२६ पुस २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘किन लेख्ने भन्ने प्रश्नको कुनै जवाफ हुँदैन’

काठमाडौं - अशोक शोकी साहित्यक क्षेत्रमा उदाउँदो नाम हो। नामअनुसारको काम हुनुपर्ने सोचले उनले आफ्नो उपनाम राखे– ‘अशोक शोकी’ अर्थात् ‘सुखदुःखको समिश्रण जिन्दगी’। उनले छोटो समयमै धेरै कृति लेखेका छन्।

‘कार्यक्रममा सहभागी हुँदा आफूले भनाई राख्दा साथीहरूबाट साहित्यिक तर्क भएको भनेर प्रतिक्रिया पाएपछि  उनको साहित्यमा रुचि बढ्दै गयो। विगत चार वर्षदेखि साहित्यमा सक्रिय उनको साहित्यिक यात्रा  २०७२ मा प्रकाशन भएको देश मेरो पुस्तकबाट सुरु भयो। अरुका साहित्य पढ्दापढ्दै उनलाई पनि केही लेख्न मन लाग्यो। फुर्सदको समयलाई सदुपयोग  गर्दै उनले ‘अन्तर मनको दृष्टि’ र ‘मनको यात्रा अविश्रान्त पाइला’ दुई कृति लेखे। साथीहरूकै सुझाव अनुसार उनले ‘कलम यसरी चिप्लियो’ कविता संग्रह पनि प्रकाशन गरे। यसको पनि राम्रै प्रतिक्रिया पाएकाले उनलाई अरु कृतिहरू सिर्जना गर्ने थप ऊर्जा मिल्यो ।

अहिलेसम्म उनले आठ  कृतिहरू प्रकाशन गरेका छन्। अन्तर मनको दृष्टि, पागलको बैँश, कसलाई आफ्नो भन्नु, वोशाको प्रभाव, जी ढेके जुल गरी पाँच कृतिहरू उनले एकै दिनमा प्रकाशन गरेका थिए। यस वर्षको तिहारको पहिलो दिनमा उनका पाँच कृति शताब्दी पुरुष सत्यमोहन जोशीले विमोचन गरेका थिए। कोशे ढुङ्गा स्थापित गरेको भन्दै जोशीले उनलाई आगामी दिनको लागि शुभकामना थिए। दर्शनशास्त्र, निबन्ध र कविता विधामा कलम चलाएका उनी विशेष गरेर दर्शनशास्त्रमा बढी रुचि राख्छन्। अहिले भने उनी घमाइलो घाम उपन्यासको लेखनमा व्यस्त छन्। अरु साहित्यिक लेख रचनाको पनि उनी तयारी गर्दै छन्।  दिनको ५०–६० वटा कविता लेख्ने गर्छन्।

साहित्यमा मानिसहरूको पहिलेको जस्तो रुचि नभएको उनलाई लाग्छ । पहिले मानिसहरू फुर्सदको समयमा साहित्य, लेख र रचना पढ्ने गर्थे। तर अहिले इन्टरनेटले मानिसको साहित्यिक मोह घटेको उनी बताउँछन्। ‘पुस्तक नै पढ्ने त निकै कम मात्रामा छन्,’ उनले भने, ‘नेपाल  भाषाको स्थिति पनि उस्तै छ। तर अहिले यही विषयलाई लिएर अभियान पनि चलाइएको छ। यसमा भावनाको रुपमा पनि आवाज उठेका छन् ।’ वास्तविक साहित्यिक महत्व बुझेर आवाज नउठेको शोकी बताउँछन्।  

लेख–रचना किन लेख्ने भन्ने प्रश्नको कुनै जवाफ नै नहुने उनको भनाइ छ। लेख–रचनामा भावना पनि समेटिने हुँदा साहित्य कोर्दा आत्म सन्तुष्टि मिल्ने उनी बताउँछन्। उनका अनुसार यो प्रश्न हेर्दा सानो भए पनि यसको उत्तर भने निकै लामो छ। साहित्यमा मात्र नभएर समाज सेवीका रूपमा पनि उनी परिचित छन्। देखावटीभन्दा भित्री मनबाटै सहयोग गर्दा छुट्टै किसिमको आनन्द मिल्ने भएकाले पनि दुःखीहरूलाई सहयोग गर्नमा आफ्नो रुचि भएको बताउँछन्।

प्रकाशित: १८ माघ २०७६ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App