३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

सोनाम ल्होछार रौनक

रामेछाप दोरम्बाका  सौखिन योन्जन उतिबेला गाउँघरका पाखामा डम्फु र टुङ्नाको तालमा ल्होछार मनाएका सौखिनले शनिबार काठमाडौं टुँडिखेलमा आयोजना हुने  ल्होछार कार्यक्रममा  रमाउने सुनाए।

‘यहाँ देशभरबाट आएका तामाङ समुदायको जमघट हुन्छ,’  उनले भने, ‘त्यही भीडमा रमाउने गरेका छौं।’ उनले  पर्वका लागि परम्परागत तामाङ पहिरनसहित सहभागी हुने र साथीभाइसँगै नाचगान गर्दै  रमाइलो गर्ने योजना बनाएका छन्।

त्यस्तै, बौद्धमा भेटिएका कृष्ण लामाको  योजना सौखिनकै जस्तै छ। विगत नौ वर्षदेखि राजधानीमा बस्दै आएका कृष्ण टुँडिखेल ल्होछार  पर्व मनाउने  थलो बन्दै गएको सुनाउँछन्। ‘घरमा आफन्तसँग आशीर्वाद थापेर टुँडिखेल पुग्छौं,’ उनले भने, ‘स्टलमा पाकेका परिकार चाख्दै नाचगानमा रमाउँछौं।’

तामाङ समुदाय खुलामञ्च, टुँडिखेल, स्वयम्भू, बौद्ध लगायत स्थानमा सांस्कृतिक कार्यक्रमसहित शनिबार  सोनाम ल्होछार  मनाउँदै छन्।

तामाङ पहिरनमा सजिएर डम्फुको तालमा सेलो गाउने युवायुवतीको भीडले शनिबार उपत्यकामा प्राचीन तामाङबस्तीको झझल्को दिनेछ। ‘अघिपछि नभए पनि जात्रामा त परम्परागत पहिरन लगाउने  फेसन नै भइसक्यो,’  निकेश तामाङ भन्छन्, ‘बूढापाकासँग युवायुवती पनि  तामाङ वेशभूषामा सजिन थालेका छन्।’

तामाङ समुदायको २८५६औं  ‘जिवा ल्हो’ अर्थात् मुसा वर्षको अवसरमा राजधानीमा आयोजना हुने कार्यक्रममा युवायुवती तथा वृद्धवृद्धाको भीडभाड नै हुन्छ। मञ्चमा गीत घन्किँदै गर्दा चौरमा  झुन्डझुन्ड बनाएर नाचगान  गरिने निकेशले सुनाए।

सबै जातजाति तथा समुदायको भाषा, संस्कार, संस्कृति तथा पहिचानको संरक्षण  गर्नु राज्यको कर्तव्य हो भन्दै सोनाम ल्होछारलाई राष्ट्रिय पर्वका रूपमा विकास गर्नतर्फ सरकार र तामाङ समुदाय लाग्नुपर्ने निकेश बताउँछन्।

‘पर्वको अवसरमा राजनीतिक भाषण गर्ने मात्र होइन, यसको संरक्षण र विकासका लागि पनि तामाङ समुदाय र सरकार लाग्नुपर्छ,’ आरबी लामा भन्छन्, ‘राज्यले भाषा  र संस्कृतिको संरक्षणसँगै समुदायको उत्थानका लागि काम गर्नु जरुरी छ।’

पर्वको अवसरमा मीठामीठा खानेकुरा पकाइने र आफन्तको जमघट  र मान्यवरबाट पाएको आशीर्वादले घरमा रौनक थपिने गरेको आरबीले सुनाए।

‘अग्रजबाट आशीर्वाद लिएर नयाँ सोचसहित  नयाँ साल सुरु हुन्छ,’  सागर तामाङ भन्छन्, ‘पर्वले हामीमा नयाँ उत्साह थपिदिन्छ।’ पर्वकै लागि भनेर उनले यसपटक नयाँ कोट, टोपी र घेइलो सिलाएको सुनाए।

सोनाम ल्होछार हरेक वर्ष माघ शुक्ल प्रतिपदामा मनाइन्छ। बौद्ध धर्मावलम्बीहरूले यसलाई नया वर्षका रूपमा लिन्छन्। मान्यजनबाट शुभकामना र आशीर्वाद लिने गरिन्छ। सोनाम ल्होछार नेपाललगायत चीन, मकाउ, सिंगापुर, मंगोलिया, भारत, थाइल्यान्ड, भुटान, जापानमा मनाइन्छ।

प्रकाशित: ११ माघ २०७६ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App