१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

शिवपुरी आनन्द

रमेश बराल

काठमाडौं उपत्यकालाई पहरा दिएर उभिएको सुन्दर डाँडा–शिवपुरी। जैविक विविधताले भरिएको छ शिवपुरी राष्ट्रिय निकुञ्ज। त्यहाँ हाइकिङ, साइक्लिङ, बर्डवाचिङ लगायत गतिविधि गरिन्छ। हाइकर्सहरूका लागि त शिवपुरी स्वर्गै मानिन्छ।

काठमाडौंमा बस्नेहरू बरोबर त्यहाँ पुग्छन्। केही वर्षदेखि हाम्रो परिवार शिवपुरीको काख बुढानीलकण्ठमा बस्दै आएको छ। म आफ्नो स्वास्थ्यप्रति सचेत छु। त्यसैले सधैं ‘मर्निङ वाक’ गर्छु। हाइकिङकै सिलसिलामा म वाग्मतीको मुहान बाघद्वारमा चालिस पटकभन्दा बढी पुगिसकेको छु।

पहिला हामी वसुन्धरामा बस्थ्यौं। हाइकिङ गर्न उपयुक्त र स्वच्छ वातावरण भएको ठाउँ भएकाले नै बुढानीलकण्ठमा सरेका हौं। शिवपुरी जैविक विविधताको भण्डार त हुँदै हो, धार्मिक हिसाबले समेत यसकोे महŒव छ। हाम्रा पौराणिक ग्रन्थहरूमा पनि शिवपुरीको चर्चा पाइन्छ। डाँडामा पुग्दा लाग्छ, हामीले शिवपुरीको पवित्रता र आध्यात्मिक महŒवको प्रचारप्रसार गर्न सके कस्तो हुन्थ्यो होला !

हामी गंगासागर पुग्दा बोतलमा त्यहाँको पवित्र पानी प्रसादका रूपमा लिएर आउँछौं। र, हाम्रा हरेक धार्मिक कार्यमा चढाउँछौं। गंगाजीमा मिसिने एउटा पवित्र नदी वाग्मती पनि हो। त्यसैले हामीले वाग्मतीको मुहान बागद्वार पुगेर पवित्र जल घरघरमा ल्याऔं। मनको शान्ति र पुण्य कमाऔं।

हामी साथीहरू मिलेर हामी बरोबर हाइकिङ गर्छौं। हामीले काठमाडौं वरपरका डाँडापाखा छिचोलिसकेका छौं। हाम्रो हाइकिङ समूहमा पर्यटन मन्त्री योगेश भट्टराई, संविधानसभाका सदस्य पासाङ शेर्पा, रवि भट्टराई लगायत धेरै साथीभाइ छौं।  पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारी पनि हाइकिङमा रमाउनु हुन्थ्यो।

शिवपुरीमा पुग्दा प्रकृतिसँग आत्मीय गाढा बन्छ। त्यहाँ पुग्दा त्यसैत्यसै मन रमाउँछ। आनन्द हुन्छ। दिमाग पनि सिर्जनशील बन्छ।

अचेल पासाङजी र म हरेक बिहान करीब दुई घन्टा शिवपुरी क्षेत्रकै उकालीओरालीमा हिँड्छौं। यसरी नियमित पदयात्रा गर्दा शरीरमा स्फूर्ति, मनमा शान्ति र खुसी, हरेक काममा ऊर्जा प्राप्त हुन्छ। कुनै दिन हिँड्न छुट्यो भने शरीरमा आलस्य अनुभव हुन्छ।

हिँड्दा स्वास्थ्य राम्रो हुन्छ नै साथै नयाँनयाँ वातावरण, परिवेश, मान्छे र प्राकृतिक सौन्दर्यको स्वाद पनि पाइन्छ। एउटै रुटमा पनि फरकफरक दिन हिँड्दा फरकफरक अनुभूति हुन्छ। कहिले काफल टिपेर खान पाइन्छ त कैले ऐंसेलु। कहिले भुइँफूलमा आँखा रमाउँछन् त कहिले लालीगुरासँमा। कालिज, मृग र बँदेलको बथान प्राय ः देखिन्छ। चराको चिरबिर त हरपल सुनिन्छ।

हाइकिङले मान्छेलाई प्रकृतिसँग निकट बनाउँछ। त्यही निकटतामा रमाउन म साथीसँगीलाई हौस्याउँदै आएको छु। र, समयसमयमा विभिन्न संस्थाको व्यानरमा हामीले हाइकिङ आयोजना गर्दै आएका छौं। हामीले धेरैपटक बालाजु–जामाचो हाइकिङ गरिसकेका छौं।

हाम्रो नारा छ–स्वस्थ रहनका लागि हिँड्ने बानी गरौं। हामीले भर्खरै (फागुन १७ गते) ताप्लेजुङ समाज नेपालको आयोजनमा नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर गएको शिवपुरी क्षेत्रमा बृहत् हाइकिङ कार्यक्रम ग¥यौं। बुढानीलकण्ठ मन्दिर छेउको तपेस रिसोर्टबाट प्रमुख अतिथि पर्यटनमन्त्री योगेश भट्टराई, सांसद गगन थापा र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले संयुक्त रूपमा हाइकिङको शुभारम्भ गर्नुभएको थियो। हाइकिङ शुरू हुनुअघि डा. भट्टराईले मानव स्वास्थ्यमा हाइकिङको महत्वबारे प्रकाश पार्नु भएको थियो।

त्यो दिन हामीले पानी मुहान, नागी गुम्बा, तारेभीर हुँदै नारायण डाँडामा पुगेर खानपिन तथा सांस्कृतिक मनोरञ्जन गरेर कार्यक्रम समापन ग¥यौं। हामी बाइस सय पचास जना हाइकर्स थियौं। यसअघि एकै दिन यति ठूलो संख्यामा कहीं कतै हाइकर्स जमघट भएको सुनिएको थिएन। हाइकिङमा पर्यटन सम्बद्ध संस्था टान, एनएमए, नाटा, पाटा, हानका प्रतिनिधि, पर्वतारोही लगायत सर्वसाधारणको उपस्थिति थियो।

शुभारम्भमा पर्यटन मन्त्रीले बीस जना विदेशीलाई माला लगाएर हाइकिङमा स्वागत गर्नु भएको थियो। हामीले हाइकिङमा उपस्थित ज्येष्ठ नागरिक ८२ वर्षका जितबहादुर गुरुङ र ८० वर्षीया छिरिङफुटी शेर्पालाई दोसल्ला ओढाएर सम्मान पनि गरेका थियौं।

हाम्रो हाइकिङले स्वास्थ्यका लागि हिँड्नुपर्छ। प्रकृतिसँग नजिक रहनुपर्छ र प्रकृतिको संरक्षण गर्नुपर्छ भन्ने भावना फैलाएको छ। पहिलोपटक  हाइकिङमा आएकाहरूले समेत म कति घन्टा हिँड्न सक्छु भनेर आफैंलाई जाँच्ने मौका पाए।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यस अभियानले सहयोग पु-याएको छ। यस्ता कार्यक्रमबाट मौलिक कला, संस्कृति, जीवनशैली, भूगोल र सम्पदाको प्रचार एवं प्रवद्र्धन हुन्छ। समाजमा अचेल पिकनिक खाने चलन बढेको छ। गाडीमा  सरर गएर कुनै ठाउँमा बसेर पिकनिक मनाउनुभन्दा ३–४ घन्टा हिँडेर निश्चित गन्तव्यमा पुगी खानपिन गर्दा झन् मजा हुन्छ। यसमा हामी सचेत बन्ने कि !

हामीले कहिलेकाहीं हाइकिङ गरेर मात्र पुग्दैन, स्वास्थ्यका लागि नियमित हिंड्ने बानी बसाउनु पर्छ। हामी शिवपुरीमा जस्तै बृहत् हाइकिङ बेलाबेलामा गरिरहन्छौं। नेपाल सरकार, स्थानीय निकाय र हरेक सामाजिक संघसंस्थाले पनि यसैगरी हाइकिङ अभियान चलाउनु पर्छ।

प्रकाशित: १ चैत्र २०७६ ०३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App