३१ श्रावण २०७७ शनिबार
अन्य

सम्झना

मायाको महिना फेब्रुअरी ! नजिक भए आँखामा आँखा जुधाएर पुराना दिन सम्झने अनि टाढा भए उसैको साथमा छुझैँ घण्टौँ उसैको कल्पनामा हराउने महिना !

‘कत्ति प्रेमिल महिना !’ मोक्षले बरण्डाबाट टाढा हेर्दै सोच्यो, ‘मानिसलाई बाँच्न लायक बनाउने महत्वपूर्ण पाटो नै त हो, माया ! यसमा कसैको कमजोरी देखिदैन, मात्र माया देखिन्छ । यसैले त हामीलाई जीवनलाई संघर्ष गर्न र लड्न सिकाउँछ ! जीवनरुपी फूलबारीमा रम्न सिकाउँछ ।’

यसको मनमा मायैमायाको बाढी आउनुको कारण छ । आज उसले आफ्ना पुराना साथीहरुलाई भेटघाटका लागि घरैमा निम्तो दिएको छ । सबै नयाँ पुराना मित्रलाई खान बोलाएको छ ।
अरु त के हुनु ? ऊ शुभेच्छालाई हेर्न चाहन्छ । ओहो ! बालापनकी प्रिय साथी ! पहिलो मित्र !
बरण्डामा बस्दै गर्दा मोक्षको मुखबाट उच्छवास निस्कियो, ‘ओह सुवि !’

बालापनका मीठा क्षणहरु, शुभेच्क्षासँगको गहिरो मित्रता, घण्टौँघण्टा पढ्ने बहानामा बिताएका क्षणहरु, पुस्तकालयमा पढेको बहानामा जुधाएका आँखा र कसलाई जित्ने भन्ने प्रतियोगिताहरु, खाजा र चक्लेट बाँडिएका क्षणहरु, परीक्षामा उसको नम्बर कम हुँदा आफैँलाई गाह्रो भएका क्षणहरु, सुवीका अन्य साथीसँग बस्दा वा रमाउँदा उठ्ने रिस र एक सेकेन्ड मात्र टाढा हुँदा पनि युगौँयुग टाढा भएको अनुभव ! उफ्, कति धेरै अविस्मरणीय क्षणहरु ऊसित जोडिएका छन् !

मोक्षले आँखा चिम्म गरेर शुभेच्छाको उज्यालो मुहार सम्झियो ।
मनभरि उसले बिस्कुनझैँ फिँजाएका अथाह माया ! त्यही मयााकै कारण त अहिले मोक्षकोे जीवनको अमूल्य सम्झना रहिरहेको छ । आज पनि त ऊ सुवीको मायामा बाँचिरहेको छ । जिन्दगी एउटा यात्रा हो, हजारौँले छाडे पनि त्यो यात्रा निरन्तर चलिरहन्छ तर आफ्नो एउटै अभिन्न मित्र वा मायालुले छोडे जीवनमा पूर्णविराम लागेझैँ हुन्छ ।
        

भोलि भ्यालेन्टाइन्स डे ! मायालुलाई सम्झिने अनि एकअर्कालाई मायाको महत्व दर्शाउने दिन । किन हो, यो दिनमा केही वर्षयता आफैँमा रमाउन मन लाग्छ । आफ्ना अतीत सम्झेर बस्न मन लाग्छ । उनकै यादमा रम्न मन लाग्छ । उनैसँग बिताएका क्षणहरु अन्त्य नगराई सम्झिन मन लाग्छ । किन यस्तो हुन्छ ? यत्तिका वर्षमा पनि किन यस्तो भावना प्रवल भइरहेको छ, मोक्ष बुझ्न सक्तैन ।

कक्षा पाँचदेखि मोक्ष र सुभेच्छाको मित्रता गहिरिन थालेको थियो । दुवैको मित्रतामा अथाह माया थियो । एकअर्काको खुशी चाहन्थे दुवै । सायद माया यही त हो ! बिना स्वार्थ एकअर्काको खुशीको लागि बगिरहने ! मोक्ष र स्वेच्छाको केही केही कुरा मिल्थे । स्वेच्छाले पनि मोक्षलेझैँ बच्चैदेखि आमाको माया पाएकी थिइनन् । ऊ पनि बच्चैदेखि हजुरबुवा र हजुरआमासित बस्दै आएको थियो । दुवैको घर सम्पन्न थियो । कमी थियो त आमाको काख अनि आमाको त्यही मायाको कमीले गर्दा ती दुवैमा मित्रतामा झ्याँगिएको थियो । अभिन्न मित्र बन्दै दिनहरु बितिरहेका थिए । दुवै पढाइमा राम्रै थिए । अझै भन्ने हो भने सुभेच्क्षा कक्षामा अब्बल र तीक्ष्ण, ज्ञानी अनि शान्त स्वाभावकी थिई । यही कारण सबैले उसलाई माया गर्थे । मोक्षलाई भने सबैको नजरमा परेकामा दुःख मान्थ्यो र सोच्थ्यो, ‘किन ऊ सबैकी प्यारी छ !’

तर पनि दुवै जना जसरी मिल्थे, सबैले त्यसको तारिफ गर्दा भने उसको मन शान्त हुन्थ्यो ।
भ्यालेन्टाइन्स डेको दिन, शुभेच्छाले मोक्षलाई बिहानै फोन गरिन् ।
‘मोक्ष तिमी बाहिर बगैँचामा आऊ न,’ शुभेच्छाले भनेकी थिई ।

‘किन यति चाँडै ?’ मुखबाट यस्तो निस्किए पनि मोक्ष यही चाहन्थ्यो । बिहान–बिहान शुभेच्छालाई हेर्न जो पाएथ्यो ! यस्तो कल्पनाले मात्र पनि ऊ पुलकित भयो । ऊसँग जति बढी सँगै समय बिताए पनि मोक्षलाई पुग्दैनथ्यो । त्यसैले ऊ खुशी हुँदै पुग्यो । पछाडिबाट ह्यापी भ्यालेनटाइन्स डे भन्दै तीन वटा रातो गुलाब शुभेच्छाले दिई ।
मोक्षको मुहारमा मुस्कानमा फुलिरह्यो धन्यवादको साटो । एकैछिनपछि भन्यो, ‘थ्याङ्क्यु ! तर किन तीन तीन वटा गुलाब नि ? एउटै भए त भैहाल्थ्यो नि !’
‘त्यति पनि थाहा छैन तिमीलाई बुद्धु ?’ शुभेच्छाले आँखा तरी । मोक्षको हातबाट फूलहरु थुती र एउटा–एउटा दिँदै भनी, ‘यो एउटा आई, अर्को लभ र अन्तिम चाहिँ यु । आई लभ यु !’

मोक्षको मुटुको धड्कन तेज हुँदै गर्दा कतिबेला शुभेच्छा अलप भई, उसैलाई पत्तो भएन ।
भ्यालेन्टाइन्स डे भनेर मोक्षले त्यो दिन भुसुक्क बिर्सिएछ ! सम्झेको मात्र भए पनि उसले आफ्नी एक मात्र मायालु साथीलाई उपहार ल्याउने थियो ! बिर्सिएकोमा उसलाई खुल्लो महसुस भइरह्यो । अघिल्लो दिनसम्म उसले सम्झिरहेको थियो, भ्यालेन्टाइन्स डेको अघिल्लो दिन शुभेच्छाको जन्मदिन र भोलिपल्ट भ्यालेन्टाइन्स डे !
जुन दिन मोक्षले शुभेच्छाको जन्मदिन फेब्रुअरी हो भन्ने थाहा पाएको थियो, त्यही दिन त्यो महिना उसका लागि सबैभन्दा मन पर्ने महिना बनेको थियो । तर आजैको दिन उसले भुसुक्कै बिर्सिएको थियो ।
०००
यसपछि दुवैले पत्तै नपाई प्लस टुको पढाइ सकियो । शुभेच्छा डाक्टरी पढाइका लागि बाङ्लादेश गई, मोक्ष अमेरिका । विदेश बसाइ र पढाइको दबाबका बीच कहिलेकाहीँ दुवैबीच अनलाइनमा कुरा हुन्थ्यो तर दुवैले सधैँ अधुरो–अपुरो कुरा गरेजस्तो महसुस गर्थे । दुवै भौतिक रुपमा टाढा भए पनि माया र सम्झनामा नजिक थिए । त्यही सम्झनाले उनीहरुलाई समय कटाउन सहयोग गथ्र्यो ।

यसबीच मोक्षको दुई महिने छुट्टीमा ऊ काठमाडौँ फर्कियो । उसका आँखा र मनले सधैँ शुभेच्छालाई नै खोज्थ्यो । नभेटिदा उदास भइरहेको थियो । अचम्मसँग शुभेच्छा टाढिएकी थिई, मोक्षलाई यसमा चित्त दुखिरहेको थियो ।
मोक्ष पढाइ पूरा गर्न पुनः अमेरिका फर्कियो । शुभेच्छा पनि डेन्टल एजुकेसन सिध्याएर न्युयोर्कमा काम गर्न थाली । मोक्ष पनि केही महिनामा पढाइ सिध्याएर न्युयोर्कमै काम शुरु ग¥यो । यसपछि दुवैको विकेन्डमा भेट हुन थाल्यो ।
अमेरिकामा मोक्ष र शुभेच्छाको मिल्ती र तिनको प्रेमको हल्ला काठमाडौँसम्म आइपुगेको थियो । त्यसैले दुवैलाई काठमाडौँ फर्केर सम्बन्धलाई औपचारिकता दिने दबाब बढिरहेको थियो ।

एक दिन, दुवै न्युयोर्कको सेन्ट्रल पार्कमा हात समाएर घुमीरहेका थिए । मार्च महिनामा चेरीको फूलहरु झपक्क फुलेका थिए । वातावरण मनमोहक मात्र थिएन, दुवैलाई रोमाञ्चित पनि पारिरहेको थियो । टन्न फुलेका चेरी र उस्तै माया गर्ने मायालु छेउमा भएपछि अरु के नै चाहिन्छ र !
पार्कको एउटा बेञ्चमा मोक्षले शुभेच्छाको काखलाई आफ्नो सिरानी राखी मन्त्रमुग्ध भएर एकनासले हेरिरहेको थियो । मोक्षको एकोहोरो हेराइले शुभेच्छा लाजले रातोपीरो अनुहार पार्दा उसलाई यस्तो लाग्थ्यो कि कतै उनीहरुको आजै त पहिलो भेट होइन !

यस्तोमा मनको आवाज पनि निस्कन मानिरहेको थिएन । शुभेच्छाले बल गरेर आवाज निकाली, ‘बाबाले बोलाइरहनु भएको छ, म नेक्स्ट विक नेपाल जानै पर्ने भएको छ ।’
मोक्षलाई एकै निमेषमा घर र हजुरबुबाको सम्झना आयो । उसले भन्यो, ‘मलाई पनि त बोलाइरहनु भएको छ । तिमीले पहिला भनेको भए त सँगै जान हुन्थ्यो नि त !’
‘आइहाल्ने हो भनेर पो त !’ उसले कारण खुलाई ।
मोक्ष पनि चाँडै काठमाडौँमा भेट्ने योजना त्यहीँ बन्यो ।
०००
मोक्ष काठमाडौँ आएको एक हप्ता भइसकेको थियो । शुभेच्छासँग भेट भएको थिएन । घरमा हजुरबुबाले विवाहको प्रस्ताव लिएर जान लागेको र स्वीकृति लिइरहेका थिए । यसका लागि एकचोटि शुभेच्छासँग कुरा गर्नु जरुरी थियो तर मोक्षले यत्तिका दिनदेखि शुभेच्छासँग भेट्न सकिरहेको थिएन । शुभेच्छासँग चाँडै भेट होस् भनी देवीदेउता भाकिरहेको थियो ।

मैले हजुरबुबा–हजुरआमालाई चाँडै निर्णय सुनाउनु थियो । निर्णय नसुनाएकामा उहाँहरु मसँग रिसाइरहनु भएको थियो । यो एक सातामा हरेक दिनजसो हजुरआमाले मेरो विवाहको कुरा गर्ने अनि मसँग रिसाएर आफ्नो कोठामा जाने गर्नुभएको थियो । मोक्षले आजैका दिन एक दिनको समय मागिरहेको थियो ।
आखिर एक दिनको समय मोक्षले पाएको थियो । ऊ त्यस रात सुत्न सकेन । कसरी शुभेच्छालाई भेटुँ र सबै कुरा भनुँझैँ भइरहेको थियो । मोक्षलाई शुभेच्छासँग रिस पनि उठिरहेको थियो । उसका मनमा  अनेक प्रश्न थिए तर सम्पर्कमा छैनन् । भाइबर, म्यासेन्जर, ह्वाट्सएप जेमा गरे पनि हुन्थ्यो ! किन बन्द गरेकी होली ? कतै सुभेच्छा बिरामी भइन् वा कुनै समस्यामा परिन् कि ?

यस्तै आशंका मोक्षको मनमा उम्लिरहेका थिए । शुभेच्छाको प्रतीक्षामा ऊ पागल भइरहेको थियो । ओछ्यानमा पल्टिएर प्रतीक्षा गर्नुभन्दा पशुपतिनाथको दर्शन गर्नु उचित ठानेर मोक्ष त्यतै लाग्यो । उसले सोच्यो, ‘भगवान् नै मेरा सारा समस्याका समाधान हुन् ।’

पशुपतिको पूर्वतिरको ढोकाबाट दर्शन गरेर मोक्ष फर्केको मात्र थियो, उसले सुभेच्छालाई देख्यो । उसको हृदयमा खुसी र गुनासो एकै पटक भुलुक्क उम्लियो । पशुपतिलाई कोटीकोटी दर्शन भन्दै ऊ शुभेच्छातिर दौडियो ।
‘शुभ, के भयो तिमीलाई ?’ उसले लगभग चिच्याएसरी भन्यो, ‘किन यस्तो दुब्लाएकी ? किन मबाट यसरी टाढा ? केही म्यासेज त गर्नुपर्छ !’

एकै चोटि उसको प्रश्नको प्रहार सुनेर शुभेच्छा केही बोल्न सकिरहेकी थिइन । उसका ओठ थर्थराइरहेका थिए । मोक्षले फेरि सोध्यो, ‘मैले केही गल्ती गरेँ ? ममाथिको विश्वास टुट्यो ? यसरी मलाई टोलाएर नहेर त !’शुभेच्छाका आँखाबाट आँशु झरिरहेका थिए ।
आफ्नी मायालुको त्यो हाल देखेर मोक्ष पागलजस्तै भयो । उसलाई ग्वामलाङ्ग अँगालो हाल्यो र भन्यो, ‘हामी दुवैलाई एकअर्काको साथ चाहिएको बेला तिमी किन यस्तो व्यवहार गर्दैछौ ?’
केहीबेरपछि शुभेच्छाले बिस्तारै अँगालोबाट छुट्टिने प्रयास गरी । उसले भनी, ‘अब हाम्रो भेट हुन्न । मेरो बुबाको भनाइअनुसार हाम्रो जातपात मिल्दैन रे ! तिमीलाई मैले बिर्सनुपर्छ रे ! मेरो विवाह मेरै जातसँग गरिदिन आँट्नु भएको छ । मैले हुन्न भन्दा पनि उहाँले मेरो मरेको अनुहार हेर्नु भन्नुभएको छ ।’

यति भनेपछि ऊ घुँक्कघुँक्क रुन थाली । ‘घरमा सबैलाई थाहा छ, म तिमीबिना बाँच्न सक्तिनँ,’ उसले आफूलाई नियन्त्रण गर्दै भनी, ‘तिमीले जति मलाई चिनेका छौ र मैले तिमीलाई चिनेकी छु, त्यति त कसैले पनि चिनेको छैन । बच्चैदेखि सँगै थियौँ, हाम्रो सोच, विचार, रहनसहन, समाजप्रति हेर्ने दृष्टि सबै एउटै छ । अब हामीले एकअर्कालाई मनमै मात्र राखेर अगाडि बढ्नुपर्ने हुन्छ । शायद हाम्रो साथ यहीँसम्म रहेछ ! हामीले आ–आफ्नो परिवार प्रतिको दायित्व निभाउनुपर्छ...।’

शुभेच्छा बोल्दाबोल्दै मोक्षले मुखमा हात राख्यो, भन्यो, ‘...भयो । बन्द गर यस्ता कुरा । हामी एकअर्कालाई यत्तिका दिन नभेट्दा त यस्तो अवस्था छ, जीवनभर छुट्टिन सकौँला त ? हामी एक्लै बाँच्न सक्छौँ होला ? के म एकचोटी तिम्रो बाबालाई भेटौँ ? हामी दुई जना एकअर्का बिना बाँच्न सक्दैनौँ भने प्लिज एक चोटी मलाई कोसिस गर्न देऊ ।’
शुभेच्छाले भनी, ‘हुँदैन.. मैले धेरै कोसिस गरिसकेँ । मैले हार खाइसकेँ । बरु एकचोटी मलाई पशुपतिनाथको टीका लगाइदेऊ मेरो निधारमा । म जान्छु ...बरु एक–एक वटा फोटो साटौं ।’
त्यसपछि शुभेच्छा आफ्नो बाटो लागी ।
मोक्ष युद्ध हारेको सिपाहीजस्तो घर फक्र्यो ।
०००
समय हो, खोलाझैँ बग्दै गयो । यो घटनाको पाँच वर्षपछि मोक्षले घरमा पार्टी राखेको थियो । एक एक गर्दै सबै पार्टीमा आइपुगे । पार्टीमा गीत गाए, रमाइलो भयो । नाचगान, हाँसीमजाक जारी रह्यो । कुन बेला रातिको बाह्र बज्यो, कसैले पत्तो पाएन ।

सबै नाचिरहेको दृश्य हेरेर मोक्ष केहीबेर सुस्ताइरहेका बेला रीतिका छेउमा आई । उसले भनी, ‘तिमीलाई आज यस्तो मूडमा र स्वस्थ देखेर सारै खुशी लागेको छ । म पनि यही शहरमा छु । अब नियमित भेट्नुपर्छ ।’
मोक्षले उसको प्रस्तावमा सही थाप्यो ।

करिब दुई बजेतिर सबै साथीहरु एक एक गरी निस्किए । बिदाबारीपछि मोक्ष कोठामा एक्लो भयो । उसले छेउको स्याम्पेन उठायो । दुई वटा ग्लासमा स्याम्पेन हाल्यो । यसपछि उसले पेन्टको गोजीबाट पर्स झिक्यो । त्यहाँबाट शुभेच्छाको मायालु तस्बिर झिक्यो र एउटा स्याम्पेनमा सिधा पारेर राख्यो ।

स्याम्पेन उठायो र अर्को ग्लासमा ट्याङ्ग पार्दै मोक्षले भन्यो, ‘ह्याप्पी बर्थ डे शुभ, मेनी ह्याप्पी रिटन्र्स अफ द डे ! तिमी सधैँ मेरो सम्झनामा हुनेछ्यौ ।’
 

प्रकाशित: २२ फाल्गुन २०७६ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App