११ आश्विन २०७७ आइतबार
अन्य

समको सुखान्त नाट्य दर्शन

नेपाली नाट्यलेखन र मञ्चनमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्व हुन्, बालकृष्ण सम। समबाटै नेपाली साहित्यमा आधुनिक नाटक लेखन परम्पराको सूत्रपात भएको हो। उनले नेपाली साहित्यको सबैभन्दा ठूलो (आकारका दृष्टिमा) प्रेमपिण्ड (जसलाई पछि चलचित्र बनाइयो) र एक अनुच्छेदको ‘सबैभन्दा छोटो नाटक’ नाटक लेखेका छन्। कवितामा लेखनाथ पौडेलसँग प्रतिस्पर्धा गर्न नसक्ने ठानेर नाटकतिर होमिएका समको पहिलो गद्य नाटक ‘मिलीनद’ हो। पारिवारिक वातावरण, सुसारेदिदीको स्नेह र स्वअध्ययनले सम नाटक लेखनप्रति आकृष्ट भएको पाइन्छ। यहाँ उनका सुखान्त नाटकबारे चर्चा गरिन्छ।

सुखान्त नाटक
सुख वा मिलनमा टुंगिएका नाटक नै सुखान्त हुन्। समले पूर्णांकी र एकांकी नाटक सिर्जना तथा मञ्चन गरेका छन्। ‘ध्रुव’(१९८६) नै समको पहिलो सुखान्त नाटकहो। उनको सुखान्त नाट्य लेखनयात्रा तीन चरणको देखिन्छ। ‘मुकुन्द–इन्दिरा’,‘प्रह्लाद’, ‘अमलेख’ र ‘प्रेम’ पहिलो चरणमा लेखिएका नाटक हुन्। ‘म’, ‘चिन्ता’, ‘अत्याधुनिकता’, ‘भतेर’, ‘क्रान्तिकारी भानु’, ‘तपोभूमि’, ‘नालापानीमा’, ‘बुहार्तन’, ‘प्रतिध्वनि’ दोस्रो चरणअन्तर्गत पर्छन्। उनले तेस्रो चरणमा लेखेका नाटक हुन्– ‘अमित वासना’, ‘तलमाथि’, ‘उज्यालो आशा’, ‘माटोको ममता’, ‘भगवतीको मूर्ति’, ‘पथदर्शन’, ‘छ कि छैन ?’, ‘नयाँघर’, ‘चेतना’ र ‘पृथ्वीनारायण शाह’।

सुखान्त नाटकीय तत्वहरूको भूमिका र परिपाकका दृष्टिले ‘धु्रव’ उच्चतर कोटिको नाटकमा पर्छ। उच्च कोटिको नाटकमा ‘मुकुन्द–इन्दिरा’, ‘प्रल्हाद’ र ‘म’ पर्छन्। उच्च मध्यम स्तरका नाटक ‘अमित वासना’, ‘अत्याधुनिकता’, ‘अमलेख’ र ‘चिन्ता’ हुन् भने मध्यम स्तरमा ‘तलमाथि’, ‘उज्यालो आशा’, ‘नालापानीमा’, ‘क्रान्तिकारी भानु’, ‘छ कि छैन’, ‘भगवतीको मूर्ति’, ‘बुहार्तन, प्रतिध्वनि’ र ‘चेतना’ पर्छन्। पहिलो चरणमै लेखिएका नाटकमा समको नाटकत्वउर्वर पाइन्छ। उनका सुखान्त नाटकमा पुस्तागत, वैचारिक, लैंगिक, पारिवारिक, वैयक्तिक असंगतिका कारण हास्यतत्व उत्पन्न भएको पाइएको छ, साथै यी असंगतिले नै विविध हास्य सिर्जना गरेका छन्।समका सुखान्त नाटक उनकै जीवन र जीवनदर्शनका प्रतिविम्ब हुन्, यस्ता नाटकमा जीवन जतिसुकै दुःखपूर्ण भए पनि त्यसले प्रेम, करुणा, मानवता, अहिंसा र शान्तिलाई बाँच्ने आधार बनाएको हुन्छ भन्ने अभिव्यक्ति पाइन्छ।

समका सुखान्त नाटक उनकै जीवन र जीवनदर्शनका प्रतिविम्ब हुन्, यस्ता नाटकमा जीवन जतिसुकै दुःखपूर्ण भए पनि त्यसले प्रेम, करुणा, मानवता, अहिंसा र शान्तिलाई बाँच्ने आधार बनाएको हुन्छ भन्ने अभिव्यक्ति पाइन्छ।
 

समको आँगन र उदय
पिता शमशेर जबरा र माताकीर्तिराज्यलक्ष्मी राणाका सन्तान हुन्, बालकृष्णशमशेर जबरा (वि.सं. १९५९–२०३८)। उनकापुर्खालेकुँवर थर लेख्ने गरेको पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’मा उल्लेख छ।कोतपर्व (वि.सं. १९०३) पछि वीरनरसिंह कुँवर जंगबहादुर राणाका नामबाट प्रख्यात हुँदै गए।वि.सं. १९४२ मा श्री ३ रणोद्दीपसिंहको हत्या भएपछि उनका भैयाद(भाइ–भतिज)समेतका सन्ततिले कुँवरको सट्टा जंगबहादुर राणा (जबरा) लेख्न सुरु गरेको पाइन्छ। २००७ सालको क्रान्तिपछि जबराको अभिमान त्याग्दै बालकृष्णशमशेर जबराले आफू नेपाली जनतासमान हुँ भन्ने सन्देश प्रवाह गर्न ‘शमशेर जबरा’को सट्टा ‘सम’ लेख्न थालेका हुन्।

दरबार हाइस्कुलमा पढेकासमले अध्ययन र स्वअध्ययनबाट संस्कृत साहित्यका भास, अश्वघोष, कालिदास, भवभूति, श्रीहर्षदेखि पाश्चात्य साहित्यका सेक्सपियर, मार्लो, मिल्टन, दाँते, ड्राइडेन, अलेक्जेन्डर पोप, ¥याडिसन, गोल्डस्मिथ, वर्डस्वर्थ, कलरिज, बाइरन, सेली, किट्स्, इमर्सन, इब्सेन, बर्नाड शाकाकृतिअध्ययन गरे।औपचारिक मात्र नभएर अनौपचारिक अध्ययनका क्रममा उनी पूर्वीय र पाश्चात्य साहित्यका ज्ञाता बनेका थिए। डम्बरशमशेर (बालकृष्णका बाजे)ले खराब काम गरेर सम्पत्ति आर्जन गरेको बाल्यकालमै सुसारेदिदीबाट थाहा पाएका समले भोगविलासलाई तुच्छ ठानेको र अध्ययन तथा ज्ञानलाई सर्वोच्च मानेको पाइन्छ।

साहित्यमार्फत राणा शासकहरूमाथि व्यंग्यको झटारो हान्दै जनक्रान्तिको लहर उचाल्न क्रियाशील भएपछि उनलाई कर्णेल पद दिएर फकाउने राणाहरूको प्रयत्न असफल भएको थियो। सम रेडियो नेपालका डाइरेक्टर, गोरखापत्रको सम्पादक हुँदै नेपाल एकेडेमीकाउपकुलपतिसमेत भए। उनलेगोरखा दक्षिणबाहु तेस्रो, गोरखा दक्षिणबाहु दोस्रो, रत्नश्री स्वर्णपदक, गोरखा दक्षिणबाहु प्रथम, साझा पुरस्कार, त्रिभुवन पुरस्कारलगायतपुरस्कार तथा मान–सम्मान पाएका छन्।

नाटकमा आउन अनुनय–विनय
ल्याइतेपट्टि (विवाह नगरी ल्याइएका)का भएकाले डम्बरशमशेर जबराले श्री ३ को उपाधि नपाए पनि श्री ३ ले पाउने सम्पूर्ण सेवा–सुविधा लिएका थिए, उनीसँगअकुत सम्पत्ति थियो। उनलेभोग–विलासमै सम्पत्ति खर्च गरेका थिए।शासक तथा राणा परिवारको ठानेर समलाई श्री ३ हरूलाई झैँ हेरिन्थ्यो, त्यस्तै ठानिन्थ्यो,तर उनी ‘सी क्लास’का राणा परिवारका सन्तान थिए, उनी आफैँ ‘श्री ३ हरू’बाट बारम्बार पीडित भएका थिए। त्यसैले नाटकमा आउन पनि उनले ‘श्री ३ हरु’को अनुमति लिनुपरेको थियो। नाटक प्रकाशन तथा मञ्चनका लागि श्री ३ लाई बिन्ती चढाएर अनुमति पाएको प्रसंगलाई समले ‘मेरो कविताको आराधना’ (आत्मपरक जीवनी)मा समेटेका छन्।

गोरखा भाषा प्रकाशन समितिबाट केही छाँटकाँटसहित प्रकाशनका लागि अनुमति पाएपछि समले ‘धु्रव’ नाटक प्रकाशन गरेका थिए।‘अमलेख–घोषणा’बाट प्रभावित भएरलेखिएको ‘अमलेख’ नाटक श्री ३ चन्द्रशमशेरको ६६औँ जन्मदिवसमा उपहारस्वरूप दिइएको थियो, यो नाटकले स्वीकृति पाएन। भीमशमशेरले ‘प्राणदण्डको खारेजी गर्ने ऐन’ ल्याउने चाल पाएर ‘प्राणदान’ नाटक लेखेर भीमशमशेरको जन्मोत्सवमा उपहारस्वरूप टक्र्याए, यो पनि ‘खोटो मोहोर’ बन्न पुग्यो।यसरी समले आफ्ना नाट्यकृति प्रकाशन तथा मञ्चनका लागि श्री ३ चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेर हुँदै पद्म शमशेरसम्मकै ढोका चियाउनुपरेको थियो।

विषयवस्तु
पौराणिक, ऐतिहासिक, सामाजिकर कला–साहित्यलाई विषयवस्तु बनाएर समले नाटक रचना गरेका छन्। धु्रव र प्रह्लाद पौराणिक नाटक हुन्। बाल्यकालमा बाजेबज्यै र मातापिताले दाजु पुष्करलाई बढी स्नेह दिएकाले समले आफूलाई पौराणिक पात्र धु्रवसँग तुलना गरेर धु्रव नाटक लेखेका हुन्, यसलाई पुष्टि गर्ने प्रशस्तै आधार‘मेरो कविताको आराधना’मा छन्। आदर्शवादी विचार बोकेको धु्रव नाटकमा सत् र असत् प्रवृत्तिबीचको द्वन्द्वमा सत् पक्षका आदर्श तथा अनुकरणीय प्रवृत्तिको विजय देखाइएको छ। राष्ट्रिय चिन्तनको केन्द्रीयतामा रचिएको मुकुन्द–इन्दिरा नाटकमानेपाली भाषा, साहित्य, कला–संस्कृतिका विषय समेटिएको छ। विदेशी संस्कृतिप्रतिको व्यामोह र स्वदेशी संस्कतिप्रतिको अनास्थागत मूढता यस नाटकमा व्यंग्यात्मक र हास्यास्पद बनेका छन्।

समले पुरुषभन्दा नारीबाट बढी स्नेह पाएका थिए। नारी स्नेहकोप्रभावका कारण समले नारीप्रति सम्मान प्रकट गरेका छन्। मुकुन्द–इन्दिरा नाटककी नारी पात्र इन्दिरालाई लिएर समको धेरै आलोचना गरियो, नारीविरोधी भनियो, तर सम नारीप्रति श्रद्धा गर्थे। उनले ‘मैले बाल्यकालमा दिदी (गुनकेशरी),बज्यैज्यू, माताज्यू र धाईहरूबाट स्नेह पाएको थिएँ,पछि बिहे भएर आफ्नी पत्नीबाट पे्रम पाउन लागेको थिएँ। यी सब कारण मेरो स्त्रीजातिप्रतिको सहानुभूति बढ्दै थियो’ भनेरमेरो कविताको आराधनामा भनेका छन्। उनका म, मुटुको व्यथा र स्वास्नी मान्छे नाटकको अध्ययन गरेपछि उनको नारीप्रतिको दृष्टिकोण छर्लंग हुन्छ। उनलेइन्दिरा (मुकुन्द–इन्दिरा), प्रभा (म) र कपिला (मुटुको व्यथा) जस्ता नारी पात्रको सिर्जना गरेका छन्। नारीप्रति सहानुभूति देखाउँदै स्त्रीराज्यको परिकल्पना गर्दै ‘स्वास्नी मान्छे’ नाटक रचना गरेका छन्।

त्यस्तै,डम्बर शमशेरको अत्याचारी प्रवृत्तिलाई प्रह्लाद नाटकको हिरण्यकशिपु र प्रेमपिण्ड नाटकको एडविल पात्रमार्फत व्यंग्य गरिएको भनेर समले मेरो कविताको आराधनामा प्रस्ट पारेका छन्। एडविलमा डम्बरशमशेरको शासकीय र क्रूर मानवीय प्रवृत्ति पाइन्छ। एडविलले दरबारीय सेवक र सुसारीबीचको प्रेम देखिँसहदैनथे। समले हजुरबुबाप्रति व्यंग्य र हजुरआमालाई श्रद्धा गर्नु उनको नारीप्रतिको सम्मान हो। नारीप्रतिको उच्च सदाशयता र निष्ठाभाव जन्मनुमा धाई आमा, सुसारे र हजुरआमाको प्रेमिल व्यवहारकै हात छ।

चन्द्रशमशेरले कमारा–कमारीलाई मुक्त गरेको ऐतिहासिक घटनाले समाजमा पारेको प्रभावलाई लिएर लेखिएको अमलेख सामाजिक नाटक हो। चन्द्रशमशेरले कमाराकमारीलाई अमेलख गरी जुन ठाउँमा राखे, त्यस ठाउँलाई अहिले अमलेखगन्ज भनिन्छ। पूर्व रामेछाप जिल्लाको घटनालाई लिएर यो नाटक लेखिएको हो। खुर्कोटका धनमानी मानिसले मानिस किनेरकसरी परिवार इतरबितर पारिदिए भन्ने कारुणिक चित्र यस नाटकमा पाइन्छ।

नाट्यशिल्प
विषयवस्तु, पात्रविधान, चरित्र, भाव, संवाद र रंगमञ्चनीयता नै नाट्यशिल्पका कडी हुन्। पूर्वीय नाट्य साहित्यमा संयोगात्मक नाटकमा नायक–नायिकाको भेट हुनैपर्छ र दुःखान्त नाटकै हुँदैन भन्ने मान्यता छ। पाश्चात्य नाट्य साहित्यमा सुखान्त र दुःखान्त नाटक लेखिएको पाइन्छ। समले पाश्चात्य र पूर्वीय नाटकका सिद्धान्त र प्रवृत्तिलाई समायोजन गरेर नाटक सिर्जना गरेका छन्। जस्तो कि, धु्रव नाटकको कथा र पात्र पूर्वीय छन् भनेप्रस्तुति शैली पाश्चात्य अँगालिएको छ। प्रह्लाद नाटकमा हिरण्यकशिपुको मृत्युपछि जनता र राज्यमा सुखद वातावरणको सिर्जना भएको छ। प्रह्लाद र धु्रवमा नायिका छैनन्, यो प्रयोग पूर्वीय नाट्य परम्पराविपरीत हो। यस किसिमको परम्परा समले पाश्चात्य नाटकबाट लिएका हुन्।

‘अमलेख–घोषणा’बाट प्रभावित भएर लेखिएको ‘अमलेख’ नाटक श्री ३ चन्द्रशमशेरको ६६औँ जन्मदिवसमा उपहारस्वरूप दिइएको थियो, यो नाटकले स्वीकृति पाएन। भीमशमशेरले ‘प्राणदण्डको खारेजी गर्ने ऐन’ ल्याउने चाल पाएर ‘प्राणदान’ नाटक लेखेर भीमशमशेरको जन्मोत्सवमा उपहारस्वरूप टक्र्याए, यो पनि ‘खोटो मोहोर’ बन्न पुग्यो।


 

अभिनयका दृष्टिले उनका नाटक उत्कृष्ट छन्। समले नाटक लेखन र मञ्चनलाई उत्तिकै ख्याल गरेको पाइन्छ। पृथ्वीनारायण शाह एकांकीमा सम स्वयंले पृथ्वीनारायणको भूमिका निर्वाह गरेका थिए। नाटक मञ्चनका लागि नाट्य समूह खडा गरेका समलेमुकुन्द–इन्दिरा नाटकमा धर्मराज थापा, निरविक्रम प्यासीलाई अभिनय गराएका थिए। उनी आफैँ भवदेवको भूमिकामा थिए भने जनार्दन सम (छोरा) लाई मुकुन्द बनाएका थिए, उनी हर तवरबाट नाटक सफल पार्न चाहन्थे। नाटकको सफलता नै मञ्चनमा निर्भर हुने कुरा समले राम्रैसँग बुझेका थिए। त्यस्तै, उनको पाठ्य नाटक र मञ्चित नाटकबीच तादात्म्यता पाइएको छ। उनकोअमरसिंह नाटक निकै चर्चित भयो। यस नाटक दार्जिलिङमा पनि मञ्चन गरिएको थियो।

पात्रविधानका दृष्टिले समका नाटक उत्कृष्ट छन्। उनलेग्रामीण र सहरी क्षेत्रका पात्र टिपेर नाटक सिर्जना गरेका छन्। उनका नाटकका पौराणिक पात्रले मानवीय चेतनाको उद्बोधन गरेका छन्, ती पात्र मानवीय मूल्यप्रति सचेत छन्।दर्शकलाई मनोरञ्जन दिने समले हास्यपात्रसमेत सिर्जना गरेका छन्। भाषाशैलीका दृष्टिले हेर्दा समका नाटकमा पद्यबहुल र गद्यबहुल भाषाशैली प्रयोग भएको पाइन्छ।समले आफैँले शब्द सिर्जना गरेका छन्। देशी–विदेशी परिवेश समेटिए पनि समका नाटकमा काठमाडौं उपत्यका मूल परिवेशका रूपमा रहेको छ। समले पात्रलाई इजिप्टसम्म पु-याएका छन्। कतिपय बौद्धिक पात्रहरूले नैतिक–आध्यात्मिक र दार्शनिक दृष्टिकोण व्यक्त गरेका छन्। वास्तवमा उनका धेरै नाटक कालजयी बनेका छन्।

समका नाटकमा मानवतावादी विचार नै मूल स्वरका रूपमा रहेको छ। उनका नाटकमा अर्धईश्वरवादी,राष्ट्रियता र नेपाली संस्कृतिसम्बन्धी विचार पाइन्छ। मुकुन्द–इन्दिरामा उल्लेख छ–
देशभक्ति त मर्दैन चुत्थै देश भए पनि
पतिभक्ति त मर्दैन पापी पति भए पनि।
भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति
जित वैभव भाषामै बाँच्दछन् पछिसम्म यी ।
नेपाली नाटकका सर्वोच्च शिखरका रूपमा रहेका समले विभिन्न आयाम भिœयाएका छन्। नाटकको भाषाशैलीमा आंशिक रूपमा आञ्चालिकतासमेत पाइन्छ। समको वैचारिक प्रवृत्ति मानवतावाद हो। उनमा चेतनशील अध्यात्म पाइन्छ। मानवसेवार मानव धर्मका कुरासँगैराष्ट्रियता, देशभक्ति जस्ता प्रवृत्ति पनि उनका नाटकमा पाइन्छ। परिष्कारवादी, स्वच्छन्दतावादी मूल धार हो, तर पछिल्लो चरण यथार्थवादतिर पनि ढल्किएका उनमा दादावादको प्रभाव परेको थियो।

सममाथि केही आरोप पनि छन्। साधारण पात्रमार्फत बौद्धिक संवाद तथा विचार प्रस्तुत गराएर दर्शनको भारी बोकाएकोआरोप समलाई लगाइयो, यस आरोपलाई प्रह्लाद र इन्दिरा पात्रका संवादले पुष्टि गर्छ। कतिपय अवस्थामा आरोप सत्य साबित पनि भएको छ। उनले पात्रको स्तरअनुसार संवादप्रयोग गर्न सकेनन् भनेर कमजोरी औँल्याइएको छ। त्यस्तै, अन्वति त्रयको सिद्धान्त भंग गरिएकाले मञ्चनका दृष्टिले उनका नाटक उपयुक्त नभएको आरोप लगाइएको छ। केही नाटकमा छिनभरमै विदेश–स्वदेशको दृश्य भएकाले यस्तो आरोप लगाइएको हो, तर कुशल निर्देशकले स्थानन्वति भंगको अवस्थालाई व्यवस्थापन गरेर समका जुनसुकै नाटक सफलतापूर्वक मञ्चन गर्न सक्छन्।

सम सेक्सपियर, जर्ज बर्नाड शाबाट अति प्रभावित भए भन्ने गरिन्छ। तर उनको विषयवस्तु र प्रस्तुति मौलिक छ। उनले कच्चा सामग्री पूर्वर पश्चिमबाट ल्याएर प्रशोधन गरेरनेपाली जनमानसमा पाच्य हुने गरी प्रस्तुत गरेका छन्। त्यस्तै,उनका नाटक बढी दार्शनिक र क्लिष्ट भए भन्ने गरिन्छ। लक्ष्मीप्रसाद देवकोटाले पनि समलाई ‘अर्ध दर्शनतारका’ भनेका छन्। दर्शन प्रतिपादनगर्न खोज्ने तर उनमा दर्शन अधुरो रहेको भन्ने देवकोटाको भनाइ थियो।

योगदान
सम नेपाली नाट्य साहित्यमा अग्रणी प्रतिभाका रूपमा विराजमान छन्। समले एक अनुच्छेदमा संरचित सबैभन्दा छोटो नाटक लेखेका छन्। पूर्वीय नाट्य सिद्धान्तअनुरूप योनाटक नभए पनि पाश्चात्य दृष्टिले यसलाई नाटक मानिन्छ। त्यस्तै समले ब्ल्याक भर्स शैली अर्थात् सेक्सपियरको नाट्य लेखन शैलीमा नाटक लेखे। अनुष्टुप छन्दमा नाटक लेख्न सरस्वती चण्डी र वेदबाट प्रेरणा पाएका हुन्। उनले संवादमा प्रयोग गरेका छन्। एउटा पूर्ण संवाद पनि दुई पात्रमार्फत प्रस्तुत गरेका छन्। जस्तो :
रूपनारायण : परन्तु इन्दिरा आफ्नो मुकुन्द यसमा सफा देख्ती हो।
भवदेव :   भक्तले जस्तै मूर्तिमा भक्तवत्सल। (मुकुन्द इन्दिरा)
यसलाई पद्यविच्छेद शैली भनिन्छ।
समअघि यस्ता नाटक लेखिँदैनथे। कवितात्मक नाटक लेखनको सूत्रपात्र समबाटै भएकोहो। उनी कविता नाटककाहस्ती नै हुन्।हालसम्मसमको समकक्षी नाटककार देखापरेका छैनन्।

श्रद्धासुमन
समका जीवनदर्शन, विचार र नाट्यशिल्प अहिले पनि निकै अनुकरणीय छन्, तर उनलाई बिर्सिन थालियो। उनकानाटकजन्मजयन्तीमा मञ्चन गरिनुपर्छ, प्रवचन र गुणानुवादले मात्रै सम्मान हुँदैन। नाट्य एकेडेमीले नाटक मञ्चन गरिदिनुपर्छ। सरकारी तवरबाटै समको नाममा पुरस्कार स्थापना गर्नुपर्छ। त्रिमूर्ति निकेतनले समको नाममा पुरस्कार स्थापना गरेको छ। ज्ञानेश्वर–नक्साल खण्डको मोटरबाटोलाई ‘बालकृष्ण सम मार्ग’नामकरण गरिएको छ। कमलपोखरीमा समको प्रतिमा स्थापना गरिएको छ। समका चित्रकला र हस्तलिखित ग्रन्थ छन्, यी सामग्रीको संरक्षण गरेर संगहालय बनाउन सकिए झनै राम्रो हुने थियो। एउटा रजिस्टरमा समकै हस्तलेखनमा रहेको जीवनी प्रकाशन गर्नुपर्छ किनभने मेरो कविताको आराधनामा वि.सं. १९९० सम्मको मात्रै जीवनी समेटिएको छ। त्यसपछिका घटनावली यो रजिस्टरमा छ।

असाध्यै मसिना अक्षरमा लेखिएको रहेछ। यो हेरेपछि उनी दैनिकी लेख्दा रहेछन् भन्ने प्रस्टै हुन्छ। जीवनमा धेरै दुःख र सुख थोरै छ। मान्छेको जीवनको वास्तविक साथी सुख हो। समले सुखान्त नाटकलाई दुःखान्त नाटकको समकक्षमा पु¥याएका छन्। सुख क्षणिक भए पनि मानिसहरू यसकै पछि लागेको पाइन्छ। दुःख यथार्थ र सुख आदर्श हो। समका सुखान्त नाटकले दुःखका बीच सुखपूर्वक बाँच्न प्रेरित गर्छन्।

(‘समको सुखान्त नाट्यकारिता’ शीर्षकमा विधावारिधि सुवेदीसँग नागरिककर्मी दीपक ठकुरीले गरेको कुराकानीमा आधारित।)

प्रकाशित: २५ माघ २०७६ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App