सौन्दर्य नै नारीको सबैभन्दा अमूल्य गहना हो। सुन्दर देखिन नेल पोलिस पनि लगाइन्छ। नङ पोलिस लगाउन शुभकार्य नै कुरिहनुपर्दैन। फुर्सदको समयमा मनपर्ने नङ पोलिस लगाउन सकिन्छ। नङ पोलिस लगाएसँगै नङको स्याहारमा पनि उत्तिकै ध्यान दिनुपर्ने सौन्दर्यकर्मीको सुझाउ छ।
बानेश्वरकी समिता केसी नङ पोलिसकी पारखी हुन्। उनी भन्छिन्, ‘पोलिस चेन्ज गरिरहन मन लाग्छ। क्वालिटी हेरेर मात्रै पोलिस किन्छु। तीन–चार दिनमै नङमा सुहाउँदो पोलिस लगाउँछु।’
त्यस्तै, पुल्चोककी सरिना डंगोल पनि नेल पोलिसकी सौखिन हुन्। ‘फुर्सदको समयमा पोलिस लगाउन नै रुचाउँछु। पोलिसमा सबैभन्दा पहिले त आफूलाई कलर सुट गर्छ कि गर्दैन भनेर हेर्छु र त्यसको क्वालिटी पनि।’
चिकित्सक र सौन्दर्यकर्मीले पोलिस रिमुभरबारे विशेष ख्याल गर्न सल्लाह दिने गरेका छन्। नेल पोलिस र पोलिस रिमुभर कडा खालका रसायनबाट बन्ने हुँदा प्रयोग गर्दा विशेष ध्यान दिन उनीहरू सुझाउँछन्।
पोलिस लगाउने तरिका
नङ पोलिसले हातलाई झनै सुन्दर बनाइदिन्छ। प्रायःले देब्रे हातका नङमा मात्र पोलिस लगाउँछन्, दुवै हातका नङमा पोलिस लगाउने पनि केही मानिस भेटिन्छन्। चिकित्सकका अनुसार दाहिने हातमा पोलिस लगाउनु राम्रो मानिँदैन। आमा र गृहिणीलाई दाहिने हातमा पोलिस नलगाउन वरिष्ठ छाला रोग विशेषज्ञ डा. भास्कर कायस्थ सुझाउँछन्। उनका अनुसार पोलिसमा सिसा, क्यानियम, मर्करी लगायत रसायन पाइन्छ। आमाले बच्चालाई खाना खुवाउँदा नङ पोलिस खानामा पर्न सक्छ, यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ। त्यस्तै, खानामा पोलिस पर्न सक्ने भएकाले गृहिणीहरू चनाखो हुनुपर्ने डा. कायस्थको भनाइ छ।
‘नेल पोलिसका कारण आइलिड(आँखीभौँ) मा एलर्जी हुन सक्छ,’ डा. कार्यस्थले भने, ‘महिला यही समस्या बढी देखिएको पाइएको छ। नेल फोल्ड र नङ सुन्निने समस्या पनि देखिन्छ।’ यसकारण, आर्टिफिसियल कलर नेल प्रयोग गर्न उनको सुझाव छ। धेरै मात्रामा नेल पोलिस रिमुभर प्रयोग गर्दा नङ पातलो भई भाँचिन सक्छ।
डा. कायस्थका अनुसरा नेल पोलिस लगाउँदा होसियारी अपनाएमा स्वास्थ्यमा समस्या देखिँदैन। सौन्दर्यकर्मीका अनुसार सौन्दर्यसँगै स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ। अस्मिता ब्युटी पार्लरकी सौन्दर्यकर्मी अप्सरा खत्री पोलिस लगाउँदा नङको सेतो भागभन्दा माथिबाट लगाउन र सेतो भागभन्दा तल्लो छालाको भागमा पोलिस लागेमा रिमुभ गरिहाल्न सुझाउँछिन्। कमसल पोलिसमा धेरै केमिकल हुने भएकाले त्यसले छालामा असर गर्न सक्छ। गुणस्तरीय पोलिसमा केमिकल थोरै हुने भएकाले यो उपयोगी हुने उनको भनाइ छ। बजारमा ओपिआई, स्टेला क्रोमा, फार्मेसी, लोरिएललगायत ब्रान्डका गुणस्तरीय नेल पोलिस ट्रेन्डिङमा छन्।
नङको स्याहार
गृहिणीले भान्साको काम गर्दा हात र नङ फोहोर हुन सक्छ। भान्सामै पाइने सामग्रीबाट हात र नङको स्याहार गर्न सकिने सौम्या ब्युटी पार्लर एन्ड नेल आर्ट ट्रेनिङ सेन्टरकी सौन्दर्यकर्मी शारदा थापा क्षेत्री बताउँछिन्। उनका अनुसार कागती अथवा फिट्किरी राखिएको तातो पानीमा हात र नङलाई पाँच मिनेट मसाज गर्नुपर्छ, यसो गर्दा नङ बलियो हुन्छ। जाडोको समयमा हात फुट्न सक्छ। राति सुत्नुअघि दूधको तर हातमा लगाएर मसाज गरेमा हात फुट्ने समस्याबाट छुट्कारा पाइन्छ। घरबाहिर निस्कनु पाँच मिनेटअघि हातमा ग्लिसरिन लगाउँदा पनि हात फुट्दैन।
प्रकाशित: ११ माघ २०७६ ०४:१० शनिबार





