै एकजना छात्रलाई एउटै हत्कडी लगाएर साझाबसमा चढाइयो । वरिपरि प्रहरी छिदैँ थिए ।

साझा बसमा यात्रुहरुले खासखुस गर्न थालेँ । बिन्दाले फ्याट्ट सुनिन् केटी बेच्ने र बेच्न खोज्ने दलाललाई पक्रेको होला । बिन्दालाई खस खस लाग्यो उनले अरुले सुन्ने गरी बोलिन्, ‘थलिमा नाकाबन्दी विरुद्धको पर्चा बाँड्न गाको प्रहरीले पक्रियो ।’ त्यसपछि बसमा खासखुस बन्द भयो ।

जसै उनीहरु सहिदगेटमा ओर्लिए । प्रहरीले उनीहरुलाई भने तिमीहरुसँग पैसा छ भने ट्याक्सी चढ हैन भने सहिदगेटबाट हनुमानढोका सम्म हिडेरैँ जानुपर्छ । बिन्दालाई तनाव आइलाग्यो । अर्काे भाइ केही बोलेनन् । आफ्नो पैसा तिरेर हिरासतमा जाने मन उनलाई भएन । बिन्दाले जुक्ति लगाइन् र भनिन्, ‘हिँडाएरै लैजानुहोस्, धरहराबाट अखिलको जुलुस छ त्यो बाटो जाँदा हामीलाई त भाग्न पनि सजिलो हुन्छ तपाईंहरुको जागिर भने धरापमा पर्छ ।’ यो कुराले प्रहरी डराई आफैँ ट्याक्सी खोजेर हनुमानढोकामा पुर्‍याए । हनुमानढोकाको हिरासतमा उनले  १४ दिन बिताइन् ।

हिरासतमा प्रहरीले उनीहरुलाई हँकारे । अपराधीलाई जसरी देश द्रोही लेखिएको पम्प्लेट टाँसेर नाम ठेगाना लेखाएर टिभीमा देखाउने भन्दै भिडियो पनि खिचियो । त्यतिबेलाका प्रहरीले उनीहरुलाई भने साँझ टिभीमा तिमीहरुको बाउआमाले देखे भने के भन्छन् ? भनेर तर्साउन पनि खोजे । त्यतिबेला बिन्दाले भनिन्, ‘हाम्रो घरमा टिभी छैन कसरी थाहा पाउँछन् बाउआमाले ?’ हिरासतमा बस्दा बिन्दा कत्ति पनि डराइनन् ।

४६ सालको आन्दोलनको राप
बिन्दा राजनीतिमा लाग्नुको कारण महिला र पुरुषबीचको विभेद अन्त्य गर्नु नै थियो । त्यतिबेला उनीहरुलाई पैतृक सम्पत्तिमा समान हक, आमाको नामबाट नागरिकता पाउनुपर्ने लगायतका अधिकार पाउनुपर्छ अनि समानतामा पुगिन्छ जसका लागि पञ्चायती व्यवस्था हटाउनुपर्छ भन्ने प्रशिक्षण त्यतिबेलाका नेताले दिन्थे ।

४६ सालमा आन्दोलन चर्किरहेको थियो । बिन्दालाई प्रहरीले जुनसुकै समयमा गिरफ्तार गर्न सक्थ्यो । त्यति नै बेला उनको स्नातक तहको ताहाचलको पढाइ पनि सकियो । उनलाई स्कुलका प्रधानाध्यापकले पढाउन आउनुपर्ने सर्त नभुल्न आग्रह गरे । उनले प्रधानाध्यापकलाई भनिन्, ‘मलाई प्रहरीले जुनसुकै बेला गिरफ्तार गर्न सक्छ नगर्ने ग्यारेन्टी गर्नुहुन्छ भने म आउँछु ।’ प्रधानाध्यापकले ग्यारेन्टी गर्न सकेनन् उनी पनि गइनन् । ४६ सालको आन्दोलनताका कोटेश्वर बस्ने उनी विद्यार्थी नेताहरुसँग आउजाउ हुन्थ्यो । उनकोमा टेलिफोन भएको कारण पनि कन्ट्याक्ट पोइन्ट थियो । उनमा आन्दोलनमा हिँड्ने भन्दा पनि कहाँ के कस्तो व्यवस्था मिलाउने जिम्मेवारी थियो ।

फागुन ७ गते भने उनले नेताहरुलाई भनिदिइन् त्यो दिनमा मलाई नरोक्नुस् । उनी न्युरोड, पुतलीसडक बागबजारमा भएको जुलुसमा सामेल भइन् । त्रिचन्द्र आइपुग्नेबेला प्रहरीले रोक्यो उनीहरु भागेर एउटा पसलको सटरभित्र छिरे धन्न त्यो पसलका साहुजीले प्रहरी नगइञ्जेल लुक्न दिए प्रहरी हिँडेपछि उनीहरु पनि लाखापाखा लागे ।

त्यतिञ्जेलसम्म ठिकै थियो । दुई हप्तापछि घरमा उनलाई खोज्दै सिआइडी आउन थालेपछि भने उनले ठाउँ फेरिन् । चैतको १९ गते च्यासलतिर पनि हेलिकोप्टर अस्वाभाविक उडेको थियो । बिन्दालगायतका साथीको मनमा चिसो पस्ने नै भयो । नभन्दै त्यो दिनमा उपत्यकामै चारजना मारिएका रैछन् ।

व्यवस्था फेरियो अवस्था फेरिएन
४८ सालमा एमएसी पढ्न बिन्दा त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग गइन् । त्यतिबेला भएको अखिलको दसौँ सम्मेलनबाट अखिलको केन्द्रीय सदस्य भइन् । त्यसपछि उनको राजनीतिक यात्रा अखिल नेपाल महिला संघ, मजदुर संगठन हुँदै पार्टीको राजनीतिमा सक्रिय भइन् । अहिले पनि उनी मजदुर संगठन र पार्टीको केन्द्रीय राजनीतिमा सक्रिय छिन् ।

४६ सालको आन्दोलन हुनुभन्दा अघि प्रशिक्षणमा नारी पुरुष समान, आमाको नामबाट नागरिकता, पैतृक सम्पत्तिमा हक लगायतका कुरा बहुदल आएसँगै सबै कुरा आउँछ भनेका थिए उनका नेताले तर व्यवस्था फेरियो नेताहरुको रवैया फेरियो तर बिन्दाहरुको माग फेरिएको छैन । अरु धेरै कुरा स्थापित भए तर मूल कुरा पहिचानको अधिकार महिलाले प्राप्त गर्न सकेका छैनन् । ‘पहिचान प्रमुख कुरा हो,’ बिन्दाले भनिन्, ‘जबसम्म आमाको नामबाट नागरिकता प्रदानमा आनाकानी गरिन्छ विभेद हट्दैन अन्य अधिकार तपसिलका कुरा हुन् ।’

नेतृत्वमा बस्नेहरुको पुरुषवादी सोच नहटेको उनले बताइन् । ‘कुनै त्यस्तो पद छ महिलाले जिम्मेवारी पूरा गर्न नसकेको ? महिला भएकै कारण अयोग्य हुने हो ? योग्यताको मापदण्ड के हो ? महिलालाई पुरुषजस्तो बनाउन पनि सकिँदैन । पुरुषलाई महिला जस्तो बनाउन पनि सकिँदैन । सकिन्छ त सबैको अस्तित्व स्विकार्न । अस्तित्व नस्विकारेसम्म समानता आउँदैन । नेतृत्वमा रहेको पुरुषवादी सोचाइ त्याग्नु पर्‍यो,’ उनले भनिन् ।

युवा महिलाले चैँ के गर्नुपर्छ हाम्रो प्रश्नमा बिन्दाले भनिन्, ‘वैचारिक र सैद्धान्तिक स्पष्टता, इतिहास र सूचनामा पहुँच, तार्किक क्षमता, पछाडि कसले नराम्रो कुरा काट्छ त्यसको मतलब नगर्ने र धैर्यता ।’ यी कुरा भए परिवर्तनको आन्दोलनमा हरेक क्षेत्रबाट नेतृत्व लिन सकिने उनको मत छ ।

दैनिक जीवनबारे जिज्ञासा राख्दा बिन्दाले भनिन्, ‘मेरो त दैनिकी त्यति व्यवस्थित छैन । ११ बजे सुत्छु ६ बजे उठ्छु । संसद् भवन र विभिन्न छलफलमै दिन बित्छ ।’

प्रकाशित: २४ चैत्र २०७६ ०७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App