coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ज्यानलाई दुःख व्यापारमा सुख

जाडोमा धेरै जना सिरक छाड्न मान्दैनन्, तर ४५ वर्षीया सविता तामाङको दैनिकी भिन्न छ। बिहान ४ बजे नै निद्राले छोड्छ, उनलाई।  चिया बनाएर ग्राहकलाई पु-याउन हतारिने उनी बिहान ५ बजे बौद्धमा चिया बेच्न आइपुग्छिन्। कुमारीगाल बस्दै आएकी उनी बौद्धमा भेटिन्छिन्।

‘बिहानको समयमा जाडो त हुन्छ,’ उनले भनिन्, ‘सुतेर बसियो भने हातमुख जोर्न गाह्रो पर्छ, घरखर्च चलाउनैपर्छ।’

उनी बौद्ध परिक्रमा गर्न र मर्निङ वाकमा आउने मानिसलाई २० रुपैयाँमा एक कप चिया बेच्छिन्। उनले दुईवटा कोठा भाडामा लिएकी छन्। ‘दैनिक तीन सय कपको हाराहारीमा  चिया बेच्छु,’ उनले भनिन्।  उनी र श्रीमान् मिलेर चिया पसल सञ्चालन गरेका छन्।

सविताले चिया बेच्न थालेको पाँच वर्ष भयो।  यसैबाट उनले घरखर्च धानेकी छन्। उनी चियाबाटै दैनिक दुई हजार कमाउँछिन्। ‘सबै सामानको खर्च कटाउँदा पनि एक हजार जति बच्छ,’ उनले भने । उनले चियाकै कमाइबाट छोराछोरीलाई बोर्डिङमा पढाउन सकेकी छन्। उनका छोरा कक्षा १ र छोरी कक्षा ४ मा पढ्छन्। चियाको व्यापारबाट आफू खुसी रहेको उनी सुनाउँछिन्।

लजाएर जिन्दगी चल्दैन।  परिवारलाई खुसी राख्न जस्तोसुकै काम गर्छु।

‘लजाएर जिन्दगी चल्दैन,’ उनले भनिन्, ‘परिवारलाई खुसी राख्न जस्तोसुकै काम गर्न  पनि पछि हट्दिनँ।’  उनको पुख्र्यौली थलो रामेछाप  हो। काठमाडौं आएको करिब १५ वर्ष भएको सुनाउँदै उनले राम्रै आम्दानी हुने भएकाले गाडामा चिया व्यापार सुरु गरेको बताइन्। उनी  ८ बजेसम्म चिया बेच्छिन्, त्यसपछि घर फर्किन्छिन्।

रामेछापका ३० वर्षीय देवराज लामा र २९ वर्षीया रस्मिताकुमारी मोक्तान चिया व्यापार गर्छन्। उनीहरूले चियाबाट राम्रो आम्दानी हुने सुनाए।  उनीहरूले भने, ‘हामी यसैमा सन्तुष्ट छौं, हाम्रो दैनिक आम्दानी १५ सयको हाराहारीमा हुन्छ। सानोतिनो नौकरीभन्दा यही ठीक छ।’

उनीहरूका अनुसार मासिक रूपमा ४० हजार कमाइ हुन्छ। दुईजनाको खर्च काटेर २० हजार जति बचत हुने गरेको रस्मिताले सुनाइन्।

‘काम सानोठूलो हुँदैन, जे गरिन्छ, नेपालमै गरिन्छ,’ उनीहरूले भने, ‘परिश्रम धेरै भए पनि आफ्नै माटोमा बस्न पाएका छौं।’

उनीहरूले नेपालमै बसेर केही गर्न चाहन्छन्। जाडोको तुलनामा गर्मीमा कमाइ घट्ने उनले जानकारी दिइन्।  देवराज लामाले जागिर खाज्दै भौंतारिरहनुपरेको छैन। भाडाको कोठामा बसे पनि रमाएर खानबस्न पुगेकै छ।

त्यस्तै, मीना बस्नेत पनि बौद्धमै चिया बेच्छिन्। बौद्ध तिनचुलीमा बस्दै आएकी उनले चिया बच्ने थालेको एक वर्ष भयो। उनले भनिन्, ‘३ बजे नै उठेर चिया बनाउँछु, ४ बजेतिर चिया लिएर बौद्धमा आइसकेकी हुन्छु। चियाबाटै परिवार पाल्दै आएकी छु।’

चियाबाट दैनिक ४ सय जति फाइदा कमाइ हुने उनले सुनाइन्।  बिहानको समयमा ज्यानले दुःख पाए पनि रुपैयाँ आउँदा सुख पाएको भान हुने उनको अनुभव छ।  उनी भन्छिन्,  ‘कामका लागि विदेश जानुपर्छ भन्ने छैन। परिश्रम गर्ने हो भने नेपालमै राम्रो आम्दानी हुन्छ।’

प्रकाशित: ३ फाल्गुन २०७६ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App